३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

ब्याजदर घटेको घट्यै, छैन कर्जा माग

कर्जा प्रवाहमा सुस्तता र बढ्दो निष्क्रिय कर्जा बैंकिङ क्षेत्रको मुख्य चुनौती 
राज्यले निजी क्षेत्रको मनोबल बढाउनुपर्ने विज्ञको सुझाव
यज्ञ बञ्जाडे

काठमाडौँ — बैंक तथा वित्तीय संस्थामा ब्याजदर निरन्तर घटिरहे पनि अपेक्षित रूपमा कर्जा माग नहुँदा बैंकहरूमा पाँच खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । रेमिट्यान्स बढिरहँदा निक्षेप थपिइरहेको छ, कर्जा प्रवाह सुस्त छ भने भाका नाघेको कर्जा असुली नहुँदा बैंकहरूको खराब (निष्क्रिय) कर्जा बढेको छ । यसले समग्रमा बैंकको नाफा घटिरहेको तथ्यांकहरूले देखाएका छन् ।

ब्याजदर घटेको घट्यै, छैन कर्जा माग

‘निक्षेप बढिरहे पनि कर्जा माग निकै सुस्त छ,’ नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले भने, ‘अर्थतन्त्रमा शिथिलता रहेकाले उद्योग व्यवसाय, पूर्वाधार क्षेत्रबाट पनि नयाँ कर्जा माग आएको छैन । प्रतितपत्र खुल्ने क्रममा पनि कमी आएको छ ।’ ब्याजदर घटिरहेका बेला कर्जा माग स्वतः रूपमा बढ्नुपर्नेमा अर्थतन्त्रमा शिथिलता कायमै रहेकाले यस्तो अवस्था आएको उनले बताए ।

गएको एक वर्षयताको तथ्यांक हेर्दा बैंकहरूको कर्जाको औसत ब्याजदर करिब २ प्रतिशत बिन्दुले घटिसकेको छ । गत माघसम्म वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर ११.०८ प्रतिशत छ । ०७९ माघमा वाणिज्य बैंकहरूको कर्जाको भारित औसत ब्याजदर १३.०३ प्रतिशत थियो । सामान्यतया कर्जाको ब्याजदर घट्दा कर्जा प्रवाह बढ्नुपर्ने हो । तर, निजी क्षेत्रमा थप लगानी गर्ने उत्साह नहुँदा कर्जा माग घटेको र यसले समग्र अर्थ व्यवस्थामा असर पारेको विज्ञहरू बताउँछन् ।

पछिल्ला वर्षहरूमा बैंक तथा वित्तीय संस्थाले निरन्तर रूपमा निक्षेपको ब्याजदर घटाइरहेका छन् । निक्षेपको ब्याज घट्दा बैंकहरूको आधार दर घटेको छ भने त्यसले कर्जाको ब्याजदरमा पनि कमी ल्याएको छ । राष्ट्र बैंकका अनुसार गत माघमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ७.०१, विकास बैंकहरूको ८.२६ र वित्त कम्पनीहरूको ९.४५ प्रतिशत छ । ०७९ माघमा वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ८.४१ प्रतिशत कायम थियो । त्यसो त चैतका लागि पनि अपवादबाहेक सबै बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याज घटाएका छन् । वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको, कर्जा माग नबढिरहेको बेला बैंक तथा वित्तीय संस्थाले चैतका लागि निक्षेपको ब्याज घटाएका हुन् ।

नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार बैंक तथा वित्तीय संस्थाले आगामी महिनाका लागि अघिल्लो महिनाको अन्तिम दिनभित्रै ब्याजदर सार्वजनिक गर्नुपर्ने छ । उक्त ब्याजदर एक महिनाभित्र परिवर्तन गर्न नपाइने व्यवस्था छ । यही कारण बैंक तथा वित्तीय संस्थाले बुधबार आगामी चैतका लागि ब्याजदर सार्वजनिक गरेका छन् ।

सञ्चालनमा रहेका २० वटा वाणिज्य बैंकमध्ये एनआईसी एसियाबाहेक सबैले फागुनको भन्दा चैतमा ब्याजदर घटाएका छन् । एनआईसी एसियाले भने यही फागुनको तुलनामा चैतमा ०.५४ प्रतिशत बिन्दुले ब्याजदर बढाएको छ । तर, प्रभु र ग्लोबल आईएमई बैंकले भने ब्याजदर स्थिर राखेका छन् । नयाँ ब्याजदरअनुसार चैतमा एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याजदर एनआईसी एसियाको ८.५४ प्रतिशत र सबैभन्दा कम कृषि विकास बैंकको ५.६६ प्रतिशत छ । निक्षेपको ब्याज घट्दा आधार दरमा कमी हुने भएकाले कर्जाको ब्याजदर स्वतः घट्नेछ । राष्ट्र बैंकका अनुसार ०८० माघमा वाणिज्य बैंकहरूको औसत आधार दर ९.०६, विकास बैंकहरूको ११.१३ र वित्त कम्पनीहरूको १२.७० प्रतिशत छ । गत वर्षको माघमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.७२ प्रतिशत थियो ।

‘अहिले बैंकहरूको मुख्य समस्या कर्जा माग घट्नु र निष्क्रिय कर्जा (एनपीए) बढ्नु हो,’ बैंकिङ विज्ञ परशुराम कुँवर क्षेत्रीले भने, ‘अर्थतन्त्रमा रहेको सुस्तताले यी समस्या आएका हुन् ।’ आर्थिक शिथिलताका कारण निजी क्षेत्रको मनोबल बढ्न सकेको छैन । यसको असरले कर्जाको माग बढ्न नसक्दा अर्थतन्त्र चलायमान हुन नसकेको उनले बताए । ‘निजी क्षेत्रको आत्मविश्वास बढाउने खालका गतिविधि न त सरकारले गरेको छ न त ठूलो परिमाणमा पुँजीगत खर्च बढाएर उनीहरूलाई लगानी बढाउन प्रोत्साहन नै गरेको छ,’ उनले थपे, ‘यद्यपि पछिल्ला दिनहरूमा प्रधानमन्त्री र अर्थमन्त्रीले निजी क्षेत्रलाई धरपकड गर्दैनौं भनेका कुरा सुन्नमा आएको छ । यद्यपि लामो समयदेखि खस्किएको निजी क्षेत्रको मनोबल बढाउन मन्त्रीहरूको मौखिक भनाइ मात्र पर्याप्त हुँदैन ।’

ब्याजदर निरन्तर घटिरहेको र अझै घट्ने संकेत देखिएकाले बैंकहरूमा अब ब्याजदरको समस्या नरहेको पनि उनले बताए । ‘एक वर्षभन्दा बढीको निक्षेपको ब्याजदर बल्ल भारतीय बैंकहरूको तुलनामा समान तहमा पुगेको छ,’ कुँवरले थपे, ‘अहिलेको समस्या कर्जाको माग बढ्न नसक्नु र निकट भविष्यमा बढ्ने संकेत पनि नदेखिनु हो ।’ बढ्दो निष्क्रिय कर्जाले बैंकको नाफा घट्छ, प्राथमिक पुँजीमा चाप पर्छ, कर्जा प्रवाह क्षमतामा कमी आउँछ र आफ्ले दिएको कर्जा नउँठदा थप कर्जा प्रवाहमा उत्साह नहुने उनले बताए ।

गत साउनदेखि यही फागुन २६ सम्म बैंक तथा वित्तीय संस्थामा ४ खर्ब १२ अर्ब निक्षेप संकलन भएको छ भने कर्जा प्रवाह २ खर्ब ११ अर्ब रुपैयाँ मात्र छ । माघसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १ खर्ब ९७ अर्ब २१ करोड (४.१ प्रतिशत) ले थियो । गत वर्षको माघसम्म यस्तो कर्जा १ खर्ब ४८ अर्ब १२ करोड (३.२ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.७ प्रतिशतले बढेको छ ।

यस्तै, गत माघसम्म बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप ३ खर्ब ९७ अर्ब २० करोड (७.० प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप २ खर्ब ५३ अर्ब ९७ करोड (५ प्रतिशत) ले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा ०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १४.४ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

प्रकाशित : चैत्र १, २०८० ०६:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?