कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७६
भिडियो

स्वर्गालयमा बीपी-मदन संवाद

बुनु थारु

काठमाडौँ — गाईजात्राको तिथि नजिकिँदै गर्दा कलाकार मनोज गजुरेलको चर्चा अन्य समयमा भन्दा बढी हुन्छ । अनि उनले के हाँस्य खजना ल्याउँछन् भन्ने दर्शकहरुका लागि चासो पनि उस्तै । दर्शकको अपेक्षालाई निराश नबनाउन गजुरेल हरेक वर्ष नयाँ नयाँ पात्रको रुपमा आफूलाई तयार गर्छन् ।

स्वर्गालयमा बीपी-मदन संवाद

नयाँ पात्रको रुपमा अभिनय गर्ने क्रममा यसपटकको गाईजात्रामा उनी एमालेका दिवंगत नेता मदनकुमार भण्डारीको स्वरुपमा बाहिर आउँदैछन् ।

प्रायः राष्ट्रिय तथा अन्तराष्ट्रिय चर्चित व्यक्तिहरुको क्यारिकेचर गरिसकेका उनले आउँदो बिहीबारबाट राजधानीको प्रज्ञा भवनमा हुने २०८० सालको गाईजात्रा विशेषमा 'स्वर्गालय'मा कांग्रेसका दिवंगत नेता बीपी कोइरालासँग संवाद गर्ने छन् । बीपी कोइरालाको भूमिकामा कलाकार चक्र दवाडी देखिनेछन् ।

नेपाली राजनीतिका चर्चित व्यक्तित्वहरुका रुपमा रहेका नेता मदन र बीपीको पात्र नै किन भने प्रश्नमा हाँस्यकलाकार गजुरेल भन्छन्–‘नेपालका अधिकांश चर्चित नेताहरु तथा व्यक्तित्वहरुको नक्कल गरिसकेकाले खोज्दै जाँदा यो पात्र छनोटमा पर्‍यो ।’ उनले मदनको भूमिकामा सुहाउँदो आफूलाई त पाए तर बीपीको भूमिका निभाउने भेट्न उनलाई मुस्किल पर्‍यो ।अन्ततः उनले बीपीको जस्तै कद, ज्यान र स्वरुप मिल्ने कलाकार दवाडीलाई फेला पारे ।

दवाडी पनि विगत ६० सालदेखि हास्यव्यंग्यमा आबद्ध छन् । दवाडीले बीपीको भूमिकामा फिट हुन उनीसँग सम्बन्धित विभिन्न सामग्रीको अध्ययन गरेका छन् । जस्तै : बीपीका भिडियो, पुस्तक आदि । दवाडीले यसअघि सुशील कोइराला फान्डेसनले निर्माण गरेको वृत्तचित्र ‘राजद्रोही राजनेता’मा पनि बीपीको भूमिका निर्वाह गरिसकेका छन् । त्यसैले पनि उनलाई सहज भयो । उनी दाह्री नपाल्ने व्यक्ति हुन् तर यही पात्रका लागि उनले २२ दिनदेखि दाह्री पालेको सुनाए ।

बीपीको स्वरुप मिले पनि स्वर निकाल्न भने दवाडीलाई थोरै असहज भएको थियो । उनका अनुसार बीपीका अहिलेसम्म दुई प्रकारको बोलेको भिडियो छन्- एउटा मौलिक स्वर र अर्को घाँटीको क्यान्सरले बिग्रिएको स्वर । मौलिक स्वरको नक्कल गर्नसकेपनि बिरामी भएपछिको स्वरमा भने न्याय गरेको जस्तो नलागेको दवाडीको बुझाइ छ ।

गजुरेलका अनुसार बीपी र मदनको भूमिका तयार पार्न अध्ययनमा निकै मिहनेत गरिएको छ । उनले बीपीबारे अध्ययन गरेका पत्रकार जगत नेपाल, मदन भण्डारीकाबारेमा अध्ययन गरेका पत्रकार, उनका पार्टीका पुरानो नेता सबैलाई भेटघाट गरेको सुनाए । गजुरेलले मदन भण्डरीसँग जोडिएको घटना स्मरण गर्दै भने–‘२०४७ सालमा जोरपाटीको आमसभामा एउटै मञ्चमा उनको नक्कल गर्ने प्रयास गरेको थिएँ ।’ गजुरेलाई मदन भण्डारी बन्न त्यति कसरत गर्नुपरेन ।

विभिन्न पात्रको नक्कल गर्दा उनको हाउभाउसँगै गेटअप र अनुहार आकृति पनि उस्तै-उस्तै मिल्नुपर्ने हुन्छ । गजुरेलकाअनुसार उनले गरेका पात्रहरुमा सबैभन्दा सहज मदन भण्डारीकै पात्र हो । ‘आवाज पनि धेरै बनाउन दुःख गर्नु परेन किनकी उनले बोल्ने शब्दमा कुनै पनि अड्काउ, ठेगो वा कुनै विशेष चिन्ह छैन । उनको आवाजमा दम छ,’उनले भने ।

प्राय: जीवित व्यक्तिहरुको छनोट गरेर पात्र तयार पार्ने मनोजले यो वर्ष दिवंगत पात्र रोजेका छन् । गाईजात्रा मृतआत्माहरुको शान्ति र जसको परिवारमा कसैको मृत्यु भएर दुःखी छ उसलाई खुसी पार्ने चाड मानिन्छ । गजुरेल भन्छन्–‘जुन पात्र छानेका छौँ ती पात्र माध्यम हुन् ।ती पात्रहरुको इतिहास, योगदान, सम्मानलाई रत्तिभर पनि तल नझारिकन यी पात्रमार्फत वर्तमान पात्रहरुलाई व्यंग्य गरिएको छ।’ उनले २०५२ सालदेखि उही पात्र, उही विषय, उही राजनीतिक विषयवस्तुमाथि गर्दै आइराख्दा जति व्यंग्य गरेपनि नलाग्ने भएपछि उनीहरुलाई व्यंग्यको वाण हान्नका लागि गाईजात्राका लागि दिवंगत पात्र छानिएको बताए ।

गजुरेलले अहिलेसम्म ३ दर्जन जति राष्ट्रिय तथा अन्तराष्ट्रिय पात्रहरुको नक्कल गरिसकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोदेखि बेलायती प्रधानमन्त्री बोरिस जोनसन, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनदेखि नेपालका प्रायः जसो सबै नेताहरुको क्यारिकेचर उनले भ्याइसकेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प, विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एड्हानोम, भारतीय पत्रकार अर्नब गोस्वामीको नक्कल धेरैले रुचाएका छन् ।

कोरोना महामारीपछिको पहिलो गाईजात्रा यही भदौ १३ गतेदेखि १८ गतेसम्म आयोजना हुँदैछ । उक्त गाईजात्रामा मनोज गजुरेल र चक्र दवाडीबाहेक शैलेन्द्र सिंखडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्दर खनाल ‘चिप्लेटी अंकल’, सीता न्यौपाने, राधिका कंडेल, दीपकप्रसाद आचार्य ’काकु’, प्रभात लामा, रुबिना अधिकारीलगायत कलाकारहरूको प्रस्तुति रहनेछ ।सधैं झैं यस पटक पनि रंगमञ्चसँगै टेलिभिजनमा पनि ’डिजिटल गाईजात्रा’ प्रसारण हुनेछ ।

यो गाईजात्रामा हास्यव्यंग्य कविता, प्यारोडी, प्रहसन,नृत्य, क्यारिकेचरलगायतका प्रस्तुति छन् । मनोज भन्छन्–‘समग्रमा एउटा हाँसोको पोका नभइ भकारी नै ल्याएका छौँ । छ । नक्कलका साथमा अत्यन्त जरुरी सन्देश दिन पनि खोजेका छौं ।पछिल्लो राजनीतिक घटनाक्रम, देशको अन्यौलग्रस्त राजनीति ,युवापुस्ताको पलायन, राजीनितिविज्ञहरुको स्खलित आदर्शलगायत यो सबै चिजलाई जोडेर अलि फरक खालको र आक्रामक व्यंग्य प्रहार गरेका छौं ।’

तस्बिर/भिडियो : अंगद ढकाल

प्रकाशित : भाद्र १२, २०८० १७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?