३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५१

छहरे–टोखा सुरुङमार्ग बनाउन चीन तयार छ : अर्थमन्त्री महत

कृष्ण थापा

नुवाकोट — अर्थमन्त्री एवं नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले छहरे–टोखा सुरुङ निर्माणलाई प्राथमिकता दिइएको बताएका छन् । चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री पुष्पकमल दाहालले चीन सरकारसँग सुरुङ मार्गको प्रस्ताव अर्थमन्त्रालयले राखेको पनि अर्थमन्त्री महतले बताए ।

छहरे–टोखा सुरुङमार्ग बनाउन चीन तयार छ : अर्थमन्त्री महत

शनिबार विदुरमा नेपाली कांग्रेस नुवाकोटद्वारा आयोजित तिज विशेष कार्यक्रममा अर्थमन्त्री महतले यस्तो बताएका हुन् । मन्त्री महतले सुरुङ मार्गको विषयले लामो समय चर्चा पाएको भन्दै थोरै बजेटले निर्माण सम्पन्न नहुने बताए ।

‘एक अर्बको बजेट राखें । यद्यपि यो ४०/५० अर्ब लाग्ने आयोजना हो । हाम्रो अहिलेको प्रयासले पुग्दैन । त्यसो हुनाले प्रधानमन्त्री चीन भ्रमणमा जाँदै हुनुहुन्छ । चीन सरकारसँग के-के सहयोग लिने भन्ने कुरा गर्दा सुरुङ मार्ग निर्माण चाहिँ चीन सरकारलाई सहयोग प्रस्ताव राखेका छौं । त्यो भयो भने यसले पूर्णता पाउँछ,’ अर्थमन्त्री महतले भने ।

यस्तै उनले सुरुङ निर्माणका लागि केही धैर्य गर्न जिल्लावासीलाई आग्रह गरेका थिए । सुरुङ निर्माण गर्न डीपीआर बनाउन केही समय लाग्ने पनि उनको भनाइ थियो । ‘सुरुङ मार्ग धेरै जटिल विषय हो । त्यसमा यथेष्ठ ध्यान दिनुपर्ने हुन्छ । त्यो प्रारम्भिक अध्ययन सकेर वातावरणीय अध्ययन आज/भोलि नै पूरा हुँदैछ । त्यसमा सम्बन्धित निकायलाई लगातार भनिराखेको छु,’ मन्त्री महतले भने ।

वातावरणीय प्रतिवेदन दिएपछि पूर्ण डीपीआर गर्न पनि चीन सरकार गर्न तयार रहेको उनले बताए । 'हामी गर्छौं । यसलाई अगाडि बढाउँछौं भन्ने कुरा चिनियाँ पक्षबाट आएको छ । केही समय धैर्य गर्नुस् । यो आयोजना अवश्य अगाडि बढ्छ,’ अथमन्त्री महतले भने ।

सुरुङमार्ग बनेपछि काठमाडौं–नुवाकोटको दूरी छोटिएर नुवाकोटको कायपलट हुने पनि उनले आश्वासन दिएका थिए । त्रिशुली–बालाजु सडक लामो समयसम्म नबन्दा त्यहाँका जनताले दु:ख पाएको भन्दै मन्त्री महतले ठेक्कामा समस्या आएको र अब चाँडै कार्यान्वयन हुने बताएका थिए ।

यस्तै गंगटे–समुन्द्रटार–गोल्फुभन्ज्याङ सडकलाई यथेष्ट बजेट राखिएको पनि उनले जानकारी दिए । तर निर्वाचन क्षेत्र १ मा मात्रै बजेट केन्द्रित गरेको आरोपको उनले खण्डन गरेका थिए ।

प्रकाशित : भाद्र २३, २०८० २०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्तरोन्नति गर्न थालिएका ठूला राजमार्गको काम समयमा नसकिँदा यात्रुहरूले सास्ती खेपिरहेकाछन् । काम समयमा नसकिनुमा को बढी दोषी छ ?