२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४९

मनाङले ल्यायो एयरबसको हेलिकोप्टर

सुरज कुँवर

काठमाडौँ — तीन महिनाको अन्तरमा मानवीय क्षतिसहितका दुइटा दुर्घटना ब्यहोरेको पुरानो एयरलायन्स कम्पनी मनाङ एयरले नयाँ हेलिकोप्टर ल्याएको छ । मनाङका एक संचालकका अनुसार एयरबस कम्पनीले सन् २०२३ मा उत्पादन गरेको एच१२५ (बीथ्रीर्ई) हेलिकोप्टर बुधबार काठमाडौंमा आइपुगेको हो ।

मनाङले ल्यायो एयरबसको हेलिकोप्टर

४७ करोड हाराहारीमा खरिद गरेर ल्याइएको यो हेलिकोप्टर फ्रान्सबाट मध्यपूर्वी मुलुक हुँदै भारतको कोलाकतासम्म पानीजहाजमा ल्याइएको थियो । ‘फ्रान्सबाट काठमाडौंसम्म ल्याइपुर्‍याउन झन्डै २ महिना लाग्यो,’ ती संचालकले भने, ‘वीरगन्जबाट लरीमा सडकमार्ग हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याइएको हो ।’

नागरिक उड्डयन प्राधिकरणका अनुसार, नेपालमा १२ वटा हेलिकोप्टर कम्पनी हाल संचालनमा रहेका छन् । तीमध्ये मनाङ तेस्रो पुरानो कम्पनी हो । हाल निजी क्षेत्रका १२ कम्पनीका ३२ वटा हेलिकोप्टर प्राधिकरणमा दर्ता छन् ।

सगरमाथामा पदयात्रामा गएका विदेशी पर्यटक लिन जानेक्रममा सोलुखुम्बुको लोबुचेमा मनाङको बीथ्रीई (अल्फा नोभेम्बर जुलियट) हेलिकोप्टर दुर्घटनामा परेपछि यो कम्पनी ०८० असोज २७ गतेदेखि जहाजविहीन थियो । लगत्तै प्राधिकरणले तीन महिनाको अन्तरालमा दुइटा हेलिकोप्टर दुर्घटना ब्यहोरेको मनाङलाई ‘खराब उडान सुरक्षा’ को कारण देखाउँदै उसको इजाजतपत्र (अपरेटर सर्टिफिकेट) निलम्बन गर्ने निर्णय गरेको थियो ।

आधुनिक हेलिकोप्टर आइपुगेसँगै मनाङले आफ्नो निलम्बन फुकुवाको प्रक्रिया थालेको जनाएको छ । ‘प्राधिकरणले कानुनबमोजिम माग गरेका कागजात बुझाइरहेका छौं,’ मनाङका प्रबन्धक राजु न्यौपानेले भने, ‘यो वसन्तकालीन पर्यटकीय सिजनमै उडानमा फर्किने तयारीमा छौं ।’

सोलुखुम्बुको लोबुचेमा भएको दुर्घटनामा मनाङले वरिष्ठ पाइलट प्रकाशकुमार सेढाई गुमाएको थियो भने ०८० असार २६ गते मनाङकै एयरबस बीथ्री–ई हेलिकोप्टर सोलुखुम्बुको लामजुरामा दुर्घटनामा परेको थियो । दुर्घटनामा मनाङका अनुभवी तथा वरिष्ठ पाइलट चेतबहादुर गुरुङसहित ५ मेक्सीकन पर्यटकको निधन भएको थियो ।

५ महिनादेखि जहाजविहीन मनाङले अबको ६ महिनाभित्र अर्को हेलिकोप्टर नर्वेबाट ल्याई आफ्नो बेडामा दुइटा एयरबसका बीथ्रीई हेलिकोप्टर राख्ने भनेको छ । प्राधिकरणका एक अधिकारीले मनाङले निलम्बन फुकुवाका लागि प्रक्रिया थालिसकेकाले चाँडै उडानमा आउने बताए ।


प्रकाशित : चैत्र ६, २०८० २२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?