१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३५

प्रधानसेनापतिको भारत भ्रमण 'ऐतिहासिक’ हुने

नयाँदिल्ली — प्रधानसेनापति गौरवशमशेर जबरा पुसको अन्तिम साता भारत भ्रमणमा आउँदा द्विपक्षीय परम्पराको निरन्तरता मात्रै हुने छैन । उनले भारतीय सेनाको मानार्थ सेनापति उपाधि ग्रहण मात्रै गर्ने छैनन्, भ्रमणका क्रममा नयाँ इतिहास पनि बनाउनेछन् ।

प्रधानसेनापतिको भारत भ्रमण 'ऐतिहासिक’ हुने
स्रोतका अनुसार जबरा औपचारिक भ्रमणका क्रममा अहिलेसम्मकै लामो अवधि भारतीय सेनाको आतिथ्य पाउने पहिलो नेपाली सेनापति हुनेछन् । आठ दिने भ्रमणका लागि उनी पुस २२ गते नयाँदिल्ली आउँदैछन् ।
राणाले भारतीय सेनाका प्रायः सबै अपरेसनल कमान्ड भ्रमण गर्नेछन् । विदेशी सेनापतिहरूका लागि विरलै मात्रै यस्तो कार्यक्रम राख्ने गरिएको जानकार स्रोतले बतायो । जम्मु कस्मिरस्थित उत्तरी कमान्डका साथै उनी लखनऊ, उत्तरप्रदेश (केन्द्रीय कमान्ड), असम (पूर्वी कमान्ड) र बैंगलोर, कर्णाटक (दक्षिणी कमान्ड) पुग्ने पक्कापक्की भइसकेको स्रोतको दाबी छ । अनुकूलता मिले पश्चिमी कमान्ड (दिल्ली), आर्मी टे्रनिङ कमान्ड आर्‍याक (सिमला) र दक्षिणपश्चिमी कमान्ड (जयपुर) पनि पुग्ने जनाइएको छ ।
कार्यक्रमअनुसार नयाँदिल्ली आएकै दिन पुस २२ गते साँझ समकक्षी विक्रम सिंहसँग जबराको 'डिनर भेटघाट' हुनेछ । नेपाली दूतावासले जबराको सम्मानमा सोही दिन रिसेप्सन आयोजना गर्नेछ । भोलिपल्ट विशेष कार्यक्रमबीच भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राणालाई भारतीय सेनाको मानार्थ सेनापति उपाधि दिनेछन् । १९७२ मा भारतीय सेनाका फिल्ड मार्सल साम मानेकसअलाई नेपाली सेनाको जनरल उपाधि दिएपछि यो क्रम सुरु भएको हो । पछिल्लोपटक यसै वर्ष सेनाको कमान्ड सम्हालेपछिको आफ्नो पहिलो विदेेश भ्रमणमा नेपाल पुगेका भारतीय सेनापति सिंहलाई राष्ट्रपति रामवरण यादवले नेपाली सेनाको मानार्थ महारथीको उपाधि दिएका थिए । विभिन्न कमान्ड भ्रमणका लागि नयाँदिल्लीबाट बाहिरिनुअघि राणाले भारतीय रक्षामन्त्री एके एन्टोनीसँग पनि भेट्ने स्रोतले जनायो । भारत बसाइकै क्रममा उनी असमस्थित प्रसिद्ध कामाख्य मन्दिर पनि पुग्नेछन् । त्यहाँ पछिल्लो पटक २००२ मा तत्कालीन राजा ज्ञानेन्द्र शाह पनि पूजाका लागि पुगेका थिए ।

'गहिरो द्विपक्षीय सम्बन्धको प्रतिविम्ब'
नेपाल र भारतका सेनाबीचको सम्बन्धलाई नजिकबाट नियालिरहेका भारतीय विज्ञहरूले सेनापति राणाको भ्रमणलाई दुई सेनाबीचको घनिष्ठताको प्रतिविम्बका रूपमा व्याख्या गरेका छन् ।
'सेनापति उपाधि दिने परम्परा दुई सेनाबीचको गहिरो र विशेष सम्बन्धको सूचक हो र राणाको भ्रमणलेे यसलाई बलियो पार्न थप मद्दत गर्नेछ,' भारतीय सेनाका अवकाशप्राप्त मेजर जनरल अशोक मेहताले भने । छिमेकी नेपालमा गैरराजनीतिक संस्थाका रूपमा नेपाली सेनाले अत्यन्तै जिम्मेवारपूर्ण भूमिका निर्वाह गरिरहेकाले उससँगको सम्बन्धलाई भारतीय पक्षले महत्त्व दिने गरेको मेहताको भनाइ थियो । 'राजनीतिक अस्थिरताको यो घडीमा पनि राजनीतिले छुन नसकेको संस्था भनेको नेपाली सेना हो,' उनले प्रस्ट्याए । भारतीय सेनामा गोर्खा सैनिकका ३८ वटा नियमित बटालियन रहेको र तिनमा ७० प्रतिशतभन्दा बढी नेपाली रहेको तथ्यले पनि नेपाल र भारतका सेनाबीचको निकटतालाई जोडेको मेहताको तर्क थियो । भारतीय सेनाकै अर्का अवकाश प्राप्त मेजर जनरल दिपान्कर बनर्जीले दुई सेनाबीचको परम्परागत सम्बन्धलाईराणाको भ्रमणले नयाँ उचाइमा पुर्‍याउने टिप्पणी गरे । 'भारत र नेपालका सेनाबीच वषर्ांैदेखि फलदायी पारस्परिक सम्बन्ध छ । भारतीय पक्ष यसलाई अझ मजबुत बनाउन चाहन्छ,' उनले भने ।

प्रकाशित : पुस ११, २०६९ ०९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?