१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८
पृथ्वी

जलवायु संकटका पाँच अग्निपरीक्षा

नेपालको अवस्था अहिले नै बिग्रिसकेको छैन, तर विपन्न र किनाराकृत समुदायका मानिसको उल्लेख्य हिस्साले सामना गरिरहेका अग्निपरीक्षा मध्यम र उच्च वर्गले सामना गरेको भन्दा निकै कठिन छन्
जीवन क्षेत्री

विश्वव्यापी रूपमा जलवायु संकट गहिरिँदै गर्दा मेरो छोराको पुस्तालगायत हामी सबैले कस्ता नयाँ अग्निपरीक्षाहरूमा सामेल हुनुपर्नेछ त ? तिनीहरूको केही नमुना हेरौं मेरिओन ह्यान्सेल निर्देशित फ्रेन्च सिनेमा ‘साउन्ड्स अफ स्यान्ड’ बाट । ‘हर्न अफ अफ्रिका’ मा रहेको एउटा गाउँमा खडेरीले इनारहरू सुक्दै जान्छन् । पानीको स्रोत टाढा हुँदै हुँदै छ घण्टाको पैदल दूरीमा पुग्छ । दिनमा १२ घण्टा हिँडेर पानी बोक्न सम्भव नभएपछि गाउँलेहरू विस्थापित हुन्छन् ।

जलवायु संकटका पाँच अग्निपरीक्षा

गाउँका सबैजसो पानीको खोजीमा झिटीगुन्टा बोकेर दक्षिण लाग्दा राह्ने नामक शिक्षक तीन छोराछोरी, श्रीमती, एउटा ऊँट र एक हूल बाख्रा लिएर पूर्वतिर फरक गन्तव्यका लागि निस्कन्छन् । साथमा छिमेकका एक जोडी र तिनको बच्चा पनि मिसिन्छन् ।

राह्नेको परिवारको पहिलो ठूलो अग्निपरीक्षा कान्छी छोरी जन्मिएको दिनमै आइसकेको हुन्छ । दिउँसो एक पाका गाउँले आएर भन्छन्, ‘गाउँमा पानी छैन, पहिल्यै दुई छोरा छन्, यसलाई कसरी पाल्छस् ? घाँटी निमोठ्ने हो भने आजै राति निमोठिदे ।’ त्यो सुनेर स्तब्ध भएकी आमा मोना तत्काल बच्चा लिएर पाखातिर जान्छिन् । रातभर त्यतै लुकेर छोरीको ज्यान बचाउँछिन् । उनी फर्केपछि छोरी राख्ने निर्णय हुन्छ र उनको नाम उनीहरूले सासा राख्छन् ।

अनिश्चयतिरको यात्रामा हिँडेपछि उनीहरू आठ जनाको समुहले पाइलैपिच्छे अग्निपरीक्षा दिइरहनुपर्छ । अफ्रिकाका थुप्रै देशका मानिसहरूले सदियौंदेखि भोग्दै आएका तर जलवायु संकटले घेर्दै ल्याएसँगै विश्वका अरु भुभागका मानिसहरूसम्म पनि पुग्न थालेका त्यस्ता केही अग्निपरीक्षाहरू हेरौं ।

एक, मरुभुमिमा कैयौं दिन हिँडेपछि एउटा अलिकति पानी बाँकी रहेको पोखरीमा पुग्छन् उनीहरू । त्यहाँ मानिसहरूको भीड छ अनि पानीमाथि कब्जा जमाएर बसेका छन् गुरिल्लाहरू । गुरिल्लाहरूले चौपायाका लागि पानी र सुरक्षाका लागि दिनको एउटा बाख्रा माग्छन् । दिने कि नदिने ? दुई, त्यो ठाउँ छाडेको अर्को दिन बाटामा अर्को लडाकु समूह भेटिन्छ । उनीहरूले चाहिँ बाल सैनिक बनाउनका लागि राह्नेका दुई छोरामध्ये एक माग्छन् । उनीहरूलाई प्राणजस्तै प्यारो मानेर हुर्काएको एउटा छोरा हस्तान्तरण गर्ने कि परिवारकै ज्यान जोखिममा पार्ने ? त्यो क्षणमा उनीहरूलाई भारी संकट पर्छ ।

तीन, अर्को दिन तेस्रो लडाकु दस्ता भेटिन्छ । उसलाई त्यो बाटो कतै जानु छ तर अगाडि ल्यान्डमाइनको बिगबिगी भएका कारण गाडी धुजाधुजा हुने गरी विस्फोट होला भन्ने डरले रोकिएको छ । राह्नेको कञ्चटमा पिस्तोल राखेर उनीहरूले उनलाई पल्लो थुम्कासम्म गएर आउने आदेश दिन्छन्, ता कि त्यहाँ ल्यान्डमाइन रहेछ भने लडाकुहरूको नभई उनको मृत्यु होस् र उनीहरूले सुरक्षित यात्रा गर्न सकून् । अब एक जनाको ज्यानको आस मारेर उनीहरूको कुरा मान्ने कि नमानेर सबैको ज्यान जोखिममा पार्ने ? यो अग्निपरीक्षामा राह्ने वास्तवमै तिर्मिराउँछन् किनकि अब जोखिम सारा परिवारको जिम्मा लिएर आएको आफ्नो ज्यानमा आइसकेको छ ।

चार, बाबुआमा र छोरी मात्रै यात्रामा बाँकी रहेपछि मरुभूमिको चर्को गर्मीमा जल वियोजनका कारण मोना सिकिस्त हुन्छिन् । अब उनलाई पर्खेर वा बोकेर तीनै जनाको ज्यान खतरामा पार्ने कि बाउछोरी मात्रै अघि बढेर दुई जनाको ज्यान जोगाउने ? जीवनका हर सुखदुःखमा सँगै रहेकी श्रीमतीलाई मर्नका लागि मरुभूमिमा बेवारिसे कसरी छाड्नु ? राह्नेको अग्निपरीक्षालाई अझ गम्भीर बनाउँदै मोना आफैं होस गुमाउनुअगाडि भन्छिन्, ‘म बेहोस भएँ भने मलाई कुरेर नबस्नू, तिमीहरू अघि बढेर ज्यान जोगाउनू ।’

हामी धेरै नेपालीहरूले सिनेमाका ती पात्रहरूमा आफूलाई भेट्न सक्दैनौं । दशकौं चल्ने भोकमरी, विद्रोह, द्वन्द्व, दंगा र आप्रवासन हामी धेरैलाई अफ्रिकाको समस्याजस्तो लाग्छ । तर अहिलेको सामान्य देखिने हाम्रो समाजमा पाइलैपिच्छे यस्ता अग्निपरीक्षा भोग्ने मानिसहरू हाम्रै वरिपरि छन् । अति विपन्न, दलित, भूमिहीन र अल्पसंख्यक समुदाय, ती समुदायका पनि महिलाहरू, उच्च जातकै पनि नियमित घरेलु हिंसामा परेका महिलाहरू, बलात्कार र एसिड आक्रमणका पीडितहरू लगायत धेरै मानिसहरूको जीवनमा अहिले नै जसरी यस्ता अग्निपरीक्षा पाइला पाइलामा आउने गर्छन्, जुन हामीले देख्दैनौं ।

जसरी इन्द्रबहादुर राईको कथाकी पात्र जयमाया र हाम्रा जेठाबा त्यस्ता अनेक अग्निपरीक्षामा उत्तीर्ण हुँदै दोस्रो विश्वयुद्धताका बर्माबाट ज्यान जोगाएर थातथलो फर्केका थिए । जसरी त्यस्ता अग्निपरीक्षामा भोक, तिर्खा वा रोगका अगाडि पराजित हुने हजारौंले अकालमै ज्यान गुमाएका थिए । जसरी अहिले नै पहाडको बाढीपहिरो, मधेशको डुबान–कटान, जमिनको मरुभूमीकरण, आदिका कारण विस्थापित हुने मानिसहरूले गाँस, बास, कपास र केटाकेटीको शिक्षासित सम्बद्ध अनगिन्ती विषयमा निरन्तरको अग्निपरीक्षा सामना गर्नुपर्छ ।

झांगिँदै गरेको जलवायु संकटका कारण हुन्छ के भने त्यसरी थातथलो छाडेर हिँड्नुपर्ने मानिसहरूको संख्या आकासिन्छ, नेपालमा पनि र अन्यत्र पनि । अभियन्ता बिल म्याककिबेनले एउटा प्रसंगमा भनेझैं मानिसले एउटा विपत्तिबाट निस्केर झुप्रा बनाउन पाएको हुँदैन, अर्को विपत्तिले त्यसलाई सिध्याइदिन्छ । हो, हाम्रो छोराको पुस्ताले त्यस्तो समय र समाजमा अनगिन्ती अग्निपरीक्षाहरू पार गर्नुपर्नेछ ।

...

त्यसबाहेक उक्त फ्रेन्चभाषी सिनेमाले जलवायु संकटले सिंगो मानव सभ्यताका अगाडि राखिदिएको अग्निपरीक्षाका विभिन्न चरणहरूको गजब विम्ब प्रस्तुत गर्छ ।

जब औद्योगिक क्रान्तिसँगै कार्बन उत्सर्जन बढेर पृथ्वीको वायुमण्डल तात्न थाल्यो, वैज्ञानिकहरूले चेतावनी र सुझावहरू दिन थाले । जलवायु परिवर्तनको त्यो चरणमा औद्योगिक विकासका केही विधि र प्रविधिहरू फरक रूपमा विकास गर्नु र खनिज ऊर्जाको प्रयोग सीमित गर्नु नै ठूलो जलवायु संकट रोक्न पर्याप्त हुन्थ्यो । अग्निपरीक्षाको त्यो सुरुवाती चरण राह्नेको समूहले सबैको ज्यान बचाउन दिनदिनै गुरिल्लाहरूलाई बाख्रा दिएजस्तै थियोः जीविकामा धक्का त लाग्ने तर ज्यान जोखिममा नपर्ने । तर विकासको त्यो चरणमा हामी उत्ताउलियौं । वैज्ञानिकहरूका चेतावनीलाई बेवास्ता गर्‍यौं । तेल र ग्याँस बेचेर खर्बौं कमाउनेहरूले अरबौं खर्च गरेर जलवायु परिवर्तनको विज्ञानमा दुविधा उत्पन्न गर्ने फर्जी शोधहरू प्रायोजन गरे । आफ्नै अध्ययनले देखाएका डरलाग्दा नतिजाहरू गुपचुप पारे ।

संसारभर धेरै देशका सिंगो अर्थतन्त्रहरू नै अचाक्ली प्रदूषण बढाउने र कार्बन उत्सर्जन गर्ने उद्योगधन्दामा आधारित बने । मानिसको जीविका खनिज ऊर्जामा आधारित हुँदै गयो । मानिसका सुखसुविधा बढ्नु भनेकै कार्बन उत्सर्जन र प्रदूषण बढ्नु बन्न पुग्यो । अवस्था बिग्रँदै गयो र सहज विकल्पहरू हराउँदै गए । किनकि सहरको सिंगो भौतिक संरचना र मानिसको जीवनशैली दैनिक करोडौं ब्यारेल तेल खपत गर्ने कार, मोटरसाइकल र स्कुटरहरूमा निर्भर भइसकेका थिए । परिणामतः अबका विकल्पहरू राह्ने र मोनाले गुरिल्लाहरूलाई बाल सैनिकका रूपमा छोरा सुम्पेजस्तै कठिन हुन थाले । कार्बन उत्सर्जन कम गरौं करोडौं मानिसहरूको जीविका गुम्ने, गरिबी र द्वन्द्व बढ्न सक्ने, नगरौं पानी पिउनै नमिल्ने हुँदै जाने र हावा सास फेर्नै नमिल्ने हुँदै जाने ।

त्यति हुँदा पनि हामी चेतेनौं ।

राह्नेका निर्दोष छोराजस्तै संसारभरका विपन्न र आवाजविहीनहरू जलवायु संकटले ल्याउने विपत्तिका सिकार बनिरहे । दूषित हावाका कारण बच्चाहरू अकालमा मरे । खडेरी र बाढीपहिरोले ठूल्ठूला भोकमरी निम्त्याए । भोकमरी छल्न समुद्र तरेर युरोप पुग्न खोज्दा एसिया र अफ्रिकाका हजारौं मानिस समुद्रमा डुबे । पेट्रोकेमिकल उद्योग रहने सहरहरू क्यान्सरका नर्सरी बने । क्यान्सर यति व्याप्त भयो कि महिलाहरूले त्यो रोग लाग्नुअगाडि नै पाठेघरहरू अपरेसन गरेर फाल्न थाले । अहिले संसारको अधिक जनसंख्या त्यो अग्निपरीक्षाको तेस्रो चरणमा पुगिसकेको छ जहाँ सिनेमाका ल्यान्डमाइनजस्तै जलवायु संकटका विध्वंसकारी विपत्ति कुन बेला कता विस्फोट हुन्छन् कुनै टुंगो छैन । अनि विकल्पको अभावमा तिनै सम्भावित ल्यान्डमाइनको दिशामा अघि बढ्न मानिसहरू अभिशप्त छन् ।

सिनेमामा राह्नेले गुरिल्लाहरूको तेस्रो जत्थाको इच्छा पूरा गर्न जन्मनासाथ घाँटी दबाइनबाट बचेकी सासालाई आफ्नो सट्टा ल्यान्डमाइन परीक्षण गर्न पठाउँछन् । जलवायु संकट झेल्ने कुरामा पनि अवस्था उस्तै छ : सबैभन्दा बढी जोखिममा विपन्न र पिछडिएका देश, क्षेत्र, लिंग, जातजाति र वर्गहरू नै छन् जसले कार्बन उत्सर्जन गरेर पृथ्वीको विनाश गर्नमा कुनै भूमिका खेलेका थिएनन् । त्यस्ता धेरै समुदायमा मानिसहरू सीमित स्रोत–साधन कसको ज्यान जोगाउन खर्च गर्ने र कसको माया मार्ने भनेर हृदयविदारक निर्णय गर्नुपर्ने अग्निपरीक्षाको चौथो चरणमा छन् । जसरी मैले सानैमा सुनेको एक सत्य घटनामा एक गन्धर्व महिलाले भोकमरीको अन्तिम अवस्थामा बच्चाको ज्यान जोगाउन आफ्नो ज्यान दिएकी थिइन् ।

के हाम्रो र छोराहरूको पुस्ताले दिनुपर्ने अग्निपरीक्षाको चौथो चरण नै अन्तिम हो त ? दुर्भाग्यवश, होइन ।

‘साउन्ड्स अफ स्यान्ड’ को अन्ततिर राह्ने र छोरी सासा एउटा विशाल तालको पीँधमा हिँडिरहेका हुन्छन् । स्वभावतः ताल खडेरीका कारण उहिल्यै सुकिसकेको छ र क्षितिजसम्म पाइलैपिच्छे फुर्रफुर्र उड्ने नुनजस्तो सेतो बालुवाबाहेक केही देखिँदैन । कठोर यथार्थले उनलाई अब यसरी थिचिसकेको छ कि राह्नेसँग कुनै गन्तव्यमा पुग्ने वा पानीको स्रोत भेट्टाउने झूटो सपनासमेत बाँकी रहेको छैन । गाउँबाट निस्कने बेला सारा गाउँलेलाई छाडेर छिटो पानी र सुरक्षा पाउने लालसासहित एक्लै पूर्व दिशामा हानिएको कुरा अब एउटा सुदूर विगतको सपनाजस्तै बनेको छ । हरेक पाइलासित गन्तव्य नजिक होइन झन् टाढा हुँदै गइरहेको छ । राह्ने अब निश्चित छन् आफ्नो र छोरीको ज्यान बचाउने कुनै उपाय बाँकी छैन ।

तर पनि अग्निपरीक्षाले उनको साथ छाडेको छैन । अब नरहेको गन्तव्यतिर अन्तिमसम्म हिँडिरहेर शरीर झनै गलाउँदै लैजाने कि बाउछोरी दुवैको अवश्यम्भावी मृत्युसित आत्मसमर्पण गरेर मरुभूमि बनेको तालको बीचमा यात्रा रोक्ने ? अर्थात्, हिँड्दाहिँड्दै जल वियोजन भएर खुत्रुक्क हुने कि त्यहीँनेर बसेर मृत्युको प्रतीक्षा गर्ने ?

मेरो विश्लेषणमा अहिले संसारमा अग्निपरीक्षाका हरेक चरणमा रहेका समाजहरू छन् । सबैभन्दा जटिल अवस्थामा अफ्रिका, ल्याटिन अमेरिका र एसियाका ती देशका नागरिकहरू छन् जहाँ जलवायु संकटका कारण आएका प्राकृतिक विपत्ति, तिनले सिर्जना गर्ने अभाव र महँगीबाहेक द्वन्द्वले मानिसहरूको थप उठीबास गराएको छ । अहिले नै अफ्रिका र युरोपबीचको समुद्रमा जोखिमपूर्ण यात्रा गर्दा बर्सेनि १४ सय हाराहारी मानिसको डुबेर मृत्यु हुने गरेको छ । यसै भोकमरीको ढिकमा रहेको अफ्गानिस्तानमा २०२१ मा तालिबानले सत्ता कब्जा गरेलगत्तै दुई छाक टार्नकै लागे आफ्नो मिर्गौलादेखि छोराछोरीसमेत बेच्न विवश बाबुआमाहरूका हृदयविदारक समाचारहरू आएका थिए ।

नेपालको अवस्था अहिले नै त्यति बिग्रिसकेको छैन तर हामीकहाँ पनि विपन्न र किनाराकृत समुदायका मानिसहरूको उल्लेख्य हिस्साले सामना गरिरहेका अग्निपरीक्षा मध्यम र उच्च वर्गले सामना गरेका अग्निपरीक्षाभन्दा निकै कठिन छन् । त्यसो भन्दै गर्दा मननीय यथार्थ के हो भने, हाल संसारका विभिन्न हिस्साका मानिसहरूले सामना गरिरहेका तेस्रो र चौथो चरणको अग्निपरीक्षामा पनि मानव जाति फेल भयो र हामीले बेलैमा चेतेर पृथ्वीलाई विनाश गर्ने क्रम रोक्न सकेनौं भने अब सिंगो मानव जातिले भोग्नुपर्ने अग्निपरीक्षा ‘साउन्ड्स अफ स्यान्ड’ का राह्नेले भोगेको पाँचौं तथा अन्तिम अग्निपरीक्षा जत्तिकै पीडादायी हुनेछ ।

(क्षेत्रीको आज सार्वजनिक हुने किताब ‘नुन–तेल : विगततिर पदयात्रा’ को एक अंश)

प्रकाशित : वैशाख १६, २०८० १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?