३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०८

लगानी सम्मेलनको तयारीमा जुटे नेपाली नियोग

काठमाडौँ — सरकारले गर्न लागेको तेस्रो लगानी सम्मेलन–२०२४ को तयारीमा विदेशस्थित नेपाली नियोग जुटेका छन् । तयारीस्वरूप कुनै नियोगले प्रि–समिट कार्यक्रम गरिसकेका छन् भने केहीले सम्बद्ध मुलुकमा रहेका व्यापारी तथा व्यवसायीसँग भेटवार्ता गरिरहेका छन् । साथै केही नियोग अझै कार्यक्रम गर्ने तयारीमा रहेको जनाइएको छ । 

लगानी सम्मेलनको तयारीमा जुटे नेपाली नियोग

तेस्रो लगानी शिखर सम्मेलन आगामी वैशाख १६ र १७ मा काठमाडौंमा हुँदै छ । सम्मेलनलाई दृष्टिगत गरी गत शुक्रबार अर्थमन्त्री वर्षमान पुनले विदेशस्थित नेपाली नियोगका प्रमुख तथा राजदूतहरूसँग भर्चुअल बैठक गरेका थिए । नेपालको अहिले विदेशमा ३० दूतावास छन् । पोर्चुगलमा थप एक दूतावास खुल्ने चरणमा छ । नेपालका ७ वटा महावाणिज्य दूतावास छन् । संयुक्त राष्ट्रसंघका लागि नेपालका तीन वटा स्थायी नियोग छन् ।

लगानी शिखर सम्मेलनको तयारीस्वरूप शनिबार बंगलादेशमा नेपाली दूतावासले कार्यक्रम गर्‍यो । बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीले त्यहाँका लगानीकर्तालाई नेपालमा आउन आग्रह गरे । नेपालले तेस्रो लगानी सम्मेलन गर्न लागेको र नेपालमा लगानी गर्न बंगलादेशको लगानीकर्तालाई सहजीकरण गरिदिने उनको भनाइ छ । उक्त कार्यक्रममा बंगलादेशका राज्यमन्त्री नस्रुल हमिद, सांसद, उच्च सरकारी तहका अधिकारी, अन्य अधिकारी, थिंक ट्यांकका अधिकारी, चर्चित व्यापारी नेतालगायत ८० भन्दा बढी व्यक्तिको सहभागिता थियो ।

चैत १३ मा बेइजिङस्थित नेपाली दूतावासले कार्यक्रम गर्दै चिनियाँ लगानीकर्ताहरूलाई लगानी सम्मेलनमा निम्तो दिएको थियो । कार्यक्रममा चीन भ्रमणमा रहेका उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चिनियाँ लगानीकर्ताहरूलाई सम्बोधन गर्दै आसन्न लगानी सम्मेलनमा उत्साहजनक सहभागिताका लागि आग्रह गरे । चिनियाँ लगानीकर्ताका लागि नेपाल उत्कृष्ट गन्तव्य हुने दाबी गर्दै उपप्रधानमन्त्री श्रेष्ठले वर्तमान सरकार चिनियाँ लगानीकर्तालाई आवश्यक सुविधा दिन तयार रहेको बताए । उक्त अवसरमा चिनियाँ लगानीकर्ताहरूलाई नेपालको लगानी सम्मेलनमा सहभागिता जनाउँदै यथोचित लगानी गर्न प्रधानमन्त्री दाहाल र अर्थमन्त्री पुनको भिडियो सन्देशमार्फत पनि अपिल गरिएको थियो ।

फागुन १६ मा स्पेनस्थित नेपाली राजदूत शर्मिला पराजुली ढकालले राजधानी म्याड्रिडमा चेम्बर अफ कमर्सका लगानीकर्तासँग भेटवार्ता गर्दै लगानी सम्मेलनमा सहभागिताका लागि आग्रह गरिन् । भेटवार्तामा स्पेन चेम्बर अफ कमर्सका अध्यक्ष जोसे लुइस बोनेट र प्रमुख कार्यकारी अधिकृत इनमाकुलादा रिइकाले राजदूत पराजुलीलाई स्वागत गरे । उक्त अवसरमा स्पेनका मन्त्रालय, नीति लगानीकर्ताहरूको पनि उपस्थिति थियो । भेटवार्तामा दुई मुलुकबीच व्यापार, पर्यटन, प्राविधिक सहकार्य, विद्युत् तथा अन्य विषयमा काम गर्न सकिने विषयमा छलफल भएको दूतावासले जनाएको छ । राजदूत ढकालले स्पेनी लगानीकर्ताहरूलाई नेपालमा लगानीको सम्भावनाबारे बताइन् । नेपालमा सेवा क्षेत्रसहित पर्यटन, नवीन ऊर्जा, विद्युत् र ग्रिन हाइड्रोजनमा सम्भावना भएको पनि उनको भनाइ छ ।

आर्थिक कूटनीतिको अवलम्बन गर्दै आएको विदेशस्थित नेपाली नियोगहरूलाई अर्थमन्त्री पुनले अबको एक महिना लगानी सम्मेलनमा केन्द्रित भएर सरकारका तर्फबाट काम गर्ने निर्देशन दिएका थिए । ‘लगानी सम्मेलन राष्ट्रको इज्जत, प्रतिष्ठा, गौरवको विषयसँग जोडिएको छ । सम्माननीय प्रधानमन्त्री (पुष्पकमल दाहाल) कै तर्फबाट म यहाँहरूलाई आग्रह गर्छु कि अबको एक महिना यसमा लाग्नुस्,’ उनले राजदूत र नियोग प्रमुखहरूलाई भनेका थिए । विदेशी विकास साझेदार, ठूला लगानीकर्ता, सम्भावित लगानीकर्ता, कार्यक्रमका वक्ता र उच्चपदस्थ सरकारी व्यक्तित्वहरूलाई यसअघि नै निम्ता पठाइसकिएको जानकारी गराउँदै राजदूत तथा नियोग प्रमुखलाई सम्मेलनमा आउन निश्चित भएकाहरूको सूची तयार पारेर पठाउन पनि मन्त्री पुनले निर्देशन दिए ।

बैठकमा मुख्यसचिव वैकुण्ठ अर्याल, परराष्ट्र सचिव सेवा लम्साल र लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलगायत अधिकारी सहभागी थिए । नेपालमा लगानीमैत्री वातावरण बनाउन सरकारले नीतिगत, प्रक्रियागत र कानुनी सुधारको काम अघि बढाएको पनि अर्थमन्त्री पुनको भनाइ छ । त्यसका लागि एक दर्जनभन्दा बढी कानुनमा संशोधनमार्फत सुधारको प्रक्रिया अघि बढाइएको विषयमा आफू रहेको देशका लगानीकर्ता र सरकारी एजेन्सीहरूलाई जानकारी गराउन पनि मन्त्री पुनले आग्रह गरेका थिए । ‘१२ वटा कानुन र कतिपय द्विपक्षीय समझदारी गर्ने विषयमा पनि छलफल चलिरहेको छ । लगानीमैत्री कानुन बनाउन भइरहेका प्रयासबारे लगानीकर्ता र सरकारी एजेन्सीलाई जानकारी दिनुहोस्,’ नियोग प्रमुखहरूलाई भनेका थिए ।

गठबन्धनमा भएको फेरबदललाई पनि राजदूतहरूसँगको छलफलमा अर्थमन्त्री पुनले उल्लेख गरे । सरकारको मूल नेतृत्व उही रहेको र केही मन्त्री मात्र फेरिएकाले लगानी सम्मेलन र लगानीसम्बन्धी नीतिमा कुनै फेरबदल नभएको विषयमा समेत अन्तर्राष्ट्रिय समुदायलाई आश्वस्त तुल्याउन प्रयास गर्नुपर्ने उनको भनाइ थियो । परराष्ट्र मन्त्रालयका अनुसार केही दूतावासले लगानी सम्मेलनको तयारीस्वरूप काम गरिसकेका छन् भने केहीले गर्न बाँकी छ । ‘लगानी सम्मेलनलाई दृष्टिगत गरी सरकारको नीतिअनुसार परराष्ट्र मन्त्रालयले आफू मातहतका सम्पूर्ण नियोगलाई तयारी गर्न पत्राचार गरिसकेको छ,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता तथा सहसचिव अमृत राई भन्छन्, ‘सोहीअनुसार दूतावासहरूले गृहकार्य गरिरहेका छन् ।’

प्रकाशित : चैत्र २०, २०८० ०८:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?