१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३३३

हीर दुःखान्त

मुस्लिम समाजका जादु, टुनामुना, तन्त्रमन्त्र, सुराकीका कथाले ‘ईश्वरनिन्दा’ रहस्यमय र रोचक छ
पिर साईको पशुवत् व्यवहारले रात–दिन आजित छिन् हीर । बुर्काभित्रको उकुसमुकुस र आध्यारो संसार चियाउने बेजोड आँखिझ्याल हो– ईश्वरनिन्दा
भुवन ढुंगाना

लेखक तेहमिना दुर्रानीको उपन्यास ‘ब्ल्यासफेमी’ अनुवाद गर्दाको कथा हो यो । किताबमा लेखिएका अकल्पनीय घटना पढिरहँदा मलाई मानसिक तनाव भयो । र, कतिपटक अनुवाद नगरौं–नगरौं लागिरह्यो ।

हीर दुःखान्त

किताब आद्योपान्त पढिसकेपछि म निकै स्तब्ध भएकी थिएँ । मेरा जीउमा काँडा उम्रिएका थिए । फेरि सोचें, मुस्लिम महिला हिंसाविरुद्ध लेखिएको यो किताब नेपाली समाजका दिदीबहिनी, अभियन्ता, मानवअधिकारवादी र शासक सबैले पढ्नुपर्छ । अनि अनुवादमा जुटेँ ।

‘ब्ल्यासफेमी’ लाई नेपालीमा ‘ईश्वरनिन्दा’ शीर्षक राखें र अनूदित पुस्तक बुझाएँ । र, साहित्य गुठीबाट त्यो किताब २०६१ मा प्रकाशित भयो । दक्षिण पाकिस्तानको सामाजिक, राजनितिक पृष्ठभूमिमा लेखिएको त्यो सत्य–कथाले अनुप्राणित उपन्यास धार्मिक गुरुको ब्यभिचारी कर्ममाथिको एक दस्तावेज हो । उपन्यास सत्यकथामा आधारित हो । जुन महिलाको कथा हो किताब, उसको पहिचान व्यक्त हुन नदिने अभिप्रायले किताबमा नाम र घटनाक्रम परिवर्तन गरिएको छ ।

यो साठीको दशकतिरको कुरा हो । साहित्य गुठी र द टोयोटा फाउन्डेसन, जापानको संयुक्त अनुवाद प्रकाशन परियोजनाको आर्थिक सहयोगबाट प्रकाशित गरिने पुस्तकका सन्दर्भमा पाकिस्तानी महिला लेखिकाका दुई पुस्तक चयन गरिएको थियो । एउटा थियो पाकिस्तानी महिला लेखिकाको प्रतिनिधि–कथासंग्रह (सो द्याट यु नो मी) र दोस्रो तेहमिना दुर्रानीको विवादास्पद उपन्यास– ब्ल्यासफेमी । ती दुवै पुस्तकलाई अंग्रेजी भाषाबाट नेपालीमा अनुवाद गर्ने अभिभारा गुठीका सञ्चालक समितिका तर्फबाट मलाइ दिइएको थियो । पहिलो पुस्तकमा सत्र पाकिस्तानी महिला कथाकारका एक–एक कथा थिए । छनोटमा परेका कथाहरू विश्वसाहित्यसँग प्रतिस्पर्धा गर्ने खालका थिए । त्यो पुस्तक मैले तोकेको समयावधिभन्दा छिट्टै अनुवाद गरेर संस्थालाई बुझाए । तर, दुर्रानीको ‘ब्ल्सासफेमी’ (ईश्वरनिन्दा) अनुवाद गर्न मलाई एक महिनाभन्दा बढी समय लागेको थियो ।

...

‘ईश्वरनिन्दा’ मा के छ ? प्रभावशाली गद्यशैलीमा लिपिबद्ध यस उपन्यासमा दुर्रानीले सुन्दरी युवती हीरको दुःखान्त कथा लेखेकी छन् । आर्थिक दुरवस्थाले उनको पन्ध्र वर्षमै वयस्क पिर साई (मस्जिदमा बस्ने धर्मगुरु) सँग विवाह हुन्छ । ‘ईश्वरको मान्छे’ भनिने पिर साईको पशुवत् व्यवहारले आजित भए पनि बाध्यतावश त्यही हवेलीमा दिन–रात अल्लाह (ईश्वर) का नाममा भइरहने यौनशोषण, निमुखा केटीहरूको बलात्कार, अनैतिक क्रियाकलाप हेरेर बस्न बाध्य छिन् हीर । त्यसविरुद्ध बोल्न खोजे हीरलाई दिइने शारीरिक–मानसिक यन्त्रणा कहालीलाग्दो छ । तेह्र अध्यायमा विभाजित उपन्यासमा पहिलो अध्याय छ– ‘मुक्ति’ । त्यसको अर्थ पिर साईको मृत्युपश्चात् मात्रै हीरलाई मुक्ति मिलेको संकेत दिइन्छ । उपन्यासमा कथाभित्र पनि अरू धेरै स–साना कथा छन् । मुस्लिम समाजमा विद्यमान जादु, टुना, तन्त्रमन्त्र र सुराकीहरूको क्रियाकलापले किताबको कथा निकै रहस्यमय र रोचक भएको छ । पौराणिक गाथा हीर र राजाको सम्बन्धजस्तै झिनो, तर मर्मस्पर्शी प्रेमको सम्बन्ध हीरको जीवनमा पनि देखाउन खोजिएको छ, तर त्यो असफल प्रेमको रूपमा आएको छ । पिरको मृत्युपछि छोरा राजाजीको यन्त्रणामा रहनुपर्ने बाध्यता छ हीरलाई । यस्तै परम्परा हाम्रो नेपाली समाजमा पनि कायमै छ ।

सामाजिक, राजनीतिक संस्कारको परिवेशमा लेखिएको यो उपन्यास एक्काइसौं शताब्दीको मानव समाजमा (खासगरी मुस्लिम समाजमा) महिलामाथि हुने हिंसा, व्यभिचार, बलात्कार आदि स्वार्थपरक विषय हेर्ने आँखिझ्याल हो । यस विषयमाथि अध्ययन, अनुसन्धान गर्नेहरूका लागि यो एक महत्त्वपूर्ण ग्रन्थ हुन सक्छ । उपन्यासलाई नारीवादी लेखनको एक सशक्त र जिउँदो साहित्यिक कृति मान्न सकिन्छ । किताबलाई अनुभवन्यास पनि भन्न सकिन्छ । हीरको अनुभव, जसले उपन्यासको रूप लियो– पर्दा र बुर्काभित्रको संसार हेर्न, बुझ्न उपन्यास बेजोड छ ।

...

को हुन् तेहमिना दुर्रानी ? पाकिस्तानी विवादास्पद लेखक तेहमिना दुर्रानीको (फेब्रुअरी १०, सन् १९५३) जन्म एक सम्भ्रान्त परिवारमा कराँचीमा भएको थियो । सत्र वर्षकै उमेरमा उनको विवाह अनिश खानसँग भयो । तर, केही वर्षमै त्यो विवाह पारपाचुकेमा परिणत भयो । उनको दोस्रो विवाह राजनीतिज्ञ, पन्जाबका मुख्यमन्त्री गुलाम मुस्तफा खेरसँग भए पनि चौध वर्षको वैवाहिक जीवनपछि त्यो विवाह अन्त्य भयो र पारपाचुकेमै टुंगियो । ‘माई फ्युडल लर्ड’ (सन् १९९१) दुर्रानीको निकै चर्चित र विवादास्पद किताब हो । यो किताबमा उनले खेरसँगको आफ्नो दाम्पत्य जीवनको सम्बन्ध र खेरको सामन्तवादी चरित्रको आलोचना गरेकी छन् । इस्लाम धर्ममा आएको विकृति, महिला र समाजले मूकदर्शक भएर त्यसलाई हेरिरहेको, सहिरहेको आरोप पनि लगाएकी छन् । उनले राज्यको भ्रष्टाचार र पुरुष शोषणविरुद्ध भोक हडताल र जुलुस प्रदर्शन गरिन् । र, महिला, केटाकेटीको हक अधिकारका लागि लडिन् । वैवाहिक जीवनभित्रको विसंगतिविरुद्ध संघर्ष गरिरहिन् । पारपाचुकेपछि पाकिस्तानका नामूद मानवतावादी अब्दुल सतार इदीको संस्थामा आबद्ध रहिन्, सर्वसाधारणको हित–अधिकारका लागि काम गरिन् । इदीको जीवनमा आधारित दुर्रानीको ‘एमिरर टु द ब्लाइन्ड’ (सन् १९९६) किताब इदी फाउन्डेसनबाट छापिएपछि उनी चर्चामा आइन् । दुर्रानीको पहिलो आत्मवृत्तान्त ‘माई फ्युडल लर्ड’ (सन् १९९१), दोस्रो उपन्यास ‘ब्ल्यासफेमी’ (सन् १९९९) र तेस्रो इदिको आत्मकथा ‘एमिरर टु द ब्लाइन्ड’ (सन् १९९६) धेरै भाषामा अनूदित भए र ती सधैं चर्चामै छन् । तेहमिना एक सफल चित्रकार पनि हुन् । त्यसैले उनको उपन्यास ‘ईश्वरनिन्दा’ चित्रैचित्रले भरिएझैं लाग्छ ।

...

अनुवाद असाध्यै कठिन काम हो । मौलिक कृतिको मर्म र विचार सम्प्रेषण गर्न नसके त्यो अनुवाद रसविहीन, अर्थहीन हुन्छ । ‘ब्ल्यासफेमी’ अनुवाद गर्दा त्यो पाकिस्तानी समाज, परिवेश, रीतिथिति, संस्कार सबै नौलो थियो मेरा लागि । ती सबैलाई आत्मसात् गर्दै, आश्चर्यचकित हुँदै अनुवाद गर्नुपर्ने अवस्था थियो त्यो । उर्दू भाषामा प्रयोग गरिएका विशेष शब्दलाई अग्रेजीमा पनि त्यही लेखिएको थियो । मैले नेपालीमा त्यही शब्द राखेँ । प्रसंगबाट पनि ती शब्दको अर्थ खोल्ने प्रयास गरेँ । मुस्लिम समाजमा एक अबला नारीले भोग्नुपरेका पीडा, दुःख र आतंकका कथा पढेर मर्माहत भएँ । मनमा बारम्बार प्रश्न उठिरह्यो– यस्तो घटना पनि घट्न सक्छ ? यस्तो सम्भव हुन्छ ? तर, हुँदोरहेछ । अहिले आफ्नै मुलुकमा त्यस्तै जघन्य अपराधका विषय छापामा पढिने, सुनिने गरिन्छ । यद्यपि हामी लेखकले त्यस्तो चित्रण र महिलाको अन्तरंगी कथा धेरै लेख्नै सकेका छैनौं । अनि दुर्रानीको ‘बोल्ड राइटिङ’ को प्रशंसा गर्न मन लाग्छ ।

‘ईश्वरनिन्दा’ जति रोमाञ्चकारी छ, उति नै दुर्रानीको जीवनमा पनि धेरै उतारचढाव, आरोहअवरोह आएको छ । उनी आफ्नो उद्देश्यमा, समाज–महिलामाथि हुने भेद्भाव, हिंसाविरुद्ध सधैं कटिबद्ध छिन् । दुर्रानीले तेस्रोपटक (सन् २००३) हालका पाकिस्तानका प्रधानमन्त्री सेहवाज सरिफसँग विवाह गरेकी छन् । उनको बसोबास लाहोरमा छ । सेहवाज सरिफ पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफका भाइ हुन् । अहिले पाकिस्तानकी प्रथम महिला दुर्रानीको आगामी साहित्यिक–कृति कस्तो, कुन रूपमा आउने हो ? हेर्नै बाँकी छ ।

प्रकाशित : वैशाख २, २०८० १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?