१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७८
रिपोर्ट

वधशाला लाइभ

काठमाडौंका वधशाला फोहोर छन् । भुइँभरि रगत, फालिएका मासुका टुक्रामा कागहरूको लुछाचुँडी । आँखाभरि आँसु लिएर चिसो भुइँमा कठ्यांग्रिँदै मृत्यु कुरिरहेका पशु ।
प्रकृति दाहाल

टेकु, इनाटोल विष्णुमती खोला किनारमा छन्– ४० वधशाला स्टल । प्रवेशद्वारमै छ यत्रतत्र गोबर । भुइँभरि छ रगतैरगत । काटेर फालिएका मासुका टुक्रामा कागहरूको लुछाचुँडी छ । मासु काट्ने, ओसार्नेदेखि मोलमोलाई गर्नेसम्मको घुइँचो छ । मासु काटेको दृश्य जति बिदारक छ, काट्न ठिक्क पारेका रागा–भैंसीको अवस्था पनि उत्तिकै दयनीय छ ।

वधशाला लाइभ

सानादेखि बूढा भैंसीसम्म काट्न तयार पारिएका छन् । ती छन्– दुब्ला–पातला, खुट्टा बांगिएका, आँखाभरि कचेरा र आँसुले भरिएका । न उनीहरू बस्ने बासस्थान व्यवस्थित छ न आहाराकै उचित व्यवस्था । चिसो भुइँमा कठ्यांग्रिएर उनीहरू मृत्यु कुरिरहेका छन् । वधशालाबाटै बिहान ९ बजेसम्ममा घरदेखि रेस्टुराँसम्म पुगिसकेको हुन्छ मासु ।

केही परको कीर्तिपुर, बाघभैरव वधशाला पुग्दा यहाँको दृश्य टेकुको भन्दा अलि फरक छ । यस वधशालमा टेकुमा झैं सालाखाला रागा–भैंसी काटिँदैन । साना पाडाहरू काटिए पनि काट्ने शैली एउटै देखिन्छ । भुइँमा रगत बगिरहेकै छ । एउटा कोठामा करिब १०, १२ पाडा कोचिएर बाँधिएका छन् । लाग्छ, तिनलाई सास फेर्न समस्या छ । एउटा बस्न अर्को उभिनुपर्छ । खिया लागिसकेका हतियारले काटेको मासु खिया लागिसेकेकै मेसिनमा जोखेर लैजान हतारमा छन् उपभोक्ता ।

वधशाला ऐन छ, कार्यान्वयन छैन

‘पशु वधशाला तथा मासु जाँच ऐन–२०५५’ अर्न्तगत वधशाला ऐनहरू निर्माण भएका छन् । तर, वधशाला नियाल्दा लाग्छ, ती नियम कतै पालना भएका छैनन् । पशु वध गर्नुअघि जचाउनुपर्ने, वध गरिएको पशुको मासु जाँच गर्नुपर्ने, मासुमा छाप वा चिह्न लगाउनुपर्नेजस्ता थुप्रै ऐन छन् । ती ऐन कार्यान्वयन नगरे ५ देखि २० हजार रुपैयाँसम्म जरिवाना र एक महिनासम्म कैद हुने व्यवस्था छ । तर, खुला स्थानमा लापरवाही तरिकाले काटिइरहेका छन् पशु । न स्वास्थ्य जाँच गरिन्छ न मासुको गुणस्तर जाँच हुन्छ । खुला रूपमा मासु बिक्री भइरहेको छ । व्यवस्थित वधशाला निर्माण भएका छैनन् । सरकारी निकायको पटक–पटकको अनुगमनले पनि वधशाला सुध्रिएका छैनन् ।

‘वधशाला अनुगमनका क्रममा देखियो पुरानो र फोहोरी मासु बेच्ने, रोगी जनावर काट्ने, गन्हाएर वधशालाभित्र छिर्नै नसकिने र मासुमा झिँगा भन्किएको,’ उद्योग वाणिज्य तथा आपूर्ति विभागका सहायक सूचना अधिकृत तथा निरीक्षण अधिकृत कमल भुसाल बताए । उनका अनुसार, मासु उपभोक्ताको स्वास्थ्यसँग सम्बिधित भएकाले पटक–पटक अनुगमन गरिन्छ, तर वधशालाहरूमा कुनै सुधार आएको छैन । जरिवाना तोकिए केही समय सुधार हुने र फेरि उही अवस्था दोहोरिने उनी बताउँछन् । भन्छन्, ‘स्वच्छ मासु बिक्री गर्ने बिक्रेतासँगसँगै उपभोक्ता पनि जिम्मेवार हुनुपर्छ ।’ सरकारी निकायको पटके अनुगमनले मात्रै वधशाला सुधार्न सम्भव नहुने इमाटोलमा २५ वर्षदेखि वधशाला सञ्चालन गर्दै आइरहेका विनोद खड्गी बताउँछन् । सम्बन्धित निकायको भूमिका प्रभावकारी र कानुन कार्यान्वयनको पक्ष बलियो नभएसम्म वधशाला सुधार्न मुस्किल हुने उनको भनाइ छ । भन्छन्, ‘हामीलाई पनि यो तरिकाले वधशाला सञ्चालन गर्ने रहर कहाँ छ र ? महानगर आउँछ अनुमगन गर्छ अनि व्यवस्थित गर भन्छ, तर हामीले कसरी व्यवस्थित गर्ने ? एउटा वधशाला व्यवस्थित गर्न कम्तीमा ५० देखि ६० लाख लगानी गर्नुपर्छ । हामीले लगानी कसरी गर्ने ?’

कति मासु खान्छ काठमाडौं ?

पशु सेवा विभागका प्रवक्ता चन्द्र ढकालका अनुसार, काठमाडौंमा दैनिक १०० को हाराहारीमा राँगा (दसैंमा २५० सम्म), र खसीबोका १ हजार देखि १२०० वटासम्म काटिन्छ । एउटा राँगाबाट कम्तीमा १५० किलो मासु निस्कन्छ भने बाख्राबाट २० केजीसम्म । उनी भन्छन्, ‘ठ्याक्कै तथ्यांक भन्न सक्ने अवस्था छैन, तर व्यवसायीसँग गरिएको कुराकानीका आधारमा हामीले यो डाटा संकलन गरेका हौं ।’ काठमाडौंमा राँगा, भैंसी, खसीभन्दा पनि बढी कुखुराको मासु खपत हुन्छ । सबैभन्दा बढी कुखुराको मासु खपत हुने तथ्यांकले बताउँछ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार, उपत्यकामा दैनिक ५ लाख किलो मासु खपत हुन्छ । उपत्यकामा धादिङ, नुवाकोट, काभ्रे र तराईका जिल्लाहरूबाट कुखुरा आउँछ ।

मापदण्डविपरित पशु ढुवानी

पशु ढुवानी मापदण्ड २०६४ बुँदा ६ अनुसार, पशु ढुवानी गर्दा हलचल गर्न सकिने, घाउचोटपटक नलाग्ने, अत्यधिक चिसो वा तातोबाट बचाई एकआपसमा ठोक्किएर अंगभंग नहुने गरी सावधानीपूर्वक ढुवानी गर्नुपर्छ । बुँदा १७ (१) मा लेखिएको छ– पशु ढुवानी गर्दा गाडीमा जबरजस्ती कोचेर राख्नु हुँदैन । तर, पशु ढुवानीको दृश्य यस्तै छ त ? यी सबै कुरा कागजमै सीमित छ । वास्तवमा क्रूरतापूर्वक हत्या भइरहेको छ पशुको । काठमाडौंमा भारतदेखि तराईका जिल्ला बारा, सर्लाही, बर्दियाबाट राँगा, भैंसी ल्याउने गरिन्छ । ट्रकमा कोचकाच पारी, १८–२० घण्टासम्म यात्रा गराई ती पशुलाई काठमाडौं भित्र्याइन्छ । मुखमा डोरी बाँध्दै ल्याइएका पशुको नाकमा रगत हुन्छ, आँखामा आँसु र मुखमा फिँज चुहिइरहेको हुन्छ ।

५ वर्षदेखि काठमाडौंमा राँगा, भैंसी आपूर्ति गर्दै आइरहेका छन् अब्दुल मिया । उनी तराईका जिल्लाहरूबाट हाटहरूमा किनेर ती पशु काठमाडौं छन् । ३० देखि ४० हजारको हाराहारीमा पशु ल्याइसकेका छन् । एकपटकमा २० वटा भैंसी काठमाडौं भित्र्याउँछन् । सहज तरिकाले थोरै ल्याउँदा लगानी नै नउठ्ने भएकाले कोचेर भैंसी ल्याउन आफू बाध्य भएको भन्छन् उनी । ‘तर, पशुमाथि अन्याय भइरहेको छ’, उनको स्वीकारोक्ति छ । लामो यात्रापछि पशुहरू भोकै, तिर्खै आइपुगेका हुन्छन् । वधशालामा खानासमेत दिन सक्ने अवस्था नरहेको र तिनलाई भोकै वध गरिने उनी सुनाउँछन् ।

किन बन्दैनन् व्यवस्थित वधशाला ?

उपत्यकामा व्यवस्थित वधशाला छैनन्, जसका कारण उपभोक्ताहरू अस्वस्थ मासु खान बाध्य छन् । पशु सेवा विभाग र काठमाडौं महानगरपालिकाले पटक–पटक वधशाला निर्माणको कार्ययोजनासहित बजेट छुट्यायो, तर वधशाला व्यवस्थित बन्न सकेको छैन । पशु सेवा बिभागले २०६७ देखि हालसम्म करिब ५ अर्ब बजेट वधशाला निर्माणमा छुट्याइसकेको छ । तर, बजेट अन्यत्रै खर्च भएको बताउँछन् प्रवक्ता ढकाल । उनका अनुसार, उपत्यकामा वधशाला निर्माण गर्न स्थानको अभाव छ । ‘व्यवस्थित वधशाला निर्माण गर्न कम्तीमा ३० रोपनी जग्गाा चाहिन्छ’, उनी भन्छन्, ‘पशु होल्डिङ गर्ने, ल्यारेज गर्ने, सल्टिरिङ हाउस बनाउनेदेखि वध गरेपछिको सबै प्रत्रिया पूरा गर्न, फाहोर विसर्जन गर्न कम्तीमा ३० रोपनी जग्गाा आवश्यक हुन्छ । जग्गाकै अभावले उपत्यकामा वधशाला निर्माण नभएको हो ।’

बलिको कथा

मासुले मानिसहरूको संस्कृति र जीवनशैली नै परिवर्तन गरिरहेको बताउँछन् मानवशास्त्री सुरेश ढकाल । ‘करिब १५ लाख वर्ष पहिलेदेखि नै मानिसले मासु पोलेर खाने चलन रहेको विभिन्न अध्ययनहरूले भनेका छन्’, उनी भन्छन्, ‘मानिसहरू जब बासस्थान बनाएर खेतीपाती गर्न थाले, जनावर र जनसंख्याको सन्तुलन मिलाउन मानिसहरूले जनावर मार्न थाले । प्रकृतिको निश्चित नियम हुन्छ, हिउँद–बर्खा लाग्छ, तर जनावर लामो समयसम्म बाच्ने गर्छ, त्यसकारण हिउँदअघि नै जनावर मारेर मासु खाने चलन चल्यो, त्यसकारण दसैं मासु खाने चाड बन्यो ।’ प्रकृतिमा सन्तुलन मिलाउन विभिन्न देवी–देउताको कल्पना गर्दै पशुहरूको भोग सुरुवात थालेपश्चात् त्यसलाई बलिको रूप दिइएको उनी बताउँछन् । ‘आफूले खाएर अन्न बाँकी रहने भएकाले मानिसले मनोरञ्जन खोज्न थाले । त्यही रूपले विभिन्न जात्रा, भोजमा मासुले प्रवेश पाउन थालेको हो,’ उनी भन्छन्, ‘काठमाडौंमा खेती गर्न राँगा पाल्ने गरिन्थ्यो, उब्जनी प्रशस्त हुने भएकाले मासुलाई मनोरञ्जनका लागि प्रयोग गर्न थालियो, त्यही परम्परा हालसम्मै कायम छ । जब मानिस कृषिमा परनिर्भर हुन थाले, त्यसपछि बलिको आलोचना र नकारात्मक टिप्पणी हुन थाल्यो ।’

परापूर्वकालमा मानिसले आफ्नो क्षमता देखाउन पशु–हिंसा गर्न थालेको बताउँछन् संस्कृति–अध्येता भोगीराज चाम्लिङ । ‘आफूमा कति शक्ति छ, कति पशु हिंसा गर्न सकिन्छ, सोही अनुसार मानिसहरू आफूलाई बलवान् ठान्थे । शक्ति प्रदर्शन गर्दै देवीदेउताका विभिन्न प्रतीक बनाएर संकट टार्नेदेखि प्रकोप न्यूनीकरण गर्ने विश्वासका साथ भोग दिन थालियो । र, त्यही भोगले नै बलिको रूप लिँदै गएको हो’, उनी भन्छन्, ‘बलि र भोग दिनु भनेको मानिसले मासु खाने बहाना पनि खोजेका हुन् । मासु नखाने पशुको भोग दिने चलन छैन, जुन पशुको मासु खाने चलन छ, उसैको भोग दिइन्छ ।’

कस्तो मासु खाने ?

बजारको मासु स्वास्थ्यका लागि हाइजेनिक छैन भन्छिन् पोषणविद् सुनैना देवजू । ‘धेरैतिरबाट ढुवानी हुने र वधशालाहरू पनि स्वस्थ नभएकाले घरमा ल्याएर मज्जाले धोएर मात्रै होइन, त्यो मासु उसिनेर खानुपर्छ,’ देवजू भन्छिन्, ‘शरीरका लागि आवश्यक पर्ने प्रोटिन भए पनि मान्छेले आवश्यकताभन्दा धेरै मासु खाइरहेका छन् ।’ एक व्यक्तिलाई एक दिनमा ३ पिस फल मासु पर्याप्त हुन्छ भन्छिन् देवजू । पोलेको, फ्राई गरेको मासु शरीरका लागि हानिकार हुने भएकाले त्यो मासु नखान सुझाव दिन्छिन् ।

मासु किन्दा गुणस्तर र त्यसको सरसफाइमा ध्यान दिनुपर्ने बताउँछन् खाद्य व्यवस्था तथा गुणस्तर विभागका निरीक्षक बिजन श्रेष्ठ । ‘वधशालामा काटेर, झुन्ड्याएर राखिएको मासुभन्दा फ्रिजको मासु किन्दा राम्रो,’ उनी भन्छन्, ‘फ्रिजमा राखिएको मासु लामो समयसम्म खान सकिन्छ– कुखुराको ६ महिनासम्म, राँगाको १२ महिना र खसीको ६ देखि ९ महिनासम्म । काटेर झुन्ड्याइएको मासुमा जीवाणु उत्पादन भइसकेको हुन्छ । केही समय भएपछि फ्रिजमै राखिएको मासु रोज्नुस् ।’

प्रकाशित : चैत्र २५, २०७९ १०:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?