२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२६

भेरी बबई आयोजना : साढे ९ वर्षमा ६५ प्रतिशत भौतिक प्रगति 

आयोजनाको म्याद सकिन झन्डै साढे ४ वर्ष बाँकी 
कृष्णप्रसाद गौतम

सुर्खेत — राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनामा झन्डै साढे ९ वर्षमा ६५ प्रतिशत भौतिक प्रगति भएको छ । आर्थिक वर्ष २०७१/०७२ बाट सुरु गरिएको आयोजनाको म्याद झन्डै साढे ४ बर्ष बाँकी छ । कोरोना महामारी, ठेक्का सम्झौतामा ढिलाइ, कामदार अभाव, समयमै अख्तियारी नआउनु, बाढीलगायत कारण आयोजनाको काममा ढिलाइ भइरहेको हो ।

भेरी बबई आयोजना : साढे ९ वर्षमा ६५ प्रतिशत भौतिक प्रगति 

पहिलो चरणमा टनेल बोरिङ मेसिनबाट १२.२० किलोमिटर टनेल निर्माणको काम सम्पन्न गरिसकेको आयोजनामा दोस्रो चरणअन्तर्गत बाँध तथा पावरहाउस निर्माण, हाइड्रो मेकानिकल, इलेक्ट्रो मेकानिकल जडान एवं निर्माणलगायतका कामहरु भइरहेका छन् ।

अहिले सुर्खेतको चिप्लेमा हेडवर्क्स निर्माणको काम जारी रहेको आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इन्जिनियर पवन अधिकारीले बताए । उनका अनुसार जसमा ६ वटा वेमध्ये २ वटा वे निर्माणको काम अन्तिम चरणमा छ । ‘अरु ४ वटा वे निर्माणका लागि नदी फर्काउने तयारी भइरहेको छ,’ उनले भने, ‘पावरहाउस निर्माणस्थल हात्तिखोलामा स्लोप प्रोटेक्सनको काम अन्तिम चरणमा पुगेको छ, त्यस्तै फाउन्डेसन, कोफर्ड ड्याम, एंकर ब्लक निर्माणलगायतको काम पनि धमाधम गरिरहेका छौं ।’

सुर्खेतको भेरीगंगा नगरपालिकास्थित चिप्लेस्थित भेरी नदीमा बाँध बाँधेर सुरुङमार्फत भेरीको पानी सुर्खेत र बर्दियाको सिमानामा रहेको बबई नदीमा खसाल्ने र झन्डै ४६ मेगावाट विद्युत् उत्पादन गर्ने योजनासहित आयोजनाको काम भइरहेको हो । आयोजनाले बाँके र बर्दियाको करिब ५१ हजार जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य लिएको छ । कोरोनाको कारण झन्डै २ वर्ष आयोजनाको काम प्रभावित हुन पुग्यो । ३३ अर्ब १९ करोड ६६ लाख लागत अनुमान गरिएको आयोजनामा झन्डै ५७ वित्तीय प्रगति हासिल भएको छ । जसमध्ये अहिलेसम्म १५ अर्ब ५० करोड रुपैयाँ खर्च भएको छ ।

यो वर्ष १ अर्ब ५९ करोड रुपैयाँ विनियोजन भएकोमा माघ मसान्तसम्म ४९ करोड ७१ लाख रुपैयाँ खर्च भएको सिनियर डिभिजनल इन्जिनियर अधिकारीले जानकारी दिए । उनका अनुसार अबको तीन वर्षभित्र सक्नेगरी भइरहेको छ । गत वर्षको बाढीले नदीमा बाँध निर्माणमा समस्या भएकोले पनि आयोजनाको काममा ढिलाइ भएको उनले बताए ।

‘अब कुनै अवरोध नआएमा अबको तीन वर्षभित्र सबै काम सक्ने तयारी रहेको छ,’ उनले भने , ‘तोकिएकै समयमा काम सम्पन्न गर्नेगरी धमाधम काम पनि भइरहेको छ ।’ उनका अनुसार अहिले आयोजनामा झन्डै एक सय कामदारले काम गरिरहेका छन् । दोस्रो चरणका कामको जिम्मा रमण/ग्वाङडोन जेभीले लिएको छ ।

आयोजनाले उत्पादन गरेको विद्युत् उत्पादन गरेर राष्ट्रिय प्रसारण ८ मा जोड्ने सरकारको योजना छ । तेस्रो चरणमा भेरीको पानीलाई सिँचाइमा प्रयोग गर्ने योजनासहित काम अगाडि बढाइने आयोजनाले जनाएको छ । सुर्खेतको चिप्लेमा बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेन्ड ४० घनमिटर भेरीको पानी बबईमा खसाल्ने आयोजनाको लक्ष्य रहेको सिनियर डिभिजनल इन्जिनियर अधिकारीले बताए । भेरीको पानी बबई नदीमा खसाल्नका लागि चिप्लेमा बाँध निर्माणको काम भइरहेको हो । जहाँ १ सय १४ मिटर लामो र १४ मिटर अग्लो ब्यारेज बनाइनेछ ।

कर्णाली प्रदेशको सबैभन्दा ठूलो र संघीय सरकारको राष्ट्रिय गौरवको आयोजना भएकाले तोकिएको समयमा जसरी पनि सम्पन्न हुनुपर्ने नागरिक अगुवा दुर्गाप्रसाद सापकोटाले बताए । ‘पहिलो चरणको काम त नमुनाकै रूपमा नेपालमै पहिलोपल्ट टनेल बोरिङ मेसिनमार्फत गरियो,’ उनले भने, ‘त्यसैले पर्याप्त बजेट विनियोजन गरी सरकारले आयोजनाको काममा कुनै अवरोध हुन दिनु हुँदैन ।’

उनले आयोजना पूरा भए कर्णालीको विकासमा पनि ठूलो सहयोग पुग्ने जानकारी दिए । कर्णाली प्रदेश सरकारकी जलस्रोत तथा ऊर्जा विकासमन्त्री उर्मिला विश्वकर्माले आयोजनाको काम तोकिएकै समयमा सक्ने गरी प्रदेश सरकारका तर्फबाट आवश्यक समन्वय भइरहेको बताइन् ।

आयोजनामा तेस्रो चरणमा एचएम र ईएम सँगसँगै अन्य विद्युतीय काम पनि हुनेछन् । आयोजना सञ्चालनका क्रममा सुर्खेतको भेरीगंगा, गुर्भाकोट र लेकबेंसीको ३२ हेक्टरभन्दा बढी जग्गा डुबानमा पर्ने आयोजनाको अनुमान छ । जसका लागि झन्डै ८ हेक्टर जग्गाको मुआब्जा वितरण गरिसकेको छ भने झन्डै साढे १० हेक्टर जग्गा प्राप्तिका लागि सूचना प्रकाशन गरी प्रमाणीकरणको काम गरिरहेको आयोजनाले जनाएको छ ।

स्वदेशी लगानीमा निर्माण भइरहेको यो आयोजनाको २०७१ साल चैत १९ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका थिए । ३६ अर्ब ८० करोड रुपैयाँको लागतमा आयोजना निर्माण सम्पन्न हुने अनुमान छ ।

प्रकाशित : फाल्गुन ३०, २०८० १८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?