कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

किराको जीवनचक्र अनुसन्धानमा प्रयन

विराटनगरका प्रयन पोखरेल सानो हुँदा बट्टामा किरा राख्ने गर्थे । केमिकल इकोलोजीमा विद्यावारिधि गरेपछि ३१ वर्षीय प्रयन अहिले किरामा हुने ‘टक्सिन’ (मन्द विष) बारे अनुसन्धानमा तल्लीन छन् ।
गोविन्द पोखरेल

काठमाडौँ — स्थलीय खाद्य चक्रमा उत्पादक (बिरुवा) र उपभोक्ता (जीव) हरूको विविधता छन् । जीव र किराले बिरुवा खान्छन् । बिरुवाले उनीहरूबाट जोगिएर हुर्किनुपर्छ । त्यसैले वातावरणीय अनुकूलनका लागि बिरुवाहरूका विभिन्न किसिमका प्रतिरोधात्मक क्षमता हुन्छन् ।

किराको जीवनचक्र अनुसन्धानमा प्रयन

किरा र विभिन्न प्रकारका जीवबाट बच्न केही बिरुवामा काँडा हुन्छ, चोप हुन्छ । कुनैमा खास किसिमका मन्द विष वा लट्याउने रसायन उत्पन्न गर्ने क्षमता हुन्छन् । किराहरूका आनीबानी पनि भिन्नभिन्न प्रकारको हुन्छ । उनीहरू कुन बिरुवाको बानी र प्रकृति कस्तो भन्ने ज्ञान राख्छन् । उनीहरू बिरुवाले उत्पादन गर्ने विशेष प्रकारका टक्सिनमा आश्रित हुने र त्यही टक्सिन जीउमा भण्डारण गरेर बाँचेका हुन्छन् । बिरुवा र जीवबीचको यही अन्योन्याश्रित सम्बन्धका कारण जैविक विविधताको चक्र चलेको छ ।

डा. प्रयन पोखरेल (३१), किरा र बिरुवाले उत्पादन गर्ने टक्सिन र जैविक विविधताको अनुसन्धान गर्दै छन् । पेसाले उनी केमिकल इकोलोजिस्ट हुन् । जीवहरूले रसायनसँग वातावरणमा के कसरी ‘परस्परक्रिया’ गरिरहेका छन् भन्नेमा उनको विज्ञता हो । स्नातकमा फार्मेसीका विद्यार्थी उनले स्नातकोत्तरमा एग्रो बायोटेक्नोलोजी र विद्यावारिधि चाहिँ केमिकल इकोलोजीमा गरे । विराटनगर निवासी यी युवा अहिले देशविदेशमा अध्ययन गर्ने धेरै विद्यार्थीहरूको अनुसन्धानमा सहयोग गर्छन् । कतिपयलाई उनी अनुसन्धान सिकाउने पनि गर्छन् ।


नेपालका तराईदेखि हिमाली क्षेत्रसम्म पाइने बिरुवा र ती बिरुवाले निकाल्ने टक्सिन (हानिकारक रसायन) र त्यस्ता टक्सिन लिने किराहरूबीचको सम्बन्ध खोज्ने प्रयास उनले गर्दै छन् । जर्मनीमा एउटा पोस्ट डक परियोजना पूरा गर्न लागेका उनी विषादी प्रयोग गरिएको खेतमा किराहरू के कसरी बाँच्छन् भन्ने विषयमा अनुसन्धान गर्दै छन् ।

कृषियोग्य जमिनमा विषादीको विकल्प ‘प्रिडेटरी इन्सेक्ट्स’ (बालीमा लाग्ने किरालाई आहारा बनाउने मित्र किरा) हुन सक्छ कि सक्दैन भन्ने विषयमा अध्ययन गर्दै छन् । प्रिडेरी इन्सेक्ट्समार्फत विषादीको मात्रा कम गराउन सकिनेमा उनी आशावादी छन् । बालीका शत्रु किरा नियन्त्रण गर्नका लागि अर्को मित्र किरा पत्ता लगाउनु पनि उनको ध्येय छ ।

किराको केमिकल इकोलोजीको अध्ययन गरेर कृषि क्षेत्रको पारिस्थितिकीय सेवाको वृद्धि कसरी गर्न सकिन्छ भन्नेमा उनी केन्द्रित छन् । खनिजजन्य विषादी हालेपछि किराको जैविक विविधतामा असर गर्छ गर्दैन भन्ने सवालमा पनि उनी अनुसन्धान गरिरहेका छन् ।

उनको यो अनुसन्धान किराले बिरुवाहरूबाट लिने रसायन (फाइटो–केमिकल कम्पाउन्ड्स) मा आधारित छ । किराको अध्ययनबाट किरालाई खाने जीवको उपस्थिति छ या छैन भन्ने पनि थाहा हुन्छ । यसका लागि प्रयोगशालामा उत्पादन गरिएका किराहरूलाई उनी कागजमा टाँसेर एउटा सानो खेतमा छाडिदिन्छन् । किरा देखेर शत्रु जीव आइरहेका छन् या छैनन् भन्ने थाहा हुन्छ । उनले यो अनुसन्धानमा ‘लाही’ किराको प्रयोग गरेका छन् । लाही हाम्रा बालीबिरुवामा आइरहने किरा हो । यसलाई अंग्रेजीमा ‘एफिड’ पेस्ट इन्सेक्ट भनिन्छ । यिनीहरू बाली खाने शत्रु किरा हुन् ।

किराले आफ्नो प्रतिरोधात्मक क्षमता विकास गर्न बिरुवाबाट टक्सिन लिने गर्छन् । र, त्यसैको आधारमा उनीहरूले विकास गर्ने रङसँग जोडिएको छ । त्यही रङ शत्रु जीवलाई खतराको सूचक बन्छ । प्रयनको अनुसन्धानले किराको संख्या व्यवस्थापन गर्नका लागि महत्त्वपूर्ण भूमिका खेल्छ । उनी भन्छन्,‘ किराहरू बिरुवाबाट टक्सिन लिएर अनुकूलन भएसँगै विषादीबाट पनि उनीहरू अनुकूलन हुन्छन् । जसले गर्दा किरा नियन्त्रणमा चुनौती थपिन्छ । हाम्रो अनुसन्धानले नियन्त्रण गर्न सघाउँछ ।’

हालै उनले पँधेरो प्रजातिभित्र पर्ने ‘मिल्क विड बक्स’ किरालाई आफ्नो विद्यावारिधिको अध्ययनमा राखे । यो किरा बिरुवाबाट लिने टक्सिनको आधारमा रंगीविरंगी हुन्छ । ‘रंगविरंगी हुनु भनेको म हानिकारक र खतरनाक छु भनेको संकेत हो,’ प्रयन भन्छन्, ‘यसले म खतरनाक छु, मलाई नखाओ भन्ने संकेत हो ।’ यस किसिमको किराको बानीलाई ‘एपोसामेटिज्म’ भन्ने गरिन्छ । धेरै नै टक्सिक बिरुवाहरूमा हुने यो प्रजातिको किराले शरीरमा टक्सिन भण्डारण गरेर आफू बाँच्ने गर्छ ।

ती टक्सिनहरू आफ्नो शरीरमा भण्डारण गर्दा, अन्य शत्रु जीवबाट ऊ सुरक्षित हुन्छ । जस्तो कि रातो रङका त्यस्ता केही किराहरू धेरै नै हानिकारक हुने भएकाले चराचुरुंगीले खाँदैनन् ।

यसरी किराहरूले टक्सिन लिँदा उनीहरूको वृद्धिदर, प्रजनन्, आयु, आकारमा के कस्तो असर पर्छ, किराहरूले टक्सिनसँगै रङ उत्पादन गर्दा उनीहरूको शरीरमा के कस्तो दबाब (स्ट्रेस) हुन्छ भन्नेमा उनको अनुसन्धान केन्द्रित छ । किराहरूले शरीरमा भण्डारण गरेको यस्ता टक्सिनहरूबाट शत्रु किराबाट कतिको बाँच्न सक्छन् त भन्नेमा उनले अनुसन्धान थाले ।

यसरी टक्सिन (विष) सेवन गर्दा किराहरूको जीवन पद्धतिमा के कस्ता परिवर्तन आउँछ भन्नेमा अध्ययन गर्दा उनले पोथी किराले धेरै टक्सिन खाँदा फुल धेरै पार्छ कि कम भन्ने पनि गरे । किराले शरीरमा टक्सिन धेरै राख्दा उसको जीवनचक्रमा के कस्तो असर पार्छ भन्ने पनि छ । त्यस्ता टक्सिनहरू यी किराहरूले कसरी पचाउँछन् र पद्धति के हो भन्नेमा थियो ।

प्रयन भन्छन्, ‘धेरै टक्सिन लिने किराहरू धेरै नै कडा रातो रङका देखिए भने केही चाहिँ सामान्य रातो रङका देखिए । टक्सिनको मात्राले किराको रङको अवस्थामा पनि परिवर्तन आउन सक्छ ।’

किराको शरीरमा भएको रङको गाढापनको अध्ययन गर्दा उनले ‘कार्डियाक ग्लाइकोसाइड्स’ भन्ने टक्सिनको मात्रामा फरक हुन्छ कि हुँदैन भन्नेमा अनुसन्धान गर्दैछन् । यो टक्सिन औषधिका रूपमा हामी मानिसले प्रयोग गर्दै आएका छौं । यो टक्सिन धेरै बिरुवाहरू उत्पादन गर्छन् ।

नेपालमा छैन अनुसन्धान

पोखरेलले हाल गरिरहेको अनुसन्धानको विषय नेपालमा निकै कम छन् । उनी भन्छन्, ‘केमिकल इकोलोजीको क्षेत्रमा नेपालमा धेरै नै कम अध्ययन भएको छ ।’ नेपालमा पाइने जडिबुटीहरूमा धेरै टक्सिन पाइन्छ । तीनमा आश्रित किराहरूको अध्ययनबाट धेरै नै उपलब्धि हुन सक्ने उनले बताए । जोर्नी दुख्दा, खुट्टा मर्कंदा नेपालमा धेरै नै प्रयोग हुने आँकमा ‘कार्डियाक ग्लाइकोसाइड्स’ नामक रसायन हुन्छ । यसलाई किराले आफ्नो शरीरमा भण्डारण गर्छन् । पोखरेल भन्छन्, ‘यसबाट कुन किरा प्रजातिहरूले कति मात्रामा टक्सिन भण्डारण गर्छन् पनि थाहा पाउन सकिन्छ ।’

आँकको अध्ययनले जैविक विविधताको बुझाइ र संरक्षणमा मद्दत पुग्ने उनी बताउँछन् । आँकमा झुम्मिने किराहरूको सर्भे गरेर कुन कुन किराहरूले कति मात्रामा टक्सिन भण्डारण गर्न सक्छन् भन्ने थाहा हुन्छ । यसबाट मुलुकको विभिन्न भौगोलिक क्षेत्रहरूमा पाइने किराहरूको विविधताको पनि जानकारी हुन सक्ने उनले बताए । यस्ता अध्ययनलाई कृषि र औषधि निर्माण क्षेत्रमा जोड्न सकिने उनको भनाइ छ । ‘विभिन्न क्षेत्रमा पाइने आँक र तिनले उत्पादन गर्ने कार्डियाक ग्लाइकोसाइड्सको मात्रा कम वा धेरै उत्पादन गर्न सक्छन् भन्ने थाहा पाउन सकिन्छ,’ प्रयन भन्छन्, ‘यो विविधताको अध्ययन गरेर कृषकहरूका लागि किरा नियन्त्रणका उपायहरू निर्धारण गर्न सकिन्छ र जैविक विविधताको संरक्षणमा सघाउ पुग्छ ।’

विराटनगरका प्रयनको किराहरूसँगको लगाव सानैदेखि नै हो । परिवारिक पृष्ठभूमि स्वास्थ्य क्षेत्र भएकाले उनका घरहरूमा धेरै नै स्याम्पल लिने खाली बट्टाहरू हुन्थे । उनी भन्छन्, ‘घरमा परीक्षणका लागि ल्याइएका धेरै नै बट्टा हुन्थे । ती बट्टामा म चाहिँ किरा संकलन गरे राख्थें । त्यहीबेलादेखि मलाई किराप्रति लगाव थियो । किराप्रतिको मोह मास्टर्सको थेसिस गर्दा झन् बढेर आयो ।’ बाल्यकालमा किरा समात्दै बट्टामा राख्ने प्रयन अहिले किराको जीवन चक्रदेखि केमिकल इकोलोजी अध्ययन गर्न पाउँदा दंग छन् ।

उनको यो ‘टाइट्रोफिक इर्न्ट्याक्सन’ को अध्ययन नेपालका लागि नयाँ हुने सक्ने अनुमान छ । यो भनेको बिरुवाले खाना बनाउने, त्यसलाई किराले खाने र किरालाई चरा वा माकुराले खाने गर्छ । यसरी तीनवटा ‘ट्रफिक’ (पोषक स्तर) को अध्ययन गर्न सकिने उनले बताए । हरेक बिरुवाहरूले फाइटो केमिकल्स निकाल्छन् । ती रसायनहरू निकै हानिकारक हुन्छन् । त्यस्ता टक्सिनहरू किराहरूले लिएर के गर्छन् भन्ने अध्ययन उनले गरिरहेका छन् । उनी भन्छन्, ‘हाम्रो देशमा यस किसिमको अध्ययन भएका छैनन् । यसले अनुसन्धानको नयाँ आयाम थप गरिदिन्छ ।’

प्रकाशित : श्रावण ३०, २०८० १०:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?