कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

रङ्गेली समीक्षा : दयाहाङ-मिरूना जोडीको नयाँ स्वाद

यो फिल्मले सत्ताकै लोभ मात्रै प्रस्तुत गर्दैन । समाजको दुई वर्गीय खाडल अनि द्वन्द्व पनि देखाउँछ । जहाँ उच्च वर्गकाहरुले तल्लो वर्गलाई सँधै दबाइरहन, शोषण अनि थिचिरहन चाहन्छन् ।
रीना मोक्तान

काठमाडौँ — 'कब्बडी ४' पछि नेपाली फिल्म क्षेत्रमा के चल्यो ? दिमाग नघुमाऔं, जवाफ सजिलो छ -दयाहाङ राई र मिरुना मगरको जोडी ! बक्स अफिसमा यो जोडीले तहल्का पिटुन् या नपिटुन्, यी दुईको केमेस्ट्रीले बजार पिटेको छ ।

रङ्गेली समीक्षा : दयाहाङ-मिरूना जोडीको नयाँ स्वाद

घोषणा भइसकेका फिल्म हुन् या छायांकनरत, दया र मिरुनाकै जोडी भेटिन्छ । पछिल्ला प्रदर्शनलाई हेर्दा दया र मिरुनाको केमेस्ट्रीबाट दर्शकले एउटै स्वाद चाखे-उही अनुहार, उस्तै विषयवस्तु ! शुक्रबारदेखि प्रदर्शनमा आएको 'रङ्गेली'मा भने यो जोडीले नयाँ स्वाद पस्कन्छ ।

हुन त यसअघि नेपालमा ग्याङ्स्टार फिल्म नबनेका होइनन् । तर, 'रङ्गेली'ले कथ्य शैलीमा देखाइएको इमान्दारिताले ग्याङ्स्टार फिल्ममा सम्भावना बढाइदिएको छ । एक्सन विधाको फिल्ममा मारधाडकै दृश्य थोपरेर मात्र कथाअघि बढ्दैन । मारधाड दृश्यको कम प्रयोगमै पनि एक्सन फिल्मलाई प्रस्तुत गर्न सकिन्छ भन्ने बलियो उदाहरण बनेको छ, अर्जुन सुवेदीको यो निर्देशन ।

कथा वाचनको गति, ट्विस्ट एण्ड टर्न अनि बेजोडको क्लाइमेक्सले दर्शकलाई २ घण्टा ५५ मिनेटसम्म बाँधिरहन्छ । यो फिल्मको सशक्त पक्ष नै यही हो ।

दुई अनाथ बालक (दाजूभाइ/साथी) ले रङ्गेलीको बाटो समाएको दृश्यसँगै सुरु हुन्छ यो फिल्म । ती दुई बालक हुर्केर, विजय(दयाहाङ राई) र तोता(रुपेश झा) बन्छन् । यी दुईको हुर्काइ देखाउन निर्देशकले धेरै समय खर्चेका छैनन् । दुई दृश्यमै यो विषय स्थापित हुन्छ । यो फिल्मले विषयवस्तु, चरित्रको स्थापनामा लामो समय खर्चेको छैन ।

केही दृश्यमै फिल्मको मुद्दा र द्वन्द्व स्थापित गराइन्छ । 'जम्पकट'मा गरिएको यस्तै मिहेनतले फिल्मको गति धिमा लाग्दैन । सुरुदेखि नै फिल्मले गति समातेको छ । मध्यान्तरअघि चरित्र स्थापना र द्वन्द्व निर्माणमा अलि बढी समय लगाइएको छ, मध्यान्तरपछि भने फिल्मको गति दौडन थाल्छ । 'रङ्गेली'को यो गतिले फिल्मका केही मुख्य तत्त्व निर्माणमा भने बाधा पुर्‍याएको छ ।

उक्त तत्त्वको चर्चा गर्नुअघि विजय चरित्रको उद्देश्यबारे बुझौं । विजयलाई रङ्गेलीमा राज गर्नुछ, शक्तिको प्रयोग गर्नुछ । त्यसैले पैसा र पावरका लागि रङ्गेलीमा सुरु गर्छ, दुई नम्बरी काम । बन्दुक समाउन डराउने तोताले पनि दाजुको यही सपनामा साथ दिन्छन् । बाल्यकालदेखि आफूलाई साथ दिएको मित्रको हात छोडुन् पनि कसरी ? रङ्गेलीमा भने उहिल्यैदेखि दुई समूहले राज गर्दै आइरहेको छ, भगवान दादा र मिश्रीलाल यादव ।

शक्तिकै लागि यी तीन समुहबीच संघर्ष सुरु हुन्छ, गोली चल्छ, रगत बग्छ । शक्तिको महत्त्वकांक्षी यात्रामा अगाडि बढिरहँदा जुनकिरी(मिरुना मगर)लाई प्रेम गर्न पुग्छन्, विजय । जुनकिरी र विजयको प्रेमलाई 'जम्प कट'मार्फत् केही दृश्य र गीतबाट देखाइन्छ । तर, यी दुईको प्रेम स्थापनामा हतार नगरिएको भए विजय र जुनकिरीको भावनालाई दर्शकले अनुभव गर्न सक्ने थिए ।

पात्रले अनुभव गर्ने प्रेम भावना, रिस अनि छलकपट त्यही हिसाबले दर्शकले अनुभव गर्दैनन्, जसरी उनीहरुले पर्दामा अनुभव गरिरहेका हुन्छन् । विजय र तोताको हकमा भने केही हदसम्म यो पक्षमा मिहिनेत देखिन्छ । क्लाइमेक्सका केही दृश्यमा दर्शकको धड्कन तेज गराइदिने थुप्रै संभाव्यतातर्फ डेब्यू निर्देशकको ध्यान पुग्न सकेको छैन । उदाहरणका लागि ट्विस्ट एण्ड टर्नलाई अझ बेजोड बनाउन ध्वन‍िको पाटोमा काम गर्न सकिन्थ्यो ।

सत्ताको भोक र लोभले मानवलाई दानव बनाउन सक्छ । सत्ताको यो चलखेलमा अल्झेकाहरुका लागि फिल्मले गजब्बको व्यंग्य प्रस्तुत गर्छ । यो फिल्मले सत्ताकै लोभ मात्रै प्रस्तुत गर्दैन । समाजको दुई वर्गीय खाडल अनि त्यसबीचको द्वन्द्व पनि देखाउँछ । जहाँ उच्च वर्गकाहरुले तल्लो वर्गलाई सँधै दबाइरहन, शोषण अनि थिचिरहन चाहन्छ । त्यस्तै तल्लो वर्गले उच्च वर्गसम्म पुग्न गरिएको हर संभव प्रयासको लडाईं पनि प्रस्तुत गरिएको छ ।

तर, यही कथालाई भन्न निर्देशकले पक्रेको पटकथामै भने कमजोरी भेटिन्छन् । यो फिल्ममा केही दृश्यहरु छन्, जसलाई सजिलै अनुमान गर्न सकिने हिसाबले प्रस्तुत गरिएको छ । फिल्मका कति प्लट त ग्याङ्स्टरका थुप्रै फिल्मसँगै मिल्दोजुल्दो देखिन्छ ।

स्टन्टबाज प्रहरी मानेबहादुर ढकाल(प्रवीण खतिवडा)को इन्ट्री होस् या क्रेडिट दृश्यमा खुल्ने नयाँ चरित्र । ती प्लटमा नवीनता थप्न सकिएको भए, 'रङ्गेली'को स्वादमा मिठास अझ थपिन्थ्यो ।

यो फिल्ममा प्रमुख कथालाई सहयोग नपुर्‍याएको थुप्रै दृश्यलाई अझै सम्पादनमै छोट्याउन सकिन्थ्यो । 'हातैले उघाएर' बोलको गीत राख्नकै लागि जबरजस्त राखिएकोजस्तो देखिन्छ । त्यस्तै, सिक्वेलकै लोभमा तन्काइएको अन्य दृश्यलाई पनि घटाउन सकिन्थ्यो । सम्पादनका 'जर्क'मा निर्माण टिमले अझै काम गर्नुपर्ने देखिन्छ ।

अभिनयको पक्षमा भने कलाकारको मिहेनत मज्जाले देखिन्छ । दया र मिरुनाबाहेक यो फिल्मबाट अभिनयमा आफूलाई सावित गर्न सफल छन्, रुपेश झा । तोताको भूमिकामा उनले गरेको अभिनय बुलन्द छ । तोताभित्रको निर्दोष स्वभाव, चञ्चल बानीबाट उनले दर्शकको मन जित्ने पक्का हो ।

त्यस्तै, रंगकर्ममा आफ्नो अभिनयको जादू छरिसकेका सुन्दर धितालले त आफ्नो अभिनयको अब्बलता पस्केका छन् । चलेका कलाकारबीच यी दुईले आफ्नो बलियो उपस्थिति कायम गरेका छन् । निर्देशक अर्जुन सुवेदीले आफ्नो डेब्यू निर्देशनबाट संभावना देखाएका छन् । 'रङ्गेली'ले फिल्म क्षेत्रलाई एउटा आशा लाग्दा निर्देशक दिएको छ ।

प्रकाशित : फाल्गुन २६, २०८० १९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?