कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

पारिजातका कुइनेटाहरू

मानसिक–शारीरिक यातना खप्न नसकेर पारिजातले सुकन्यालाई भनेकी थिइन्– सुकन्या ! म त पराजित जन्मेकी रहेछु । सुकन्याको जवाफ थियो– तिमी पराजित हुनै सक्दिनौ, तिमी अपराजिता हौ । त्यसपछि ‘अपराजिता’ बनिन् पारिजात ।
ज्ञानु अधिकारी

गैरआख्यानको सुन्दर नमुना–किताब हो– गोविन्द गिरी प्रेरणाको ‘सुश्री पारिजात’ । जीवनीपरक किताबमा पाइने परम्परागत रोगबाट मुक्त छ यो किताब । पारिजातको जीवनीमै केन्द्रित भई लेखिएको यस किताबमा पारिजातले जीवनकालमा भोगेका सुखद–दुःखद, प्रशंसा–आलोचना, सम्मान–बदनाम, सामूहिकता–एक्लोपन, आशा–निराशा, सफलता–विफलताजस्ता पक्षलाई रोचकसँग लेखिएको छ ।

पारिजातका कुइनेटाहरू

डोरीको पोयो फुकाएसरि पारिजातका जीवनका विभिन्न पाटो बिस्तारै फुक्दै जान्छ । उनका दृश्य–अदृश्य जीवनभोगाइको अन्तर्य प्रस्तुत गरिएको किताबमा विभिन्न सन्दर्भस्रोत र प्रमाणको प्रयोग गरिएको छ । किताबले पारिजातका सम्बन्धमा धेरै सन्देह, प्रश्न र जिज्ञासाको समाधान त गरेको छ नै सँगै केही प्रश्न पनि उब्जाएको छ । र, ती प्रश्नको खोजी नै पारिजात सम्बन्धी लेखनको अर्को नवीन विषय बन्नेछ ।

किताब पढिरहँदा कतै समालोचना पढेजस्तो, कतै निबन्ध पढेजस्तो, कतै संस्मरण र कथा पढेजस्तो लाग्छ । कतै गीत र कतै कविताको प्रयोगले किताबमा विधामिश्रण देखिन्छ । खासमा यो व्यक्तिपरक निबन्धको सङ्कलनजस्तो पनि लाग्छ । पारिजातका विषयमा लेखकले निजी तर्क र विचारलाई पनि यसरी अभिव्यक्त गरेका छन् कि, यी मनगढन्ते होइनन् है भन्न त्यसका प्रामाणिक सन्दर्भ पेस गरेका छन् । यस किताबमा आम पाठकका लागि पारिजातबारे पहिलो पटक थाहा हुने धेरै सन्दर्भ छन् ।

पारिजात : एक औपन्यासिक पात्र

प्रेमचन्दको जीवनी लेख्दा अमृत रायले लेखेका थिए– ‘यो पनि एउटा उपन्यास नै हो, यसको नायक प्रेमचन्द नामको व्यक्ति हो, तर फरक यत्ति छ कि, यस व्यक्तिलाई मैले मेरो इच्छाअनुसार तोडमोड गर्ने स्वतन्त्रता प्राप्त गर्न सक्दिनँ र घटना–प्रसङ्गहरूको आविष्कार गर्ने छुट मलाई हुँदैन ।’ ठीक यस्तै आख्यानजस्तै जीवनीपरक किताबको नाम हो– ‘सुश्री पारिजात’ । पारिजातको जीवनका उहापोह कुनै आख्यानको काल्पनिक पात्रभन्दा कम छैनन् । त्यसैले पाठकलाई सकमबरीजस्तै अद्भुत पात्रमाथि लेखिएको चरित्रप्रधान उपन्यास पढिरहेझैं लाग्छ, यो किताब ।

एउटा जवर्जस्त सपना बोकेर लेखिएको उपन्यासलाई जलाएर आगो तापिरहेकी पारिजात, ‘शिरीषको फूल’ उपन्यास चर्चित भएपछि वाहवाही पाइरहेकी पारिजात, असह्य शारीरिक पीडापछि आँसुले सिरानी भिजाइरहेकी पारिजात, युवासाहित्यकारमाझ मौरीको रानोजस्तै राल्फाकालीन पारिजात, प्रगतिशील लेखन र गतिविधिमा क्रियाशील पारिजात, विभिन्न आरोप–प्रत्यारोप र आलोचना खेपिरहेकी पारिजात, साहित्यिक व्यक्तित्वको प्रभावले विशेष छवि बनाएकी पारिजात, प्रेम र यौनको प्रतिकूल अनुभूतिले पछुताएकी पारिजात, बाबुको हठ र जिद्दीले दिनप्रतिदिन रोगी बन्दै गइरहेकी पारिजात, विसङ्गत जीवनबाट सङ्गति खोजिरहेकी र अस्तित्वको लडाइँ लडिरहेकी पारिजात, प्रशस्त साथीभाइको प्रेम र सहयोगमा यात्रा गरिरहेकी पारिजात । पारिजातका यस्ता अनेकौं विम्ब यस किताबमा कुँदिएका छन् ।

किताबमा पारिजातका कैयौं यस्ता अभिव्यक्ति छन्, जसले पारिजात नै पात्र बनेर संवाद गरिरहेको अनुभूति हुन्छ । सधैँ प्रेमको शाश्वतता स्विकार्ने र यौनलाई घृणा गर्ने पारिजातको ‘मैले जुध्न सकें... आफ्नो जीवनगाथाको दुई–चार पाना गरिमाहीन र बीभत्स तुल्याएर । यो त्यही विवश यौनसम्बन्ध मेरो जीवनको सबैभन्दा गरिमाहीन र कालोपन हो’ भन्ने अभिव्यक्तिका साथै ‘आवेशमा आएपछि लोग्नेमान्छे मान्छेजस्तै नहुनेरहेछ, स्वास्नीमान्छेले बर्जित गरेका शारीरिक भागहरूलाई पनि दखल गर्ने रहेछ । यस असुन्दर प्रकिताबलाई अझ बढी कुरूप बनाइदिने रहेछ, सौन्दर्य कहाँ हुँदो रहेछ र यौन सम्बन्धमा ।’ (पृष्ठ. २५५) जस्ता अभिव्यक्तिले उनका विविध अनुभूति प्रस्तुत गरेको छ ।

पाठकलाई विस्मित पार्ने अनेकौं सन्दर्भ किताबमा आएका छन्, जसबाट पारिजातका स्वभाव र उनको दृष्टिकोणबारे पाठक स्पष्ट हुन्छन् । कतै उनको विरोधाभासहरूले, कतै उनको दृढता, स्पष्टता र कठोरताले अनि कतै उनका कमजोरीगत सन्दर्भले पठनलाई उत्सुक बनाइरहन्छ । जस्तै ः ‘विश्वेश्वरप्रसाद कोइरालाको निधनले कत्तिको क्षति भयो’ भन्ने प्रश्नको उत्तरमा उनले भनेकी छन्– ‘मलाई कुनै क्षतिको अनुभव भएन । मान्छे आउँछ–जान्छ । कोइरालाको प्रगतिशील साहित्यमा कुनै देन थिएन, त्यसकारण उनको निधनले मलाई कुनै क्षति गरेन’ भनेर प्रगतिवादी साहित्यलाई मात्रै साहित्य मान्ने पारिजातले केही समयपछि ‘कविता लेख्न र मार्क्सवाद पढ्न आवश्यक छैन’ भन्दै ‘हाल आफू कुनै राजनीतिक पार्टीसँग नभएको र स्वतन्त्र भएको’ सम्मको अभिव्यक्ति दिएका सन्दर्भले पाठकलाई उनको विचारको आरोहअवरोहको बोध भइरहन्छ ।

यस्तै ‘पारिजात भन्ने लेखिका कस्तो हो ?’ भनेर आहुतिले सोध्दा पार्टीको जिल्लाको एक नेताले ‘ए त्यो काम लाग्ने मान्छे होइन, मञ्जुल रायन भन्नेहरूसँग जोसँग पनि सुत्दै हिँड्ने मान्छे हो । ती राल्फा अभियानमा जे पनि गर्दै हिँड्ने हुन्’ (पृष्ठ.२७०) भन्ने अभिव्यक्ति दिएको प्रसङ्गले पारिजातका विषयमा भएका यस्ता भ्रम र आक्षेपबारे पाठकलाई जानकारी त हुन्छ नै त्यसमाथि पनि पारिजातले भनेका ‘जेजति देखिएकी छु, त्योभन्दा दस खण्ड बढी आरोपित छु, बद्नाम छु, मिथ्या र झूटहरूमा प्रचार गरिएकी छु । मलाई भन्न केही बाँकी राखेका छैनन् । महत्ताहीन छापिइसकेपछि मेरो चरित्रमाथि शङ्का गरी लेखहरू आए’ (पृष्ठ.२७१) जस्ता अभिव्यक्तिबाट पनि यो थाहा हुन्छ कि उनी आफ्नो समयमा आलोचनाबाट कति प्रताडित थिइन् । किताबमा यस्ता प्रसङ्ग पढ्दा सोच्न मन लाग्छ– निडर, निर्भीक र बौद्धिक रूपमा परिपक्व पारिजातलाई त यो समाज, परिवेश र बुद्धिजीवी वर्गबाट यस किसिमका प्रताडना–यातना दिइन्थ्यो भने स्वतन्त्र रूपमा अघि बढ्छु भन्ने स्वाभिमानी नारीको अवस्था त्यो समयमा कस्तो हुन्थ्यो ?

पारिजातको जीवन नेपालमै बित्यो । उनी यहीँको परिवेशमा रमाइन्, यहीँका मानिस बीच लोकप्रिय भइन् र जीवनकालमा जेजति गरिन् नेपाली समाज र साहित्यका लागि गरिन्, तर नागरिकताधारी नागरिक कहिल्यै बन्न पाइनन् र यसबाट उनले प्राप्त गरेको निराशालाई यो किताबमा उनकै शब्दमा यसरी व्यक्त गरिएको छ, ‘पच्चीस लाख शोषित जाति तामाङ भिन्न भएकाले नेपालीपनका निम्ति एकपल्ट नागरिकताको प्रमाणपत्र पाउन सोझो बाटो (प्रपर च्यानल) बाट कोसिस गरेकी हुँ । तर, नोकरशाही कुर्सीहरूको तल र माथिको सङ्केतबाट भकुन्डो खेलाइ भएर सिंहदरबारबाट रित्तो हात फर्केपछि नागरिकतामा विश्वास छैन । त्यसै दिनदेखि शोषणबोध मात्र हुन्छ, राष्ट्रबोध हुँदैन ।’ अर्को ठाउँमा भनेकी छन्, ‘अब म नेपाली नागरिकता नै लिन्न । म यहीँ बस्छु, यहीँ मर्छु, कसले भन्दोरहेछ म नेपाली होइन भनेर (पृष्ठ. ३७४) ?’ उनले अनुभूत गर्नुपरेका यस्तै विसङ्गतिबोधकै कारण उनका किताबमा पनि यस किसिमका विसङ्गतिबोधी चिन्तन आएको हुन सक्छ ।

शैलीगत पक्ष

जीवनी लेखनको पहिलो सर्त तथ्यहरूको सङ्कलन भए पनि अनुभूति र कल्पनाविहीन जीवनी लेखिन सक्दैन । यदि अनुभूति र कल्पनाको मिश्रण भएन भने त्यो केवल इतिहास बन्छ, साहित्य बन्दैन । जीवनी लेखनमा सत्यतथ्य कुरा विषयका रूपमा आउँछन् भने अनुभूति र कल्पनाको प्रयोग विषयलाई कलात्मक रूपमा प्रस्तुत गर्ने क्रममा उपयोग गरिन्छ । जस्तै : ‘पारिजातको जीवनमा स्वाभिमान कहिले ज्वार बनेर उर्लियो, कहिले भाटा बनेर पीँधमा पुग्यो । यो उनको रोजाइ थिएन, बाध्यता थियो । रोजेर कसले दुःख पाउँछ ? रोजेर को अपमानित हुन चाहन्छ ? रोजेर आशामुखी हुन को चाहन्छ ? तर, परिस्थिति, वातावरण, बाध्यता, विवशता यी यस्ता चीज हुन्, जसले मान्छेलाई घाँटीमा अँठ्याइदिन्छ र आफूले सोचे र रोजेको भन्दा पृथक् अनि विपरीत काम गरिदिन्छ । पारिजातले श्रद्धापूर्वक झापामा सम्पन्न साहित्य सम्मेलनले पारित गरेर दिएको पाँच सय आर्थिक सहायतालाई दुत्कारेर अस्वीकार गरिदिएकी थिइन्, तर पछि नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानबाट आर्थिक सहयोग लिइन् । शिक्षा मन्त्रालयबाट आर्थिक सहयोग लिइन् । त्यो पनि एक पटक होइन, पटकपटक (पृष्ठ. ३६३) ।’ यस अनुच्छेदमा तथ्यलाई जसरी लेखकले अनुभूति र कल्पनाका माध्यमले प्रभावकारी बनाएका छन् यही नै किताबको सुन्दर पक्ष हो ।

यस किताबका विभिन्न शीर्षकका छोटा–छोटा परिच्छेदहरू प्रायः एउटा विचार वाक्यबाट सुरु हुन्छ जस्तै ः ‘विष्णु र कुमार दार्जिलिङबाट प्रस्थान गरे ।’ ‘पारिजात संवेदनशील नारी थिइन् ।’ ‘पारिजातले झन्डै एक दशक कविता लेखनलाई पूर्णविराम दिइन् ।’ ‘शिरीषको फूल सदाबहार चर्चाको पुस्तक बन्यो ।’ ‘पारिजातको अध्ययनशैली आफ्नै प्रकारको थियो ।’ ‘पारिजात खुला किताब थिइन् ।’ ‘पारिजातले कुनै समालोचनाको किताब लेखिनन् ।’ ‘पारिजातको बसउठ र सारसङ्गत महिलाभन्दा पुरुष मित्रहरूसँग बढी हुन्थ्यो ।’ यी वाक्यलाई विचारवाक्य वा बीजवाक्य बनाएर यसकै वरिपरिका घटनाक्रमबाट सिङ्गो परिच्छेदको निर्माण हुन्छ । यसरी पहिलो वाक्यमा टेकेर सिङ्गो परिच्छेद निर्माण गर्ने लेखकको यो शैली फरक छ ।

सम्पूर्ण पारिजात

किताबमा पारिजातको साहित्यिक पक्ष मात्र नभएर जीवनका समग्र पक्ष समेटिएको छ । पारिजातका किशोरी मनका चञ्चलता, भावुकता, कठोरता, जिन्दगीको टर्निङ प्वाइन्ट काठमाडौँ आगमन, पुतलीसडकको डेरा, रोग, साहित्यिक किताबको प्रशंसा र आलोचना, प्रेम र यौनप्रतिको अनुभूति–धारणा, उनको आकर्षक व्यक्तित्व र बैंसालु नजरले डामिएको शरीर, शारीरिक अस्वस्थता र मानसिक प्रताडना, आर्थिक अभाव र विवशताजस्ता जीवनका विविध पक्षलार्ई सूक्ष्म तरिकाले लेखिएको छ । पारिजातले नै व्यक्त गरेको कुरा, पारिजातलाई मन पराउनेले, आलोचना गर्नेले, पारिजातले उपेक्षा गरेकाले र पारिजातलाई प्रेम गर्नेले व्यक्त गरेका पारिजातप्रतिको धारणा, दृष्टिकोण र अनुभूतिलाई सङ्ग्रह गरिएकाले किताब एकाकी नभई सम्यक् बनेको छ ।

आफूले श्रद्धा गर्ने साहित्यकारलाई सम्मान गर्न उनीहरूको देवत्वकरण नै गर्नुपर्छ भन्ने छैन । कमजोरीसहित सम्मान गर्न सकिन्छ । लेखकका कमजोरी, सशक्त पक्ष दुवै पाठकका लागि महत्त्वपूर्ण पाठ हुन सक्छन् भन्ने यो किताबले पुष्टि गरेको छ । किताबमा पारिजातका सफलताका कथा मात्रै छैनन् उनका अनेकौं दुर्बलता देखाइएको छ सप्रमाण ।

‘पारिजातले एक दिन आफ्नो मानसिक र शारीरिक यातना खप्न नसकेर सुकन्यालाई भन्छिन्– सुकन्या, म त पराजित जन्मेकी रहेछु । त्यसै दिन सुकन्याले भनेकी थिइन्– तिमी पराजित हुनै सक्दिनौ, तिमी अपराजिता हौ (पृष्ठ.३६५) । र, त्यही दिनदेखि सुकन्याले पारिजातलाई ‘अपराजिता’ सम्बोधन गर्न थालेकी थिइन् ।तिनै ‘अपराजिता’ को जीवन–सङ्घर्षको कथा हो– ‘सुश्री पारिजात’ ।

प्रकाशित : फाल्गुन १३, २०७९ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?