कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रोयल इन्फिल्डको एसेम्बल प्लान्ट वीरगञ्जमा, मोटरसाइकलकाे मूल्य १ लाख ४० हजारले घट्यो

वार्षिक २० हजार मोटरसाइकल उत्पादन हुने

काठमाडौँ — रोयल इन्फिल्डले नेपालमा नै मोटरसाइकल पूर्ण एसेम्बल गर्न सकिने गरी सीकेडी युनिट सञ्चालनमा ल्याएकाे छ । नेपाली व्यापारिक घराना त्रिवेणी समूहसँगको सहकार्यमा रोयल इन्फिल्डले वीरगन्जमा एसेम्बली युनिट स्थापना गरेको हो । यस प्लान्टबाट वार्षिक २० हजार मोटरसाइकल उत्पादन गर्न सकिने कम्पनीले जनाएको छ ।

रोयल इन्फिल्डको एसेम्बल प्लान्ट वीरगञ्जमा, मोटरसाइकलकाे मूल्य १ लाख ४० हजारले घट्यो

नेपालमा एसेम्बल प्लान्ट स्थापना भएसँगै मोटरसाइकलको नयाँ मूल्य सार्वजनिक भएकाे छ । कम्पनीले यसअघि करिब ६ लाख ४० हजार रुपैयाँमा बिक्री गरिरहेको क्लासिक ३५० मोटरसाइकलको मूल्य ४ लाख ९९ हजारमा झारेको छ । प्रतिवर्ष २० हजारभन्दा बढी मोटरसाइकल तयार पार्न सक्ने क्षमतासहित वीरगञ्जमा एक लाख वर्गफिटमा फैलिएको आधुनिक प्रविधियुक्त एसेम्बली युनिट तयार भएसँगै नेपालको बढ्दो माग पूरा गर्न सहज हुने कम्पनीको भनाइ छ ।

यस युनिटबाट विशेषगरी नेपाली बजारका लागि क्लासिक ३५० र स्क्र्याम ४११ को उत्पादन हुनेछ । यी बाइक शुक्रबार सार्वजनिक पनि गरिएका थिए । प्लान्टमा हाल मध्यम आकारको (२५० सीसी–७५० सीसी) का मोटरसाइकल एसेम्बल हुने गरेको कम्पनीले जनाएको छ । नेपालमा स्थापना भएको रोयलको यो पाँचौ प्लान्ट हो । भारतको तामिलनाडुमा रोयल इन्फिल्डको प्रमुख उत्पादन केन्द्र रहेको छ । ब्राजिल, थाइल्यान्ड, कोलम्बिया र अर्जेन्टिनामा कम्पनीका सीकेडी एसेम्बली युनिट सञ्चालनमा छन् ।

पछिल्लो समय विश्वव्यापी रूपमै मध्यम आकारको मोटरसाइकलको विकास र बिस्तारमा रोयल इन्फिल्डले पहल गर्दै आएको छ । अन्तर्राष्ट्रिय स्तरमा कम्पनीले सफलता समेत प्राप्त गर्दे आएको रोयल इन्फिल्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) बी गोविन्दराजनले बताए । ‘विश्वव्यापी बजारसँग नजिक हुने हाम्रो रणनीतिले वास्तवमै राम्रो परिणाम दिएको छ,’ उनले भने, ‘हामीले एसिया प्यासिफिक र दक्षिण अमेरिकामा चारवटा सीकेडी युनिटहरू सफलतापूर्वक स्थापना गरेका छौं । अन्तर्राष्ट्रिय बजार बिस्तारको योजनाअन्तर्गत नेपालमा पनि व्यापार बिस्तारको ठूलो सम्भावना देखेरै नयाँ सीकेडी युनिट स्थापना गरिएको हो ।’

रोयल इन्फिल्डमा सुविधाजनक, भरपर्दो र उच्च टर्क भएकाले यो मोटरसाइल नेपालको हावापानी सुहाउँदो रहेको कम्पनीले जनाएको छ । त्रिवेणी समूहसँगको साझेदारीमा वीरगञ्जमा सीकेडी युनिट सञ्चालन हुनु भनेको यो क्षेत्रमा बढ्दो सम्भावना तथा मोटरसाइकल चढ्ने समुदायप्रति आफूहरूको प्रतिविद्धताको प्रमाण रहेको रोयल इन्फिल्डका (प्रमुख व्यापार अधिकृत) सीसीओ यादवविन्द्र सिंह गुलेरियाले बताए । नेपालमा प्लान्ट स्थापना गर्नु मोटरसाइकल बजारका लागि एउटा महत्त्वपूर्ण क्षण रहेको उनको दाबी थियो । ‘रोयल इन्फिल्डले उत्पादन गर्ने गरेको मोटरसाइकल नेपालको स्थानीय भू–बनोटको लागि उपयुक्त छ,' उनले भने, 'हाम्रा दुई सबैभन्दा सुन्दर देखिने मोटरसाइकलहरू– टाइमलेस क्लासिक ३५० नयाँ र आकर्षक अवतारमा र एडीभी क्रसओभर स्क्र्याम ४११ लन्च गर्न पाउँदा उत्साहित छौं ।’ स्क्र्याम ४११ मा नेपाली भूगोल सुहाउँदो बनाउन कम्पनीले रिटेल नेटवर्कलाई १८ बाट बढाउँदै आगामी वर्षमा ३५ पुर्‍याउने लक्ष्य राखेको उनले बताए ।

मूल्य घटाउँदै ‘अल न्यु क्लासिक ३५०’ र ‘द स्क्र्याम ४११’ सार्वजनिक
वीरगञ्जको एसेम्बल प्लान्टमा तयार भएका दुई मोटरसाइकल सार्वजनिक गरिएको छ । कम्पनीले शुक्रबार पत्रकार सम्मेलनमा नयाँ भर्सनको ‘द क्लासिक ३५०’ र ‘द स्क्र्याम ४११’ सार्वजनिक गरेको थियो । वीरगञ्जमा एसेम्बल प्लान्ट स्थापना गरिएपछि द क्लासिक ३५० को मूल्य ४ लाख ९९ हजार कायम गरिएको छ । यसअघि त्यसको मूल्य ६ लाख ४० हजार रुपैयाँ थियो । क्लासिक ३५० सिंगल च्यानल एबीएस रहेको र ६ वटा रङमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

‘द स्क्र्याम ४११’ नेपालमा पहिलोपटक सार्वजनिक गरेको हो । यो रोयल इन्फिल्डको पहिलो शहरी एड्भेन्चर क्रसओभर मोटरसाइकलसमेत हो । यसलाई रोयल इन्फिल्डको एलएस–१४० इन्जिन प्लाटफर्म र ह्यारिस पर्मफेन्स चेसिसमा निर्माण गरिएको कम्पनीको दाबी छ । ६ लाख ६० हजार रुपैयाँ मूल्य निर्धारण गरिएको यो मोटरसाइकल विभिन्न सात रङमा उपलब्ध हुनेछन् । क्लासिक ३५० र स्क्र्याम ४११ दुवै शुक्रबारबाटै नेपालमा टेस्ट राइड र बुकिङ खुला गरेको कम्पनीले जनाएको छ ।

प्रकाशित : जेष्ठ २०, २०८० १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?