कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४०

नेपालमा किताब–कथाका विरोधाभास

नेपालमा किताब कसले मन पराए ? कसले पुस्तकालय खोले ? कसले तिनको जतन गरे ? अनि सरकारका मानिसले तिनको सहज प्रवाहमा कसरी समस्या खडा गरे ?
अभि सुवेदी

नेपालमा किताब मोहका विरोधाभासका कथा छन् । यहाँ किताबको कथा अत्यन्त चाखलाग्दो छ । जुन देशमा साक्षरता शतप्रतिशत छैन र जहाँ खासै किताब नपढ्ने राजनेताहरूको वर्चस्व छ, जहाँ सूचना र ज्ञानको वैश्विक आँधीका तरङ्गतले खासै छुँदैनन् त्यहाँ किताबको कथा बलियो छ । एकतन्त्री राणा शासक र तिनका राजगुरुहरूका घरमा सबैभन्दा ठूला पुस्तकालय बनिए । प्रजातान्त्रिक नेपालमा पुस्तकालय र बिक्रेताका हविगतको कुरा गरेरै साध्य छैन । तर, यहाँ पुस्तक बेच्ने र किन्नेका जोडदार कथा छन् ।

नेपालमा किताब–कथाका विरोधाभास

विश्वमा किताबको युगमा उथलपुथल आएको बेला नेपालमा त्यसको तरङ्ग देखिनुलाई अत्यन्त अर्थपूर्ण विषय मान्नुपर्छ । शतप्रतिशत साक्षरता नभएको देशमा किताबको हलचल विषयमा लेख्नुका केही कारण छन् । ती कारण चाखलाग्दा छन् र तिनले उठाएका प्रश्नका उत्तर खोज्ने काम अनेकौं पुस्तकालय र किताब विषयमा लेख्नेहरूले उठाइआएका छन् । सरकारहरू पुस्तकालयलाई स्थान बनाइदिने र भएका किताबलाई जतन गरेर राख्ने कुरामा असंवेदनशील भएको जगजाहेरै छ । ती र तिनका नेताहरूलाई किताब र पुस्तकालय व्यवस्थामा चाख छैन । एउटा पब्लिक लाइब्रेरी बनाउने थलोलाई आफ्ना चलखेलमा प्रयोग गर्ने आतुरता राजनेता र सरकारी नेतासम्मलाई देखियो ।

नेपालमा किताबको इतिहास र वर्तमानको हलचल एउटा ठूलो महत्त्वको विषय हो । लेखपढको केन्द्र कान्तिपुर नगरी भएको यो देशमा किताब उपासक र प्रयोगकर्ताले देखेका, अनुभव गरेका अनेकौं कुरा छन् । ग्रन्थै नभए पनि किताब, पुस्तकालय र तीसँग जोडिएका केही अत्यन्त महत्त्वपूर्ण लेख प्रकाशित भएका छन्, जसको सर्ससर्ती अध्ययन गर्दा धेरै कुरा खुल्छन् । मैले केही समयदेखि अध्ययन गरेका र कतिपय कलोकियममा प्रयोग गरेका लेख छन् ती । त्यसमा अखबारहरूमा प्रकाशित समाचार, लेख र केही सम्पादकीय पर्छन् । पछिल्लो समय यस विषयमा समाचार र मीमांसा दुवै भएका छन् । त्यस्ता मीमांसा गर्नेहरूमा प्राज्ञिक, पत्रकार केही लेखक, अध्येता र चिन्तक पर्छन् ।

‘कान्तिपुर’ दैनिकका सम्पादकीयहरूले ठीक समयमा केही महत्त्वपूर्ण चर्चा–विश्लेषण गरेका छन् । तिनले गरेका चर्चार्का यहाँ केही उद्धरण र केही प्रसङ्ग उल्लेख गरिएका छन् । तिनमा नेपालमा किताबको ऐतिहासिक प्रसंग जोडिएको छ । विदेशी अध्येता र भ्रमण गर्नेहरूले आफ्ना वर्णनमा किताबका प्रसंग ल्याएका कथा छन् । कुनै लेखमा नेपालमा पठन संस्कृति र पुस्तकालय व्यवस्थापनको अगाडि जान नसकेको संस्कृतिको चर्चा छ । कतिमा भने स्थानीय तह वा गाउँमा नै युवाहरूका पुस्तकालय खोल्ने सपना र प्रयोग यसै विसर्जन भएका कथा छन् । यी लेखहरूले समग्रमा नेपाल उपत्यकामा खुलेका र बिचल्ली भएका पुस्तकालयको चर्चा गर्छन् । यसमा पाल्पाको संवत् १९८३ मा दलान अनि पछि २००३ मा धवल नामकरण गरिएको पुस्तकालयको पनि प्रसङ्ग आउँछ ।

त्रिविको जमलको भूमिमा राष्ट्रिय पुस्तकालय खोल्ने सरकारको निर्णय अनि पछि आएर त्यो परिवर्तन भएको विषयमाथि कान्तिपुर दैनिकले लेखेका सम्पादकीय लेखहरू यो समयको किताबको छलफलका महत्त्वपूर्ण आलेख हुन् । श्रावण १४, २०७७ को सम्पादकीयले लामो समयको अन्योलपछि आएर यो निर्माण रोकिएको घटनालाई विरोधाभासपूर्ण र यस्तो निर्णयलाई अनुचित र पुस्तकालय चेतना र संस्कृतिको प्रतिकूल भनेको छ । यी सबै मीमांसाहरूमा सरकार चलाउने मानिसहरूको चेतना र अज्ञानताको आलोचना गरिएको छ । ०७२ सालको महाभूकम्पले भत्काएको एक मात्र हरिहरभवनमा रहेको नेपाल राष्ट्रिय पुस्तकालयको व्यवस्थापन गर्न नसकेको सरकारको आलोचना गर्दै ‘पुस्तकालयको परिकल्पना’ शीर्षकमा कान्तिपुरले असार २६, २०७६ मा लेखेको सम्पादकीयका केही हरफ यहाँ उद्धरण गर्नु उपयुक्त ठान्छु । सम्पादकीय लेख्छ, ‘दुई शताब्दीअघि राजा गीर्वाणयुद्ध शाहले लालमोहर लगाएर चिताई तहबिल अर्थात् रेखदेख संग्रह बनाएका थिए । पुस्तक र पुस्तकालय संरक्षण गर्न वर्षको १ सय २५ रुपैयाँ छुट्याएका थिए । .... हरिहरभवन ध्वस्त बनेपछि सम्पूर्ण पुस्तक ज्ञानेश्वरस्थित महेन्द्रभवन मावि र सानोठिमीस्थित शैक्षिक जनशक्ति विकास केन्द्रमा बोरामा थन्क्याइएका छन् ।’ ‘ज्ञानको कदर नगर्ने देश’ शीर्षकमा कान्तिपुरले नै भाद्र ११, २०७८ को सम्पादकीयमा उजागर गरेको विषयले झन मर्माहत बनाउँछ । यसमा ती ८० हजार थान किताब फेरि सानोठिमीमा रहेको प्रिक्याब टहरामा सारिएको कथा छ । ती बोराहरूमा ढुसी पलाइसकेको सन्दर्भ जोडदै यो सम्पादकीयले भनेको छ, ‘पाठकहरू पुस्तक पढ्न वञ्चित त छन् नै, यी अमूल्य... त्यसै सडेर त जाँदैनन् भन्ने चिन्ता पनि त्यत्तिकै छ ।’ गणेश राईका रिपोर्टले यो विषयको बढी जानकारी हुन्छ । तर, पछिल्लो कान्तिपुरको कार्तिक ९, २०७८ को एउटा यसै पत्रिकामा प्रकाशित ‘राष्ट्रिय पुस्तकालय जमलमै’ भन्ने समाचारले केही आशा पलाएको देखाएको छ । तर, यी सबै समाचारमा उल्लेख भएका कुरामा आश्वस्त हुन नसक्ने कारणमध्ये प्रमुख हो, सरकारमा रहेका मानिसलाई दृष्टिबोध हुन नसकेका घटनाको शृङ्खला ।

नेपालमा किताब कसले मन पराए ? कसले पुस्तकालय खोले ? कसले तिनको जतन गरे ? अनि सरकारका मानिसले तिनको सहज प्रवाहमा कसरी समस्या खडा गरे ? भन्ने विषयका केही छलफल भएका छन् । नेपालमा किताबबारे भन्नुपर्ने धेरै कुरा छन् त्यसमा केही यस्ता छन् । नेपालमा किताबहरूका संकलन र जतन गर्ने चाहना एकतन्त्री राणा शासनका घरानामा देखिए । विडम्बना छन् त्यस इतिहासमा । चन्द्रशमशेरका छोरा केशरशमशेरको निजी पुस्तकालयमा महत्त्वपूर्ण किताबको संकलन थियो र अझै छ । यसको इतिहासतिर नलागौं । मेरो विचारमा नेपालमा किताबहरूको ठूलो हलचल आएको कथा छ । त्यो त्यति पुरानो छैन र ती किताबहरू प्राय आङ्ल भाषामा लेखिएका हुन् । नेपाली भाषाका मात्रै किताब राख्ने मदन पुस्तकालयबाहेक अरू ठूला पुस्तकालयमा अंग्रेजी भाषाका किताब धेरै राखिएका थिए र छन् । अर्को लामो लेखको विषय भए पनि यहाँ केही कुरा प्रसङ्गमा आएका हुनाले राखेको छु । नेपालमा किताबको छलफल गर्दा केवल स्थापित पुस्तकालयको मात्र चर्चा गरेर पुग्दैन । मदन पुस्तकालय, त्रिबि पुस्तकालय, केशहरमहल पुस्तकालयलाई छोडेर खासै अरू पुस्तकालयका यहाँ चर्चा हुँदैनन् । कारण तिनको सन्चालन पद्धति र अवस्थाले गर्दा तिनको आम उपयोग हुँदैन । मेरो विचारमा नेपालमा किताब र तिनको प्रयोगको कुरा लिएर भन्दा यहाँ किताब पसल वा बिक्री गर्ने व्यवसायीको भूमिकाको पनि छलफल नगरी हुँदैन । अर्कै लेखको विषय हो । अन्त्यको अनुच्छेदमा केही अनुभव मात्रै भन्न चाहन्छु ।

नेपालका माथि उल्लिखित पुस्तकालयको एउटा नेपाल संकलन पक्षलाई लिएर मेरा केही संस्मरण छन् । एउटा सार्वजनिक पुस्तकालय स्थापना गर्ने चिन्ता राखेर २०६० सालतिर नेपालका केही पुस्तकप्रेमीले छलफल गरे । मैले सम्झेअनुसार, तीर्थराज वन्त र डा. नारायण खड्का म्लृ रूपमा यस काममा जुटेका थिए । अरू पनि थिए । म पनि सामेल थिएँ । ‘काठमाडौ उपत्यका सार्वजनिक पुस्तकालय समाज’ (२०६०) को संस्थापक सदस्य भएँ । यो पुस्तकालयले गुँड सार्दै जाँदा भृकुटीमण्डपको एउटा कुनामा एउटा अस्थायी थलो भेटेको छ । किताबका डङ्गुर छन्, आउँछन्, तर राख्ने व्यवस्थाको अभाव छ । अर्को संस्मरण छ, सिनासका अध्येता साकेत ठाकुर र ब्रिटिस मित्र लिन्जी फ्रिडमनले २०३० र २०३२ मा क्रमशः केशर पुस्तकालय र राष्ट्रिय पुस्तकालयका नेपाल ग्रन्थका वर्णनात्मक ‘क्याटलग’ तयार गरेको बेला ती पुस्तकालयको अन्तरंग बुझ्ने अवसर पाएँ ।

संस्कृति, ‘आर्काइभ’ र इतिहास पुस्तकालय सङ्कलनमा कसरी बस्छन् भन्ने कुरा बुझें ।

नेपालमा किताबको हलचल पुस्तकालयभन्दा बाहिर स्वतन्त्र रूपले गतिशील छ । त्यसैले युगको गति, इतिहास र मानिसको चरित्र बुझ्न हामी किताबको स्वतन्त्र अनुशीलन गरिबस्छौं ।

प्रकाशित : चैत्र १८, २०७९ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?