कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२५

विज्ञापन बजारमा गलत अभ्यास

सञ्चारगृहले विज्ञापन व्यवसायीलाई स्थान नदिई आफैं मार्केटिङमा अग्रसर हुनु, बजारमा विज्ञापनदाता, विज्ञापन एजेन्सी र मिडियाबीच अर्बौंको उधारो कारोबार हुनु, विज्ञापनदाताबाट ढिला भुक्तानी हुनु, विज्ञापन दररेटमा मिडिया अस्पष्ट हुनु, दररेट पहुँच क्षेत्र, वर्ग, विषयवस्तु, आकार, गुणस्तर, पाठक दर्शक/श्रोताका आधारमा तय नगरिनु विज्ञापन बजारका मुख्य समस्या हुन् । 

काठमाडाैं — नेपालमा २०४६ सालमा बहुदलीय प्रजातन्त्रको उदयसँगै आमसञ्चारको विकासअनुरूप निजी सञ्चारगृहहरू खुले । खुला परिवेशमा सञ्चारगृहहरूको संख्या बढ्दै गयो । सुरुमा छापामाध्यमहरू आउँदै गर्दा मानिसमा त्यो बेला त्यति चेतना थिएन । पाठक कम थिए । तर एफएमतथा टेलिभिजन सञ्चालनमा आएको समयमा मानिसमा चेतना बढिसकेको थियो । 

विज्ञापन बजारमा गलत अभ्यास

विज्ञापनका लागि नयाँ–नयाँ प्लेटफर्म आएपछि विज्ञापनको स्वरूप, ढाँचा, आकार, तरिकामा समेत विविधता आयो । सुरुमा छापाहरूमा देखिने विज्ञापन विस्तारै रेडियोमा सुनिने भए । तत्पश्चात विज्ञापनहरू विस्तारै टेलिभिजनमा हेर्न पाइन थाल्यो । मिडियाको आकारसँगै विज्ञापनदातामा विज्ञापनको महत्त्व, विज्ञापन गर्नुपर्ने सोचको विकास हुन थाल्यो । यसपछि विज्ञापन बजार पनि प्रतिस्पर्धी बन्न थाल्यो ।

नयाँ सञ्चारमाध्यम आएसँगै विज्ञापनको दायरा फराकिलो हुँदै गयो । विज्ञापनदाताको पनि छनोट बढ्न थाल्यो । बजारमा विज्ञापनमा जुट्ने एजेन्सीहरूको काम बढ्ने, नयाँ–नयाँ सिर्जनाहरू आउन थाले। विज्ञापन एजेन्सीहरू सयौंको संख्यामा आए र बजारमा प्रतिस्पर्धा बढ्यो । नेपालमा विज्ञापनको विकाससँगै विज्ञापन एजेन्सीहरूको हकहित जगेर्ना गर्नका लागि नेपाल विज्ञापन एजेन्सी संघको जन्म भयो ।

व्यवस्थित विज्ञापन बजारका लागि संघले भूमिका खेल्न थाल्यो । यसैगरी मिडियाहरूको पनि संगठित संस्थाहरू आए । आ–आफ्ना हकहितका लागि विभिन्न संस्थाहरूको उदय भयो । मिडिया तथा विज्ञापन एजेन्सीहरूको संस्था बढेसँगै बजारलाई कसरी बढाउने, सहकार्य कसरी गर्नेजस्ता एक आपसी हितका लागि मिडिया र एजेन्सीबीचमा सहकार्य र समन्वय हुन थाल्यो ।

देशमा औद्योगिक व्यवसाय ऐन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, निजीकरण ऐन, मुअ.कर ऐनजस्ता ऐनको प्रारम्भसँगै देशमा उद्योग व्यवसायमा लगानीको साथै विज्ञापन गर्ने सोचको विकास हुन थाल्यो । व्यावसायिक ऐन र कानुनले गर्दा देशमा लगानिको वातावरण बन्यो । २०४६ सालपछि मुलुकमा ठूला ठूला घटना, परिघटना र उतारचढाव आयो । यसकारण विज्ञापनका लागि नयाँ–नयाँ प्लेटफर्म बढेसँगै विज्ञापनको संख्या बढ्न सकेन । त्यही बजारमा भइरहेको गरिरहेका विज्ञापनहरूमा नै एजेन्सीहरूको र मिडियाहरूको ध्यान पर्न थाल्यो ।

२०६३ सालदेखि नेपाली विज्ञापन बजारमा विज्ञापन सिर्जनालाई वृद्धि गरी, पुरस्कृत गर्ने साथै नेपाली विज्ञापन बजारलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने विज्ञापन स्रष्टा तथा सर्जकलाई हौसला बढाई, विज्ञापन सिर्जनालाई मर्यादित, सभ्य, र भव्य बनाउने उद्देश्यका साथ कृति अर्वाडस् पहिलो संस्करण सुरु भएको थियो । आजसम्म १२औं संस्करण पूरा गरिसकेको अवार्डस् मिडिया विज्ञापनदाता सर्जक स्रष्टा कलाकार सबै सरोकारवालाको साझा बनेको छ ।

२०६५ तिर नेपाल विज्ञापन संघ तथा सञ्चार उद्यमीहरूको पहलमा पाँचबुँदे सहमति भयो । विज्ञापन व्यवसायलाई मर्यादित र व्यवस्थित गर्न गरिएको सहमतिपछि केही समय बजार सुचारु रह्यो । विज्ञापन बजार अनुशासित र मर्यादित तथा स्वस्थ बनाउन नेपाल विज्ञापन संघले क्लिन फिड, अलग्गै विज्ञापन काउन्सिलको माग निरन्तर गरिरह्यो । सरकारसँग बारम्बार विज्ञापनको छुट्टै ऐनको माग गर्दै आएकोमा सरकारले २०७६ कात्तिकका अध्यादेशमार्फत विज्ञापन नियमन गर्ने ऐन ल्यायो ।

विज्ञापन बजारलाई मर्यादित तथा स्वस्थ बनाउन २०४७ सालदेखि नै नेपाल विज्ञापन संघ लागिपरेको छ । चाहे भूकम्प, कोरोना, बाढीपहिरोको अवस्थाजस्ता विषम परिस्थितिमा होस् वा सहज परिस्थितिमा संघ अनवरत रूपमा मिडियासँग घनीभूत सहकार्य गर्दै अगाडि बढिरहेको छ । विज्ञापन बजारलाई नेतृत्व लिएर नेतृत्वदायी भूमिकामा संघ प्रतिबद्ध छ । जसमा संघले विज्ञापन ऐन, विज्ञापन कार्यविधि, विज्ञापन नियमावली, विज्ञापन आचारसंहिता, विज्ञापन नीतिमा संघको अग्रणी भूमिका छ । यद्यपि ऐन नियमावलीका प्रावधानप्रति संघका कतिपय विमति छन्, तर पनि संघ विज्ञापन बोर्डसँग सहकार्यमा जुटेको छ ।

विज्ञापन ऐनमार्फत रहेको विज्ञापन आचारसंहितालाई सर्जक, ब्रान्ड, एजेन्सी, मिडिया र विज्ञापनदातालाई जिम्मेवार बनाउने उनीहरूको कार्य क्षेत्र, जिम्मेवारी, उनीहरूले पालना गर्नुपर्ने कुराहरूमार्फत विज्ञापन उद्योगका सबै साझेदारहरूलाई स्व–नियमन गरी बजार व्यवस्थित र मर्यादित गर्न संघ विज्ञापन बोर्ड सँगसँगै छ ।

विज्ञापन बजारमा आउन चाहने विद्यार्थी र पेसाकर्मीलाई यस क्षेत्रमा रहन, टिकाइराख्न समयानुकूल तालिम, ज्ञान, सीप अध्यावधिक तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञापन बजारबारे जानकारी गराउन, अन्तर्राष्ट्रिय संघसंस्थामार्फत विभिन्न कार्यक्रम गर्ने लक्ष्य लिएको छ । जसअनुसार आफा, (एसियन फेडेरेसन अफ एडभरटाइजिङ एसोसिएसन) तथा (इन्टरनेसनल एडभरटाइजिङ एसोसिएसन) आईएएसँग सञ्जालमा रहेर नेपालमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू बोलाएर भेला, गोष्ठी, सेमिनार, कार्यशाला छलफल गर्ने लक्ष्य राखेकोछ । साथै इन्टरनेसनल एडभरटाइजिङ एसोसिएसन नेपाल च्याप्टर र एड क्लब अफ नेपालमार्फत विज्ञापन, ब्रान्ड, क्रिएटिभ, डिजाइन, मार्केटिङ, प्रस्तुतीकरणजस्ता विषयमा बजारमा रहेका विज्ञापनकर्मी, विज्ञापन पेसा तथा व्यवसायमा आउन चाहनेका लागि लक्षित कार्यक्रम गरिरहको छ ।

विज्ञापन बजारमा रहेका विविध चुनौती तथा अवसरमा सञ्चारगृहबाट विज्ञापन व्यवसायीलाई स्थान नदिनु, आफैं मार्केटिङमा अग्रसर हुनु, बजारमा विज्ञापनदाता र विज्ञापन एजेन्सी, मिडिया र एजेन्सीबीच अर्बौको उधारो कारोबार, उधारो नउठ्ने समस्या, एजेन्सीले मिडियामा लगानी गरेर विज्ञापन गर्ने तर विज्ञापनदाताबाट ढिला भुक्तानी हुनु, विज्ञापन दररेटमा मिडिया अस्पष्ट हुनु, विज्ञापन दररेटमा पहुँच क्षेत्र, वर्ग, विषयवस्तु, आकार, गुणस्तर, पाठक दर्शक र श्रोताका आधारमा नराखिनु ज्वलन्त उदाहरण हुन् ।

नेपाली विज्ञापन बजारमा व्यापक अवसर छन् । राष्ट्रिय महत्त्वका परियोजना, देशमा बन्दै गरेका भौतिक संरचना, बजारमा आइरहेका विदेशी ब्रान्डका फ्रेन्चाइजका लागि विज्ञापन अत्यावश्यक हुन्छ । कतिपय ब्रान्डले विदेशबाट ओटीटी प्लाटफर्ममा नेपाललक्षित विज्ञापन गरेका उदाहरण पनि छन् । यसको रोकावटका लागि सहकार्य जरुरी छ ।

प्लेटफर्महरू आउँदै गर्दा वाइङ, पीआर, रिलिज, कन्टेन्ट, क्रिएटिभ, थ्रिसिक्टी, आउटडोर एजेन्सी पनि छन् । यी सबै एजेन्सीका काम भिन्न छन् । यसकारण यी भिन्न एजेन्सीले मिडिया र विज्ञापनदातासँग गर्ने कारोबारको तरिका, प्रकृति, छुट, कमिसन, डिस्काउन्ट, बोनस फरक छन् । साथै यी एजेन्सीका समस्या, चुनौती र अवसरअलग छन् । संघभित्रका अलगअलग प्रकृतिका कारोबार गर्ने एजेन्सीलाई समेट्न संघलाई पनि चुनौती छ । यसका लागि संघले विषयगत समितिको अवधारणा ल्याएको हो । संघले यसलाई मनन गर्दै आफ्नो नाम नेपाल विज्ञापन एजेन्सी संघबाट नेपाल विज्ञापन संघ बनाएको हो ।

हरेक प्रकारका एजेन्सीका आ–आफ्नै समस्या छन् । बजारमा रिलिजिङ एजेन्सीको संख्या बढी छ । तसर्थ रिलिजिङको समस्या ठूलोजस्तो लाग्छ । तर कारोबारको हिसाबले वाइङको बढी हुन सक्छ । तर व्यावसायिक मूलभूत कुरा एकै हुन्छन्, जस्तो कि कारोबार कर छुट, उधारो, अस्वस्थ प्रतिस्पर्धा, साझा समस्या हुन् । एकातर्फ विज्ञापनदाता क्रिएटिभका लागि धेरै पैसा तिर्न तयार छैनन् । अर्कोतर्फ बजार विचलित छ । कन्टेन्ट प्रोडक्सन अर्थात् कार्यक्रम उत्पादन तथा निर्माण एवं बाहिरबाट ल्याइएका कार्यक्रमको कपिराइट र फ्रेन्चाइन्जको व्यवस्थापन अर्को चुनौती छ ।

एजेन्सी र एजेन्सी, मिडिया र मिडिया, मिडिया र एजेन्सी, मिडिया रविज्ञापनदाता, विज्ञापनदाता र एजेन्सी, विज्ञापनदाता र विज्ञापनदाताबीचमा विद्यमान असझदारी, विवाद, समस्या समग्र विज्ञापन उद्योगको समस्या हो । जहाँ उधारोदेखि मूल्य निर्धारण, बिल भरपाई, भुक्तानी, दरभाउ, ब्रान्डको नक्कल, प्रतिलिपि अधिकार, अनधिकृत विज्ञापन निर्माण, दरभाउमा अनावश्यक मोलिमलाउ, डिस्काउन्ट, छुट, बोनस, धरौटी आदिको समस्या मुख्य छन् । साथै एक एजेन्सीले काम गरिरहेको विज्ञापनदातासँग अर्को एजेन्सी गएर पिचिङ गर्ने, सस्तोमा काम लिएर गुणस्तरमा सम्झौता गर्ने, विज्ञापनदातासँग एजेन्सीले भए गरेका सम्झौतालाई दुवै पक्षबाट अक्षरश: पालन नगर्ने, विज्ञापन प्रकाशन/प्रसारण भएपछि विज्ञापनदाताद्वारा विज्ञापनमा समस्या देखाएर भुक्तानीमा झमेला गर्ने, एजेन्सीले विज्ञापनदातासँग भएको सम्झौताबमोजिम विज्ञापन प्रकाशन प्रसारण नगर्ने आफूखुसी परिवर्तन गर्ने, विज्ञापनलाई एउटामा प्रकाशन/प्रसारण गर्ने सम्झौता भएकोमा अर्कोमा गर्ने, मिडिया तथा विज्ञापनदाताद्वारा एजेन्सीको सिर्जनालाई अवमूल्यन गर्ने अवस्था पनि छ ।

पछिल्लो समय विज्ञापनदातालाई बढी बिलिङ गरेर एजेन्सीले मिडियालाई अति कम भुक्तानी गरेको विषय विभिन्न निकाय, सरकारी प्रतिनिधि वा मिडियाले उठाएका छन् । सरसर्ती हेर्दा यसमा एजेन्सीको गल्तीजस्तो देखिए पनि यसबाट मिडिया र एजेन्सी दुवैले लाभ लिइरहेका छन् ।

त्यस्तै, एजेन्सी–एजेन्सीबीचको प्रतिस्पर्धाका कारण क्रिएटिभका कर्मचारी नटिक्ने वा छोटो समयमै अन्यमा जाने अवस्था छ । बैंकहरूबीच भएको कर्मचारी नियुक्त गर्दा वा छाड्दा ‘नो अब्जेक्सन’ लेटरको सहमतिको अभ्यास एजेन्सीमा पनि लागू गर्नुपर्ने अवस्था छ ।

मिडिया र एजेन्सीहरूबीच उधारो, नगद छुट, बोनस कमिसन, दरभाउ, डिस्काउन्ट, फ्रिक्वेन्सी डिस्काउन्ट आदि समस्या छन् । मिडियाले सम्झौताबमोजिम प्रकाशन/प्रसारण नगरेको, एजेन्सीले विज्ञापनदाताबाट ल्याएर विज्ञापन तोकिएको मिडियामा नदिई अन्यमा घुमाएको आदि आरोप पनि आइरहेका छन् । साइनेज तथा आउटडोरमा विज्ञापनदाता एजेन्सी, नगरपालिका ठेकेदार, स्थानीय तहबीच विवाद छ । स्थानीय निकायसँग सम्झौता गरेर काम गर्दा पनि अन्य सरकारी निकायबाट अवरोधको अवस्था छ ।

बाइङ एजेन्सीका समस्या पनि यावत् छन् । विज्ञापनदातासँग व्यावसायिक साझेदार वा सल्लाहकार बन्न एजेन्सीहरू पनि आफ्नो क्षमता र जनशक्तिमा निखार ल्याउन आवश्यक छ । जसबाट एजेन्सीले आफूलाई अब्बल देखाउन सक्छ । सन् २०१५ पछि आएको डिजिटल विज्ञापन नयाँ भएकाले पनि सुरूआती दिनमा मानिसको आकर्षण रह्यो । विस्तारै यसतर्फको लगाव बढ्न थाल्यो । लगानी कम पर्ने भएकाले पनि छनोटमा पर्‍यो । बजारमा विज्ञापनका नयाँ आयाम भित्रिएसँगै बजार प्रतिस्पर्धी बन्यो। तर बजार सीमित भएकाले धेरै जनाले खेल्ने वातावरण रह्यो । यसमा गलत प्रयासहरू हुन थाले । मूल्य, डिस्काउन्ट, फ्रिक्वेन्सी, आदिमा मोलमोलाई हुन सुरु भयो ।

महाभूकम्प र कोभिड महामारीपछि मुलुकको अर्थतन्त्र मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा आएको आर्थिक मन्दीले विश्वभर असर पुर्‍याएको छ । यसको अर्थ, सबै कुरा बिग्रेको भने होइन । यी यावत् घटनाक्रमले हाम्रो स्वदेशी उत्पादनमा ह्रास भए सँगसँगै विदेशी ब्रान्डहरू आइरहेका छन् । यसमा नेपाली ब्रान्डहरूले उपभोक्तामा सकारात्मक सन्देश दिनका लागि पनि विज्ञापनमा खर्चनु आवश्यक छ । तर पनि सबैसमस्याको समाधान कानुनसम्मत ढंगबाट गरिनुपर्छ ।

त्यस्तै, सरकारले पनि सर्वसाधारण मानिसले बुझ्ने गरी अर्थतन्त्रलाई सकारात्मक सन्देश दिन रचनात्मक ढंगबाट विज्ञापन गर्नुपर्छ । ब्रान्डबारे जानकारी कम भएकाले उपभोक्तालाई विज्ञापनमार्फत बुझाउन जरुरी छ । डिजिटल मिडियाभित्रको एउटा खण्ड सामजिक सञ्जाल आइरहेको छ । डिजिटल मिडियाको पहुँचको पछाडि त्यसको सबलपक्ष विज्ञापनदाताले सहजै विज्ञापनको प्रभाव असर हेर्न सक्छ । तर हाम्रो विद्यमान सञ्चारमाध्यममा त्यो सुविधा नभएकाले यसको विकास आजको आवश्यकता हो ।

विज्ञापनदातलाई एजेन्सी चाहिने र एजेन्सीलाई मिडिया चाहिन्छ । आजको दिनमा मिडियाले पनि आफ्नो मार्केटिङको तरिका र एजेन्सीले पनि आफ्ना कार्यशैली बदल्नुपर्छ । हामीकहाँ रहेका एजेन्सीबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञापन बनेर बजारमा आइरहेकाछन् ।विज्ञापनदाता मिडिया र एजेन्सीबीच हामीले प्रस्ट लिखित सहमति गरेर अगाडि बढनुपर्छ । विज्ञापन व्यवसायसँग सम्बन्धित माथि उल्लेखित समग्र समस्या समाधानका लागि नेपाल विज्ञापन संघले पहलकदमी लिएर मिडिया र विज्ञापनदातासँगै सहकार्यमा विज्ञापन उद्योगको उत्थान एवं हितका लागि वस्तुनिष्ठ ढंगबाट भूमिका खेल्न सक्छ ।

व्यावसायिक स्वच्छता, नैतिकता, इमान्दारिता एवं सामाजिक उत्तरदायित्वका लागि हरेक विज्ञापन चक्रका साझेदारहरूरुले आ–आफ्नो स्थानबाट तत्काल नाफा घाटा मात्र नहेरी दीर्घकालसम्म यस व्यवसायमा टिकिरहन र व्यवसायलाई मर्यादित बनाउन योगदान गर्नुपर्छ ।

यसबाट हाल सरकारले लगाएको विज्ञापन अवरोध हटाउन, विज्ञापन बजार बढाउन र विज्ञापनमा अनियमितता छ भन्ने आमसोच परिवर्तन गर्दै राज्यको चौथो अंगबाट दिइने सेवालाई सम्पादकीय स्वतन्त्रता जोगाएर अगाडि बढ्न सहज हुन्छ । हाम्रा व्यक्तिगत समस्यालाई केही समय थाती राखेर व्यावसायिक अनुशासन कायम गरेमा हामीप्रति उद्योग व्यवसाय तथा प्रतिष्ठानको विश्वास बढ्छ । अनि मात्र हामी उपभोक्ता सचेतना र वस्तु तथा सेवाको जानकारी दिनखरो रूपमा उत्रन मात्र होइन, आ–आफ्ना सिर्जनामा निखार ल्याउन पनि सक्छौं ।

—थापा नेपाल विज्ञापन संघका अध्यक्ष हुन्

प्रकाशित : फाल्गुन ७, २०८० १४:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

खेलकुद मन्त्रालयको बजेटले लुडो, चेस र बाघचाल मात्रै खेलाउन सकिन्छ भन्ने युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठको भनाइबारे तपाईंको धारणा के छ ?