कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

स्याटकम सेवामा स्मार्टफोनहरूको बढ्दो प्रतिस्पर्धा

कान्तिपुर संवाददाता

काठमाडौँ — हाल स्पेनको बार्सिलोनामा जारी मोबाइल वर्ल्ड कंग्रेसमा साओमी, ओप्पो, भिभो, मोटोरोला, नथिङ र अनर फोनका निर्माताले आफ्ना डिभाइसमा स्याटलाइट सञ्चारसम्बन्धी सुविधा थप्न लागेको बारे घोषणा गरेका छन् ।

स्याटकम सेवामा स्मार्टफोनहरूको बढ्दो प्रतिस्पर्धा

उक्त अवसरमा स्मार्टफोनहरूमा प्रयोग हुने सेमिकन्डक्टर चिप उत्पादन गर्ने अमेरिकी कम्पनी क्वाल्कमले स्याटलाइट कम्युनिकेसन (स्याटकम) का लागि एन्ड्रोइड फोनहरूले स्याटलाइट नेटवर्क सेवा प्रदायकसँग छलफल थालिएको जानकारी गराइएको थियो ।

गत महिना मात्रै क्वाल्कमले स्याटलाइट सेवा प्रदायक इरिडियम कम्युनिकेसन्ससँग साझेदारी गरी यस वर्षको अन्त्यसम्ममा महँगा एन्ड्रोइड फोनहरूमा स्याटलाइट कनेक्टिभिटी जोड्ने घोषणा गरिसकेको छ । आफ्नो स्न्यापड्रागन स्याटलाइट प्रविधि उद्घाटन गर्दै यसले कुनै पनि नेटवर्क उपलब्ध नभएको आपत्कालीन अवस्था वा अनकन्टार ठाउँमा एन्ड्रोइड फोनका प्रयोगकर्तालाई सन्देश पठाउने सुविधा दिने क्वाल्कमले जनाएको थियो । कम्पनीका अनुसार आगामी मोडलका एन्ड्रोइड मोबाइल फोनहरूमा स्न्यापड्रागन स्याटलाइट सेवा समावेश हुनेछन् ।

गत सेप्टेम्बरमा आइफोन १४ सार्वजनिक गर्ने क्रममा एप्पल कम्पनीका प्रमुख टिम कुकले यसमा स्याटलाइट कनेक्टिभिटी रहेको विषयलाई निकै प्राथमिकतासाथ उल्लेख गरेका थिए । आइफोन १४ मा इमर्जेन्सी एसओएस भाया स्याटलाइट सुविधा समावेश हुनेछ । यसले सेलुलर र वाइफाई दुवै नेटवर्क नचलेका बेला सञ्चारको सुविधा दिनेछ । प्रयोगकर्ताले आफ्नो मोबाइल फोनलाई आकाशतर्फ फर्काएर भूउपग्रहमार्फत उद्धारकर्ता वा आफन्तलाई छोटो म्यासेज पठाउन सक्नेछन् । इमर्जेन्सी एसओएस भाया स्याटलाइट फिचर एक्टिभेट गरेपछि उद्धारकर्ताकहाँ नोटिफिकेसनसमेत जाने सुविधा रहनेछ । आइफोनको इमर्जेन्सी एसओएस सुविधाले थुप्रैको ज्यान बचाउन सकेको बारे बेलाबखत समाचार आउने गरेका छन् । गएको जनवरीमा क्यानडाको अल्बेर्टाको यात्राबाट फर्किरहेका दुई महिला राजमार्ग बन्दका कारण वैकल्पिक बाटो रोजी होम्स फरेस्ट सर्भिस रोड हुँदै फर्किरहेका थिए । करिब २० किमि पर पुग्दा बाटो सकिएपछि उनीहरू अलमल्ल परी फर्किन खोज्दा हिउँमा हराएका थिए । दुवैको मोबाइलमा कुनै नेटवर्क उपलब्ध थिएन । दुईमध्ये एक महिलाले आफ्नो आइफोन १४ मा रहेको इमर्जेन्सी एसओएस भाया स्याटलाइट सेवा एक्टिभेट गरेपछि सर्च एन्ड रेस्क्यु टिमले उनीहरूको खोजी थालेको थियो । जीपीएस ठेगानामार्फत उनीहरूसम्म पुगेर दुवै महिलाको सफल उद्धार गरिएको थियो ।

स्याटलाइट टेलिकक्युनिकेसनको सेवा दिँदै आएको ग्लोबलस्टार नेटवर्कसँगको सहकार्यमा एप्पलले उक्त भूउपग्रहको नेटवर्कमार्फत आफ्ना प्रयोगकर्तालाई सन्देश पठाउने सुविधा दिएको हो । एप्पलले सुरुमा संयुक्त राज्य अमेरिका र क्यानडामा मात्रै यो सुविधा ल्याए पनि हाल फ्रान्स, जर्मनी, आयरल्यान्ड र बेलायतमा इमर्जेन्सी एसओएस भाया स्याटलाइट फिचर उपलब्ध गराइसकेको छ । यसअघि स्पेस एक्स र टी मोबाइलले पनि मोबाइल फोनमा स्याटलाइट कनेक्टिभिटीको सुविधा दिनेबारे जानकारी दिएका थिए ।

पछिल्लो समय सबैजसो स्मार्टफोन निर्माताले आफ्ना डिभाइसमा स्याटकम सेवा समावेश गर्नेबारे एकपछि अर्को घोषणा गरिरहेका छन् । मोबाइल प्रविधिको पछिल्लो र नयाँ आविष्कार मानिएको स्याटकम सेवाबारे ६ महिनायता मात्रै विभिन्न स्मार्टफोन निर्माता, चिपसेट प्रदायक र वायरलेस क्यारियरहरूले फोनलाई स्याटलाइटसँग जोड्नेबारे नयाँ–नयाँ घोषणा गरिरहेका छन् । कसैले जियोस्टेसनरी अर्बिट (जीईओ) स्याटलाइट प्रयोग गरी स्याटकम सेवा दिने बताइरहेका छन् त कसैले लोअर्थ अर्बिट (एलईओ) स्याटलाइटमार्फत मोबाइल फोनलाई भूउपग्रहसँग जोड्ने भनिरहेका छन् ।

(एजेन्सीको सहयोगमा)

प्रकाशित : फाल्गुन १९, २०७९ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?