कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

दसैंमा चितवन निकुञ्जमा २० हजारभन्दा बढी पर्यटक

पर्यटकबाट निकुञ्जले उठायो एक करोड ८५ लाख राजस्व‚ आन्तिरक पर्यटक नै १३ हजारभन्दा बढी पुगे
रमेशकुमार पौडेल

चितवन — दसैंका बेलामा चितवन राष्ट्रिय निकुञ्ज घुम्न उल्लेख्य संख्यामा आन्तिरक र बाह्य पर्यटक पुगेका छन् । निकुञ्जले पर्यटकबाट दसैंमा मात्रै एक करोड ८५ लाख ४४ हजार ९५० रूपैयाँ राजस्व संकलन गरेको छ ।  

दसैंमा चितवन निकुञ्जमा २० हजारभन्दा बढी पर्यटक

निकुञ्जका सूचना अधिकारीसमेत रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीका अनुसार घटस्थापनादेखि कोजाग्रत पुर्णिमासम्म घुम्न आउनेहरूबाट उक्त राजस्व प्राप्त भएको हो । मुलुकका विभिन्न जिल्लाबाट निकुञ्ज घुम्न पुग्नेमा आन्तरिक पर्यटकको संख्या उल्लेख्य रह्यो ।

यो अवधिमा नेपाली १३ हजार २ सय ३३, सार्क राष्ट्रका ७ सय ७९ र तेस्रो मुलुकका ६ हजार ४८ पर्यटक निकुञ्ज घुम्न आएका छन् । निकुञ्ज घुम्दा स्वदेशी, विदेशी र सार्क राष्ट्रका पर्यटकले अलग अलग दरमा प्रवेश शुल्क तिर्छन् । प्रवेश शुल्कबापत नेपालीबाट १९ लाख ८४ हजार ९५०, विदेशीबाट एक करोड २० लाख ९६ हजार र सार्क देशका पर्यटकबाट ७ लाख ७९ हजार रूपैयाँ राजस्व संकलन भएको तिवारीले बताए ।

त्यसैगरि जीप सफारीबाट ३६ लाख ८५ हजार रूपैयाँ राजस्व संकलन भएको छ । दसैंको अवधिमा चितवन निकुञ्जभित्र ७ सय ३७ पटक जीप सफारी भएको तिवारीले जानकारी दिए ।

चितवन निकुञ्ज प्रवेश गर्ने १० वटा नाका छन् । तर सोराहा प्रवेशद्वार हुँदै अधिकांश पर्यटक निकुञ्ज डुलेका छन् । दसैंको अवधिमा निकुञ्ज डुलेकामध्ये ८८ प्रतिशतभन्दा बढी पर्यटकले सौराहा प्रवेशद्वार प्रयोग गरेको चितवन निकुञ्जले जनाएको छ । सौराहाबाट मात्रै १२ हजार ५५८ नेपाली, ४ हजार ५४३ नेपाली र ५६३ सार्क राष्ट्रका पर्यटकले दसैंको समयमा निकुञ्ज घुमेको सूचना अधिकारी तिवारीले बताए ।

वन्यजन्तु अवलोकनमा रुचि भएका देशविदेशका पर्यटकका लागि चितवन राष्ट्रिय निकुञ्ज रोजाइमा पर्छ । निकुञ्जभित्र हात्ती सफारी हुँदैन । बाघ-गैंडा लगायतका दुर्लभ वन्यजीव हेर्न पर्यटकहरू सुरक्षा प्रबन्धका साथ अनुभवी गाइड लिएर पैदल जंगल डुल्छन् । त्यसैगरि निकुञ्जभित्र पूरा दिन र आधा दिन जीप सफारी गर्न मिल्ने सुविधा पनि छ । जीप सफारी पनि सौराहा हुँदै अत्यधिक भएको छ ।

दसैंका बेलामा ७ सय ३७ पटक जीप सफारी भएकोमा सौराहाबाट मात्रै निकुञ्जभित्र ४ सय ४० पटक जीप सफारी भएको छ । निकुञ्ज बाहिर पनि केही मध्यवर्ती सामुदायिक वनहरूले जीप सफारी गराउँछन् । हात्ती सफारी सामुदायिक वनमा मात्रै हुने गरेको छ ।

प्रकाशित : कार्तिक १२, २०८० २०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?