३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४
फिल्म

आखिर फिल्ममा के मिसाउँछन् राजामौली ?

अमेरिकी फिल्म निर्देशक स्टेभन स्पिलवर्ग ‘आरआरआर’ बारे भन्छन्, ‘मैले मेरै आँखालाई विश्वास गर्न सकिरहेको थिइनँ, एउटा आई क्यान्डी फिल्म !’ झिंगामा नायकत्व खोज्ने ‘मख्खी’ वा एक्सन फिल्म ‘मगधीरा’, ‘बाहुबली’ वा ‘आरआरआर’ ! जादुमयी फिल्म बनाउन माहिर छन् राजामौली । आखिर फिल्ममा के मिसाउँछन् उनी ?
सुशील पौडेल

हिन्दी फिल्म ‘आरआरआर’ हेरेपछि तीन पटक ओस्कार अवार्ड जितिसकेका अमेरिकी फिल्म निर्देशक स्टेभन स्पिलवर्गको अभिव्यक्ति थियो, ‘एकदमै सुन्दर दृश्यात्मक शैली । हेर्न र अनुभूत गर्नका लागि एक असाधारण फिल्म ।’

आखिर फिल्ममा के मिसाउँछन् राजामौली ?

ती स्पिलवर्ग पछिल्लो फिल्म ‘द फेबलम्यान्स’ बाट आइतबार हुँदै गरेको ९५ औं द एकेडेमी (ओस्कार) अवार्ड्समा आफैं उत्कृष्ट निर्देशकको मनोनयनमा छन् । त्यस अवार्डको उत्कृष्ट फिल्मको दौडबाट ‘आरआरआर’ बाहिरिए पनि यसको एक गीत ‘नाटु नाटु’ भने संगीत विधातर्फ विश्वभरिबाटै उत्कृष्ट पाँचमा परेको छ । भारतीय फिल्मबाट संगीत विधातर्फ ओस्कार मनोनयनमा परेको यो पहिलो गीत हो ।

एक महिनाअघि आयोजित ‘क्रिटिक्स च्वाइस अवार्ड्स’ मा स्पिलवर्गले भनेका थिए– ‘आरआरआर’ का निर्देशक एसएस राजामौलीलाई फिल्म बनाउन मेरो तर्फबाट अमेरिकामा न्यायो स्वागत हुनेछ ।’ त्यस अवार्ड्समा ‘आरआरआर’ ले विदेशीभाषी फिल्मको विधासहित ‘नाटु नाटु’ बाट उत्कृष्ट संगीतको अवार्ड पनि जितेको थियो । ‘यदि तपाईं यहाँ (अमेरिकामा) फिल्म बनाउन चाहनुहुन्छ भने छलफल गरौं,’ कुराकानीकै दौरान स्पिलवर्गले दोहोर्‍याएर फिल्म हेरेको बताउँदै ‘आरआरआर’ मनपर्नुको कारण खुलाएका थिए, ‘त्यो सेटअप, आगो र पानीको कथा ! एकपछि अर्को खुलासा ! र, तपाईंले प्रस्तुत गरेको पृष्ठभूमिको कहानी ! यी सबै एक घरेलु सेटअपमा छन् । उनका दृश्यहरू किन र केका लागि घटित भइरहेका छन्, टर्न एन्ड ट्वीस्टदेखि साथित्वको सम्बन्धसम्म कुनै एक विन्दुमा गएर खुल्छन्, अति नै शक्तिशाली शैलीमा ।’ स्पिलवर्गले भनेका थिए, ‘राजामौलीले फिल्ममा सनातन शैलीबाट हटेर भिन्न तरिकाले संगीत पस्किएका छन् ।’ त्यसो त आरआरआरको ‘नाटु नाटु’ ले गोल्डेन ग्लोबसमेत जितिसकेको छ ।

भारतको आन्ध्र प्रदेश र तिलांगानामा बोलिने तेलुगु भाषाको फिल्म ‘आरआरआर’ यतिबेला भाषा र भूगोलको सीमा कटेर विश्वव्यापी हुनुको श्रेय कसैलाई जान्छ भने यसका रचयिता राजामौलीलाई नै जान्छ । उनी त्यसको एक्ला हकदार हुन् । फिल्मले बक्सअफिसमा रेकर्ड–तोड व्यापार त गर्‍यो नै, समीक्षकले समेत त्यसलाई उम्दा माने । अधिकांशले यसको कथा–छनोट, पटकथाको बहावदेखि इपिक एक्सन ड्रामा जनराको फिल्मलाई पनि सरल तरिकाले पस्केर भावनात्मक बनाएका राजामौलीको शैलीको व्यापक प्रशंसा गरेका छन् ।

विधा जुनसुकै होस्, राजामौली दर्शकको नाडी छामेर फिल्म बनाउन माहिर छन्– झिंगामा नायकत्व भरेको ‘मक्खी’ होस् वा एक्सन फिल्म ‘मगधीरा’, ‘बाहुबली’ वा ‘आरआरआर’ ! २१ औं शताब्दीमा उदाएका राजामौलीले दर्शकलाई कहिल्यै निराश पारेका छैनन् । उनका पछिल्ला दर्शक स्पिलवर्गले त्यसै भनेका होइनन्, ‘मैले मेरै आँखालाई विश्वास गर्न सकिरहेको थिइनँ, कस्तो आई क्यान्डी फिल्म !’

आखिर फिल्ममा त्यस्तो के तत्त्व मिसाउँछन् राजामौली ? खासगरी ‘आरआरआर’ मार्फत ओस्कारसम्मको बाटो तय गरिसकेपछि उनको शैलीलाई विश्वभरि नै तौलिन थालिएको छ । लार्जर द्यान लाइफ फिल्म मेकिङमा रुचि राख्ने राजामौली ऐतिहासिक र पौराणिक विषयवस्तुमा बढी झुकाव राख्छन् । उनका पात्र र कथाहरू प्रायः रामायण, महाभारत र अमर चित्रकथाबाट बढी प्रभावित छन् । ‘हो, म पौराणिक कथाहरूबाट धेरै प्रभावित छु । किनकि मेरो हुर्काइ नै हजुरबुबाले भन्ने त्यस्तै कथा सुनेर भयो । मेरो रगतमै धार्मिक, पौराणिक कथाहरू छन्, जुन विभिन्न स्वरूप गरेर निस्किरहेका छन्,’ राजामौली यसबाट उनलाई असरदार भावनात्मक कथा वाचनको शैली मिलेको मान्छन् । ‘इन्डिया टुडे’ का देवर्शी घोष राजामौलीको फिल्ममा प्रायः परिवारको खोजी गर्ने एक टुहुरो वा विछोडिएको नायकको कथा जोडिएको औंल्याउँछन् । उनका अनुसार, चाहे त्यो ‘सिमहद्री’ होस् वा ‘छत्रपती’ वा ‘बाहुबली’, जसले फिल्ममा स्वतः एक भावनात्मक डोरीले दर्शकलाई बाँधिराखेको हुन्छ । अर्को, उनको कथामा वियोगान्त हुन्छ, जुन प्रायः व्यावसायिक फिल्मले हत्तपत्ती अपनाउने आँट देखाउँदैनन् । ‘विक्रमार्कुडु’ मा विक्रम राठौरको निधन, ‘मगधीरा’ मा कालभैरव वा ‘बाहुबली’ मा धोकाधडीमा अमरेन्द्र बाहुबलीको हत्या राजामौलीका दर्शक रुवाउने दृश्य हुन् । त्यसो त बदला उनको फिल्मको अर्को महत्त्वपूर्ण कडी हो । राजामौलीका लागि दर्शकलाई फिल्मसँग भावनात्मक रूपमा जोडिरहने सबैभन्दा सहज र सशक्त उपाय हो, बदला–भाव ।

‘संवाद बन्द गरेर फिल्म चलाउने हो भने पनि दर्शकले त्यसको कथा बुझ्न सक्नुपर्छ ।’ राजामौली दृश्यवाचक हुन्। उनको मान्यता छ– दृश्यले नै फिल्मको कथा भन्नुपर्छ ।’

‘मेरा लागि फिल्मका हरेक प्लट केवल निर्देशकको मनोभावलाई काल्पनिक तरिकाले व्यक्त गर्नु हो,’ राजामौली त्यसैले पनि अवास्तविक रूपमा तिलस्मी ढंगले दृश्य पस्किन्छन् ताकि दर्शक आफ्नो वास्तविक संसार बिर्सेर निर्देशकको संसारमा विचरण गर्न सकून् । यसो गर्नुको कारणबारे उनी भन्छन्, ‘वास्तविकतामा हुन सक्दैन भन्ने जान्दाजान्दै पनि हरेक मान्छेमा त्यस्तै लार्जर द्यान लाइफ क्रियाकलाप गर्ने एक खाले सपना भित्र दबेर बसेको हुन्छ, म त्यही भावनालाई जागृत गराउने प्रयास गर्छु । मलाई दर्शकको कल्पनाशीलता सम्भव भएसम्म फैलाउन मन पर्छ, चाहे त्यो एक्सन सिन होस् वा इमोसनल ।’ तर, पात्रलाई यसरी सुपरपावर दिइरहँदा उनीहरूको मानवीयता र कमजोरी नछोपियोस् भन्नेमा पनि आफू उत्तिकै चनाखो हुने बताउँछन्, राजामौली । ‘आरआरआर’ कै सुरुवाती दृश्यमा भीडमा राम एक्लै लाठी लिएर लडाइँमा उत्रिएको दृश्य जति काल्पनिक छ, उति नै भावनात्मक रूपले भने दर्शक निकट । ‘मगधीरा’ मा कालभैरव एक्लै सय सेनासँग भिडेको दृश्य पनि वास्तविकताभन्दा पर छ, तर त्यो दृश्य भावनात्मक शैलीमा पस्किइएको छ । दर्शक उक्त दृश्य अस्वीकार गर्नै सक्दैनन् । राजामौली एक्सन दृश्यमा आफू अलि बढी नै उदार हुने गरेको स्विकार्छन् । भन्छन्, ‘मान्छे जब भावनात्मक रूपमा विक्षिप्त हुन्छ तब उसमा सहनशक्ति र शारिरीक सामर्थ्य अकल्पनीय ढंगले बढेर आउँछ । मान्छेले आफ्नो जीवनमा यस्तो असाधारण शक्ति एकपल्ट मात्रै पाउला । तर, मेरा फिल्महरूमा प्रायः यस्तो भइरहन्छ । म यही मान्यतामा रहेर एक्सन कोरियोग्राफी गर्छु ।’

‘आरआरआर’ मा पनि राजामौलीले भारतीय स्वतन्त्रता सेनानी अल्लुरी सितारामा राजु र कोमाराम भीमलाई कल्पनाशीलताको लेपनमा भ्रातृत्व देखाउन खोजेका छन् । जबकि यी दुई भारतीय स्वतन्त्रताका लागि एकै समयमा क्रान्तिमा होमिए पनि उनीहरूको भेट कहिल्यै भएन, तर राजामौलीले फिल्ममा दुईलाई भेटाएनन् मात्रै, साथीका रूपमा अति घनिष्ट बनाइदिए र अन्ततः ब्रिटिस साम्राज्यविरुद्ध संयुक्त धावा बोले । निर्देशकले यी दुई पात्रलाई राम र भीमको धार्मिक चरित्रमा घोलेर ‘रामायण’ र ‘महाभारत’ लाई समेत एक गरिदिए । वास्तविक पात्रलाई लिएर काल्पनिक कथा भनिरहँदा तथ्यमा अडिइरहनु नपर्ने मान्यता राख्छन् उनी ।

फिल्मका प्रत्येक दृश्य मस्तिष्कमा बोकेर छायांकनमा जान्छन् राजामौली । थ्री एक्ट स्क्रिनप्लेमा अति विश्वास गर्ने उनी दर्शकलाई कहाँ हँसाउन सकिन्छ, कहाँ रुवाउन र कहाँ उद्वेलित पार्न सकिन्छ भन्ने पहिल्यै नाप–जाँच गरेर ढुक्क हुन्छन् । कल्पनाशीलताामा रमाउने उनी अझै पनि आफूलाई टेक्निकल प्रोसेसबारे ज्ञान नभएको स्विकार्छन् । भन्छन्, ‘मैले खोजिरहेको चीज कुन सटबाट पाउँछु भन्ने मलाई अझै पनि थाहा छैन । क्यामेरा कहाँ राख्ने भन्नेमै म बढी अन्योलमा पर्छु । क्रेन कसरी प्रयोग गर्ने ? क्यामेरा मुभ कसरी गर्ने ? कति क्लोज लैजाने ? आँखासम्म क्लोज लिने हो कि अनुहारसम्म मात्रै लिने ? क्यामेरा एंगलिंगका हजारौं विकल्प हुन्छन्, तर यही नै उपयुक्त हो भन्नेमा म सधैं अनिर्णीत हुन्छु ।’ तर, मस्तिष्कमा तयार पारेको स्क्रिन–प्लेसँग यी यावत् विषय मेल नखाँदासम्म भने टेक लिइरहन्छन् राजामौली । ‘आरआरआर’ उनले तीन सय २० दिन लगाएर खिचेका थिए ।

राजामौलीको फिल्म निर्माणको एउटा शैली छ । उनी लेखन, अभिनय, कोरियोग्राफी, सिनेमाटोग्राफी, म्युजिकका हरेक हेड अफ डिर्पाटलाई स्वस्फूर्त काममा छाडिदिन्छन् । करिअरको सुरुवाती दिनमा उनी आफैं सेटमा अभिनय गरेर कलाकारलाई देखाउँथे र त्यस्तै गर्न प्रेरित गर्थे । तर, पछि उनलाई यो तरिका उचित लागेन । ‘त्यसो गर्दा सबै कलाकारको काम मेरोजस्तै भयो, नक्कल गर्दा मैजस्तै लागे । त्यसपछि मलाई हरेक कलाकारको आफ्नो क्षमता हुन्छ र त्यसैका आधारमा विशेष पहिचान दिनुपर्छ भन्ने लाग्यो । त्यसपछि भने मैले हरेक कलाकारलाई सिनको मुड अवगत गराएर काम गर्न स्वतन्त्र छोडिदिन थालें,’ राजामौली बरु प्रत्येक पात्रको पृष्ठभूमि तयार पार्न थाले । त्यसको सीमितता र क्षमताको परिधिभित्र कलाकारलाई अभिव्यक्त हुन दिन थाले । उनी यो नियम पटकथा लेखक, एक्सन मास्टर वा कोरियोग्राफरका लागि पनि अपनाउने बताउँछन् ।

‘आरआरआर’ को पृष्ठभूमि संगीतमा त्यस्तै गरे उनले । दिमागमा पहिल्यै सजाइसकेका दृश्यहरू क्यामेरामा कैद भएर आइसकेपछि राजामौलीले त्यसको पेसमा ध्यान दिए । सिनको पेस बढाउनुपर्ने वा घटाउनुपर्ने आवश्यकताअनुसार उनले कम्पोजरलाई निर्देशन गरे । ‘हामीले यस्तो खालको संगीत होस् भनेर कहिल्यै छलफल गरेनौं । सिनलाई उठाउने गरी वा केही धीमा गर्न कस्तो संगीत ठीक होला, छलफल त्यसरी गर्‍यौं । र लाग्छ, यो उपायले काम पनि गर्‍यो,’ राजामौलीले पार्श्व संगीतमा पनि यही तरिका अपनाए ।

‘फिल्ममा गीत किन राखिन्छ ? सायद गीतले पनि दर्शकलाई कथा भन्नुपर्छ भन्ने मलाई लाग्छ,’ ब्रिटिसको दरबारभित्र स्वतन्त्रता सेनानी गएर नाचेको दृश्य समेटिएको ‘नाटु नाटु’ गीतलाई उनी रणसंग्रामको ताण्डवसँग तुलना गर्दै भन्छन्, ‘म यसलाई फगत गीतका रूपमा मात्र हेर्दिन । यो एक खाले पौंठेजोरी हो । सोच्नुस् त, आवरणमा नृत्य चलिरहे पनि भित्र एकअर्काप्रति प्रतिशोध र रोषको आगो दन्केको छ । यस्तो मनोभावले पक्कै पनि त्यहाँ नृत्यभन्दा बढी दृश्यको माग गर्दैन ?’ तर, हजारौं क्राउडबाट आफ्नो सोचअनुरूप उपयुक्त काम लिनु निर्देशकका लागि पक्कै सजिलो थिएन । ‘सहज दृश्य मेरो रोजाइमा पर्दै पर्दैनन्, जहाँ चुनौतीको आत्मसात् गरिन्छ, त्यहाँ सफल भइयो भने दर्शकका लागि पनि वाह भन्ने अवस्था सिर्जना हुन्छ,’ उनी भन्छन् ।

राजामौली भिजुअल इफेक्ट्समा खेल्न माहिर छन् । फिल्मलाई लार्जर द्यान लाइफ बनाउन सीजीआईलाई लाइभ एक्सनसँगसँगै प्रयोग गर्छन् ताकि दृश्यहरू अवास्तविक पनि नलागोस् । उनले ‘छेत्रपती’ मा पानीमुनीको सार्कसँगको फाइट सिनदेखि ‘मगधीरा’, ‘मक्खी’, ‘बाहुबली’ र अहिले ‘आरआरआर’ सम्म सीजीआईको प्रयोग जीवन्त शैलीमा पस्केका छन् ।

राजामौली दृश्यवाचक हुन् । दृश्यबाटै कथा भन्नुपर्छ भन्ने मान्यता छ उनको । भन्छन्, ‘यदि संवाद बन्द गरेर फिल्म चलाउने हो भने पनि दर्शकले त्यसको कथा बुझ्न सक्नुपर्छ । दर्शक भावनात्मक रूपमा जोडिन सक्नुपर्छ ।’ ‘मक्खी’ को एउटा घटना यस्तै छ । जब उनी ‘मक्खी’ को पोस्ट प्रोडक्सनको अन्तिम चरणमा थिए, अमेरिकादेखि आएका भतिजाले विदेशी साथीसहित फिल्म हेरे । फिल्मका दृश्यले भावविह्वल भएका भतिजाले आफ्नो साथीलाई जब कथा बुझाउन थाले तब साथीले उनलाई रोकेर भने, ‘चुप लाग न, के भइराखेको छ, मलाई पनि थाहा छ ।’

‘मक्खी’ कै अर्को सम्झनलायक प्रसंग छ । राजामौली तिलस्मी लाग्छन् र हरेक पात्र, घटनाको सूक्ष्म रूपमा कुण्डली नै निकाल्छन् । आफ्नी प्रेमिकालाई खलपात्रबाट बचाउन झिंगाको पुनर्जन्म पाएको नायकले लिने बदलामा आधारित ‘मक्खी’ को बहुसंख्यक दृश्यांकन झिंगामै छ । ‘मक्खी’ प्रि–प्रोडक्सन चरणमा राजामौलीले आफ्नो घरको फ्रिज भरिने गरि झिंगा राखेका थिए । उनी सोच्थे– झिंगामाथि ठीक ढंगले अध्ययन गर्न सकियोस् र झिंगाको शरीर–विज्ञानका हिसाबले पनि फिल्म यथार्थपरक लागोस् । त्यसो त उनी आफ्ना फिल्मका मुख्य कलाकारलाई पनि लामो समय क्लोज–क्याम्पमा राख्ने गर्छन्, ताकि ती कलाकार चरित्रमा पूर्णतः प्रवेश गरून् । ‘बाहुबली’ कै लागि उनले कलाकार प्रभासलाई पाँच वर्षसम्म कुनै पनि फिल्म खेल्न दिएनन् र आफ्नै क्याम्पमा समाहित गरे ।

‘मक्खी’ कै प्रि–प्रोडक्सनको चरणमा झिंगामाथि राजामौलीको आसक्ति देखेर उनकै चालक दिक्क थिए । चालकको भनाइ उद्धृत गर्दै राजामौलीले भनेका थिए, ‘आखिर तिमी यस्ता झिंगा, साङ्लाको पछि लागेर आफ्नो महत्त्वपूर्ण समय किन बर्बाद गर्दै छौ ? के तिमी पागल त भएनौ ? बरु मान्छेकै बारेमा फिल्म बनाऊ न ।’

तेलुगु फिल्मलाई विश्वमाझ पुर्‍याउन सफल राजामौली सबटाइटल वा फिल्मको भाषा केवल सञ्चारको एक माध्यम मात्रै हो भन्छन् । ‘भाषा मेरा लागि महत्त्वपूर्ण होइन,’ राजामौली थप्छन्, ‘मलाई त बरु दर्शकले दृश्य, कलाकारका हाउभाउ, अभिनय र पृष्ठभुमि संगीतले कथा बुझिदिऊन् भन्ने चाहना हुन्छ ।’

आज आफ्नै छुट्टै कथा–वाचन शैली निर्माण गरिरहेका एसएस राजामौली आफ्ना फिल्ममा केही विदेशी फिल्म मेकरको प्रभाव पनि छोड्छन् । ‘आरआरआर’ मा भीमलाई दिइएको ‘द नोर्टन ५००’ बाइक चे ग्वेभाराको त हो नै, उनको मुख्य चरित्र नै चे ग्वेभाराको जीवनीमा आधारित स्पेनिस फिल्म ‘द मोटरसाइकल डायरिज’ बाट प्रभावित छ । त्यसबाहेक राजामौली आफूमा मेल गिब्सनको अति ठूलो प्रभाव रहेको मात्रै बताउँदैनन्, आफू उनको एकलव्यजस्तै चेलो भएको तर्क गर्छन् । राजामौली एक्सनलाई भावनासँग जोडेर दृश्य निर्माण गर्ने तौरतरिका गिब्सनकै कामबाट सिकेको बताउँन हिच्किचाउँदैनन् ।

आफ्ना फिल्ममा राजामौली हरेक १० देखि १५ मिनेटको अवधिमा हरेक प्लटको क्लाइमेक्समा पुग्न रुचाउँछन् । हरेक सिनमा थ्री एक्टको व्याकरण लागू गर्ने उनी पहिले क्लाइमेक्सको परिकल्पनापछि सेटअप र द्वन्द्वको डिजाइनमा जुट्छन् । ‘आरआरआर’ कै जनावरको जत्थाले ब्रिटिसविरुद्ध धावा बोल्ने दृश्य अतिरञ्जित लाग्दालाग्दै पनि दर्शकको भावनासँग जोड्न कसरी सकिन्छ भनेर त्यसपछिका सिक्वेन्समा उनले ध्यान दिएका थिए । दृश्यलाई अपत्यारिलो सत्य बनाउनु उनको खुबी हो । यस्ता दृश्यलाई स्वाभाविक लाग्ने बनाउनुमा उनको आफ्नै अनुभव छ । ‘म भगवान् हुन्छन् भन्नेमा विश्वास गर्दिन, तर जब मैले भगवान वेंकेटेश्वरको भक्तबारे बनेको तेलुगु फिल्म ‘अन्नामाया’ हेरिरहेको थिएँ, त्यसको भक्त र भगवान्बीचको संवादको क्लाइमेक्सले रुवायो । किनकि मलाई उसको भावनाले जोड्यो । त्यसपछि मैलाई भावनात्मक सम्बन्धको शक्ति थाहा भयो । यो नै आम दर्शकलाई फिल्मसँग जोड्ने मूल कडी रहेछ भन्ने बुझें ।’ त्यसपछि त राजामौली स्वैरकल्पनामा खेल्न झन् उत्साहित हुन थाले । यसैको पछिल्लो कडी हो– आरआरआर ।

दुई स्वतन्तत्रा सेनानीबाट चरित्र चित्रण गरी उनले इतिहास, बलिदानी र भ्रातृत्वको कथालाई एउटै पर्दामा उतारिदिए । चलाखीपूर्वक उनले यस फिल्मलाई ऐतिहासिक भन्न रुचाएका छैनन् । किन त ? ‘यो केवल काल्पनिक फिल्म हो । ऐतिहासिक कथालाई आफ्नो सोच, योजनाअनुरूप नबंग्याएसम्म स्टोरी टेलिङ सफल हुँदैन ।’ त्यसैले पनि उनले राम र भीमलाई साथी बनाएर एकैसाथ ब्रिटिसमाथि जाइलाग्ने प्लटमा आफ्ना लेखक पितालाई विश्वस्त पारेका थिए ।

र, अन्त्यमा– नाटु नाटु

ओस्कारको दौडमा रहेको ‘आरआरआर’ को चर्चित गीत ‘नाटु नाटु’ को छायांकन रुसी आक्रमणको केही अघि मात्रै सन् २०२१ अगस्टमा युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्की निवास मरिन्स्की दरबारमा भएको थियो । चन्द्रबोसको रचनालाई एमएम किरावाणीले कम्पोज गरेका थिए भने प्रेम रक्षितले यसको कोरियोग्राफीको बागडोर सम्हालेका थिए । ब्रिटिसका अघि उसैको दरबारमा दुई स्वतन्त्रता सेनानी नचाइएको यस गीतलाई राजामौलीले सम्भावित घटनाको पूर्व चेतावनीस्वरूप प्रयोग गर्न खोजेका हुन् । त्यसैले पनि राजामौली र फिल्मका लागि यो फगत गीत थिएन । उनी भन्छन्, ‘गीत नै आफैंमा एउटा कथा थियो, मैले यो कुरा म्युजिक डाइरेक्टरलाई अवगत गराएरै यो केवल गीतजस्तो मात्रै देखिनु हुँदैन, यो एकप्रकारको फाइट नै हो, भीडन्तको कल्पना गरेर सम्भावित जितको खुसियाली मनाएजस्तो देखिनुपर्छ भनेको थिएँ । र, अप्ठ्यारो र अस्वाभाविक हुनुहुँदैन भनेर निर्देशन पनि दिएको थिएँ ।’

५० जना डान्सरलाई झन्डै ४ सयको भीडमा कोरियोग्राफ गर्न १५ दिन लागेको थियो । केवल एक हुक स्टेपका लागि प्रेम रक्षितले एक सय १० टेक लिएका थिए । पछि राजामौली आफैंले दोस्रो टेकलाई ओके गरिदिएको बताइन्छ ।

अब ‘महाभारत’ लाई पर्दामा ल्याउने सपना साँचेका एसएस राजामौलीलाई फिल्म मेकिङमा असम्भव भन्ने केही लाग्दैन रे ! भन्छन्, ‘असम्भव भन्ने केही कुरै छैन । यदि तपाईं केही कुरा घटित गराउन सक्नुहुन्छ र त्यसका लागि दर्शकलाई प्रतीक्षित तुल्याउन सक्नुहुन्छ भने कुनै पनि सिक्वेन्स वा विचार असम्भव भन्ने नै हुँदैन ।’

प्रकाशित : फाल्गुन २७, २०७९ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?