१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २३२

‘सेवा गुणस्तरीय भए विश्व बजारमा पहुँच सहज’

सूचना प्रविधि क्षेत्रको विकासका सम्भावनाबारे उद्योग परिसंघले चलायो छलफल 

काठमाडौँ — नेपालमा काम गर्दै आएका सूचना प्रविधि क्षेत्रका अन्तर्राष्ट्रिय कम्पनीहरूले इन्टरनेटको युगमा गुणस्तरीय सेवा दिन सके विश्वभरका ग्राहकसँग सहजै जोडिन र व्यवसाय विस्तार गर्न सकिने अनुभव सुनाए । नेपाल उद्योग परिसंघले बिहीबार आयोजना गरेको ‘टेक पिक नेपाल २०२४’ कार्यक्रममा केही प्रमुख सूचना प्रविधि कम्पनीका प्रतिनिधिहरूले ग्राहकका समस्या समाधानका उचित विकल्प प्रस्तुत गर्न सके कम्पनी र कर्मचारी कुन देशको हो भन्ने कुराले अर्थ नराख्ने जनाए । कुनै पनि कम्पनी एक ठाउँमा सीमित हुन आवश्यक नरहेको उनीहरूको भनाइ छ । 

‘सेवा गुणस्तरीय भए विश्व बजारमा पहुँच सहज’

कार्यक्रमको पहिलो सत्र ‘फेरिटेल टु रियालिटी’ मा क्लाउड फ्याक्ट्री, ग्रेस्पर, रुमसान, लिपफ्रग टेक्नोलोजी र सेक्युरिटी पाल कम्पनीका प्रमुखले आ–आफ्ना व्यावसायिक सफलताको कथा साझा गरे । सोही क्रममा अमेरिकाका सफल कम्पनीहरूका लागि ग्राहक सेवासम्बन्धी सुविधा प्रदान गर्दै आएको सेक्युरिटी पालका संस्थापक पुकारचन्द्र हमालले आफूहरूले सेवा दिने कम्पनीहरू समस्याको समाधान खोज्नमा मात्रै चासो राख्ने बताए । ‘उनीहरूलाई हामी कुन देशका सेवा प्रदायक हौं वा कहाँबाट सेवा दिइरहेका छौं भन्ने कुराको चासो हुँदैन,’ पुकारले भने, ‘त्यसकारण हामी पनि समाधानका विकल्प प्रस्तुत गर्नमा बढी ध्यान दिन्छौं । कम्पनीहरूले राखेका जिज्ञासामा काठमाडौं र अमेरिकाको कार्यालयबाट जवाफ फर्काउँछौं ।’

आफू सात वर्षको हुँदा अमेरिका गएको र अहिले आफ्नो व्यवसायमार्फत नेपाल र अमेरिका दुवै देशको प्रचार गर्न पाउँदा सुखद अनुभव हुने पुकारको भनाइ छ । नेपालबाटै अमेरिकी ग्राहकलाई तथ्यांक व्यवस्थापनसम्बन्धी विभिन्न सेवा दिँदै आएको ग्रेस्पर कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित चौधरीले पनि पुकारको जस्तै व्यावसायिक यात्रा अनुभव सुनाए । आफूहरूले सुरुमा विदेशी कम्पनीलाई सेवा दिनेबारे नसोचेको भए पनि कामको गुणस्तरले गर्दा नै अन्तर्राष्ट्रिय ग्राहक आफूसम्म आइपुगेको उनले जनाए । ‘पहिले सानो लगानीमा सञ्चालित कम्पनीहरूलाई सेवा दियौं र बिस्तारै ठूलाहरूसम्म पुग्यौं,’ उनले भने, ‘तोकिएको समयभित्रै जिम्मेवारी पूरा गर्ने र उत्कृष्ट सेवा दिने भएकाले ग्राहकको मन जित्न सकेका छौं ।’

तथ्यांक र एआईसँगै सेवा दिने क्लाउड फ्याक्ट्री नेपालकी रोबिना महर्जनले सूचना प्रविधि क्षेत्रका कम्पनी र व्यक्तिसँगै अन्य सबैले नयाँ प्रविधिसँग अभ्यस्त हुन र सिक्दै जानुपर्ने आवश्यकतामा जोड दिइन् । कर्मचारीको क्षमता विकासका लागि आफूहरूले विभिन्न पहल र लगानी गर्दै आएको लिपफ्रग टेक्नोलोजीका कैलाश विजयानन्दको भनाइ छ । ‘पहिला हामी प्रविधिमा मात्रै ध्यान दिन्थ्यौं,’ उनले भने, ‘अहिले प्रक्रिया र नीतिहरू पनि पहिल्याउन थालेका छौं । प्रविधि सबैथोक होइन रहेछ भन्ने बिस्तारै बुझियो ।’

कार्यक्रममा ब्लकचेनमा आधारित भएर सेवा दिने रुमसान समूहकी सृष्टि पियाले नेपालमा ब्लकचेनबारे साँघुरो बुझाइ रहेकाले समय–समयमा काम गर्न अप्ठ्यारो पर्ने गरेको अनुभव सुनाइन् । ‘हामीकहाँ ब्लकचेन भन्नेबित्तिकै क्रिप्टोकरेन्सीको कारोबार बुझ्ने चलन छ,’ उनले भनिन्, ‘आधारभूत डिजिटल पूर्वाधार सबैतिर नपुगेकाले हैरानी खेप्नुपर्छ ।’

नेपाल अमेरिका चेम्बर अफ कमर्ससँगको सहकार्यमा परिसंघले आयोजना गरेको टेक पिक कार्यक्रममा नेपालको सूचना प्रविधि क्षेत्रलाई कसरी थप लगानी भित्र्याउने गरी परिमार्जन गर्ने भन्नेलगायत विषयमा छलफल भयो । गत वर्ष मात्रै ६८ अर्ब रुपैयाँभन्दा बढीको सेवा निर्यात गरेको नेपालको सूचना प्रविधि क्षेत्रका सम्भावना र त्यसले अर्थतन्त्रको उत्थानमा पुर्‍याउन सक्ने योगदानबारे कार्यक्रममा विमर्श गरियो ।

प्रकाशित : चैत्र २३, २०८० ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?