कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८६

लार्भा नष्ट नगरी डेंगी नियन्त्रण असम्भव

अझै पनि लार्भा खोज र नष्ट गर्ने अभियानमा निरासापन देखाउने हो भने डेंगी फैलने क्रमले निरन्तरता पाउने छ भने अब देखिने डेंगी विगतमा देखिएको भन्दा कडा स्वरुपमा प्रस्तुत हुनेछ । यहि नै गत वर्ष काठमाडौँमा फैलिएको डेंगी महामारीबाट सिकेको अनुभव हो ।
डा‍‌‍‌. शेरबहादुर पुन

काठमाडौँ — हाल नेपालको पूर्वी क्षेत्र धरानलाई केन्द्रबिन्दु बनाएर डेंगी महामारीले ज्यामितीय फैलावटलाई तिव्रता दिइरहेको छ ।सो क्षेत्रबाट संक्रमित र मृतकको संख्या थपिएको समाचार आउँदै गर्दा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानलाई भने खासै चासो दिएको समाचार वा जानकारी देखिँदैन ।

लार्भा नष्ट नगरी डेंगी नियन्त्रण असम्भव

गत वर्ष काठमाडौंमा प्रत्यक्ष डेंगी महामारीको सामना गर्दै गर्दा लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान लगभग शून्यप्राय देखियो । फलस्वरूप, नेपालको इतिहासमै सबैभन्दा धेरै 'जटिल डेंगी' संक्रमित र मृतकको संख्या देख्नुपर्‍यो । लामखुट्टेको नियन्त्रणबिना डेंगी नियन्त्रणको कल्पना पनि गर्न सकिँदैन । यहि कुरा गत वर्ष काठमाडौं महामारीबाट सिकिएको मुख्य पाठ थियो ।

एडिस जातको लामखुट्टेले डेंगी प्रसारण गर्ने गर्दछ । यो लामखुट्टेले डेंगीबाहेक चिकुनगुनिया र जिका भाइरस पनि सार्ने गर्छ । चिकुनगुनिया भाइरस नेपालमा पहिलो पटक सन् २०१३ मा पत्ता लागेकाे थियो भने जिका भाइरस अधिकारिक रुपमा पुष्टि भइसकेको छैन । तर छिमेकी देश भारतमा भने जिका भाइरस संक्रमण बर्सेनि बढिरहेको छ ।

एडिस लामखुट्टेको अण्डा, लार्भा, प्युपा र वयस्क गरी चार चरणको जीवन चक्र हुनेगर्छ । लामखुट्टेको अण्डा धेरै सानो हुने भएकाले त्यसलाई ठम्याउन गाह्रो हुने गर्छ । त्यसपछिको लार्भा (वा प्यूपा) चरण भने स्थिर पानीमा नाङ्गो आँखाले देख्न वा ठम्याउन सकिन्छ । यसर्थ लामखुट्टेको लार्भालाई खोजेर नष्ट गर्नुपर्ने हुन्छ । तर‚ वयस्क चरणमा पुगिसकेको लामखुट्टेलाई भने नियन्त्रण गर्न असम्भवप्राय: हुन्छ । एडिस लामखुट्टेले विशेषगरी सूर्य उदय भएपछि र सूर्यास्त हुनुभन्दा दुई-तीन घण्टाअघि बढी सक्रिय हुने र टोक्ने हुँदा त्यहि बेलामा भाइरसको संक्रमण पनि ज्यादा हुने सम्भावना हुन्छ ।

त्यस्तै अधिकांश मानिसहरूबाट लामखुट्टे भगाउने विभिन्न प्रकारका गन्ध/धुवाँ प्रयोग गर्ने गरेको र त्यसको बाबजुद पनि लामखुट्टेले टोक्ने गरेको भन्ने गुनासो आउने गर्छ । रातमा झुल लगाएर यसको टोकाइबाट बँचे पनि दिनमा सक्रिय हुने यो लामखुट्टेका लागि यो उपाय व्यावहारिक पनि देखिँदैन । यद्यपि डेंगी उपचार गर्ने अस्पतालमा भने बिरामीलाई दिनमा पनि झुलभित्रै बस्नका लागि सुझाव दिने गरिन्छ । गत वर्ष काठमाडौँलगायतका देशका विभिन्न स्थानमा देखिएको डेंगी महामारीको प्रमुख कारण भनेकै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा देखिएको उदासीनता थियो ।

पछिल्लो समय नेपालमा डेंगीले ‘जटिल स्वरुप’ लिँदै गइरहेको देखिन्छ । सन् २०१९ मा धरान र काठमाडौँमा एकै पटक डेंगीले महामारीको रुप लिएको थियो । सो समयमा पनि टेकु अस्पतालमा मैले डेंगी लक्षित ‘फिबर क्लिनिक’ मा बसेर हजारौँ बिरामीको सेवा गर्ने मौका पाएको थिएँ । त्यस बेला संक्रमितमा ‘जटिल डेंगी’ खासै नदेखिए पनि अधिकांशलाई डेंगी कसरी सर्छ भन्ने जानकारी नै नभएको पाएँ । सम्भवतः काठमाडौँमा यसभन्दा पहिला डेंगीले ठूलो प्रभाव नपारेकाले पनि डेंगीबारे खासै धेरै जानकारी नभएको होला । सन् २०२१ मा पनि काठमाडौँको सीमित ठाउँमा (कालोपुल वरपर) डेंगीको प्रकोप फैलिएको थियो । अझ आश्चर्यको कुरा त के भने सम्बन्धित निकायले डेंगी फैलिएको पत्तोसमेत पाएन । त्यसको मुख्य कारण भनेको डेंगी संक्रमितहरू निजी क्लिनिक वा अस्पतालमा उपचार गराउनु नै थियो । तर‚ गत वर्ष भने डेंगीले ठूलो महामारीको रुप लियो‚ जसबाट झन्डै एक सय जनाको मृत्यु भयो ।

डेंगीले बर्सेनि झन्-झन् जटिल स्वरुप लिँदै गइरहेको देखिन्छ ।सन् २०२२ मा भएको डेंगी महामारीमा धेरै बिरामीले आफूलाई शारीरिक पीडा भएको बताएका थिए । गत वर्ष काठमाडौँमा फैलिएको डेंगी महामारीमा टाउको दुख्ने, ज्वरो आउने, जोर्नी र मांशपेशी दुख्ने, आँखाका गेडी दुख्ने, ढाडको तल्लो भाग दुख्ने, शरीरमा राता बिबिरा देखिने, वाकवाक वा बान्ता हुने, पखाला लाग्नेजस्ता लक्षण देखिएका थिए । त्यस्तै सन् २०१९ मा डेंगीका अधिकांश संक्रमितहरूमा रक्तश्राव भएको थियो ।

समग्रमा भन्नु पर्दा, धरानमा फैलिरहेको डेंगी महामारीमा अहिले नै ब्रेक लाग्ने सम्भावना कम देखिन्छ किनभने सबैभन्दा क्रिटिकल मानिने लार्भा खोज्ने र नष्ट गर्ने चरण पार भइसकेको देखिन्छ । अझै पनि लार्भा खोज र नष्ट गर्न उदासीनता देखाउने हो भने डेंगीले झनै संक्रामक रूप लिने देखिन्छ । यो कुरालाई गत वर्ष फैलिएको डेंगी महामारीले पनि प्रस्ट्याइसकेको छ ।

लेखक पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।

प्रकाशित : श्रावण ११, २०८० १८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?