कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२४

मन जित्दै नेपाली फेसन ब्रान्ड

फिनल्यान्डको ‘बेबीबक्स’ बाट प्रभावित भएर ‘कोक्रोमा’ सुरु गरेकी रेवती गुरुङले भर्खर जन्मेका शिशुदेखि १३ वर्षसम्मका बच्चाका लागि हुने कपडा तयार पार्छिन् । उनको कम्पनीमा हाल ३५ कर्मचारी छन्, त्यसमा पनि दुई जनाबाहेक सबै महिला ।
सीमा तामाङ

काठमाडौँ — डकुमेन्ट्री फिल्म निर्माणमा रमाइरहेकी रेवती गुरुङलाई करिब सात वर्षअघि फिनल्यान्ड जाने मौका जुर्‍यो । एकमहिने कोर्सका लागि फिनल्यान्ड पुगेकी उनले त्यहाँ बाल मृत्युदर कम गर्ने सरकारी प्रयासबारे थाहा पाइन् । फिनल्यान्डमा बच्चा जन्मिसकेपछि सरकारले ‘फिनिस बेबीबक्स’ वितरण गर्छ ।

मन जित्दै नेपाली फेसन ब्रान्ड

बक्समा भर्खर जन्मेकादेखि दुई वर्षसम्मका बच्चालाई हुने कपडा र आवश्यक सामग्री राखिन्छ । नेपालमा पनि सरकारले त्यस्तै केही गरे गजब हुन्थ्यो भन्ने लाग्यो । सरकारी तवरबाट नभए पनि व्यावसायिक रूपमा आफैंले सुरु गर्नुपर्छ भन्ने लाग्यो । तर आफ्नो आर्थिक अवस्थाका कारण तत्काल सम्भव थिएन ।

फिनल्यान्डबाट फर्केपछि रेवती डकुमेन्ट्री निर्माणमै जुटिन् । तर पहिलेभन्दा फरक, त्यसपछिका डकुमेन्ट्री उनले ह्यान्डिक्राफ्टसँग सम्बन्धित बनाइन् । यसै क्रममा आन्तरिक उत्पादन र त्यसको व्यवसायबारे थप बुझ्ने मौका पनि मिल्यो । सन् २०१८ देखि भने नेपाली भर्जनको बेबीबक्स बनाउने तयारीमा जुटिन् उनी । त्यतिबेला आफूसँग रहेको दुई लाख रुपैयाँबाट विभिन्न ठाउँबाट सुतीको कपडा ल्याएर फिनल्यान्डको बक्समा भएजस्तै सामान तयार पार्न थालिन् ।

फिनल्यान्डको बक्सजस्तै नेपाली भर्जन ‘कोक्रोमा’ तयार भयो । ‘नेपालमा बच्चा कोक्रोमा सुत्छन्, त्यसैले यसको नाम कोक्रोमा राखिएको हो,’ रेवतीले भनिन् । तर दुःखको कुरा आफूसँग भएको रकम खर्चेर तयार गरेको न बिक्री भयो न त्यसमा लगानी थप्न सक्ने अवस्था । कन्सेप्टमै काम गर्दा बनाइएको कपडासमेत बिक्री गर्न गाह्रो भयो । एक दिन ‘कोक्रोमा’ बोकेर बेच्न हिँडेकी उनी बिक्री नभएपछि बौद्धको एक रेस्टुरेन्टमा कफी खाएर सुस्ताइरहेकी थिइन् । ‘कोक्रोमा’ देखेर एक अमेरिकी महिलाले जिज्ञासा राखिन् ।

रेवतीको कन्सेप्टबाट प्रभावित ती अमेरिकी महिलाले १५ हजार डलर ऋण दिने आश्वासन दिँदै काम गर्न सुझाइन् । तर उनलाई भने विश्वास लागेकै थिएन । तर केही महिनापछि ती महिलाले पहिलो चरणका लागि ५ हजार डलर दिइन् । उक्त रकम हात लागेपछि दुई जना कर्मचारी राखेर उनले काम सुरु गरिन् । त्यसपछि भने उनलाई ती अमेरिकी महिलासँग थप रकम लिनै परेन । बिस्तारै कोक्रोमा बिक्री हुन थाल्यो, अनि कामले गति लियो ।

‘कोक्रोमा’ मा भर्खर जन्मेका शिशुदेखि १३ वर्षसम्मका बच्चाका लागि हुने कपडा पाइन्छन् । तर फिनल्यान्डको बेबीबक्स जस्तै भने छैन, ‘कोक्रोमा’ । खासमा यो अहिले क्लोदिङ ब्रान्ड बनेको छ । ‘कोक्रोमा’ मा अहिले ३५ कर्मचारी छन् । त्यसमध्ये २ जनाबाहेक सबै महिला । नेपालको हकमा महिलालाई आर्थिक रूपमा सबल बनाउनुपर्ने भएकाले महिला कर्मचारीलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

रेवतीले हाल अप्रत्यक्ष रूपमा कारागारमा रहेका कैदीबन्दीलाई पनि रोजगार दिएकी छन् । कारण, बच्चाका लागि प्रयोग गरिने सुतीको कपडा उनले सुन्धारा कारागारबाट खरिद गर्छिन् । फ्याक्ट्री भने काठमाडौंको अत्तरखेलमा छ । ‘कोक्रोमा’ का सामग्री बौद्ध र सानेपामा रहेका स्टोरबाट खरिद गर्न पाइन्छ । अन्य पसलमा पनि माग भएअनुसार दिने गरिएको गुरुङले बताइन् । कोक्रोमाले दौरा–सुरुवाल, टिसर्ट–सुरुवाल, टोपी, पन्जा, मोजा, तोरीको सिरानीलगायतका सामग्री बनाउने गर्छ ।

रेवतीजस्तै आफ्नै बलबुताले स्थापित भएको ब्रान्ड हो, ‘दामी छ’ । केही राम्रो देखिने बितिक्कै मुखबाट फ्याट्ट निस्किने वाक्य हो यो । तर अहिले यो ज्याकेटको ब्रान्ड बनेको छ । ज्याकेट जसरी लगाउन र ब्याग जसरी बोक्न पनि मिल्ने ‘दामी छ’ लाई स्थापित गरेका हुन् तीन युवाले । उनीहरू हुन्, धादिङका सुवास अधिकारी, मनोज अधिकारी र शुभम कार्की । ०७८ चैतमा नमुना र कपडा तय गरिसकेका थिए । ०७९ वैशाखमा भने ‘दामी छ अपारल प्राइभेट लिमिटेड’ दर्ता गरेर औपचारिक रूपमा सञ्चालनमा ल्याएका हुन् उनीहरूले ।

त्यसअघि नै कपडाको व्यापारमा संलग्न भए पनि उनीहरूले आफ्नै डिजाइनमा समान तयार पारेर बजारमा ल्याएको भने यो पहिलो पटक हो । मनोज, शुभमलगायतको समूहले २०७४ मै ‘ट्रेडमान्डु’ सञ्चालन गर्थे । त्यतिबेला उनीहरूले विभिन्न पसलबाट सामान लिएर फोटो सामाजिक सञ्जालमा राख्थे र ट्रेडमान्डुबाट बिक्री गर्थे । तर त्यो क्रम धेरै चल्न सकेन । अनुभव र मेन्टरको अभावका कारण उनीहरूले ०७५ तिरै ट्रेडमान्डु बन्द गरे । त्यसपछि शुभम विदेशतर्फ लागे भने मनोज एक ट्राभल कम्पनीमा मार्केटिङ म्यानेजर भई काम गर्न थाले । यसरी नै दुई वर्ष बित्यो । ०७७ पुसमा आफ्नै देशमा केही गर्नुपर्ने सोचेर शुभम नेपाल फर्के । मनोज ०७८ मा दुर्घटनामा परेपछि घरमै आराम गरिरहेका थिए ।

यसबीच, उनीहरू आफ्नै लागानीमा केही काम गर्ने छलफलमा जुटे । ज्याकेट बनाएर बेच्ने शुभम कुरामा मनोज पनि आकर्षित भए । ०७८ फागुनमा शुभम, सुवास र मनोज मिलेर पुरानो ज्याकेटको मिश्रणबाट पहिलो प्रोटोटाइप बनाए । त्यसमा सबैको कुरा मिलेपछि उनीहरूले नाम जुराए, ‘दामी छ’ । उनीहरू तीन जना नातेदार पनि हुन् । सुवास र मनोज सहोदर दाजुभाइ हुन् भने शुभम उनीहरूका मामाका छोरा ।

१४ लाख रुपैयाँमा सुरु भएको ‘दामी छ’ ज्याकेटको डिजाइनर शुभम हुन् । ‘दामी छ’ का रेनकोट, ज्याकेट र ब्लांकेट हुडी वेबसाइट, फेसबुक, इन्स्टाग्रामबाट अर्डर गर्न सकिन्छ । सामाखुसी टाउन प्लानिङमा रहेको कार्यालयबाट सोझै खरिद गर्न पनि सकिने शुभम बताउँछन् । सामाखुसी रानीबारीमा रहेको गार्मेन्टमा १५ जना कामदार छन् । इनोभेटिभ डिजाइनका कारण सोचभन्दा राम्रौ भइरहेको छ । तर पछिल्लो समय कतिपयले ज्याकेटको डिजाइन कपी गरेर बजारमा कमसल सामान ल्याउन थालेकाले उनीहरूमा चिन्ता भने थपिएको छ ।

प्रकाशित : असार ११, २०८० ११:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?