कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७७

आईटी उद्यमीलाई अन्तर्राष्ट्रिय विज्ञको सुझाव-‘सबै काम एक्लै नगर्नू, बिजनेस पार्टनर खोज्नू’

सरकार अस्थिर रहे पनि उद्योगहरूले स्थिर भएर आफ्नो कामलाई निरन्तरता दिनुपर्नेमा जोड
सजना बराल

काठमाडौँ — नेपालका आईटी उद्यमी, स्टार्टअप वा व्यवसायीहरूले अन्तर्राष्ट्रिय बजारमा पहुँच पाउन वा व्यवसाय विस्तारका लागि के गर्नुपर्ला ? यस प्रश्नको जवाफमा अस्ट्रेलिया, मलेसिया, चीन र श्रीलंकाका डिजिटल अर्थतन्त्रका विज्ञहरूले लगभग उस्तै सुझाव दिएका छन् ।

आईटी उद्यमीलाई अन्तर्राष्ट्रिय विज्ञको सुझाव-‘सबै काम एक्लै नगर्नू, बिजनेस पार्टनर खोज्नू’

त्यो हो– आईटी क्षेत्रमा नेपालले आफ्नो विशिष्ट सीप पहिचान गर्ने, त्यसबारे प्रचार वा ब्रान्डिङ गर्ने, अन्तर्राष्ट्रिय डिजिटल बजार सञ्जालको सदस्य बन्ने, आपसमा सहकार्य गर्ने र बजारीकरणका लागि गतिलो साझेदार फेला पार्ने ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनिज (नास–आईटी) ले शनिबार आयोजना गरेको ‘नेभिगेटिङ ग्रोथ ः स्ट्राटेजिज फर स्टार्टअप इकोसिस्टम्स एन्ड एसिया प्यासिफिक एक्सपान्सन’ कार्यक्रममा सहभागी अन्तर्राष्ट्रिय विज्ञहरूले नेपालका सूचना प्रविधि कम्पनीहरूको प्रगति प्रशंसनीय भएको बताए । आफूसँग भएको दक्षताबारे नेपालले विश्व बजारलाई जानकारी दिनुपर्ने अस्ट्रेलियाको ‘मास्टरमाइन्ड ग्रुप’ का प्रमुख कार्यकारी अधिकृत फुल्भियो इन्सेराले जनाए । ‘प्रविधि विकास गर्नु मात्रै सबैथोक होइन, अंग्रेजी भाषामा संवाद गर्न र आफ्ना वस्तु तथा सेवाबारे बुझाउन सक्नु पनि महत्त्वपूर्ण पक्ष हो,’ उनले भने, ‘यो गुण नेपालीहरूमा छ, यसको सदुपयोग गर्नुपर्छ ।’

नेपाली आईटी उद्यमीलाई चीन वा अन्य देशमा बजार विस्तार गर्न राम्रो साझेदार पहिल्याएर उहीमार्फत नेटवर्किङ र बजारीकरणमा अघि बढ्न सकिने चीनको नेसनल सेन्ट्रल युनिभर्सिटीका प्राध्यापक सीके फर्नले सुझाव दिए । ‘प्रविधि विकासमा राम्रो गर्ने कम्पनी पनि मार्केटिङमा सिपालु नहुन सक्छ,’ उनले भने, ‘मार्केटिङमा राम्रो पार्टनर भेटाए उसलाई अघि बढ्न मद्दत मिल्छ ।’ नेपालले अन्तर्राष्ट्रिय बजारको इकोसिस्टममा आफूलाई उपस्थित गराउन राम्रो साझेदारको सहयोग लिनुपर्ने प्राध्यापक फर्नको भनाइ छ ।

सूचना प्रविधिसम्बन्धी कम्पनीहरूको अन्तर्राष्ट्रिय सञ्जाल (एपिक्टा) मा नेपाल सदस्य भइसकेकाले अब यही सञ्जालमार्फत अन्तर्राष्ट्रिय बजार विस्तारमा अघि बढ्न सक्ने श्रीलंकाको डिजिटल रूपान्तरणसम्बन्धी जानकार रुवान अमरासेकराले औंल्याए । सन् २०२४ मा ब्रुनईमा हुन लागेको एपिक्टा अवार्डमा भाग लिन र सकिन्छ भने पुरस्कारसमेत जितेर सबैको नजरमा पर्न उनले सुझाव दिए । ‘केही नभए पनि व्यावसायिक साझेदार फेला पार्न त्यसले मद्दत गर्नेछ,’ उनले भने, ‘आफूसँग भएका यस्ता अवसरहरूको उच्चतम प्रयोग गर्न सल्लाह दिन्छु ।’

मलेसियाली कम्पनी आइरनहर्स एसिया एसडीएन बीएचडीका संस्थापक स्टन सिंहले पनि विदेशी साझेदारमार्फत अघि बढ्न सुझाए । एक्लै गर्छु भनेर आँट्दा असफल भइने खतरा रहेको औंल्याउँदै उनले नेपालमा सफल भएको आईटी उद्यम विदेशमा पनि सफल नै हुन्छ ठानेर व्यवसाय डुप्लिकेट गर्नु जोखिमपूर्ण हुन सक्नेमा सतर्क गराए । ‘अन्तर्राष्ट्रिय बजारको बहुआयामिक पक्ष बुझेर मात्रै व्यवसाय विस्तार गर्नुपर्छ,’ उनले भने, ‘त्यसकारण बजार बुझ्नसमेत बिजनेस पार्टनर महत्त्वपूर्ण हुन्छन् ।’

वक्ताहरूले आ–आफ्नो देश र क्षेत्रका सूचना प्रविधि कम्पनी, स्टार्टअप र समग्र डिजिटल अर्थतन्त्रका सजिला/अप्ठ्याराहरूबारे पनि अनुभव सुनाए । सन् २०२२ मा देशको अर्थव्यवस्था टाट पल्टिएर असाध्यै ठूलो संकट आइपर्दासमेत श्रीलंकाको सूचना प्रविधि क्षेत्र भने निरन्तर विकसित भइरहेको अमरासेकराले जनाए । ‘त्यो बेला हामी आईटी क्षेत्रका श्रीलंकाका चारवटै छाता संगठनले मिलेर काम गर्‍यौं, सरकारसँग लबिइङ पनि सँगै गर्‍यौं, पूर्वी युरोपली बजारमा पहुँच बढायौं,’ उनले भने, ‘मार्केट रिसर्चमा हाम्रो विशिष्ट क्षमता छ भन्ने पहिचान गर्‍यौं । अहिले स्टोनियालगायत पूर्वी युरोपली देशमा श्रीलंकाका थुप्रै आईटी कम्पनीले शाखा कार्यालयसमेत खोलेका छन् ।’ सरकार अस्थिर रहे पनि उद्योगहरूले स्थिर भएर आफ्नो कामलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

हाल ६७ अर्ब रुपैयाँको नेपालको आईटी सेवा निर्यात क्षेत्रलाई आगामी १० वर्षमा ५ अर्ब डलर (साढे ६ खर्ब रुपैयाँ) बराबर निर्यात गर्ने क्षेत्र बनाउने लक्ष्य लिएको नास–आईटीका अध्यक्ष रिचन श्रेष्ठले बताए । ‘यो लक्ष्य पूरा गर्न हामीले सरकार र सरोकारवाला सबैसँग सहकार्य अघि बढाइसकेका छौं,’ उनले भने, ‘यो क्षेत्रले अहिले १ लाखलाई रोजगारी दिएको छ, अबको १० वर्षमा यहाँ ५ लाखले रोजगारी र अन्य अवसर पाउन सक्छन् ।’

प्रकाशित : वैशाख ८, २०८१ २२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?