२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७७

सुमन थापा कसरी बने स्वप्न सुमन ?

विद्यालयमा एक दिन संस्कृत विषय पढ्दै गर्दा एउटा शब्द निस्कियो, ‘स्वप्न’ । छरितो र मिठासपूर्ण । सुन्दा र बोल्दा पनि उस्तै सहज । उनले यही शब्द ल्याएर आफ्नो नाम पछाडि जोडे । अनि बने, स्वप्न सुमन । नाम राखेपछि आफैं मक्ख परे र मनमनै सोचे, अब स्टेजमा यही नामले चिनिनेछु ।
प्रकृति दाहाल

काठमाडौँ — सुमन थापा कसरी स्वप्न सुमन भए ? कसरी संगीतको स्वप्निल दुनियाँमा आइपुगे ? कसरी भजन गाउँदा–गाउँदै युवा मनको ढुकढुकी बने ? यसको फेहरिस्त लामो मात्र छैन, उत्तिकै घतलाग्दो पनि छ । 

सुमन थापा कसरी बने स्वप्न सुमन ?

स्वप्न सुमन, नाम अहिले यत्ति नै काफी छ । युवा पुस्ताका यी लोकप्रिय गायकलाई चिनाउन अरू कुनै विशेषण जोडिरहनै पर्दैन । ‘कसरी भनौं तिमीलाई’, ‘तिम्रो आँखा’, ‘म तिम्रो’, ‘कुनै दिन’, ‘कुरेर बस्छु’ जस्ता दर्जनौं गीत नै उनको सम्पूर्ण चिनारी हो । खासगरी युवा पुस्तामाझ औधी मन पराइएका छन् उनका गीत ।

यसमा स्वप्नको स्विकारोक्ति छ, ‘सायद उनीहरूले मेरो गीतमा आफ्नो भावना पाउँदा हुन् । किनभने म जति पनि गीत बनाउँछु, त्यहाँ मेरो भावना पोखिएको हुन्छ ।’ त्यसो त उनका गीतमा प्रेम सम्बन्धका कुरा बढी समेटिएका छन् । गीतमा उनी मधुर भाका मात्र हाल्दैनन्, स्वयम् लेख्छन् र धुन भर्छन् । भिडियो बनाउँछन् ।

सन् २०१२ मा सुमनले एउटा गीत रेकर्ड गराए, ‘के सारो राम्री भाको । यो गीत सर्वत्र रुचाइयो । त्यसपछि उनी एकाएक चर्चामा आए । फलस्वरूप स्वदेशदेखि विदेशसम्मका मञ्चले उनलाई निम्ता दिन थाले । चुस्त शरीर, लामो कपाल, हातमा गितार । जसै उनी मञ्चमा पदार्पण भए, युवा पुस्ताको हुटिङ उसैगरी आउन थाल्यो । त्यसको पाँच वर्षपछि ‘कसरी भनौं तिमीलाई’ गीत सार्वजनिक गरे, जुन सर्वाधिक चर्चित रह्यो । यसरी उनी सांगीतिक दुनियाँमा चर्चित बन्दै गए । र, आजसम्म निरन्तर छाइरहेका छन् ।

ठेस लागिरह्यो, उनी हिँडिरहे करियरको सुरुवातमा उनले एउटा प्रण गरेका थिए, ‘जबसम्म म आफ्नो लक्ष्यमा पुग्दिनँ, यो कपाल काट्ने छैन ।’ यसले उनलाई आफैंमाथि दबाब मात्र पैदा गरेन, केही गर्न ढाडस पनि दिइरह्यो । आखिर उनी सांगीतिक क्षेत्रमा चिनिए । नाम मिल्यो । तैपनि कपाल भने काटेनन् । किनभने यतिबेलासम्म उनको लामो कपालले एउटा अलग पहिचान बनाइसकेको थियो । यो बिन्दुसम्म आइपुग्न त्यति सहज भने थिएन । सुरुवाती दिनमा उनी गीत लेख्थे, रेकर्डका लागि स्टुडियो धाउँथे । तर, अस्वीकृत हुन्थे । ‘यस्तो पनि गीत हुन्छ’ भन्दै उनलाई हतोत्साही गरिन्थ्यो । संगीतमा करियर बनाउने सपना सजाएर हिँडेका उनलाई यो यात्रामा पटक–पटक ठेस लाग्यो । तैपनि उनले बाटो बिराएनन्, हिँड्न छाडेनन्, गन्तव्य बदलेनन् । त्यही दृढता र निरन्तरताले उनलाई ‘लोकप्रिय गायक’ को श्रेणीमा उभ्याइदिएको हो ।

पहिलो श्रोता श्रीमती

संगीत अब उनको रहर मात्र रहेन, जीवनकै धुन बनिसक्यो । संगीतलाई अलग राखेर न उनी रमाउन सक्छन्, न बाँच्न नै । हरदम उनी गीत–संगीतकै सेरोफेरोमा हुन्छन् । बाटोमा हिँड्दै गर्दा, कसैसँग भलाकुसारी गरिरहँदा वा बाथरुममा नुहाइरहँदा जुनसुकै बेला यस्तो पंक्ति फुर्न सक्छ, जसमा उनी धुन भर्न आतुर हुन्छन् । अन्ततः त्यो माधुर्य गीत बनिदिन्छ ।

यसरी गीत बनेपछि उनी पहिलो पटक आफ्नी श्रीमती ज्योत्साना योगीलाई सुनाउँछन् । ज्योत्सना अभिनेत्री पनि हुन् । सुमनको गीतको पहिलो श्रोता मात्र होइन, समीक्षक पनि उनै हुन् । यो गीत राम्रो–नराम्रो, यो धुन मीठो–नमीठो भन्ने प्रतिक्रिया उनैले दिने गर्छिन् । यसरी गीत तयार गर्ने, सुन्ने–सुनाउने उपक्रम चलिरहन्छ । यस्तो अवस्थामा थुप्रै गीत यसै खेर जान्छ । रेकर्ड नै हुँदैनन् । जबसम्म आफ्नै गीतले मनलाई स्पर्श गर्दैन, तबसम्म उनी रेकर्ड गर्ने जाँगर चलाउँदैनन् । ‘म हरेक गीतमा नयाँपन खोजिरहेको हुन्छु, आफ्नोपन खोजिरहेको हुन्छु,’ स्वप्न भन्छन्, ‘त्यसैले आफैंलाई चित्त बुझाउन पनि समय लाग्छ ।’

आफ्नै न्वारान

सानैदेखि सपना थियो, ‘केही नाम कमाउने ।’ उनको वास्तविक नाम थियो, सुमन थापा । ‘यो नाममा म नयाँपन खोजिरहेको थिएँ,’ उनी भन्छन्, ‘किनभने मेरो नाम पृथक् थिएन, यस्तो नामको अरू पनि थुप्रै मान्छे छन् ।’ त्यसबेला उनी धरानस्थित सैनिक आवासीय विद्यालय पढ्दै थिए । एक दिन संस्कृत विषय पढ्दै गर्दा एउटा शब्द निस्कियो, ‘स्वप्न ।’ छरितो र मिठासपूर्ण । सुन्दा र बोल्दा सहज । उनले यही शब्द ल्याएर आफ्नो नाम पछाडि जोडे । अनि बने, स्वप्न सुमन । ‘यो नाम राख्दा म आफैं मक्ख थिएँ,’ स्वप्न सम्झन्छन्, ‘मैले मनमनै सोचें अब स्टेजमा यही नामले चिनिनेछु ।’

भजन गाउँदा गाउँदै मायाप्रेमका भाका

स्वप्न काठमाडौंमा जन्मिए, हुर्किए । कक्षा ४ सम्म यही पढे । त्यसबेला विद्यालयमा साइबाबाको भजन गाउनुपर्थ्यो । गाउनका लागि उनी अग्रसर हुन्थे । भाका हालेर भजन गाइदिन्थे । सहपाठीहरूले निकै फुर्काउथे । शिक्षकहरूले पनि हौसला दिन्थे । सबैको तारिफ पाएर उनी मख्ख पर्थे । उनी सूर–ताल मिलाएर गाउने प्रयास गर्थे । यसरी भाका हालेर भजन गाउन थालेपछि उनलाई शिक्षकहरूले विद्यालयको कार्यक्रममा गाउन लगाउँथे । कतिपय शिक्षक–शिक्षिकाले उनलाई आफ्नै घरमा बोलाउँथे, भजन गाउनका लागि । यसरी क्रमशः उनमा संगीतको मोह जाग्दै थियो ।

तर, घरपरिवारको दबाब अर्कैतिर थियो । बुबा नेपाल प्रहरीमा थिए । उनी चाहन्थे, छोरो सेकेन्ड लेफ्टिनेन्ट बनोस् । तर, स्वप्न दौडने, उफ्रने, तन्कनेभन्दा पनि स्वरमा निखार ल्याउने अभ्यासमा जुटिरहेका हुन्थे । ‘म शारीरिक रूपमा त्यति बलियो पनि थिइनँ, त्यसैले कसरत गर्दा कति पटक बिरामी हुन्थें,’ उनी सुनाउँछन् । प्रहरी बन्ने जाँगर र रहर दुवै थिएन । गायक बन्ने सपना थियो । तर, कसरी गीत सुन्ने, कहाँ गएर गाउने ? अनुकूलता थिएन ।

क्लब र रेस्टुरेन्टमा गाउँदै

एसएलसी सकाएपछि उनी केही फुकुवा भए, घरायसी परिबन्धबाट । धरानबाट काठमाडौं फर्किए । हस्पिटालिटी म्यानेजमेन्टमा भर्ना भए । सोही बेला उनले एउटा फेसबुक एकाउन्ट बनाए, स्वप्न सुमनको नाममा ।

संगीतको भोक त जागिसकेको थियो उनमा । तर, यस क्षेत्रमा कसरी पाइला चाल्ने ? उनीसँग कुनै योजना भने थिएन । मान्छेहरू भन्थे, गाएर के हुन्छ ? गीत–संगीतमा लागेर के पाइन्छ ? तैपनि उनले आफ्नो लय छाडेनन् । गीत गाउनका लागि क्लब, रेस्टुरेन्ट धाउन थाले । त्यहाँ गीत गाउने रहर मात्र पूरा हुँदैनथ्यो, दुई–चार पैसा पनि आउँथ्यो ।

त्यसबेला इन्टरनेटले अहिले जस्तो व्यापकता पाएको थिएन । न उनको हातमा मोबाइल थियो, न युट्युब नै । ब्याट्रीबाट चल्ने क्यामेरा थियो । त्यसैमा गीत रेकर्ड गर्थे । फेसबुकमा अपलोड गर्थे । साथीभाइलाई पठाउँथे । कभर सङ गरेरै उनले साथीभाइको मन जितेका थिए । साथीहरूले नै सुझाए, ‘यति मीठो गीत गाउँछौ । भिडियो बनाएर युट्युबमा राख ।’ जब उनले युट्युबमा कभर सङ राख्न थाले, धेरैको कानमा उनको आवाज गुञ्जन थाल्यो । उनी पनि क्रमशः चिनिँदै गए ।

निरन्तरको अभ्यास र दृढताले आखिर उनलाई त्यहीँ पुर्‍याइदियो, जहाँ उनको सपना बिछ्याइएको थियो । उनी भन्छन्, ‘संगीतमा आउन चाहने धेरै नयाँ पुस्ता हतोत्साही भएका छन् । तर अवस्था त्यस्तो छैन । आफूमा एउटा इच्छाशक्ति र धैर्यता भए सफलता पाउन सकिन्छ ।’

तस्बिरहरू : प्रकाशचन्द्र तिमिल्सेना/कान्तिपुर

प्रकाशित : फाल्गुन ७, २०८० ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?