कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

‘अर्थतन्त्र सुधार्न अलमलियो सरकार’

अर्थतन्त्र संकटोन्मुख रहे पनि सूचकांक सकारात्मक देखिएकाले थप तल नझर्ने दाबी
विनोद भण्डारी

विराटनगर — पूर्वगभर्नर तथा पूर्वअर्थमन्त्री युवराज खतिवडाले बजार हल्लाजस्तो मुलुकको अर्थतन्त्र संकटग्रस्त नभएको दाबी गर्दै यसको सुधारमा सरकार अलमलिएको आरोप लगाएका छन् । अहिले अर्थतन्त्र केही संकटोन्मुख रहेको र सूचकांक सकारात्मक देखिएकाले अहिलेको अवस्थाभन्दा तल नझर्ने उनको दाबी छ । 

‘अर्थतन्त्र सुधार्न अलमलियो सरकार’

मोरङ व्यापार संघको नवौं शृंखला ‘बिज टक’ कार्यक्रममा आइतबार खतिवडाले उत्पादन नगरी उपभोग मात्र गर्ने प्रवृत्ति नेपालीमा मौलाएकाले अर्थतन्त्र धरमराउन सुरु भएको र यसले उद्योगी व्यवसायीको मनोबल खस्किन थालेको औंल्याए । उद्योगी व्यवसायीको मनोबल खस्किनुमा एउटै मात्र कारण नभएको उनको भनाइ छ ।

सरकारले अर्थतन्त्र उकास्ने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने समयमा गठबन्धनलाई समेट्ने कार्यमा अलमलिएको उनको आरोप छ । ‘अहिलेको अवस्थामा कि त राजनीतिले कोर्स परिवर्तन गर्नुपर्छ, कि अर्थतन्त्रले आफ्नो लय पक्रिने गरी सरकारले कार्यक्रम ल्याउन सक्नुपर्छ ।’

करको नीति र मौद्रिक नीतिमार्फत बाँकी रहेका समस्या समाधान गर्न सकिने र ब्याजदरमा धेरै तलमाथि गर्दा आउने समस्याबारे केन्द्रीय बैंकले कुरा बुझिसकेकाले बैंकले अब गल्ती नदोहोर्‍याउनेमा आफू विश्वस्त रहेको उनले बताए । ‘सरकारले कित्ताकाट रोकेपछि घरजग्गामा लगानी घट्यो, घरजग्गामा लगानी घटेपछि त्यसले निर्माण क्षेत्रमा असर गर्‍यो । निर्माणजन्य उद्योगको उत्पादनमा त्यसले असर गर्‍यो,’ उनले भने, ‘बैंकहरूले लगानी नगर्दा उधारोमा दिएको सामग्रीको रकम उठेन, होलसेलरले उद्योगलाई रकम दिन सकेन । यो एउटा चेनमा समस्या आएकै हो ।’

बैंकहरूले हौसिएर लगानी गरेका कारण समस्या आएको तर अहिले केन्द्रीय बैंकले पनि समस्या पहिचान गरिसकेकाले अब त्यो नदोहोरिने उनको धारणा छ । अहिले देखिएका समस्यालाई कर र मौद्रिक नीतिले सम्बोधन गर्न सकिने खतिवडाको भनाइ छ । मुलुकको शासन प्रणाली ८/९ वर्षदेखि सही ढंगले चल्न नसक्दा अर्थतन्त्रमा असर परेको र सत्ताको भरथेग नभए कामै गर्न नसक्ने अवस्था सिर्जना हुनुले पनि समस्या बढाएको कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीनेन्द्र रिजालले जनाए । ‘सत्ताले छोप्दा सबै कुरा छोपिन्छ भन्ने भ्रमले पनि धेरै कुरा बिगारेको छ,’ उनले भने, ‘टनका टन सुन भित्रिँदै गर्दा केही चीज त पक्कै पनि बहिरियो होला नि भनेर हामीले सोच्नुपर्छ ।’

मुलुकको अर्थतन्त्र सुधार्न सबै राजनीतिक दलबीच सहकार्य र प्रतिबद्धता आवश्यक रहेको रिजालले औंल्याए । पछिल्लो समय अर्थतन्त्रको चरित्र फेरिएको उल्लेख गर्दै उनले सरकारले विकृतिलाई छोप्नुको साटो नियन्त्रण गर्नुपर्नेमा जोड दिए । बैंकको चर्को ब्याजदर, बजारमा माग नहुनु, सरकारको निजी क्षेत्रप्रतिको दृष्टिकोण सकारात्मक नहुनु र औद्योगिक वातावरण नबन्नुले निजी क्षेत्रको मनोबल खस्किएको मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए ।

सरकारले केही वर्षका लागि अर्थतन्त्र सुधार्न दीर्घकालीन नीति लिएर अघि बढ्नुपर्ने उनको माग छ । आर्थिक सुशासन कायम नभएको र निजी क्षेत्रको ढाड सेक्ने १९ वटा कानुन रहेकाले सरकारले तिनलाई खारेज गरेर निर्बाध लगानी गर्ने वातावरण बनाउनुपर्नेमा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले जोड दिए ।

प्रकाशित : मंसिर १८, २०८० ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?