कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

अम्मली स्टेसन

म अनिद्राको निदान हुँ । बेचैनी पगाल्ने तेजाब हुँ । प्रेमरोगको कविराज, अवसादको एन्टिडोट हुँ । होसमा पनि छु, बेहोसीमा पनि । लत लाग्यो भने तपाईंको बर्बादीको विधाता हुँ ।
दुःखी मनको इलाज हो, रिसराग मेटाउने इरेजर हो– चिया । थकाइ मार्ने असली आराम हो– चिया । जतिसुकै खिया लागोस् मन खोल्ने साँचो हो– चिया ।
राजन गोदार

भर्खरै ट्युन गर्दै हुनुहुन्छ भने यो हो– अम्मली स्टेसन ।
त्यो मान्छे –
हाँसो लुकाउँछ, आँसु पचाउँछ
रिस दबाउँछ, घृणा छिपाउँछ
मानौं हर आवेग उसको वशमै छ
न कहिल्यै चकित, न केहीसँग भयभीत छ ।
थाहा छैन त्यो मान्छे,
कसरी जाग्छ, कसरी निदाउँछ ।
सायद त्यो ईश्वर हुनुपर्छ वा मुर्दा,
होइन भने त्यो रोबोट हुनुपर्छ ।
अम्मली स्टेसनको घडीमा बिहानको ठीक ५ः४५ बज्दै छ । तपाईं सुन्दै हुनुहुन्छ– कफीकास्ट ।

अम्मली स्टेसन

कफीकास्ट

सुरुवातमा तपाईंलाई मेरो असीम शुभकामना चढाउन चाहन्छु ।

यो बिहानी, यो क्षण मात्रै होइन । हरक्षण हरपल मङ्गल रहोस् ! रात निद्रालु, दिन मायालु, तन निरोगी, मन खुसी रहोस् । हरकोहीको मनमा एकाध विकार हुन्छ नै । तनको मात्रै होइन साथी, मनको पनि नियमित डिटक्स जरुरी छ । धन सबैसँग हुँदैन, सधैंसधैं हुँदैन । निर्धन नै सही, निर्मल निक्खर रहनुस् । जिन्दगी हरघडी तपाईंकै खुसीराजीमा नचल्न पनि सक्छ । कहिलेकाहीं बेखुसी पनि बाँचीहेर्नुस् । आँखा सधैं सुक्खा राख्नुहुँदैन । दुःख मनभित्र कट्कटिएर जम्न थाल्यो भने तनको हाल बेहाल हुन्छ । दःुख जतिसक्दो पगालेकै राम्रो । आँखा होस् वा आकाश हरदिन पखालिएकै राम्रो । जिन्दगी जरैसहित किन नहल्लियोस् खुसदिल निदाउन र जाग्न सक्नुस् । अवसरअनुसार मज्जाले हाँस्न वा रुन सक्नुस् । प्रियजन, मेरो शुभकामना स्वीकार गर्नुस् । तपाईं सबैको कल्याण होस् । जगत्को कल्याण होस् ।

तपाईंका हितैषीहरू कता छन् ? सहर असाध्यै महँगिएको छ । मान्छे बेफुर्सदी भएका छन् । थोरै फुर्मासी कम गर्नुस् । सोसल मिडिया अपडेट अलिकति कम गर्नुस् । तात्तातै थाहा नपाए तपाईंको जिन्दगी रोकिने समाचार के नै हुन्छ र ! थोरै फुर्सद जसरी पनि निक्लन्छ, निकाल्नुस् । प्रियजनसँग कफी पिउनुस् । आफ्नो सुनाउनुस् । प्रियजनको सुन्नुस् ।

आज कफीकास्टसँग तपाईंलाई थाहा दिनैपर्ने कुनै सूचना छैन ।

तपाईंलाई शुभकामना चढाउनु पहिला मैले एउटा आमन्त्रण पढेर सुनाएको थिएँ । सुन्नुभयो ? केही छैन, म फेरि सुनाउँछु ।

प्रिय आनी छोइङ

आशा छ, यो सन्देश तिमीसम्म जरुर पुग्नेछ ।

यदाकदा ज्ञानी छु । अक्सर अज्ञानी छु । सदासर्वदा तिम्रो मायावी स्वरको आदी हुँ । अनजान छु, तिमीलाई कफीको बानी छ वा छैन । एकबिहान तिमीसँग जसै कफिनु छ । कम्तीमा तीन थान बुद्धमन्त्र सुनाउन तैयार रहनु । समयसाइत जुराऊ । न्ह्युलाई तिमी आफैं बोलाऊ । एउटा एक्स्ट्रा डोज त सुन्नै पर्‍यो, फूलको आँखामा... । तिम्रो दिव्यस्वर र न्ह्युको युफोनिक धुन मिसिएको ककटेलले यो मन धुनु छ, तत्क्षण सिंगै जिन्दगी बाँचिहाल्नु छ । र, यो दिव्यध्यान सकिँदा नसकिँदै मोहमायाको लोकबाट अलोप भैजानु छ ।

तिम्रो बुद्धमनलाई राम्रोसँग थाहा छ, फुर्सद मिल्नेभन्दा पनि मिलाउने चिज हो । यो आमन्त्रण स्वीकार गर । यो अज्ञानीमाथि कृपा गर । एउटा दिव्यध्यान दान गर ।

प्रतीक्षारत ।

प्रार्थी :

उही तिम्रो मायावी स्वरको आदी ।

आनी छोइङ नचिनेको त सायदै कोही छ । आदीलाई चिनेको सायदै कोही छ । आनी आदीको लत भैसक्यो । सुलत वा कुलत आफैं जान्नुस् । आनीलाई के थाहा, थाहा पनि कसरी होस् । आनीको नाममा आदी हरबिहान यही बिन्ती लेख्छ । आदीको बिन्तीमाथि आनीको फैसलालाई आजका लागि तपसिलमा राखौं । कुनै दिन त्यो साइत जुरिआयो भने त्यसको पनि बात तपाईंसँगै मारुँला । बरु यो नियमित एकालापमा अनियमित कुरा गरौं । नामी, दामीहरूका कुरा त हरकोही गर्छन्, गरेकै छन् । एलियन छोड्नुस् मान्छेकै कुरा गरौं । जसको महिमा गाउनुपर्ने कुनै गरिमा छैन त्यसकै कुरा गरौं । मामुली मान्छेकै कुरा गरौं । भैगो, आदीकै कुरा गरौं ।

आदी नियमित कफीध्यानी हो । कफीध्यानमा ऊ ज्ञानी हुन्छ । चाहेर, नचाहेर गर्नैपर्ने बाँकी अनेकन ध्याउन्नमा ऊ अधम अज्ञानी पनि छ । आमन्त्रणको बेहोराबाट बुझिसक्नुभयो, उसको नित्य कफीध्यानले आनी छोइङको उपस्थितिसहित एउटा विशेष दिव्यध्यान मागेको छ । जहाँ आनी स्वयम् आउन्, बुद्धमन्त्र सुनाउन् र उसले आफ्नो मन माझ्न सकोस्, चित्तशुद्ध गर्न सकोस् ।

चाहेर, मागेर सबथोक कहाँ पाइन्छ र ! आदीले वर्षौंदेखि प्रार्थना गरेको साइत आज बिहानसम्म जुरेको छैन । उसको ध्यानको गुजारा जसोतसो आनी युट्युबले चलाएकै छ । कामचलाउ चित्तशुद्धि चलेकै छ ।

चिनी होइन प्रियजन, आनीस्वर घोल्नुस् र दिव्यकफी पिउँदै गर्नुस् । म आदीको बिहानी सुनाउँदै जान्छु ।

आदीभित्र एकदिनमै यति धेरै विकार कसरी जम्मा हुन्छ, अचम्म लाग्छ । आदी नै खराब हो कि यो दुनिया । सायद अलिअलि आदी, अलिअलि दुनिया । दुनियाँदारीमा जो पस्छ, बस्छ त्यो जरुर मैलिजान्छ । आदी गइसक्यो, तपाईं पनि ध्यानमा जानुस् । तनमनमा जम्मा भएका विकारहरूको सिकार गर्नुस् । फोक्सो–कलेजो मात्रै जोगाएर पुग्दैन, मनमस्तिष्क पनि जोगाउनुस् । मनोविकार पखाल्ने डिप क्लिनर कुन ब्रान्डको छ तपाईंसँग ? छँदै छैन भने तपाईं ज्यानमारा गल्ती गर्दै हुनुहुन्छ । तुरुन्त खोज्नुस्, बनाउनुस् । आदीको त त्यही ककटेल हो, कफी, आनीस्वर र न्ह्यु धुन मिसिएको ध्यान ।

जिन्दगी जतिसुकै बेसुरा किन नहोस् तपाईं सुरमा हुनैपर्छ । तपाईं आफैंले सुर छोडेपछि जिन्दगीमा धेरै फरक पर्छ । मज्जा आओस् वा नआओस् जिन्दगीको गीत गाइरहनुपर्छ । पक्कै हो, त्यसका लागि एउटा जीवनधुन जरुरी छ । त्यही धुनको ध्याउन्न त हो आदीको हरबिहानको कहानी । आदी सुरमा होस्, नहोस् उसको पनि जिन्दगी त उस्तै हो, बेसुरा । ऊ आज अलिक छिट्टै सुल्झेजस्तो छ । उसलाई आजका लागि लय मिलेजस्तो छ । त्यही लयभित्र बेसुरा जिन्दगी फिटफाट गर्दै छ ।

तपाईं के गर्दै हुनुहुन्छ ? तपाईंको जिन्दगी फिट हुने त्यो धुन/लय भेटियो ? जिन्दगीलाई त्यसमा फिट गर्नुपर्‍यो ? कि पहिल्यै फिट भएर आयो ? फिटफाट सक्काएर केहीबेरमा आदी ड्युटी जान्छ ।

आदीका धेरैजसो बिहानी नितान्त खल्लो छन् । उसका केही विचलित बिहानीको साक्षी छु । स्नानमा खर्लप्पै एक बिहान मारेको देखेको छु । औडाहाले रन्थनिएर ढलेको देखेको छु । आफ्नै घृणाले जलेर तड्पिएको भोगेको छु । एकाध घण्टा बौलाएको पनि भेटेको छु । दिन, साँझ र रात कस्ता छन् यकिन गर्न सक्दिन ।

कहिलेकाहीँ दिनमा भेट हुँदा ऊ अस्तित्वसँग जोरी खोज्दै दौडिरहेको देख्छु । साँझमा उसको र मेरो भेट विरलै हुन्छ । जति भेटेको छु प्रायः विचलित भेटेको छु । जिन्दगीसँग भयभीत भेटेको छु । जोकसैको पनि वर्तमान विगतले बिटुलिएकै हुन्छ । सुनेको छु, हरेक साँझ ऊ अनचाह सम्झनाहरूले थापेको एम्बुसमा पर्छ । थाहा छैन, सम्झनाहरूको पटके हमलासँग जुध्ने उसको तागत कस्तो छ, कति बलियो, कति कमजोर छ । यो पनि थाहा छैन कि आफ्नै आहुति नदिइकन दिनदिनैको आक्रमणबाट उसले कसरी मुक्ति पाउला । बस् यत्ति थाहा छ कि उसका यादहरू जति मखमली छन् त्यति नै छुरा छन् ।

हरबिहान गहिरो संवाद जो हुन्छ, उसको रातका बारेमा अनुमान मात्रै लगाउन सक्छु कि आदी निदाउँछ, तर आदीमन रातभर जागै हुन्छ । आदी निदाएको निद्रा उसको होइन, उसले पिएको मदिराको हो ।

आरोहको शिखर र अवरोहको पाताल दुवैको सामना गर्न हरदम तैयार थियो, छ । तैपनि कहिलेकाहीँ आफ्नै धीरता सर्किएर सकसमा पर्छ । मरूँ कि बाँचूँ हुन्छ । जिन्दगीमा उतारचढाव जरुर जरुरी छ । हिजोआज जिन्दगीमा थोरै पनि ढलपल छैन, गुजारा जो चलाउनु छ । उतारचढाव उसको शरीरमा छ । जिन्दगीमा उतारचढाव ल्याउने कोसिसमा छ । जिन्दगीलाई अनेकन अवसरमा ज्यादातर हारेर हेर्‍यो, कहिलेकाहीँ जितेर पनि हेर्‍यो । हिजोआज सकभर हारजितको साक्षी मात्रै बस्छ, शरीरको उतारचढाव जो ठेगानमा छैन । जिन्दगीमा ल्याएका, भइपरी आएका अनेकन आरोहअवरोहसँग रहरलाग्दो बाँच्यो । जबजब थकाइ मार्‍यो, हरेकपटक मसँग बात मार्‍यो । सो म उसको फ्यान भैगएँ ।

मसँग उसका अनेकन सम्झना छन्, जुन कुनै दिन सुनाउँला । उसका कैंयन सम्झना, सपना, चाहना, तिर्सना खारेर राखेको छु । त्यही बेला त थाहा पाएको हुँ, बाँचेर बाँचीनसक्नु जिन्दगी बाँच्दै आएको छ आदी । आदीले कदाचित उसको एकदिन बाँचेर हेर भन्यो भने म हजार पटक सोच्नेछु । बाँच्नुसँग उसको लगाव जाँचेको छु । कहिलेकाहीँ डाहले सोधेको छु, ओइ आदी तँ बाँच्छस् कसरी ?

उसलाई हरदिन पर्गेल्छु । जिन्दगीसँग गहिरो प्रेममा छ । जिन्दगीलाई प्रेमपूर्वक फकाउँदै छ, मनाउँदै छ । यस्तो लाग्छ, जिन्दगी उसकी नाराज प्रेयसी हो र जिन्दगीका तमाम खेलहरू प्रेयसीकै कियाधरा हो ।

आदी मेरो एकालापसँग सिकसिकाउँदै छ । पर्खी न एकक्षण भन्दै थिएँ । अलिकति बाँकी थिएँ । सुरुप्पै पारिहाल्यो । आदीनिवासको आदिवासी हुँ म । तथापि चाहेजति मन पोख्न पाइन ।

एउटा अनिवार्य अनुरोधपछि तपाईं सुन्नुहुनेछ चियापान ।

सुस्वास्थ्य तथा दीर्घायुका लागि चिया, चिनी, चुरोट सबै हानिकारक छन् । देशवासीलाई चियापानमार्फत चिया–चुरोट पिउन उक्साएको आरोपमा चियापानको सिङ्गो टिम मुद्दा खेपिरहेको छ । हामी अनुरोध गर्छौं कि सकेसम्म मन थाम्नुहोला । चियापान ट्युन गरेर चियापान र धूमपान नगरिदिनुहोला ।

पुनश्चः सरकार नै नागरिकका लागि स्वास्थ्यकर छैन ।

चियापान

यो चियापानको समय हो ।

जानअनजान कहिले मन दुख्छ, कहिले दुखाइन्छ । मान्नुस् नमान्नुस् दुःखी मनको इलाज हो, रिसराग मेटाउने इरेजर हो चिया । जति दौडिए पनि कहाँकता नै पुग्नुहुन्छ र ? जिन्दगी हो यार, यो कुनै रेस होइन । थकाइ मार्ने असली आराम हो चिया । जतिसुकै खिया लागोस् मन खोल्ने साँचो हो चिया । जिन्दगीमा दिउसै रात पर्‍यो भने चिया पिउनुस् । मन छियाछिया भएको छ भने जानुस् कसैसँग चिया पिउनुस् । छैन भने यो चियापान सुरु गर्ने अनुमति दिनुस् ।

यहाँ प्रायः तपाईंहरू सुनाउनुहुन्थ्यो, म सुन्थेँ । आज म सुनाउँछु, तपाईं सुन्नुस् । केहीबेर अगाडि म पनि कफीकास्ट नै सुन्दै थिएँ । आदीसँग मेरो पनि दोस्ती छ । कफीकास्टमा पोखिन नभ्याएको मनमा के थियो सायद आदीलाई थाहा होला । जे थियो, सो थियो । आदीमन र जीवन जति थाहा छ त्यत्ति सुनाउँछु ।

आदीलाई विविध कोणबाट छामेपछि मैले निधो गरेको थिएँ कि जिन्दगीले आदीमाथि अन्याय गरेकै हो । आदीलाई थाहा छ, तर कहिल्यै प्रतिकार गरेन । कफीकास्टमा सही भनिएको छ । म पनि भन्छु । ऊ जिन्दगीलाई यसरी फकाउँदै छ, जसरी प्रेमीहरू नाराज प्रेयसीलाई फकाउँछन् ।

आदीको अर्डर आयो । तपाईं पनि चिया पिउँदै गर्नुस् ।

जिन्दगी फकाउँदाफकाउँदै, मनाउँदामनाउँदै रिन लाग्यो । अनि दिन लाग्न पटक्कै बेर लागेन । रिन पनि दिन पनि लागेपछि अवसादले थलायो । त्यसपछि आदीको कायाकल्प भयो । पूरै गुजारावादी भैगयो । ठीकै हो, अवसाद भन्दा गुजारावाद नै हितकारी छ । गुजारावादका केही फाइदा छन् । दुनियाँदारीसँग लेनदेन कम हुन्छ । कोहीकसैलाई वैरीविरोधी मान्नुपर्दैन । कोहीकसैसँग रिसराग राख्नुपर्दैन । हतास भैहाल्नु पनि पर्दैन । हतारहतार पुगिहाल्नुपर्ने कुनै गन्तव्य पनि हुँदैन । न रहर, न कहर । आदी निरुद्देश्य छ भनेर भन्दिन । अहिलेलाई उद्देश्यको भारी बोक्ने अवस्थामा छैन मात्रै भन्न सक्छु ।

जिन्दगी निर्वाह गर्दागर्दै आदीका अनेक सपनाहरूले सान्दर्भिकता गुमाइसके । उसका कतिपय रहर अब औचित्यहीन भइसके । उसले उखेल्नैपर्ने केही उद्देश्यहरू छन्, केहीको गोडमेल गर्नुपर्ने छ । केही नयाँ सपना देख्नुपर्नेछ, रहर जगाउनुपर्नेछ । हिजोआज गुजाराको गुफाभित्र कैद भएर त्यही गर्दै छ । आदीको अतीत गाढा सिसिफियन मसीले लेखेको निष्फल कहानी हो । भविष्य कस्तो होला, आदी नै जानोस् । वर्तमानमा जे छ गुजार्नु छ ।

आफैंलाई रित्याएर लगानी गरेका कामहरूबाट उसलाई सधैं शून्य मात्रै हात लाग्यो । कहिलेकाहीँ मान्छे अतीतमा अल्झन्छ, बल्झन्छ । मानवीय स्वभाव हो । तर, आदी प्रायः बहकिन्छ । बहकिएको थाहा नपाउञ्जेल बहकिन्छ । कैयनपटक ऊ बहकिएको कुरा मैले नै उसलाई बताएको छु । थाहा पाएपछि थन्किन्छ, झस्किन्छ । यस्तो बेला ऊ चिया र दुनोट खोज्दै नयाँनयाँ चियापसल चहार्छ ।

धेरैजसो कर्म किन निष्फल रहे ? कुन तत्त्वको कमी भयो ? यो बर्बादी कसले ल्यायो ? कस्तो भ्रमले बिगार्‍यो ? गल्ती के भयो ? तँ स्वाँठलाई अझै थाहा छैन ? यी सबैको जवाफ खोज, तत्त्वचिन्तन गर, आत्ममन्थन गर भन्छु । अब समयको बर्बादी गर्ने सुविधा मसँग छैन भन्छ ।

मलाई थाहा छ कि आदीलाई थाहा छ । तैपनि गाली गर्छु, मान्छे पढेलेखेर ज्ञानी हुन्छ आदी । तँ त जति पढ्दै गइस् त्यति अज्ञानी हुँदै गइस् । हुन त तँ बाँचिरहेको दुनियामा शिक्षित स्वाँठहरूको बिगबिगी नै छ । तँ एउटा नमुना । एकाबिहानै ध्यानमा जान्छस्, ल्याउँछस् के ? त्यो ध्यानको सट्टा अलिअलि कमाउने ध्याउन्नमा लागे के बिग्रन्छ ? पैसाबिना पनि ज्युँदो रहन सकिन्छ, तर जिन्दगी बाँच्न सकिँदैन । तँ जिन्दगीको निर्वाहलाई वाहवाही गर्दै बसेको छस् । यसरी हरदिन सास सापटी लिएर कति दिन बाँच्छस् ?

गाली सक्किएकै हुँदैन, माया लागेर आइसक्छ । उसले पचाएका ठक्करहरू, ऊ सम्हालिएका मोडहरू सम्झन्छु । उसको तनमनमा जिन्दगीले कुँदेका खतहरू सम्झन्छु । जिन्दगीले डढाएका उसका खुसीहरू सम्झन्छु । आदीको जीवनमा आएका, आएर गएका, अझै रहेका अनेकन मान्छेहरू सम्झन्छु । कतिपयले चोट थपे, कतिले मलम लगाए । जति धेरै सम्झ्यो त्यति धेरै माया लागेर आउँछ ।

नियालेर हेर्नुभयो भने देख्न सक्नुहुन्छ । हिजोआज आदीको निधारमै प्रवेश निषेध गाँठो परेर बसेको छ । आदी असाध्यै मायालु, दयालु मान्छे हो । अहिले उसलाई हेर्दा मात्रै पनि मान्छेका आँखा बिझाउँछन् । आनीबानी, चालचलन, व्यवहार अर्थात् एउटा असल मान्छेको सबै सद्गुण थियो । आजकाल आदीमा एउटै भेट्टाउन मुस्किल छ । उसको आभा र ऊर्जा कस्तो थियो, कस्तो भयो । सायद् प्रकृतिको नियममा बदलाब स्वाभाविक प्रक्रिया हो । मान्छेजस्तो थियो । आजकाल मूर्तिजस्तो छ ।

आज पनि ब्रेकफास्ट नखाई ड्युटी आएछ । तपाईंले खानुभयो ?

प्रायः उसको खल्ती खाली नै हुन्छ, रिन जो छ । उसको दिन रिनकै रिङरोडभित्र भागदौड गर्छ । रिनले ऊसँग जे–जे थियो सबै खोसेको छ । रिनले उसलाई जे भोगेको थिएन सबका सब भोगाएको छ । उसले जतन गरेका सम्बन्धहरू रिनले खर्लप्पै निलिदिएको छ । ऊ जे होइन रिनले उसलाई त्यही बनाइदिएको छ । रिनले उसलाई सास रोकिनेगरी दौडाएको छ । अहिले चलिरहेको गुजारावादी आदीको सङ्कल्प एउटै छ, रिन नतिरी मर्दिन । रिन पैसाको मात्रै छैन, उसले अनेकको अनेक रिन चुकाउनु छ । रिनको ह्याङओभरका कारण बेलाबेलामा आफैंसँग बेलगाम जंगिन्छ ।

रिसालु नाराजी मुडहरूमा उसको गीत सुन्ने बानी छ । गीतसँग आफ्नो बेखुसी साट्छ, मनको गाँठो फुकाउँछ । अरू कोसँग फुकाउनु ! आँसु आफैं नथामिउन्जेल त्यो गीत दोहोरिरहन्छ । आदीको अतिप्रिय कवि साहिर लुधियानवीको त्यो गीत सायद् तपाईंले पनि बारम्बार/यदाकदा सुन्नुभएकै छ । गाइदिनुस् त एकपटक ।

मैं जिन्दगी का साथ निभाता चला गया

हर फिक्र को धुएँ में उडाता चला गया ...

आदी दिनभर काम गर्छ । जबजब उसका अनेकन तिर्खातिर्सना उसलाई बिथोल्न आइपुग्छन् म दिल से उसको साथ निभाउँछु । उसलाई काममा समर्पित राखिरहनु मेरो ड्युटीजस्तै भएको छ, जुन चुनौतीपूर्ण छ ।

आदी विचलित हुँदै छ । उसको ख्याल राख्ने बेला भयो । आफ्नो र जगत्को ख्याल राख्नुस् । चिन्तनमा एकचित्त रहनुस् । जिन्दगीमा कहिले तन्किनुपर्छ, कहिले खुम्चिनुपर्छ । आफैंलाई लचिलो राखिरहनुस् । चिया पिउँदै गर्नुस् । आदीको चिन्ता नगर्नुस् । मलाई भरपूर आशा छ आदीको गुजारावाद छिट्टै सकिने छ र आदीले आफ्नो बेस्ट भर्सन विमोचन गर्नेछ । त्यो तपार्ईंले पनि थाहा पाउनुहुनेछ ।

प्रस्ताव जोसुकैको होस् जीवनमा सकभर चिया पिउने प्रस्ताव इन्कार नगरिदिनुहोला । चियाको प्रस्ताव राख्न नहिच्किचाउनुहोला । नजाने एक प्याला चियाले कति फरक पार्छ जिन्दगीमा ।

मदिरालापको समय सुरु हुनै लाग्यो । चियापानको अर्को शृङ्खला लिएर फेरि आउने वाचा गर्दै आजको लागि बिदा चाहन्छु ।

मदिरालाप

सुखको साथी, दुःखको सारथि हुँ । मायालु माली, इज्जतको धज्जी उडाउने गाली हुँ । रगत उमाल्ने आगो हुँ । खैर, मनको जलन निभाउने पानी पनि त हुँ । अनिद्राको निदान हुँ । बेचैनी पगाल्ने तेजाब हुँ । प्रेमरोगको कविराज, अवसादको एन्टिडोट हुँ । हतासहरूको आशा, हारजितको परिभाषा हुँ । निर्धनहरूको इन्धन हुँ । मिलनको सौन्दर्य र वियोगको सान्त्वना मै हुँ । धनवान्हरूको परिधान, भाग्यले लात हानेका जवानहरूको संविधान हुँ । पलभरको उल्लास, लामो हैरानी हुँ ।

कहाँ छैन म ? मान्छेका किस्साकिस्सामा साक्षी छु । मान्छेको होसमा पनि छु, बेहोसीमा पनि । उत्सव होस् वा शोक, प्रेम वा घृणा, गरिबी वा समृद्धि, दिक्दारी वा उल्लास, कहाँ छैन म ? असङ्ख्य मान्छेका दुःख भुल्ने–भुलाउने मूलमन्त्र नै मै हुँ । कैंयन मान्छेका दुःखको जरा पनि मै हुँ । हरकोहीलाई सान्त्वना दिन सक्ने त्यो जादुयी पानी हुँ । खासमा कसैका लागि अमृत, कसैका लागि ज्यानमारा विष हुँ । जे होस्, बानी पर्‍यो/लत लाग्यो भने अन्ततः तपाईंको बर्बादीको विधाता हुँ ।

समसाँझै तपाईंलाई तर्साउन, भड्काउन, बहकाउन खोजेको होइन । सराब खराब छ वा छैन सराबीहरूलाई सोधी हेर्नुस् । समसाँझै तपाईंको होस मदिराको मादकतामा बरालिनु एकरती मुनासिब छैन । बरालिन छोड्नुस्, आउनुस् सुरु गरौं मदिरालाप ।

मदिरालापको डेस्कमा भर्खरै मात्र एउटा जानकारी आइपुगेको छ ।

मदिरा किनबेच र सेवन दुवै आपराधिक क्रियाकलापको सूचीमा दर्ज गर्ने र नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यको ख्याल राख्दै मदिरा किनबेच र सेवनमाथि प्रतिबन्ध लगाउने विधेयक संसद्मा पेस भएको छ । उक्त विधेयकको मस्यौदा समितिमा हरेक मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको बताइएको छ । हरेक प्रतिनिधि भूतपूर्व एवम् निवर्तमान अद्भुत पियक्कडहरू रहेको समेत खुलासा भएको छ । प्रवक्ताका अनुसार, नागरिकको मायाले भुतुक्कै भएपछि सरकारले रातारात यो विधेयक तैयार पारेर आज संसद्मा पेस गरेको हो ।

यो विधेयक सरासर सरकारी बेहोसीको नमुना हो, मदिरालुहरूको दाबी छ ।

यो विधेयकको कस्तो प्रशंसा वा कस्तो निन्दा गर्ने जिम्मा तपाईंहरूकै जिम्मामा छोड्न चाहन्छु । मदिरालापलाई अगाडि बढाउनु पहिला छोटो चेतावनी पेस गर्न चाहन्छु । अनिवार्य छ ।

मदिरापान जिन्दगी र जीउज्यानका लागि हानिकारक छ वा छैन आफैं जान्नुस् । म मेरो काम जे हो, दिलसे गर्छु । सबैसँग शतप्रतिशत समान व्यवहार गर्छु । तपाईंको बुझाइ र व्यवहारप्रति म जवाफदेही छैन र हुनेछैन । मदिरापान सुरु गर्नुस्, छोड्नुस् वा पिइरहनुस् त्यो तपाईंको नितान्त निजी निर्णय हो । बिहानै वा दिनमा, समसाँझै वा रातमा कुन घडी, कुन पहर पिउने नपिउने, मात्तिने नमात्तिने तपाईंको मर्जी । तपाईंको कुनै पनि बहानासँग मेरो कुनै लेनदेन छैन । किन पिउने वा किन नपिउने तपाईंको दिमागी कुरा कदाचित मसँग सम्बन्ध छैन र हुनेछैन ।

के गर्नु, यत्ति नभनुन्जेल चित्त बुझ्दैन ।

सोच्दै छु । आज तपाईंलाई सहरको कुन मदिरालय लिएर जाऊँ । कहाँको मदिरामाहौल सबैभन्दा बढी रोमान्टिक छ । बजारमा नयाँनयाँ स्वदेशी मदिराहरू आएका छन् । कुन मदिराको परिचय दिऊँ । कुन नामुद सराबीको कुरा गरूँ । केही फुरेको छैन, आज दिमागमा भद्रगोल छ । यो मुला कफी र चियाले ननस्टप आदीको कुरा गरेर आज बिहानैदेखी ल्याङ गर्‍यो । अति बोर गर्‍यो । एउटा लार्ज पेग लिँदै गर्नुस् ।

माफ गर्नुस् यार, आजलाई आदीकै कुरा गरुम् । उसको कुरा नगरी मलाई पनि चैन मिल्लाजस्तो छैन ।

आदीको र मेरो सम्बन्ध ककटेल सम्बन्ध हो । दोस्ती, दुस्मनी दुवै मिक्स छ । दोस्ती ख्यालख्यालमै सुरु भयो । सिरियसली त दुस्मनी भयो । आजभोलि हामी एकअर्काका दुस्मनदोस्त हौं । पुरानो कुरा हो । मलाई सद्दे जवानहरू औधी मन पर्थ्यो, अहिले पनि उस्तै मन पर्छ । किनकि उनीहरूलाई मेरो वशमा पार्न मैले खास्सै पापड बेल्नुपर्थेन ।

कुन मुडमा, कुन संगतमा बरालिएर एक दिन ख्यालख्यालमै मसम्म आइपुगेको थियो । आएकै दिनदेखि मेरो मायाजालमा परिहाल्यो । त्यसपछि मैले उसलाई खोज्नै परेन । सधैं उसैले मलाई खोज्यो । अनि उसका लागि मै भएँ त्यो एक मात्र गंगाजल, जसले आदीमनको डढेलो निभाउन सक्थ्यो । उसको मनमा हरदिन डढेलो लाग्थ्यो । उसले डोज बढायो, उसको स्टामिना आफैं बढ्दै गयो । सुस्तरीसुस्तरी मबिना उसले अपुरोअधुरो महसुस गर्न थाल्यो । नजानिँदो पाराले मेरो साथमा आश्रय खोज्न थाल्यो । आत्मनिर्भर थियो, अब परिनर्भर भयो । जब मान्छे मसँग निर्भर हुन थाल्यो, मेरो काम सकियो ।

आदी उसका धेरै प्रियजनको आशाभरोसा थियो । उसको आशाभरोसा, ऊर्जाचैं मसँग थियो । माफ गर्नुस्, यो कुनै तीनकुने प्रेमकहानी होइन । तपार्ईंलाई मदिरा नपिउनेहरू कुनै अजीव जीवजस्तो लाग्छ कि लाग्दैन ?

आदीले ऊ बेला साथीभाइसँग बराबर हुन पियो । साथीभाइसँग हुँदा यसै रमाइलो हुन्छ, एक्स्ट्रा रमाइलो गर्न पियो । अनेक सम्बन्धको गहिराइमा डुब्न पियो । उमेर बढ्दै गयो, कामकाजी जीवन सुरु भयो । माहोलमा एन्टी सोसल, अजीव जीवजस्तो नदेखिन पनि पियो । चुलीमा थियो जवानी । कारणअकारण उसको मनमस्तिष्कमा आगो लाग्थ्यो । मदहोस मात्तिन पियो । एक मान्छेका समस्या अनेक हुन्छन् । आर्थिक, सामाजिक, मानसिक, व्यक्तिगत, पारिवारिक अनेक । समस्याको सामना तथा समाधानको कोसिस कसरी गर्नुपर्थ्यो, उसले पिएर कोसिस गर्‍यो । बानी पर्‍यो । अनि त अनेक बहानामा पिउन थाल्यो । उसले पिएको मदिरा त उसले पचाउँथ्यो, तर जुन समस्याका लागि उसले पियो त्यो समस्या कसले पो पचाइदिन्थ्यो र, उसले त्यो तथ्य बुझेन । एकपछि अर्को गर्दै उसले पिउने कारण थप्दै गयो । र, यसरी ऊ मेरो वशमा पर्‍यो । मेरो काम सकियो ।

आदीको जीवनमा बाढी पसेको, आँधी आएको, पहिरो गएको सत्य हो । तर, त्यसमा मेरो कुनै भूमिका छैन । मान्छेहरू फोक्कटमा मलाई दोष लगाउँछन् । दोष पूरै आदीको हो । अलिअलि उसका साथीको हो । अलिअलि उसका गुरुको हो । थोरै दोष उसका प्रेयसीको हो । उसले जिन्दगीको सत्य बुझेन, ठीकै छ । उसले बुझ्नेगरी बुझाउने पनि कोही भएन । उसको दुःखमा उसको को थियो ? मै त थिएँ एउटै साथ, एउटै सहारा । मैले के गरेँ ? उसले जेजे गर्‍यो सबैमा प्रेरित गरेँ । उसले बेहोसी रोज्यो, मैले बेहोसी हुन हौस्याएँ । के मैले पाप गरेँ ? तैपनि मान्छेहरूले मलाई नै दोष लगाउँदा चिच्याएर रुन मन लाग्छ । खैर, आदीको बर्बादीमा म पूर्णतः निर्दोष छु ।

आजकाल सहरका मदिरालयतिर आदीलाई खास्सै देख्दिन । सुनेको छु आजभोलि मसँगभन्दा बढी आनीसँग, मदिरालयभन्दा बढी घरसँग, मदिरामाहोलभन्दा बढी कामसँग पल्केको छ । आजकाल मनको डढेलो ध्यानले बुझाउँछ क्यारे । यतिबेला ऊ मेरा लागि भाडाको लोग्नेजस्तो भएको छ । जबजब छुरा सम्झनाहरूको एम्बुसमा पर्छ घायल भएर आउँछ । एकदुई लार्ज चढाउँछ । र, मलाई पारिजातको डायलग भन्छ– प्रेम मर्दैन मदिरा, मार्नुपर्छ ।

अरू कुरा आदीबाटै सुन्नुस् । म फोन लगाउँछु ।

फोन उठाएन, टेक्स्ट पठाएको छ । त्यो टेक्स्ट तपाईंलाई सुन्न मन लाग्यो होला, मलाई पटक्कै सुनाउन मन लागेको छैन ।

भनिदिनू म सन्चै छु । रातसँग मेरो कुनै गुनासो छैन, बस उजेली खोज्दै छु । भनिदिनू कि कफी, चिया र तिमी मदिराले सुनाएका सबै कुरा सत्य हुन् । तर, हिजोका सत्य हुन् । आजको सत्य अर्कै छ । जवानीमा बेहोस भैयो । उमेर ढल्क्यो, होस आयो । खैर, म खुसी नै छु । तिमीसँग भेट्दिन भन्दिन । तर, कहिले कसरी थाहा छैन ....।

अहो, लामो रैछ । अब म सुनाउन सक्दिन । अहिलेलाई बिदा चाहन्छु । बरु साहिरको एउटा गीत सुन्नुस् :

चलो एक बार फिर से अजनबी बन जाएँ हम दोनों ।

...तारुफ रोग हो जाए तो उसको भूलना बेहतर,

ताल्लुक बोझ बन जाए तो उसको तोडना अच्छा ।

वो अफसाना जिसे अन्जाम तक लाना न हो मुमकिन,

उसे एक खूबसूरत मोड देकर छोडना अच्छा ।।

(लेखक करिअर काउन्सिलर हुन्)

प्रकाशित : वैशाख १६, २०८० १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?