१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३४

हङकङमा नेपाली सप्ताह

निर्मल श्रेष्ठ

हङकङ — 'नेपाली सप्ताह' मा चिनियाँ संस्कृति समेत झल्कने गरी निकालिएको शोभायात्राले आइतबार यहाँ सहरवासीको मनग्य ध्यान खिच्यो ।

सप्ताहमा नेपाली स्कुले विद्यार्थीहरूले परम्परागत चिनियाँ ड्रागन नृत्य देखाएका हुन् ।
नेपाली भाषा, साहित्य, कला, संस्कृतिको पहिचान, प्रवर्द्धन र सम्वर्द्धन हेतु विगत सात वर्षदेखि हङकङमा नियमित सप्ताहको आयोजना हुँदै आएको छ । तर मुख्य आकर्षण रहेको शोभायात्रामा नेपाली परम्परागत मौलिक बाजागाजासँगै चिनियाँ ड्रागनसहितको सांस्कृतिक झाँकी प्रस्तुत गरिएको भने यो पहिलोपटक थियो । चिनियाँ संस्कृतिमा ड्रागनलाई शक्ति, ज्ञान, प्रजनन, गरिमा र लच्छिनको प्रतीकका रूपमा पुजिन्छ । 'नयाँ पिढीलाई स्थानीय समाजसँग घुलमिल गराउन चिनियाँ संस्कृतिलाई पनि समाहित गरेका हौं,' सप्ताहका संयोजक हङकङ नेपलिज फाउन्डेसनका अध्यक्ष किसन राईले भने, 'हाम्रो भाषा, साहित्य, संस्कृतिको संरक्षण र उत्थानसँगै यहाँका बारे समेत जानकारी हुनु आवश्यक छ ।' निकै उत्साहित देखिएका स्थानीय चिनियाँ नेताहरूले ढाकाटोपीमा सजिएर झाँकीको अगुवाइ गरेका थिए ।
'नेपाली सप्ताह' को अन्तिम दिन आइतबार युङ लङस्थित घडी पार्कबाट दिउँसो ३ बजे निक्लेको झाँकीमा सहभागीहरू अधिकांश जातीय संस्कृति झल्कने वेशभूषामा थिए । शिक्षक, विद्यार्थी, अभिभावक, पूर्वगोर्खा सैनिक, विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी शोभायात्रा पुगेका स्थानमा स्थानीय प्रशासनले सवारी साधनको आवतजावत निषेध गरेको थियो । 'आफ्नो मौलिक संस्कृति प्रवर्द्धनका लागि तपाईंहरूको प्रयास निकै सह्रानीय छ,' युङ लङ डिस्टि्रक्टका काउन्सिलर चाउ विङ कानले भने, 'यसको संरक्षण र विकासमा स्थानीय सरकारको समेत सहयोग रहनेछ ।' ढाका टोपीमा सजिएका अर्का डिस्टि्रक्ट काउन्सिलर जोनी म्याक इप सिङले कान्तिपुरसँगको कुराकानीमा पृथक नेपाली संस्कृति हङकङकै पहिचान भएको बताए ।
साताव्यापी कार्यक्रमका अन्य दिन साहित्य गोष्ठी र कविता वाचनसहित भूपि जयन्ती मनाइए । सप्ताहमा सहभागी हुन हङकङ आइपुगेका कवि तथा साहित्यकार राजन मुकारुङले भूपी जयन्तीकै अवसरमा आफ्नो नयाँ कृति 'दमिनी भीर' को समेत विमोचन गरे । नेपाली साहित्य परिषद्ले क्याम्बि्रज विश्वविद्यालय अन्तर्गत नेपालीमा विषयमा हङकङबाट सर्वाधिक अंक प्राप्त गर्ने रुची पुनलाई 'नेपाली शिक्षा पुरस्कार' प्रदान गरेको थियो । यहाँ अध्ययनरत विद्यार्थीहरूले पहिलोपटक दिएको उक्त परीक्षामा यसवर्ष छ जना उत्तीर्ण भएको परिषद्का अध्यक्ष पशन तमूले जनाए । 'नेपाली भाषामा रुचि राख्ने विद्यार्थीहरूलाई प्रोत्साहित गर्न थालिएको यो अभियानलाई अब बर्सेनि निरन्तरता दिनेछौं,' अध्यक्ष तमूले भने, 'तर यहाँ स्थायी बसोवास गर्नेहरूलाई चिनियाँ संस्कृतिबारे समेत बोध हुनु आवश्यक छ ।' सप्ताहका संयोजक नेपलिज फाउन्डेसनका अध्यक्ष किसन राईले भाषा, साहित्य, कला र संस्कृति जीवन्त रहेमात्र प्रवासमा नेपाली समाज स्थापित हुन सक्ने धारणा राखे । 'यहाँ स्थायी बसोवासी नेपाली हजारौंका संख्यामा रहेकाले हाम्रा भाषाले समेत सरकारी मान्यता पाउनुपर्छ भन्ने हाम्रो माग छ,' उनले भने, 'हाम्रो स्वतन्त्र पहिचान स्थापित गर्न सरकारलाई दायित्वबोध गराउनु पनि सप्ताहको उद्देश्य हो ।'





प्रकाशित : पुस १६, २०६९ ०९:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?