कविता

धरती

विमल निभा

धरतीमा जति
आँशु छ त्यति
विद्रोह छ या छैन ?

धरती

इतिहासको पानामा

राजा–महाराजाहरुका

नाम लेखिएको भए पनि

आँशु र विद्रोहको

अनवरत श्रृंखला नै

सच्चा अतीत हो

घुमिरहेको धरतीको

(मानिसहरुका इतिहास)

धरतीमा जति

विद्रोह छ त्यति

हतियार छ या छैन ?

यहाँदेखि त्यहाँसम्मका

अर्थात् धरतीको

अक्षांश वारिपारिका

आततायी शासकहरुका

कब्जामा रहेका

बम, बन्दुक र बारूदको

तुलनामा लगभग

निहत्था नै रहेका छन्

तमाम विद्रोहीहरु

र यही असन्तुलनले

बढोत्तरी भइरहेको छ

आँखाहरुमा आँशु

(आँशु नै आँशुले

भरिएको छ टम्म

धरतीको आँखा)

र यो पनि उत्तिकै

नै हो वास्तविकता

यही आँशु सँगसँगै

बढिरहेको छ निरन्तर

विद्रोह पनि

हो, यहीँनेर नै

हतियारको विषयमा

गर्नुपर्ने हुन्छ विचार

र यो कुनै हिंसाको

पक्षपोषण होइन

धरतीवासीहरु हो

(कविताको सम्बोधन)

धरतीमा जति

हतियार छ त्यति

विचार छ या छैन ?

मेरो विचारमा

आँशु, विद्रोह र

हतियारको सन्दर्भमा

सबभन्दा विचारणीय

कुरो यही नै हुनुपर्छ

प्राचीन धरतीको

(नयाँ पनि)

धरतीमा जति

विचार छ त्यति

न्याय छ या छैन ?

प्रकाशित : वैशाख १६, २०८० १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्थानीय तहको २६ प्रतिशत वित्तीय अनुदान कटौती गर्ने सरकारको निर्णयबारे तपाईं के धारणा छ ?