सरकारी जग्गामाथि रजगज

वैशाख ३०, २०८१

पाठक पत्र

Encroachment on government land

‘बाल मन्दिरको जग्गा हिनामिनामा २० जनालाई पक्राउ पुर्जी’ शीर्षकको खबर बाल उत्थानको पवित्र उद्देश्य बोकेर, अनाथ बालबालिका संरक्षण गर्ने दायित्व राखेर खोलिएको नेपाल बाल संगठनमा लामो समयसम्म पदाधिकारी र कर्मचारीले रजगज गर्दै आएको विषयसँग सम्बन्धित छ ।

संगठनको नक्सालस्थित झन्डै २९ रोपनी जग्गामा अनियमितता गरिएको हो । २०४९ मा बृहस्पति विद्यासदनलाई ४ वर्षका लागि भनेर ९ रोपनी जग्गा भाडामा लगाएको बाल संगठनले २०७२ मा सो जग्गालाई बपौती ठान्दै पूरक सम्झौता गरेर भाडा अवधि २१३१ सम्म वढाएको विषयमा जति आलोचना गरे पनि कम हुन्छ । उता बृहस्पतिद्वारा २०७६ सालमा भारतीय बोर्डबाट सञ्चालित राय स्कुललाई मनोमानी ढंगले मन्दिरकै ५ रोपनी जग्गामा सञ्चालन गर्न ५० वर्षका लागि भाडामा दिएर अश्लीलता प्रदर्शन गरिएको थियो । हिनामिना, अनियमितताका अन्य विषय उठाउँदा लिजमा दिएको जग्गाबाट आठ वर्षसम्म बढेको भाडा संगठनले लिन नपाउने कुरा, मन्दिर परिसरको जग्गामा व्यापारीको पेट्रोल पम्प अर्थात् कनक ट्रेडर्ससँग लिइने भाडाबापतको रकम अपारदर्शी भएको देखिन्छ । त्यस्तै संगठनका महासचिवबाट संगठनको जग्गा आफ्नै कम्पनीलाई भाडामा दिएको, पदाधिकारी र कर्मचारीले लिएको रकम फिर्ता नगरेको, ढुक्कसँग व्यापारिक प्रयोजनका लागि १३ रोपनी जग्गा भाडामा दिएको, नीतिनियम कुल्चेर संगठनको गाडी व्यक्तिका नाममा पास गरेकोलगायत सन्दर्भ बेथितिको केही उदाहरण हुन् । यावत् विसंगतिको सिलसिलामा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्य, बृहस्पति विद्यालय व्यवस्थापन प्रालिका अध्यक्षलगायत २० जनाविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको हो । वस्तुतः २०४६ को राजनीतिक आन्दोलनपछि सत्तामा पुगेका नेताहरूले आपराधिक गतिविधिमाथि ध्यान नदिँदा सरकारी, सार्वजनिक, व्यक्तिगत जग्गामाथि मनोमानी बढेको र लुटपाट मच्चिएको हो । पूर्वको गिरीबन्धु टी इस्टेट प्रकरणदेखि पश्चिम टीकापुरको जग्गासम्म अनि उपत्यकाका त्रिवि, ललिता निवास, बाल संगठन लगायतका धेरै ठाउँमा भएका आक्रमणले कुशासन उत्कर्षमा पुगेको मान्नुपर्छ । अपराधीमाथि अब पनि कठोर कारबाही गरिएन भने यस्ता निकृष्ट क्रियाकलापले निरन्तरता पाउने निश्चित छ ।

भुवनेश्वर शर्मा, चन्द्रागिरि–२, काठमाडौं 

पाठक

Link copied successfully