कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

आँखा पाकेको व्यक्तिलाई हेर्दैमा रोग सर्दैन : डा. सृजना अधिकारी

आँखा पाक्ने रोगबाट बच्‍न संक्रमित व्यक्तिसँग सम्पर्कमा नआउने, चिजबिजहरु नछुने, सकेसम्म छुट्टै बस्ने, अलिकति समस्या देखिन सुरु भएको छ भने तुरुन्तै आँखा चिकित्सककोमा पुगेर आँखा जाँच गराइहाल्ने र औषधि लगाउन सुरु गर्नुपर्छ ।
बुनु थारु

काठमाडौँ — पछिल्लो समय भारतसँगको सीमावर्ती क्षेत्रमा देखिएको आँखा पाक्ने रोग काठमाडौं उपत्यकामा समेत देखिन थालेको छ । यसलाई ‘एडिनो भाइरल कन्जंग्टिवाइटिस’ पनि भनिन्छ । यो रोगको कारण, लक्षण तथा सावधानीसम्बन्धी तिलगंगा आँखा अस्पतालकी आँखारोग विशेषज्ञ डा.सृजना अधिकारीसँग गरिएको कुराकानी :

आँखा पाकेको व्यक्तिलाई हेर्दैमा रोग सर्दैन : डा. सृजना अधिकारी

आँखा पाक्ने रोग कस्तो खालको रोग हो?

आँखा पाक्ने रोग पहिले पनि बेलाबेलामा देखिँदै आएको रोेग हो । यो वर्ष भने अलि बढी नै देखिएको छ । काठमाडौं र बाहिर जिल्लामा फैलिएको देखिन्छ । यो एक प्रकारको भाइरल इन्फेक्सन हो । एडिनो भाइरसले लिएर आउने संक्रमण हो ।संक्रमण बढेको पाइएपछि तिलगंगा अस्पतालमा हामीले इन्मरजेन्सीमा छुट्टै यसको युनिट खडा गरेका छौं ।

यसको कारण के होला?

यसको कारण भाइरल इन्फेक्सन हो र पछि ब्याकटेरियल इन्फेक्सन पनि हुँदै जान्छ । अगस्ट– सेप्टेम्बरमा अलि बढेको जस्तो देखिन्छ । कोभिडको समयमा ३ वर्षको अवधिमा हामीले त्यति देखेनौं । छ न त थियो तर धेरै संख्यामा थिएन । सायद त्यो समयमा हामीले धेरै सरसफाइमा ध्यान दियौं र आइसलेसनमा बस्यौं जसले गर्दा पनि सुरक्षित रहन सहयोग गर्‍यो होला।

यो भाइरल इन्फेक्नस भएका कारण छिटो नै फैलिन्छ र सर्दै जान्छ । यो सबैलाई देखिन सक्छ तर केटाकेटीलाई देखियो भने अलि गम्भीर रुपमा देखिन्छ । स्कुले केटाकेटीमा छिटो फैलिने हुन्छ । आँखा पाकेको व्यक्तिसित नजिक सम्पर्कमा आउनु भएको छ भने यो फैलिन्छ । आँखा पाकेको रोग भएको व्यक्तिलाई हेरेर मात्रै यो सर्ने होइन । यो रोग लागेको व्यक्तिको सामानहरू जस्तै: रुमाल, तौलिया, हात छोइएको छ भने सर्छ । यो समयमै पत्ता लगाएर उपचार गर्नु महत्त्वपूर्ण हुन्छ ।

कस्ता लक्षण देखिन्छन् ?

यसको सुरुवाती लक्षणहरु आँखामा केही बिझाउने, रातो हुने, हेर्न अप्ठ्यारो हुने, चिप्रा आउने, आँसु आउने हुन्छ पछि बिस्तारै बढ्दै गएर पूरै आँखामा चिप्रा लाग्ने, टालिने अनि हेर्नलाई गाह्रो हुने हुन्छ । अझ गम्भीर हुँदै जाँदा आँखाको कालो नानीमा सानो–सानो घाउ हुन्छ । त्यसले गर्दा उज्यालो तथा घाममा हेर्न गाह्रो हुने र दृष्टि धमिलो हुने हुन्छ । विशेषगरी केटाकेटीहरुलाई यो अलि गम्भीर भएर आउँछ जसमा आँखाको भित्रपट्टी सेतो पत्र जम्छ । आँखाका डिलहरु सुन्निन सक्छ । यो समयमा उपचार गरिएन भने अन्धोपन पनि निम्त्याउन सक्छ । हल्का रातो आँखा देखिन थालेमा, आँसु आउन थालेमा र बिझाउन थालेमा तुरुन्त अस्पताल जानुपर्छ ।

यसबाट बच्न कस्तो सावधानी अपनाउने?

यसबाट बच्न आँखा स्वास्थ्यमा ध्यान दिनुपर्छ । राम्रोसित हात धुने र सरसफाइमा ध्यान दिनुपर्छ । त्यसैगरी आँखा पाकेको व्यक्तिसँग सम्पर्कमा नआउने, चिजबिजहरु नछुने, सकेसम्म छुट्टै बस्ने, अलिकति समस्या देखिन सुरु भएको छ भने तुरुन्तै आँखा अस्पताल वा स्वास्थ्य चौकी पुगेर आँखा चेकअप गराइहाल्ने र औषधि लगाउन सुरु गर्नुपर्छ ।

बाहिर घाम वा उज्यालोमा हिँड्न गाह्रो छ भने कालो चस्मा लगाउन सकिन्छ । यसको उपचार गर्न समय लाग्छ । आज औषधि लगायो आजै निको हुने होइन । निको हुन हप्ता दश दिन लाग्न सक्छ त्यही भए धैयर्ताका साथ चिकित्सकले सिफारिस गरेको औषधि लगाउनुपर्छ ।

हामीले आँखामा यस्तो समस्या देखिएपछि औषधि प्रयोग गर्न जहिल्यै पनि नजिकैको आँखा अस्पताल तथा स्वास्थ्य केन्द्रमै जानुपर्छ । जथाभावी औषधी पसलबाट वा कसैले भनेको भरमा प्रयोग नगर्न सुझाव दिन्छु किनकी त्यस्ता औषधिले छोटो समयका लागि आँखाको रातोपन घटाउला, आँखाको दुखाइ कम गर्ला तर त्यसले दीर्घकालीन रुपमा असर गरिराखेको हुन सक्छ जसले गर्दा आँखामा जलविन्दु, मोतिविन्दु पनि भइरहेको देखिन्छ ।

प्रकाशित : श्रावण २०, २०८० १३:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?