६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात

रासस

काठमाडौँ — चालु आर्थिक वर्षको नौ महिनामा विद्युतीय सवारी साधानको आयात ६६ दशमलव ३९ प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा २ हजार ४ सय ५१ वटा विद्युतीय सवारी साधान आयात भएको छ । गत आवको सोही अवधिमा १ हजार ४ सय ७३ वटा विद्युतीय सवारी आयात भएका थिए । 

६६ प्रतिशतले बढ्यो विद्युतीय सवारी आयात

विभागको तथ्यांक अनुसार चैतमा मात्रै दुई सय ५३ वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । गत आवको सोही अवधिमा एक सय १६ वटा मात्र विद्युतीय सवारी साधान आयात भएको थियो । विभागका अनुसार समीक्षा अवधिमा सबैभन्दा धेरै भारतबाट आयात भएका छन् । उक्त अवधिमा भारतबाट एक सय किलोवाट क्षमताका एक हजार सात सय ५५ वटा विद्युतीय सवारी आयात भएका छन् ।

भारतपछि सबैभन्दा धेरै विद्युतीय गाडीहरु चीनबाट नेपाल भित्रिएका छन् । चीनबाट एक सय किलोवाट क्षमताका ३ सय ८१, दक्षिण कोरियाबाट एक सय किलोवाट क्षमताका २ सय ४० र इन्डोनोसियाबाट तीन वटा विद्युतीय सवारी साधान आयात भएका छन् । यस्तै, दक्षिण कोरियाबाट एक सयदेखि दुई सय किलोवाट क्षमताका २० वटा, चीनबाट ४३, युकेबाट दुई वटा विद्युतीय सवारी नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चीनबाट दुई सयदेखि तीन सय किलोवाट क्षमताका पाँच र बेलायतबाट दुई वटा विद्युतीय गाडी नेपाल भित्रिएका हुन् ।

समीक्षा अवधिमा भारतबाट मात्रै ४ अर्ब ७१ करोड ९८ लाख बराबरको विद्युतीय सवारी आयात भएका छन् । पछिल्लो समय भारतबाट टाटाको विद्युतीय गाडी नेक्सन र टिगोर ईभी र महिन्द्राका गाडीहरु आयात भएका छन् । यस्तै, चीनबाट समा नेटा भी, बीवाइडी, एमजी र टेस्लाका गाडीहरु आयात हुने गरेको छ ।

नाै महिनामा ७ अर्बका गाडी भित्रिए

चालु आर्थिक वर्षको नौ महिनामा करिब ७अर्ब बराबरका विद्युतीय सवारी साधान नेपाल भित्रिएका छन् । भन्सार विभागका अनुसार चैत मसान्तसम्म २ हजार ४५१ वटा विद्युतीय सवारी आयातमा ६ अर्ब ८५ करोड ७९ लाख बाहिरिएको छ । विद्युतीय सवारी आयातबाट सरकारले १ अर्ब ९३ करोड १३ लाख ५९ लाख राजश्व संकलन गरेको छ । गत आवको सोही अवधिमा ४ अर्ब २९ करोड ६६ लाख ३१ हजार बराबरको विद्युतीय गाडी आयात भएको थियो । उक्त आयातबाट सरकारले १ अर्ब १६ करोड ५५ लाख २० हजार राजश्व संकलन गरेको थियो ।

प्रकाशित : वैशाख ८, २०८० १३:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?