२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

भुइँझारझैं महिला

भुइँमै बिलाएका प्रत्येक साधारण महिलाको खुन, पसिनाले बनेको यस देशको इतिहासका पानामा तिनका कथा, व्यथा र योगदान भेटिँदैनन् 
कुमारी लामा

महिलाको उत्पीडन कहिलेबाट सुरु भयो ? यो यकिन नभए पनि कमला भासिन तीन हजारदेखि पैंतीस सय वर्ष र एभलिन रिड्स करिब दुई हजार वर्ष जति मात्र भएको दाबी गर्छन् । मनुस्मृतिको सन्दर्भ जोड्दा करिब पच्चीस सयदेखि तीन हजार वर्ष भएको आकलन गर्ने गरिन्छ । मनुस्मृतिले जातव्यवस्थाको आधार निर्माण गरी कालान्तरमा जात नै वर्गमा रूपान्तरित भएको समाज विश्लेषकहरूको जिकिर छ ।

भुइँझारझैं महिला

समाजमा स्थापित जात व्यवस्थाले मानिस मानिसबीच उच–नीचको तह निर्माण गर्नुका साथै पितृवादी कट्टर मान्यताले भने क्रमशः महिलाप्रति विभेदी नियमहरू लागू गरेको देखिन्छ । हिन्दु पितृसत्तात्मक सामाजिक व्यवस्थामा धार्मिक कट्टरताको प्रवेशपश्चात् महिलाका निम्ति अझ सकसिलो समय निम्तिएको थियो । यस व्यवस्थाले धर्मको जालो फिँजाई भाग्य र फलको जञ्जालमा पारी शूद्र जाति र महिलामाथि गरेको चरम शोषणका घटनाहरू इतिहासको गर्तमा थुप्रिएका छन्, जसले महिलालाई दोस्रो दर्जाको बिल्ला मात्रै भिराएन, उनीहरूको अस्तित्वमाथि नै ठूलो संकट खडा गिरिदियो ।

महिलाले परिचय संकटको मानिसक उल्झन बोकी हिँडेको हजारौं वर्ष भइसकेको छ । सतीजस्तो प्रथालाई बढावा दिने सामाजले उनीहरूको अस्तित्वलाई अत्यन्त तुच्छ ठानेको थियो । लोग्नेको मृत्युपश्चात् मानौं उनीहरू बाँच्नलायकै रहँदैनन् ठानी लोग्नेकै चितामा जिउँदै जलाइन्थ्यो । महिलाको जिउँदो शरीरमा आगो झोस्नु संस्कारजन्य अन्धताको चरम त थियो नै, हिन्दु धार्मिक निरंकुशताको पराकाष्टा पनि थियो । अङ्ग्रेज शासनकालीन भारतमा सती पोलिएको दृश्य एक नजारा बन्थ्यो । ठूलाबडा गोराहरूको बैठक मण्डली नै खडा गरी जिउँदो महिला लोग्नेको लाससँगै जल्दै खरानी भएको दृश्यावलोकन गर्नेको हूल लाग्थ्यो । सती बनेकी महिलाको भाव, भङ्गिमा, चाल, रूपरङदेखि क्रिया–प्रतिक्रियासम्मको पूरा विवरण तयार गर्ने कार्य हुन्थ्यो त्यसताका । त्यस क्रूर र अमानवीय कार्यलाई लता मनीले ‘अनुष्ठानजन्य हत्या’ (‘द फिमेल सब्जेक्ट द कोलोनियल गेज’, पृ. १८९) को संज्ञा दिएकी छन् । खासमा त्यो हत्या नै थियो । सारा समाजको साँठगाँठमा फत्ते गरिने धार्मिक हत्या । पतिभक्त हिन्दु महिलाहरू आफैं सतीका लागि तयार हुन्छन् भन्ने झ्याली पिटाइन्थ्यो । तयार हुन्थे पनि होलान्, तर कस्तो परिस्थितिको फन्दामा परी उनीहरू जल्न तयार हुन्थे भन्ने विषय भने गौण छ ।

हिन्दु समाजमा व्याप्त पाप, धर्म, स्वर्ग नर्क साथै कर्म र फलजस्ता मान्यताले त्यस समाजका प्रत्येक व्यक्तिलाई प्रभाव पारेको देखिन्छ । घर घेरामा राखी धर्मकर्ममा तल्लीन पारिने महिलाका निम्ति स्वर्ग, नर्कजस्ता मान्यताको प्रभाव पार्नु स्वाभाविकै हो । त्यसमा पनि लोग्नेसँगै मर्न पाउँदा स्वर्गमा बास हुन्छ भन्ने अन्धविश्वास धार्मिक मठाधिकारीहरूले सामाजमा छ्याप्छ्याप्ती फिँजाएकै थिए । यी सारा कुराको दबाब र प्रभावमा परेका महिला लोग्नेको मृत्युपछिको अति भावुक र उद्विग्न अवस्थामा जल्न तयार हुनु अस्वाभाविक थिएन । यद्यपि चितामा बस्न नाइँनास्ति गर्ने कतिपयलाई अफिम खुवाएरै भए पनि चितामा उकालिने गरेका घटनाहरू सतहमा आएका छन् ।

पूर्वीय समाजले मात्रै नभई सभ्य र विकसित मानिएको पश्चिमी समाजले पनि महिलालाई सहायककै रूपमा लिएको छ । पुरुषभन्दा तल्लो दर्जामा परेका उनीहरूको परिचय र इतिहास लेखनको विषय लामो समय छायामै परिरह्यो । औपनिवेशिक कालमा विश्वभर साम्राज्य विस्तार गरी सर्वशक्तिमान् कहलिएको बेलायतजस्तो देशमा अठारौं शताब्दी अघि इतिहासका पानामा महिला समेटिन सकेका थिएनन् । अझ लेखन–पठन कर्ममा त महिलाको उपस्थिति एकदमै न्यून थियो । सत्रौं शताब्दीसम्म पनि बेलायतमा मिसेस बेनबाहेक लेखेरै आफ्नो गुजारा चलाउने अन्य कुनै महिला नभएको भर्जिनिया उल्फको दाबी छ (अ रुम अब वान्स ओन, पृ. ७० ) । यस अवस्थाको अन्तर्यमा महिलाको आफ्नो छुट्टै कोठा नहुनुले भूमिका खेलेको उनको जिकिर छ । निश्चितै, महिलाको आफ्नो भन्ने कुरा कहिल्यै भएन । न परिचय, न अस्तित्व या कोठा नै आफ्नो (सामान्यतया) । आजसम्म पनि अवस्था लगभग उस्तै छ । घरको हरेक भित्ता कुनाको सरसफाइमा खटिने महिलाको लागि घरको एक सिङ्गो कोठा कहिल्यै भागमा परेन । उसले अलिकति लोग्ने, थोरै छोराछोरी अथवा परिवारको साझा ठाउँबाट आफ्नो गुजारा चलाउनुपर्ने अवस्था थियो/छ । आफ्नो भन्ने केही हातमा नभएकी महिलाको सम्पत्तिमा अधिकार हुने कुरै भएन (नेपालको संविधानले अधिकार त दिएको छ...) । ऊ आफै नै लोग्नेको निजी सम्पत्तिसरह हुन्छे । सम्पत्ति र सामाजिक हैसियतको आधारमा राजनीतिक अधिकार प्राप्त गर्ने प्रत्येक समाजको मूल चरित्रका कारण महिला ती अधिकारबाट बीसौं शताब्दीको पूर्वाद्धसम्मै वञ्चितिमा परिरहेका थिए । अनेकन् सामाजिक आन्दोलनपश्चात् बेलायतमा सन् १९२८ बाट मात्रै एक्काइस वर्ष पुगेका महिलाले मतदान गर्ने अधिकार प्राप्त गरे । नेपाली महिलाले मतदानको अधिकारका निम्ति खासै लडाइँ गर्नु नपरे पनि परिचय र स्वतन्त्रताको सवालमा भने आजपर्यन्त आवाज उठाइरहनुपरेको छ ।

...

१ सय ४ वर्ष लामो निरंकुश जहाँनिया राणा शासनको चपेटामा परेको आम नेपाली जनताले २००७ सालअघिसम्म शैक्षिक राजनीतिक अधिकारहरूबाट टाढा हुनुपरेको जगजाहेरै छ । शिक्षाको पहुँच राणा, शाह परिवार र उनका भाइ भारदारमाझ मात्रै सीमित भएको अवस्थामा सामान्य जनता शिक्षाको उज्यालोबाट लामो समय टाढा रहनुपर्‍यो । परिवर्तनको संकेतसहित खुलेका केही विद्यालयमा पनि महिलाको पठनपाठनको व्यवस्था थिएन । देवशमशेरको शासन समयमा विसं १९९० मा श्रीमती चन्द्रकान्तादेवी मल्लले मखनमा सानो कन्या पाठशाला खोल्ने स्वीकृति पाएकी थिइन् (सरदार भीमबहादुर पाँडे,त्यस बखतको नेपाल चौथो भाग, पृ. ३१) ।

त्यसै समयलाई आधार मानी हेर्दा नेपाली महिलाले शिक्षा प्राप्त गर्न थालेको जम्मा नौ दशक टेक्दै छ । राजधानीको केन्द्रमा खुलेको विद्यालयमा पढ्नेहरू प्रायः स्थानीय खानदानी चेलीहरू नै थिए होलान् भनी आकलन गर्न सकिन्छ । शिक्षा र चेतनाबाट टाढा, धार्मिक, सामाजिक अन्ध मान्यताहरूको कसीमा दिनरात डामिएका नेपाली महिलाको संघर्षको इतिहास उसै बिलाएर गयो । हुन त राणा शासकलाई पनि चुनौती दिन सक्ने योगमायाजस्ती प्रतिरोधी महिला पनि थिइन् त्यसताका । समाजमा विद्यमान सबै किसिमको अन्यायविरुद्ध कडा उत्रिएकी योगमायाको इतिहास लेख्नेभन्दा पनि लुकाउने या भएका कागजपत्रहरू पनि नाश गर्ने कार्य ज्यादा भएको पाइन्छ । सन् १९८१ मा अमेरिकी मानवशास्त्री बारबारा निम्री अजिजले अनुसन्धानको सन्दर्भमा अरुण उपत्यका पुग्दा योगमायाबारे थाहा पाएपछि खोज, अनुसन्धान गरी उनलाई विश्वसामु चिनाउने काम गरेकी छन् । महिलाका अनुभव, भोगाइ, पीडा र उपलब्धि सधैं ओझेलमै परिरहे, जो आजसम्म पनि लगभग उस्तै अवस्थामा छ । त्यसैले पनि महिला इतिहासको दस्तावेजीकरणको खाँचो टड्कारो भएको छ । भुइँझारझैं भुइँमै बिलाएका प्रत्येक साधारण महिलाको खून–पसिनाले बनेको यस देशको इतिहासका पानाहरूमा उनीहरूको कथा, व्यथा र योगदान समेटिन सकेको छैन । त्यसैले पनि जरुरी छ इतिहासको पुनःस्मरण र पुनर्व्याख्या ।

मनुस्मृतीय हिन्दु मूल्य मान्यतामा आधारित जातव्यवस्थालाई १९१० सालमा जंगबहादुरले ल्याएको मुलुकी ऐनले कानुनी वैधता प्रदान गर्‍यो । त्यस कानुनले मानिस मानिसबीच जातको आधारमा उच र नीच भनी निकै फराकिलो दायरा कायम गरिदियो । जनजाति तामाङ समुदायलाई मसिन्या मतवाली करार गरी तत्कालीन शासक वर्गले यस समुदायमाथि दमन र शोषणका शृङ्खला तय गरे । काठमाडौंका राणाहरू सिन्धुपाल्चोकको हेलम्बुतिर मनोरञ्जन र सिकारमा निस्केका बखत त्यस क्षेत्रका तामाङ ठिटाहरू उनीहरूको सिकारका निम्ति बन्दोबस्ती मिलाउने, तम्बु ठड्याउने, आवश्यक सामग्री बोक्नेलगायतका काममा भरियाका रूपमा तैनाथ गरिन्थे भने उनीहरूका दुलहीहरू मालिकको सेवामा खटिनुपर्थ्यो । उनीहरूलाई दरबारमा पनि ल्याइन्थ्यो (सुजान आसमान, बम्बे गोइङ, पृ. ३९–४०) । मालिकलाई मन परेका युवतीहरू उनीहरूसँगै दरबारमा जान बाध्य पारिन्थे । राणाकालीन समयमा काठमाडौंका विभिन्न दरबारमा भित्रिएका तामाङ युवतीहरूको झुन्डले पनि यसैलाई सङ्केत गर्छ । यसै विषयलाई वसन्तराज कुँवरको भनाइले थप पुस्टि गर्छ, ‘राणाकालमा चेलीहरूलाई दरबारमा ल्याउने, विभिन्न काम लगाउने र राम्रीराम्रीलाई तालिमसमेत दिई भित्रिनी, नानी आदि बनाई यौन शोषण गर्ने परम्पर थियो ।... तत्कालीन समयमा हेलम्बुका केटीहरू ज्यादै राम्रामा गनिन्थे र हेलम्बुकै नामबाट सिन्धुपाल्चोकका इचोक, महाँकालजस्ता गाउँहरू र त्यसैको सिमानामा पर्ने नुवाकोट जिल्लाका गाउँहरूबाट विशेषतः तामाङ चेलीहरू दरबारमा ल्याइन्थे’ (अस्मिता, असोज, २०५२, पृ. ३४) । विगतमा भएका यस्ता घटनाले तामाङ महिलाको शरीरमाथि भएको चरम शोषण र उनीहरूको अस्तित्वमाथिको भयङ्कर खेलबाडलाई उजागर गर्छ ।

राणाकालकाका यस्ता घटनाले जनजाति महिला शोषण, अनिश्चितता र परिचय संकटको डरलाग्दो अवस्थाबाट गुज्रिन बाध्य भएको प्रस्ट हुन्छ । तथापि सतीजस्तो प्रथाका कारण ब्रह्मण र क्षत्री महिलाहरू उस्तै मर्कामा थिए । विशेषतः राणा शासकहरूले काठमाडौं पूर्व तथा वरपरका पहाडी गाउँबस्तीबाट धेरै तामाङ महिलालाई दरबारमा भित्र्याई अनेकन् काममा सामेल गराउँथे । तीमध्ये अधिकांश त साहेबको चाहनाअनुरूप आफ्नो शरीरमाथि गरिने ज्यादती सहन बाध्य थिए । राणाको दरबारभित्र बस्ने तालिमे नानीहरू सुत्ने कोठाको ढोका राति खुल्लै राख्नुपर्थ्यो । मुख्य मालिकबाहेक अरू कुनै लोग्नेमानिस पनि बिना साथी पस्न पाउँदैनथे (पाँडे, पृ. २०८) । महिला शरीरको उपभोग र उनीहरूमाथिको यस दृष्टिले पितृसत्तावादी भोगलिप्त चरित्रको खुलासा गर्छ । साथै महिलालाई केवल भोगको वस्तुसरह मानिएको पनि प्रमाणित गर्छ । महिलाको रूप, रंगदेखि चाल र बोली वचनसम्म परख गर्ने यस व्यवस्थाले महिला शरीरको वस्तुकरणको निम्ति कुनै र कुनै रूपमा निरन्तर साथ दिएको देखिन्छ । विसं १९३८ मा श्री ३ महाराजले पूर्व ४ नम्बरलगायतका जिल्लाबाट कमारी र केटी झिकाएको पत्र यसैको उदाहरण हो । ‘...उप्रांत २० वर्षदेषी ३० वर्षसम्मका उमेरकी लायेक्की ठुला ठुला तिघ्रा भयाकी बलीयो ज्यू पर्‍याकी निरोगी गाड नभयाकी – काम् लाया पनि गर्न सक्न्या हातखुट्टा आषाकान साबुद भयाको कमारी १ षेजतलास गरी धनीको चित्त बुझाई मुफत मोल –परमभट्टा लेषाई षरिद गरी सो कमारी र परमभट्टाको कागत— लगाई धनीस्मेतलाई तेस अडाको सिपाही साथ लगाई हाम्रा हजूरमा पठाउनु मंजुर पर्‍यो भन्या मोलभाउ गरी कमारी ली वक्सौला... पूर्व ४ लंवर अडाके व्यहोरा सदर ...।’ (विप्लव ढकाल, भोजपुरको वाङ्मय, पृ. १३४–१३५) ।

राणाकालीन समयमा काठमाडौं छेउछाउबाट मात्रै नभई निकै टाढा भोजपुरतिरबाट पनि केटीहरू मगाउने गरेको माथि उल्लिखित सरकारी पत्रले प्रमाणित गर्छ । त्यसमा उल्लेख गरिएको महिलाको शारीरिक बनावटको वर्णनले ती कमारी केवल काम गराउन मात्रै नभई अन्य प्रयोजनका लागि झिकाइएको हो भन्ने प्रस्ट हुन्छ । महिलामाथि यस किसिमको व्यवहार हुनुका पछाडि पितृवाद निर्देशित विशेष किसिमको मनोविज्ञानले भूमिका खेलेको देखिन्छ । नेपालको सन्दर्भमा, विद्यमान जात व्यवस्थामा आधारित कट्टर पितृवादी संरचना नै यसको कारक भएको धेरैको विश्लेषण छ, जसको परिणामस्वरूप विशेष जातिसमुदायका महिलामाथि शरीरिक शोषण र दमनका अमानवीय शृङ्खला भए । तथापि जब महिला शरीरको सौदाबाजीका निम्ति गाउँगाउँमा राणाका चम्चाहरू मात्रै नभई बजारका दलालहरू नै छिरे तब महिला शरीर–दोहनको भिन्न समय सुरु भयो । नेपालका कुना कन्दरामा पुँजीवादी बजार छिरेपछि धेरै नेपाली चेली मालमा परिणत भई उपभोक्तावादी बजारमा बिक्री हुन थाले ।

आजको भूमण्डलीकृत पुँजीवादले विस्तार, प्रवर्द्धन र संरक्षण गरेको बजारको एक प्रमुख मालसरह भएको छ– महिला शरीर । उनीहरू उपभोक्तावादी संस्कृतिको चंगुलमा परी ठूला सहरका गल्ली गल्लीमा बिक्री भइरहेका छन् । महिला शरीरको उपभोग र दोहनको सिलसिला हजारौं वर्ष पार गरिसकेको छ । विश्व परिवेश औपनिवेशिक समयको एटलान्टिक स्लेभ ट्रेडले कालाप्रजातिका दास शरीरहरूमाथि गोराले गरेको चरम दोहनको एक हिस्सा बनिरहेको छ । दास महिलाको शरीरको मोल उसको स्तनको आकार र शरीरको अवस्था हेरेर गर्ने त्यस समयमा उनीहरूले भोगेका सीमाहीन यातना हजारौं वर्षको बयानमा पनि नसकिएला । पुरुषवादी प्रभुत्व कायम रहेको विश्वमा आज पनि महिलाको अस्तित्वको धज्जी उडाउने काम निरन्तर भइरहेकै छ । पुँजीवादले पुरातन प्रतिक्रियावादी मूल्यलाई नै अपनाएकाले समाज चरम निरंकुश उपभोक्तावादी संस्कृतितिर लम्किएको कात्यायनीको जिकिर छ (कुछ जीवन्त कुछ ज्वलन्त, पृ. १८८) । उनको धारणा पुष्टि गर्ने घटनाक्रमका साक्षी हौं हामी । मध्ययुगीन सामन्तवादी पितृसत्ताको अनुहार फेरिएर आज भूमण्डलीकृत पुँजीवादी उपभोक्तावादी चेहरा भएको छ, जसले महिला शरीरको वस्तुकरण र बिक्रीमा नयाँ रेकर्डहरू कायम गरिरहेको छ । आज वेश्यालयहरूमा मात्रै नभई साइबर स्पेस र भर्चुअल संसारमा पनि बिक्री भइरहेका छन् महिला । एक्काइसौँ शताब्दीको प्राविधिक विकास, पुँजीवादी अर्थव्यवस्था र उपभोक्तावादी संस्कृतिसँग घाँटी जोडिएको पितृसत्ताले महिलाको वस्तुकरणको नवीन संस्करणहरू तयार गर्दै उनीहरूको अस्तित्व र परिचयलाई नामेट पार्ने खेल खेलिरहेको छ ।

उपभोक्तावादी संस्कृति चुलिएको आजको परिप्रेक्ष्यमा महिलाको स्वतन्त्रताको सवाल अझ बढी पेचिलो बन्दै गएको छ । नेपाली समाजमा आजसम्मका अनेकन् सामाजिक, राजनीतिक आन्दोलनले ल्याएको युगान्तकारी परिवर्तनका कारण महिलाले मारेको फड्कोलाई हामी नजरअन्दाज गर्न सक्दैनौं । तथापि युग परिवर्तनसँगै अनुहार फेरिरहने पितृसत्ताले महिला शरीरको वस्तुकरण र दोहनका निमित्त निर्माण गरेका नयाँ तरिकाहरूप्रति भने गम्भीर हुन आवश्यक छ । सौन्दर्यको मानकीकरण गर्ने पितृसत्तात्मक सौन्दर्यशास्त्रको संरचनाले अन्ततः सौन्दर्य प्रसाधनका सामग्रीहरू महिलालाई नै बिक्री गरी पुँजीवादी अर्थव्यवस्थाको पोल्टो भरिरहेको छ एकातिर भने अर्कोतिर महिला मुक्तिका लागि विश्वमा भएका र भइरहेका तमाम आन्दोलन र उपलब्धिलाई पछार्दै हर समाजमा बजारको भेलबाढी छिराइरहेको छ ।

आर्टिफिसियल इन्टेलिजेन्सको बिगबिगी, पर्यावरणीय संकटले देखाइसकेको रातो झन्डा, रुस–युक्रेन युद्धले निम्त्याएको शक्ति राष्ट्रहरूको ध्रुवीकरण र आणविक युद्धको सम्भाव्यतामाझ महिला अस्तित्व र मुक्तिको सवाल कतै एक तुक्ष विषय बनी किनारातिर धकेलिने त होइन ? यो डर कायमै छ । त्यसो भएको खण्डमा आजका हर एक महिला केवल फोसिल स्वतन्त्रता सुम्सुम्याउन बाध्य हुनेछन् । त्यसकारण यस चुनौतीपूर्ण समयमा महिला मुक्ति र स्वतन्त्रताका विषयमा प्रत्येक जागरुक नागरिक थप गम्भीर र जिम्मेवार हुनु आवश्यक छ ।

प्रकाशित : चैत्र १८, २०७९ ११:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चालु वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३२.२४ प्रतिशत मात्र विकास खर्च हुनुको अर्थ के हो ?