कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन आवश्यक पर्छ : पूर्वमन्त्री खतिवडा

काठमाडौँ — पूर्वअर्थमन्त्री युवराज खतिवडाले मुलुकमा लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन संशोधन र नयाँ कानुन आवश्यक रहेको बताएका छन् ।  आइतबारदेखि यहाँ सुरु हुन लागेको दुईदिने लगानी सम्मेलनको पूर्वसन्ध्यामा खतिवडाले भने, 'सबै कानुन बनाउन सकिएको छैन, आवश्यक बाँकी कानुन बनाउनुपर्छ । ठूला आयोजना सञ्चालनमा लागि लगानी बोर्डको क्षमता बढाउनुपर्ने छ । एकद्वार प्रणालीलाई साँच्चै व्यवहारमा लागू गर्नुपर्छ ।'

लगानीमैत्री वातावरण बनाउन अझै धेरै कानुन आवश्यक पर्छ : पूर्वमन्त्री खतिवडा

सम्मेलनका लागि सरकारको झन्डै एक दर्जन कानुन अध्यादेशमार्फत संशोधन गरेको काम सकारात्मक भएको उल्लेख गर्दै पूर्वअर्थमन्त्री खतिवडाले अरू धेरै कानुन खासगरी ऐन र केही नियम संशोधन गर्दै जानुपर्ने सुझाव दिए ।

'कतिपय ऐन नै नयाँ ड्राफ्ट गर्नुपर्ने भएको छ । संसद्मा गएका ऐनहरु पास गर्नुपर्नेछ । सार्वजनिक निजी साझेदारीमा वैदेशिक लगानी ल्याउने हो भने सार्वजनिक खरिद ऐन लागू हुन्छ त्यहाँ त्यसैगरी निजी सार्वजनिक साझेदारीका ऐनका कतिपय प्रावधान मिलाउनुपर्ने होला,' राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष समेत रहेका खतिवडाले भने ।

विदेशी लगानीको बौद्धिक सम्पत्तिलाई सुरक्षित गर्नुपर्ने कानुन ल्याउनुपर्ने सुझाव दिँदै उनले भने, 'विदेशी विनिमय ऐन अलि कठोर छ अहिले त्यसलाई अलि खुकुलो पार्नुपर्ने होला । कम्पनी ऐनमा कतिपय कुरा थप्नुपर्नेछ । विद्युत् ऐनमा परिमार्जनको खाँचो छ ।'

सम्मलेनको तयारीलाई सामान्य रुपमा लिनुपर्ने उल्लेख गर्दै पूर्वअर्थमन्त्री खतिवडाले सम्मेलनको तयारी उत्कृष्ट पनि हैन र तयारी नै नपुगेको पनि बताए । वर्तमान सरकार आएको दुई महिना पूरा नभएको भन्दै उहाँले बीचमा सरकार परिवर्तनको हल्लाले पनि तयारी प्रभावित भएको उल्लेख गरे ।

लगानीयोग्य आयोजनाहरुलाई तयारी अवस्थामा राखेर लगानी बोर्डलाई सहयोग गर्ने कुरामा सरकार र निजी क्षेत्रको सहयोग तथा सहकार्य आवश्यक रहेकामा पूर्वअर्थमन्त्री खतिवडाले जोड दिए ।

प्रकाशित : वैशाख १५, २०८१ १५:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?