कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

ट्रुकलरमा प्रयोगकर्ताले आफ्नै आवाजको डिजिटल भर्सन बनाउन सक्ने

एजेन्सी

काठमाडौँ — नेपालमा समेत धेरैले प्रयोग गर्ने चर्चित कलर आईडी एप, ट्रुकलरले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित ‘पर्सनल भ्वाइस’ फिचर ल्याउने भएको छ । यसमार्फत प्रयोगकर्ताले आफ्नै आवाजको डिजिटल भर्सन बनाई आगमन कलहरूको जवाफ स्वचालित रूपमा फर्काउन सक्ने कम्पनीले जनाएको छ । 

ट्रुकलरमा प्रयोगकर्ताले आफ्नै आवाजको डिजिटल भर्सन बनाउन सक्ने

माइक्रोसफ्ट आजुरको ‘पर्सनल भ्वाइस’ प्रविधि प्रयोग गरी ट्रुकलरले प्रयोगकर्तालाई उनीहरूको आवाजको डिजिटल प्रति बनाउने सुविधा ल्याउन लागेको हो । पैसा तिरेर ट्रुकलर चलाउने ग्राहकका लागि मात्रै उपलब्ध हुने भनिएको यो सुविधाबारे कम्पनीले हालै सियाटलमा आयोजित माइक्रोसफ्टको बिल्ड कन्फेरेन्समा एउटा ‘डेमो’ सार्वजनिक गरेको थियो । जसअनुसार प्रयोगकर्ताले आफ्नो डिजिटल आवाज बनाउन केही सेकेन्डको अडियो रेकर्ड गर्नुपर्छ ताकि फोन उठाउँदा एआईले सोही आवाज नक्कल गरी जवाफ दिन सकोस् ।

त्यसरी जवाफ दिइरहँदा फोन गर्नेलाई एआई बोलेको जानकारी दिन मिल्ने गरी ट्रुकलरले सुरूको अभिवादनमा चाहिँ प्रयोगकर्ता स्वयंको भनाइ राख्न दिने जनाएको छ । ट्रुकलरमा एआईले सिर्जना गरेका विभिन्न थरी आवाज छानी-छानी फोन उठाउन मिल्ने सुविधा यसअघि नै रहेको भए पनि कम्पनीले प्रयोगकर्ता स्वय‌ंको आवाजलाई एआईको सहयोगमा डिजिटाइज गर्ने सुविधा पहिलो पल्ट ल्याएको हो । योसँगै ट्रुकलरको पुरानो ट्रुकलर एसिस्टेन्ट फिचर हट्ने र नयाँ एआई-पावर्ड भ्वाइस क्लोनिङ फिचर समावेश हुने लगभग तय भइसकेको छ ।

ट्रुकलरले ‘पर्सनल भ्वाइस’ फिचरको बेटा भर्सन आउँदा हप्ताहरूमा भारत, अमेरिका, क्यानडा, अस्ट्रेलिया, स्विडेन, चिली र दक्षिण अफ्रिकामा उपलब्ध गराउने जानकारी दिएको छ । ‘यो फिचरले प्रयोगकर्तालाई आफ्नै आवाज प्रयोग गर्न दिन्छ, आगमन कल व्यवस्थापनका लागि प्रयोगकर्तालाई आफ्नै आवाजमा डिटिलट सहायता उपलब्ध हुनेछ,’ ट्रुकलर इजरायलका प्रोडक्ट निर्देशक एवं महाप्रबन्धक राफेल मिमोन भन्छन्, ‘ट्रुकलरमा उपलब्ध हुने यो अभूतपूर्व क्षमताले फोन गर्नेलाई आफ्ना कुरा राख्न परिचित र सहज वातावरण दिलाउनुका साथै एआईको मद्दतले आगामी दिनमा हामीले हाम्रो डिजिटल एसिस्टेन्टसँग कसरी सहकार्य र अन्तरक्रिया गर्छौं भन्ने झलक पनि दिनेछ ।’

प्रकाशित : जेष्ठ ११, २०८१ ११:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?