कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

आकाशमुनि फर्निचर मेला

घर–घरमा प्लास्टिकका सामानले प्रवेश पाउन सुरू गर्दा काठका फर्निचरको महत्त्व झनै बढेको छ
शिव पुरी

रौतहट — देबाहीगोनाही नगरपालिका–४ का शंकरदेव साहले छोरी सञ्जुको बिहेका लागि फर्निचर मेलाबाट पलङ, कुर्सी, डाइनिङ र ड्रेसिङ टेबल किने । बजारमा यिनै सामान खरिद गर्दा उनलाई २ लाख रुपैयाँभन्दा बढी पर्थ्यो । मेलाबाट भने उनले १ लाख ६० हजारमै किने ।

आकाशमुनि फर्निचर मेला

अघिल्लो वर्ष घरका लागि उनले मेलाबाट ६० हजारमा राम्रो डिजाइनको पलङ किनेका थिए । मेलामा सस्तो र छानीछानी सामान पाइने भएकाले उनले यहीँबाट किनेका हुन् । रौतहटको गरुडा नगरपालिका–२ स्थित जयनगरमा लागेको फर्निचर मेलामा काठका आकर्षक फर्निचर पाइने हुनाले यतै आएको साहले सुनाए । ‘छोरीको विवाहका लागि मेलाबाटै फर्निचरका सामान किनें,’ उनले भने, ‘बाहिरभन्दा सस्तो र छानेर किन्न पाइने हुनाले मेलामै आएँ ।’ उनी मात्र होइन, मेलामा राखिएका सामान छानेर किन्न पाइने हुनाले धेरैजसो यहीँ आउँछन् ।

पहिला गाउँघरमै काठ किनेर मानिसले पलङ, दराज, कुर्सीलगायत सामान बनाउँथे । हिजोआज काठ र भनेजस्ता मिस्त्री पनि पाइँदैनन् । ‘अब बाहिर किन्नुको विकल्प रहेन,’ साहले थपे । साहजस्तै धेरैजसो गाउँका मानिस मेलामा फर्निचरका सामान किन्न आउँछन् । पूर्वपश्चिम राजमार्गबाट झन्डै २१ किमि दक्षिण गएपछि शिवनगर बजार आउँछ । धार्मिक पर्यटकीय नगरीका रूपमा चिनिएको शिवनगरको आडैमा अहिले ठूलो मेला लागेको छ । मेला रमाइलो र मनोरञ्जनले भरिपूर्ण भने होइन । काठले बनाइएका विभिन्न प्रकारका सामान सजाएर राखिएको ‘फर्निचर मेला’ हो ।

मधेसकै सबैभन्दा ठूलो र आकर्षक मेला श्रीपञ्चमी (माघ १२) बाट सुरु भएको हो । यो एक महिनासम्म लाग्नेछ । मेलामा जिल्लाभरिका फर्निचर उद्योगमा बनाइएका सामान बिक्रीका लागि राखिएका छन् । फर्निचरका सामान हेर्न र खरिद गर्न सर्वसाधारणको भीड लागेको छ । श्रीपञ्चमीको अवसर पारेर सुरु भएको फर्निचर मेलामा भारतबाट समेत मानिस सामान हेर्न र किन्न आउँछन् । बजारमा प्लास्टिकका विभिन्न सामग्रीको माग बढे पनि काठको प्रयोग गर्नेहरू घटेका छैनन् भन्ने मेलाको भीडले देखाएको छ ।

डेढ साताअघिदेखि व्यापारी आफ्नो घर र उद्योगमा बनाएका सामान राखेर बसेका छन् । यहाँ बर्सेनि फर्निचर मेला लाग्छ । मेलामा विभिन्न जातका काठबाट बनाइएका दराज, कुर्सी, पलङ, टेबल, झ्याल, ढोका तथा फलामका कृषि औजार राखिएको छ । मेलामा सर्लाही, बारा र रौतहटका फर्निचर व्यवसायी आउँछन् । मुख्य गरी मेलामा काठबाट निर्मित फर्निचरको बिक्री हुन्छ । गाउँघरको काठ, प्लाइउडले बनेका धेरैजसो फर्निचर बजारको तुलनामा निकै सस्तोमा पाइने व्यवसायीको दाबी छ ।

केही समयदेखि चलेको आर्थिक मन्दीका कारण अघिल्लो मेलाको तुलनामा खरिद, बिक्री कम हुँदै गएको भन्दै निराश भएर बसेका व्यवसायी पनि मेलामा भेटिन्छन् । बैंकले ऋण दिन बन्द गरेको र गाउँघरमा सापट, पैसासमेत पाउन छाडेकाले मेलामा किनबेच घटेको विश्रामपुर गाउँका फर्निचर व्यवसायी बद्री ठाकुरले बताए । ‘मेलामा सामान राखेको डेढ साताभन्दा बढी भइसक्यो । तर सोचेजस्तो व्यापार भएको छैन,’ उनले भने, ‘आर्थिक मन्दीका कारण यस पटक मेलाको रौनक अलि घटेको छ ।’

पछिल्लो समय काठ सहजै पाइन छाडेको फर्निचर व्यवसायी बताउँछन् । साल, कुकाठलगायतका फर्निचरलाई चाहिने काठ वनले दिन छाडेपछि समस्यामा परेका हुन् । एक दशकअघिसम्म सालको पलङ बनाउँथे । पछि सिसौका बनाउन थाले । अहिले प्लाई र टिकका बनाउन थालेका छन् । सालको मूल्य अहिले प्रतिक्युफिट ४ हजारभन्दा बढी पर्छ । मूल्य बढे पनि सहजै काठ पाउन नसक्ने व्यवसायी ठाकुरले सुनाए । पाँच वर्षअघिसम्म १०/१५ हजारको लागतमा बन्ने पलङ अहिले ४० हजारसम्म खर्च लाग्ने गरेको उनको भनाइ छ ।

यस्ता सामग्री बनाउने कालिगड (मिस्त्री) को अभाव भने देखिन थालेको गरुडा नगरपालिका–४ का पुराना फर्निचर व्यवसायी जयदत्त ठाकुरले सुनाए । ‘नेपालमा काठको फर्निचर बनाएर परिवार पाल्न धौधौ पर्‍यो भनेर काठका मिस्त्रीहरू विदेश जान थाले,’ उनले भने, ‘अब सोचेको जस्ता सामान बनाउन समस्या हुँदै गएको छ । भएकाहरू पनि महँगो ज्याला भन्छन् ।’ काठ मिस्त्रीले दैनिक १ हजार लिने गर्छन् । पहिला ३ देखि ५ सयसम्ममा मिस्त्री पाइन्थ्यो । ०५२ सालदेखि काठका फर्निचरको व्यवसाय गर्दै आएका दत्तले मेलामा ठूलो संख्यामा पलङ, दराज, कुर्सी, टेबल, झ्याल, ढोकाका सामान बिक्रीका लागि राखेका छन् । मेलाका फर्निचर जनकपुर, पोखरा, काठमाडौं, वीरगन्ज, सर्लाही र बारासम्म पुग्ने गरेको पाइएको छ ।

छिमेकी भारतको सीमावर्तीका स्थानीयसमेत फर्निचर खरिद गर्न यहाँ आउँछन् । बजारका सोरुममा राखिएका फर्निचरभन्दा मेलामा निकै सस्तो मूल्यमा पाइने ग्राहकको भनाइ छ । मेलामा २ करोडभन्दा बढीको कारोबार हुने व्यवसायीको दाबी छ । फर्निचरका सामान किन्न भित्री गाउँबाट मानिस ट्र्याक्टर र टायर गाडा लिएर आउँछन् । मेलामा रौतहटलगायत बारा, पर्सा र सर्लाहीका लोहार जातिले फर्निचरका सामान बनाएर ल्याएका छन् । मेलामा २ सयभन्दा बढी व्यापारी सहभागी रहेको बताइएको छ ।

जिल्लामा पछिल्लो समय विभिन्न पर्वका बेला मेला लाग्ने गर्छ । मेलामा मनोरञ्जनका सामग्री राखिएका हुन्छन् । तर फर्निचर मेला मधेस प्रदेशकै ठूलो हो । सबैभन्दा बढी भीड र बिक्री हुने भनेको शिवरात्रिमा हो । शिवरात्रिमा बाहिरबाट मानिस शिवनगर मन्दिर दर्शन गर्न आउँछन् । उनीहरू मेला पुगेर फर्निचरका सामान खरिद गर्छन् । अहिले व्यापारीहरू शिवरात्रिकै आस गरेर बसेका छन् । आफू मेलालाई व्यवस्थित गर्नेतिर लागिपरेको गरुडा नगरपालिकाका प्रमुख कन्थमणि जैसवालले जनाए ।

बजारका फलाम पसलमा भन्दा मेलामा खुर्पा, कोदालो, बन्चरो, चक्कु, खुकुरीलगायतका सामान सस्तोमा बिक्री भइरहेको धमौराका व्यापारी रामलखन ठाकुरले बताए । ‘ग्राहकले भनेको जस्तै गरी कृषि औजारका सामान तत्कालै बनाएर दिने गरेका छौं,’ उनले भने, ‘आँखा अगाडि बनाएका फलामे सामान मजबुत र टिकाउयुक्त हुन्छन् । सस्तो पनि हुने हुँदा बिक्री निकै हुन्छ ।’ उनीहरू आफैंले फलाम राखेका छन् । त्यही फलाम गालेर सामान बनाएर दिन्छन् ।

प्रकाशित : फाल्गुन ६, २०७९ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनबारे संसदीय छानबिन समिति गठन गर्ने/नगर्ने विवादले प्रतिनिधि सभा फेरि अवरुद्ध भएको छ । संसद् चलाउन के गर्नुपर्ला ?