कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

४ वर्षदेखि मरिम र क्याटो नाका बन्द

नाका नखुल्दा स्थानीयलाई जीविकोपार्जनमा समस्या, महँगीको मारमा उपल्लो डोल्पाली
पर्यटन व्यवसाय चौपट छ, चीन हुँदै डोल्पा आउने पर्यटकको संख्या ४ वर्षयता शून्यप्रायः छ : रिन्जिन लामा, व्यवसायी

सुर्खेत — डोल्पा–चीन सीमास्थित मरिम र क्याटो नाका ४ वर्षदेखि बन्द छन् । चीन सरकारले कोरोना महामारीका कारण २०७६ चैतदेखि नाकामा लगाएको प्रतिबन्ध अझै नखोल्दा स्थानीय रोजगारी, खाद्यान्न तथा दैनिक उपभोग्य सामानको अभाव भोग्न बाध्य छन् । हुम्ला सीमास्थित हिल्सा नाका भने गत वर्ष वैशाख १८ देखि खुलेको थियो । 

४ वर्षदेखि मरिम र क्याटो नाका बन्द

डोल्पाको शे–फोक्सुन्डो गाउँपालिका क्याटो र डोल्पोबुद्ध गाउँपालिका मरिम नाकासँग जोडिएका छन् । माथिल्लो डोल्पाकै छार्काताङसोङ गाउँपालिका पनि चीनसँग निर्भर छ । ‘कोरोनाअघि स्थानीयहरू रोजगारीका लागि चिनियाँ बजार ताक्लाकोटसम्म पुग्थे, सदरमुकाम पुग्न हामीलाई कम्तीमा ५ दिन लाग्छ, चीनको सीमा भने एकैदिनमा पुग्छौं, त्यसैले खाद्यान्न र दैनिक उपभोग्य सामानका लागि चीनमै निर्भर छौं,’ छार्काताङसोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले भने, ‘कोरोनाका कारण नाका बन्द भएपछि अर्को वर्ष खुला भन्दाभन्दै ४ वर्ष बित्यो, अझै नखुलेपछि स्थानीयको विपन्नता बढ्दै गएको छ ।’

अत्यधिक चिसो र सिँचाइ सुविधा नहुँदा पालिकाभरि वर्षमा एक बाली उवा मात्र फल्छ । यहाँका स्थानीयको मुख्य पेसा नै जडीबुटी संकलन र पशुपालन हो । तर यार्चागुम्बा, गुच्चीच्याउ, कटुकीलगायत जडीबुटी र भेडा–च्याङ्ग्रालगायत पशुको बिक्री हुने ठाउँ पनि चीन नै भएको पालिका अध्यक्ष गुरुङले बताए । ‘नेपाली बजारभन्दा जडीबुटी र भेडा–च्याङ्ग्रा चीनमा झन्डै २ गुणा बढी मूल्यमा बिक्छ,’ उनले भने, ‘कोरोना महामारीअघि यार्चागुम्बा प्रतिकिलो २८ लाखसम्म पुगेको थियो, एउटा भेडा–च्याङ्ग्रा पनि ३०/३५ हजारभन्दा बढीमा बिक्री हुन्छ ।’ उनका अनुसार नेपाली बजारमा गत वर्ष यार्चागुम्बा २३ लाख रुपैयाँ प्रतिकिलो बिक्री भएको थियो भने भेडा–च्याङ्ग्राले स्थानीय बजारमा २० हजार रुपैयाँभन्दा बढी मूल्य पाउँदैन ।

शे–फोक्सुन्डो गाउँपालिका अध्यक्ष धावासुन्डुक गुरुङका अनुसार चिनियाँ खाद्यान्न र उपभोग्य सामग्री सदरमुकाम दुनैमा भन्दा दोब्बर सस्तो पर्ने भएकाले स्थानीय उतैको सामानमा निर्भर हुने गरेका थिए । ‘सदरमुकाममा एक त सामानै महँगो छ, त्यसमा पनि दुनैभन्दा माथि सडक सुविधा नहुँदा घोडा–खच्चडबाट सामान ढुवानी गराउनुपर्दा सामानभन्दा दोब्बर भाडा तिर्नुपर्छ,’ उनले भने, ‘युवाहरूको रोजीरोटी गुमेपछि ऋणसापटी गरेर भए पनि स्थानीयहरू जीविकोपार्जन गर्न बाध्य छन् ।’

शे–फोक्सुन्डो गाउँपालिका–४ का स्थानीय ल्यार्केल लामाका अनुसार व्यवसायीले पालिकाको केन्द्र साल्दाङ पुर्‍याएको मोटा चामलको ५० किलोको मूल्य कम्तीमा ५ हजार ५ सय रुपैयाँ पर्छ । जबकि, त्यही चामल सदरमुकाम दुनैमा २ हजार रुपैयाँसम्ममा पाइन्छ । त्यस्तै सदरमुकाममा २० रुपैयाँमा पाइने प्रतिकिलो नुन यहाँ ६० रुपैयाँभन्दा बढी छ ।

कोरोना महामारीअघि मरिम नाकामा चिनियाँ पक्षले बर्सेनि १५ दिनका लागि हाटबजार लगाउने गरेको थियो । डोल्पोबुद्ध–३ का सोनाम तामाङका अनुसार हाटबजारमा स्थानीयले जडीबुटीलगायत स्थानीय उत्पादन बिक्री गरेर त्यसको आम्दानीले खाद्यान्न र दैनिक उपभोग्य सामग्री खरिद गर्ने गरेका थिए । ‘कोरोना महामारीअघि चिनियाँ बजारमा किनेको खाद्यान्नबाटै वर्षभरिको जीविकोपार्जनको जोहो हुन्थ्यो,’ उनले भने, ‘पहिले चीनसँग निर्भर भएका ३ पालिकाका झन्डै एक सय बस्तीका बासिन्दा अहिले खाद्यान्न किन्न ५ दिन हिँडेर सदरमुकाम पुग्न बाध्य छौं, दुनैयता सडक नभएकाले घोडा/खच्चडबाट प्रतिकिलो २ सय रुपैयाँसम्म ढुवानी भाडा तिर्दा महँगीको मार परेको छ, गाउँमा एक वर्षमा एकपल्ट फल्ने उवाले कसैलाई पनि ३ महिनाभन्दा बढी पुग्दैन, त्यसैले पनि बाहिरकै खाद्यान्नको भर छ ।’ स्थानीय बजारमा मोटा चामल प्रतिबोरा ५ हजार ५ सय घटी नपाइने भएकाले ऋण काढेरै भए पनि खाद्यान्न किन्नुपर्ने बाध्यता भएको उनको भनाइ छ ।

उनका अनुसार नाका खुलेको भए एक बोरा चामल चिनियाँ सीमामा बढीमा १५ सयमा पाइन्थ्यो । उनले गाउँमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको डिपो भए पनि कहिल्यै चामल र नुन हुँदैन । उनका अनुसार गलैंचा, बाँस, छाला, विभिन्न हस्तकलाका सामानसँगै मह, घिउ, छुर्पी, खुर्सानीलगायत कृषि उपजको व्यापार चिनियाँ बजारमा सहज थियो । ‘सामान बेचेर १/२ दिनमै सकिन्थ्यो अनि ३ महिनाजति मजदुरी गर्थ्यौं,’ उनले भने, ‘उताबाट फर्कंदा वर्षभरि पुग्ने खाद्यान्न, लत्ताकपडा पनि ल्याइन्थ्यो ।’

नाका बन्द हुँदा व्यापार व्यवसाय ठप्प भएको डोल्पोबुद्धका व्यवसायी रिन्जिन लामाले बताए । ‘नाका बन्द भएपछि अधिकांश बासिन्दालाई जीविकोपार्जनमा समस्या छ,’ उनले भने, ‘नाका नखुल्दा युवाहरू चिनियाँ बजारमा रोजगारीका लागि जान सकेका छैनन्, जसका कारण सैयौं युवा बेरोजगार बनेका छन्, जडीबुटीको व्यापार ठप्प छ ।’ गाउँमा रोजगारी नपाइएपछि अधिकांश युवालाई घरखर्च धान्न समस्या भएको लामाले बताए । ‘पर्यटन व्यवसाय पनि चौपट छ,’ उनले भने, ‘चीन हुँदै डोल्पा आउने पर्यटकको संख्या ४ वर्षयता शून्यप्रायः छ ।’

शे–फोक्सुन्डो–२ का कर्मातुन्डुप लामा ४ वर्षअघिसम्म वैशाखदेखि साउन अन्तिम सातासम्म तिब्बतको ताक्लाकोट पुग्थे । त्यहाँ मजदुरी गर्ने उनको कमाइ महिनामा एक लाख रुपैयाँसम्म हुन्थ्यो । ‘अहिले त परिवारै पाल्न मुस्किल भयो,’ उनले भने, ‘ऋण लिएर जीविका चलाउनुपरेको छ ।’ उनका अनुसार चीनले नाका बन्द गरेपछि डोल्पाको सीमावर्ती क्षेत्रका झन्डै ५ हजार जनाको रोजगारी गुमेको छ ।

नाका खुलाउन पटक–पटक गृह मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमा पत्राचार गरिएको डोल्पाका प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले बताए । ‘म आएको झन्डै ५ महिना पुग्यो, आएदेखि नै यसबारे आवश्यक पत्राचार र पहल भइरहेको छ,’ उनले भने, ‘नाकाको सम्बन्ध स्थानीयको जीविकोपार्जनसँग जोडिएकाले नाका तत्काल खोली दुवै देशको व्यापारिक, आर्थिक र सामाजिक सम्बन्ध जारी राख्न जरुरी छ ।’

प्रकाशित : वैशाख ५, २०८१ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×