कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८०

नेपालमा केवलकार चिनाउने मनकामना

अहिलेसम्म १ करोड ८४ लाख यात्रुलाई मनकामना मन्दिरसम्म पुर्‍याउने र ल्याउने काम गरेको मनकामना केवलकारले सात वर्षमै उठायो लगानी, २०५५ सालमा ६५ करोड रुपैयाँ लगानी गरेर सञ्चालनमा ल्याइएको थियो
विमल खतिवडा

काठमाडौँ — गोरखाका लक्ष्मणबाबु श्रेष्ठ पैदल हिँडेर थकाइ मार्न चौतारोमा बस्दा वरिपरिका डाँडा नियाल्न बिर्संदैनथे । किनभने, ती डाँडाकाँडाले उनलाई औधि लोभ्याउँथ्यो । एक दिन यसरी नै नियाल्दै गर्दा बादल एक डाँडाबाट अर्को डाँडातर्फ सरिरहेको देखे । त्यसपछि उनलाई लाग्यो, बादलजसरी हिँड्न सके कति सहज हुन्थ्यो होला ।

नेपालमा केवलकार चिनाउने मनकामना

त्यस्तो खालको प्रविधि भइदिए काठमाडौं पुग्न कति सहज हुन्थ्यो । त्यतिबेला चार–पाँच दिन हिँडेर मात्रै काठमाडौं पुगिन्थ्यो । पछि बिस्तारै मोटरबाटो बन्यो । यातायातका साधनहरू चल्न थाले । जसले गर्दा गोरखाबाट काठमाडौं आउजाउ सुगम बन्यो ।

त्यसो त सुरुमा लक्ष्मणबाबु निर्माण व्यवसायीका रूपमा चिनिन्थे । २०३३ सालबाट उनले चितवन को–ई अर्थात् चितवन कन्स्ट्रक्सन इन्जिनियरिङको काम थालेका थिए । ‘क’ वर्गको निर्माण कम्पनीले पहिलो ठेक्काको काम चितवनमा गरेकाले निर्माण कम्पनीको नाम नै चितवन को–ई राखेका थिए । २०१६ सालमा लक्ष्मणबाबुको परिवार गोरखाबाट चितवन झर्‍यो । बुवासँगै आफूहरू पनि चितवन झरेर चौबीसकोठीमा बस्न थालेको उनका कान्छा छोरा राजेशबाबुले सुनाए ।

मनकामना केवलकारका संस्थापक लक्ष्मणबाबुको निधन भइसकेको छ । १० वर्षअघि उपचारका क्रममा उनको भारतको मेदान्त अस्पतालमा निधन भएको हो । तर, उनले सुरु गरेको यात्रु बोक्ने मनकामना केवलकार अहिले ब्रान्ड बनेको छ । अहिले देशैभरि मठमन्दिरसम्म पुग्न केवलकार बनाउने प्रतिस्पर्धा चले पनि पहिलो बाटो देखाउने काम मनकामना केवलकारले गरेको थियो भन्दा अतिशयोक्ति नहोला ।

यो सफलता मनकामना केवलकारले यत्तिकै हासिल गरेको भने होइन । ठूलै जोखिम मोलेर लक्ष्मणबाबुले केवलकारमा लगानी गरेका थिए । ‘व्यवसायका सिलसिलामा बुवा युरोप जानुभएको थियो, त्यहाँ रोपवे केवलकार देख्नुभएछ,’ राजेशबाबुले भने, ‘बाल्यकालमा बुवाले जसरी एक डाँडाबाट अर्को डाँडा जान केही प्रविधि भए यात्रामा कति सहज हुन्थ्यो भनेर हिँड्दा सोच्नुभएको थियो, त्यहाँ डाँडाबाट केवलकार झरेको देख्नुभएछ, यो गज्जबको चिज रैछ भन्ने भएछ, त्यसपछि नेपालमा पनि बनाउन सकिएला भनेर फर्किनुभएको हो ।’ केवलकारमै लगानी गर्ने अठोट बोकेर विदेशबाट बुवा फर्केको राजेशबाबुले सुनाए । त्यसबेलासम्म नेपालमा मानिस ओहोरदोहोर गर्ने केवलकार बनिसकेका थिएनन् । सामान बोक्ने रोपवे भने थिए ।

गोरखामा अवस्थित मनकामना मन्दिरसम्म पुग्ने उपयुक्त माध्यम फेला पार्न नसकेपछि नै चितवनको कुरिनटार (इच्छाकामना गाउँपालिका–४) बाट गोरखाको मनकामना (सहिद लखन गाउँपालिका–३) जोड्दै केवलकार निर्माण गर्ने निर्णयमा पुगेको राजेशबाबुले सुनाए । २०५३ कात्तिक २२ मा मनकामना दर्शन प्रालि स्थापना भयो । २०५४ माघ अन्तिमबाट निर्माणको काम सुरु भई २०५५ मंसिर ८ बाट मनकामना केवलकार व्यावसायिक रूपमा सञ्चालनमा आएको थियो । उक्त केवलकारको तत्कालीन युवराज दीपेन्द्र शाहले उद्घाटन गरेका हुन् । अहिले केवलकार सञ्चालनमा आएको २६ वर्ष पूरा भएको छ । केवलकार १ हजार ३ सय २ मिटरको उचाइसम्म पुगेको छ । ‘त्यस बेला केवलकारलाई नौलो मानिन्थ्यो । मान्छेहरू चढ्न पनि डराउँथे,’ राजेशबाबुले भने, ‘हेर्न आएर मात्र फर्किने पनि धेरै हुन्थे । चढ्न भनेर आएकाहरू डराएर चढ्न नसकेर फर्किएका पनि देखें ।’ उनका अनुसार कतिले त यसलाई विद्युतीय घिर्लिङ पनि भन्थे । केहीकेहीले हवाईजहाज जस्तै पनि भन्थे ।

पहिले एकैदिन १५ सयदेखि २ हजारसम्म यात्रु आए व्यवस्थापन गर्न हम्मेहम्मे पर्थ्यो । ‘केवलकार आकर्षण होइन, एउटा यातायातको माध्यम मात्र हो,’ राजेशबाबु भन्छन्, ‘यति धेरै केवलकार सञ्चालनमा आउँदा मनकामना केवलकारलाई असर गरेको छ/छैन भन्नेहरू पनि हुनुहुन्छ तर केवलकार–केवलकारबीच प्रतिस्पर्धा हुँदैन, यसमा मात्र गन्तव्यको प्रतिस्पर्धा हुने हो ।’ आज अन्यत्रभन्दा मनकामनामा किन बढी मान्छे आउँछन् भन्दा उनी भन्छन्, ‘यो एक धार्मिक गन्तव्य क्षेत्र हो, नेपालमा मात्र होइन, विश्वव्यापी रूपमै यो प्रख्यात छ ।’

अहिले सडकमार्गबाट पनि मनकामनासम्म पुग्न सकिन्छ । ‘हामी सानै हुँदा मनकामना प्रमुख धार्मिक गन्तव्य स्थलका रूपमा चिनिन्थ्यो, त्यहाँ हिँडेरै जाने आउने गर्थ्यौं,’ राजेशबाबुले भने, ‘बुवाले धर्म र पर्यटनको अवधारणालाई अघि सार्दै मनकामनामा केवलकार निर्माण गर्न अग्रसर हुनुभएको हो ।’

२०४६ सालपछि केही राजनीतिक उथलपुथल भयो कि बाह्य पर्यटक आवागमन ठप्प बन्ने गर्थ्यो । यहाँका पर्यटन व्यवसायी बाह्य पर्यटकसँग निर्भर थिए । धर्म र पर्यटनलाई जोडेर केवलकार सुरु गर्दा आन्तरिक पर्यटकले पुग्ने अनुमान गरेरै यसको सुरुवात भएको उनले सुनाए । ‘लगानी के हुने हो भन्ने थियो, लगानी कसरी जुटाउने पिरलो पनि उत्तिकै थियो, थोरै लगानीमा केवलकार बन्ने कुरा थिएन,’ राजेशबाबु भन्छन्, ‘त्यसबेला ६५ करोड लगानी गर्नु ठूलो कुरा थियो, अहिले त्यही मापदण्डमा ३ अर्ब रुपैयाँले पनि पुग्दैन ।’ जसमा ७० प्रतिशत बैंकहरूको मात्र लगानी थियो ।

त्यसबेला बैंक वित्तीय संस्थाले लगानी गर्न डर माने । पछि नेपाल बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक र तत्कालीन नेपाल बंगलादेश बैंकले लगानी गरे । द्वन्द्वको समय भएकाले सोचेअनुरूप सेवा सञ्चालन गर्न गाह्रो थियो । ‘द्वन्द्वका कारण नयाँ सेवा सुरु गर्न एकदमै चुनौतीपूर्ण थियो,’ उनी भन्छन्, ‘तर सञ्चालनको दुई/चार वर्षमा अपेक्षा गरेजति यात्रु नपाए पनि पछि राम्रै सफलता पायौं ।’ त्यसो त सेवा सुरु गर्दै गर्दा ५ वर्षमा ऋण चुक्ता गर्ने लक्ष्य कम्पनीले लिएको थियो । ‘लक्ष्यअनुसार ऋण चुक्ता गर्न नसकिए पनि ७ वर्षभित्र ऋण चुक्ता गर्न सफल भयौं,’ उनले भने । निर्माण कम्पनी आफ्नै भएकाले केवलकार बनाउने बेला चितवन को–ईले नै अध्ययन गरेको थियो । त्यसपछि अस्ट्रियाको केवलकार निर्माण गर्ने कम्पनी डोपलमेरले निर्माणको क्रममा सहयोग गरेको थियो ।

डिजाइनको मुख्य काम यही कम्पनीले गरेको थियो । अन्य डिजाइनको काम नेपालकै सिनियर इन्जिनियर रामहरि श्रेष्ठले गरे । केही विदेशी प्राविधिकको पनि सहयोग लिइएको थियो । कास्कीको अन्नपूर्ण केवलकारको इन्जिनियरिङ प्रक्योरमेन्ट कन्स्ट्रक्सन (ईपीसी) को ठेक्काको कामसमेत आफूहरूले गरेको उनले बताए । त्यसमा पनि रामहरिले काम गरेका थिए ।

केवलकार सुरु गर्दै गर्दा नेपालीमा घुम्ने बानीको विकास हुँदै थियो । त्यो बेला पनि चितवन, लुम्बिनी, पोखरा घुम्न जाने नेपाली हुन्थे । मनकामनालाई सुगम बनाउन सकिए धेरै पर्यटक आउँछन् भन्ने भयो । केवलकार सञ्चालनमा आएको दुई वर्षपछि रेस्टुरेन्टहरू सञ्चालनमा ल्याइएको थियो । त्यस बेला मनकामना जाने बाटो थिएन । खच्चडमा बोकाएर मनकामना हुँदै आसपासका गाउँसम्म सामान पुर्‍याइन्थ्यो । डाँडापाखामा केवलकार बनाएर सेवा दिने काम सामान्य थिएन । केवलकारको टावर हेलिकोप्टरबाट जडान गरिएको थियो । जतिबेला हेलिकोप्टरको विकल्प थिएन । ‘कुरिनटारमा एसेम्बल गरी उक्त टावरलाई लिफ्टिङ गरेर लग्यौं, त्यो बेला रसियन पाइलट थिए, यसबारे उनीहरू जानकार हुन्थे,’ राजेशबाबु पुराना दिन सम्झँदै भन्छन्, ‘त्यसपछि उनीहरूकै सहयोगमा टावर राख्यौं, २० वटामध्ये १६ वटा मात्र राख्यौं, चारवटा पछि राखेका हौं ।’ एसेम्बल गरेको ३ दिनमा टावर जडानको काम गरेको उनले सुनाए ।

वीरगन्ज भन्सारबाट सामान छुटाएर ल्याउन समेत धेरै समय लाग्यो । तर मिहिनेत गरेअनुसार सहजै सेवा दिन सकेको उनको भनाइ छ । द्वन्द्वकालीन समयमा सुरु गरेकाले यात्रुको चाप थिएन । त्यसबेला सेवा सुरु गरेको दुई/तीन वर्षमा माओवादीले टावरमा बम पड्काइदिए । ‘सेवा थाल्दै गर्दा ४/५ लाख मान्छे आए पनि राम्रो हो भन्ने थियो,’ उनले भने, ‘पछि त मासिक ८८ हजारभन्दा बढी मानिस आउजाउ गर्न थाले ।’

हाल मनकामना केवलकारले वार्षिक ११ लाख यात्रुलाई सेवा दिँदै आएको छ । केवलकार सञ्चालनमा आएयता अहिलेसम्म १ करोड ८४ लाख ९७ हजार ४ सय २८ जना यात्रुले सेवा लिइसकेका छन् । फागुनमा मात्र १ लाख २ हजार ५ सय ९० जना यात्रुले सेवा लिएका थिए । चालु आर्थिक वर्षको फागुनसम्म मात्र ७ लाख ५ हजार ६२ जना यात्रुले केवलकार चढेका छन् ।

गत वर्ष ११ लाख यात्रु आएका थिए । चालु आर्थिक वर्षको ८ महिनामा ७ लाख मानिस ओहोरदोहोर गरिसकेका छन् । ‘गत वर्ष ९ महिनामा ७ लाख ४० हजार यात्रुले सेवा लिएका थिए,’ उनले भने, ‘अहिले आठै महिनामा ७ लाखभन्दा बढी पुगेका छन्, त्यसैले यो आर्थिक वर्षमा १२ लाख ५० हजारसम्मले सेवा लिने अनुमान छ ।’ सुरुमा ३१ वटा डब्बा थिए, पछि तीनवटा थपेर ३४ वटा पुर्‍याइएको छ ।

अहिले केवलकारबाट मनकामना पुग्ने यात्रुको चाप बढी छ । त्यो चापलाई व्यवस्थापन गर्न सञ्चालनको समयतालिका बढाउनुपरेको छ । औसतमा चार हजार यात्रु प्रतिदिन आउँछन् । ‘कुनै कुनै दिन त १०/११ हजार यात्रु पनि एकैदिन आउँछन्,’ उनले भने, ‘२५ वर्षको दौरानमा एनलग प्रणाली थियो, यो पनि धेरै नै पुरानो भयो, अब डिजिटल प्रणालीमा जाँदै छौं, डोपलमेर कम्पनीको डिकनेक्ट भन्ने डिजिटल प्रणालीमा स्तरोन्नति गर्ने प्रथम चरणको काम सन् २०२१ मै पूरा गरिसकेका छौं ।’ जसमा करिब ९ करोड खर्च भयो । ‘आगामी आर्थिक वर्षको साउनमा दोस्रो र तेस्रो चरणको काम एकैचोटि गर्दै छौं, त्यसमा पूरै प्रणाली नै परिवर्तन हुनेछ,’ उनले भने, ‘अहिलेको ड्राइभ प्रणाली नै अर्को आउनेछ, कन्ट्रोल प्रणाली नै परिवर्तन भएर डिजिटल हुनेछ ।’

यसमा समस्या आए अस्ट्रियाबाटै अनलाइनमार्फत समाधान गर्न सकिनेछ । अबको चरणमा कन्ट्रोल सिस्टम कम्युनिकेसन केवलका साथै केवुलका लट्ठा फेरिने र पहिलेकै जस्तो स्तरीय र नयाँ हुनेछ । यसको समग्र स्तरोन्नतिका लागि ४५ करोड रुपैयाँ लगानी हुनेछ । जसले यसको आयु बढाउनेछ । ‘यसको अर्को २०/२५ वर्ष आयु बढ्नेछ,’ उनले भने, ‘२५ वर्ष पुरानो भएकाले हाम्रो मर्मतसम्भार खर्च धेरै थियो, अब यो खर्च घट्नेछ ।’

लट्ठा अबको ५/७ वर्षमा परिवर्तन गर्दा हुन्छ । ‘तर, त्यो समयभन्दा अघि नै मुख्य लट्ठा परिवर्तन गर्न लागेका छौं,’ उनले भने, ‘कम्युनिकेसन केवल पनि डिजिटल हुनुपर्छ भनेर फेर्न लागेका हौं ।’ लट्ठा आइसकेको छ । साउन/भदौमा केवलकार बन्द हुनेछ । असोजबाट पुनः चल्नेछ । तर पूरै नयाँ प्रणालीमा चल्ने उनको भनाइ छ । अहिले केवलकारले १ सय ७५ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ भने अप्रत्यक्ष रोजगारी पाउने पनि धेरै छन् । केवलकार सञ्चालनमा आएपछि मात्रै मनकामना र कुरिनटार आसपास होटल तथा रेस्टुरेन्ट खुल्ने क्रम बढेको छ । ‘बुवाले भन्नु हुन्थ्यो विकासले विकासै निम्त्याउँछ, पहिला कुरिनटारका बारेमा स्थानीयबाहेक कमैलाई थाहा थियो,’ राजेशबाबु भन्छन्, ‘धेरैलाई मलेखु, मुग्लिङ भन्ने मात्र थाहा थियो, अहिले कुरिनटारबारे थाहा नपाउने सायदै फेला पर्लान् ।’

केवलकारमा सेवा लिने कुल यात्रुमा अहिले ७० प्रतिशत नेपाली, २६ प्रतिशत भारतीय र अन्य विदेशी यात्रु ४ प्रतिशत छन् । यो केवलकारको ३.०१ किलोमिटर दूरी छ । १० देखि १२ मिनेटमा कुरिनटारबाट मनकामना पुगिन्छ । एउटा डब्बामा ६ जना यात्रु अट्छन् । सुरुसुरुमा बिहान ९ देखि साँझ ५ बजेसम्म केवलकार चलाइन्थ्यो । अहिले शनिबार बिहान साढे ६ देखि साँझ ८ बजेसम्म चलाइन्छ भने अन्य दिन साढे ७ बजेबाट साढे ५ बजेसम्म चलाउने गरिएको छ । साँझ केवलकारलाई कुरिनटारमा ल्याएर पार्किङ गर्ने गरिएको छ ।

२०७२ वैशाख १२ को भूकम्पमा भने केवलकार चलिरहेको थियो । शनिबार भएकाले यात्रुको चाप धेरै नै थियो । ‘त्यो दिन केवलकार चढेर मनकामना मन्दिर दर्शनका लागि पुग्ने यात्रुको संख्या ५ हजार हाराहारी थियो,’ राजेशबाबुले भने, ‘भूकम्पपछि केही समय केवलकार रोकेर पहिला खाली डब्बा परीक्षणका रूपमा चलायौं, त्यसपछि मनकामनामा रहेका सबै यात्रुलाई केवलकारबाट कुरिनटार ल्यायौं ।’ तर कोभिडका बेला भने गाह्रो भयो । केही समय केवलकार बन्द भयो । पछि नेपाली नै आएर केवलकार चल्न सहज बनाएको राजेशबाबु सुनाउँछन् ।

अहिले लक्ष्मणबाबुको सोच र सपना पूरा गर्न उनका तीन छोराहरू राजुबाबु, रोशनबाबु र राजेशबाबु लागिपरेका छन् । प्रभावित क्षेत्रका स्थानीयलाई केवलकारमा ओहोरदोहोर गर्न सहुलियत दिइएको छ । सामाजिक उत्तरदायित्वअन्तर्गत केवलकार टिकट बिक्रीको कुल आम्दानीबाट वार्षिक १/१ प्रतिशत सहिद लखन गाउँपालिका र इच्छाकामना गाउँपालिकालाई सहयोग गरिएको छ । दुवै गाउँपालिकामा मनकामना केवलकारका तर्फबाट निःशुल्क एम्बुलेन्स सेवा पनि उपलब्ध गराउँदै आएको राजेशबाबुले बताए ।

अहिले मनकामनाजस्तै केवलकार बनाउन परो भन्दै डाँडाकाँडालाई देखाएर आउनेहरू धेरै भएको राजेशबाबुले बताए । ‘हाम्रोतिरका डाँडाकाँडामा ठूलो मेला लाग्छ, केवलकार बनाउनुपर्‍यो भन्दै आउनेहरू पनि धेरै छन्,’ उनी भन्छन्, ‘मेला लागेकै आधारमा केवलकार बनाउने कुरा होइन तर नेपालमा केवलकार चलाउन सक्ने ठाउँ धेरै छन्, त्यसका लागि तल्लो स्टेसनसम्म मोटरबाटो पुगेको हुनैपर्छ ।’ मनकामना केवलकार सञ्चालनमा ल्याएको टोलीले अन्यत्र पनि छिट्टै केवलकार बनाउने सोचमा पुगेको छ । ‘बुवाको सपना केवलकार नेपालभर सुहाउँदो भन्ने थियो, त्यसबेला मनकामना जस्तो क्षेत्र कहीं पनि पाएनौं, प्यूठानको स्वर्गद्वारीमा पनि त्यो सर्भे गर्‍यौं,’ उनी भन्छन्, ‘सर्भेमा गएका बेला द्वन्द्वको समय थियो, नजिकै बम पड्कियो, त्यसपछि थप काम अघि बढाउन सकेनौं ।’

मनकामना पर्यटक अड्याउन अहिले ५५ करोड लागतमा मनकामना केवलकार हाताभित्र रिसोर्ट निर्माणको काम भइरहेको छ । ४० कोठाको यो रिसोर्टमा स्विमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेस्टुरेन्ट हुनेछन् । रिसोर्ट सन् २०२४ को अन्त्यसम्ममा सञ्चालन ल्याइने जनाइएको छ । ‘एउटा राम्रो रिसोर्ट मनकामनामा चाहिन्छ भनेर सुरुवात गरेका हौं, मन्दिर दर्शन गर्न आउनेहरू पहिला मनकामनामा एक रात पनि बस्दैनन् भन्ने थियो, अहिले बस्न थालेका छन्, अब कम्तीमा दुई रात बास बस्ने वातावरण बनाउनुपर्छ भन्ने हो,’ उनले भने, ‘यहाँ बास बसेर नजिकै बक्रेश्वर महादेव शक्तिपीठ जान सकिन्छ, रमाइला डाँडाहरू देख्न पाइन्छ, यो ठाउँमा होमस्टेहरू चलाउन सकिन्छ ।’

अहिले मनकामना क्षेत्रमा दुई हजार बेड क्षमताका होटल खुलिसकेका छन् । जहाँ वार्षिक ६ लाख पाहुना अटाउन सक्छन् । ‘हाम्रो जस्तो मापदण्डका ७/८ वटै रिसोर्ट खोल्न सकिन्छ, हाम्रोसहित दुईवटा खुल्दै छन्,’ राजेशबाबुले भने, ‘अबको चार/पाँच महिनाभित्र हामीले बनाउन लागेको रिसोर्टका बारेमा सबैलाई जानकारी गराउनेछौं ।’

प्रकाशित : चैत्र ४, २०८० ०८:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?