बीपी राजमार्गमा व्यवसायीलाई ढुवानी समस्या- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बीपी राजमार्गमा व्यवसायीलाई ढुवानी समस्या

टीकाप्रसाद भट्ट

रामेछाप — ९२ किलोमिटर पक्की सडकमा १० टन सामान बोकेर गुड्ने ट्रकलाई २ दिन समय लाग्छ भन्दा धेरैलाई विश्वास नलाग्ला । तर पूर्वी पहाडी जिल्ला रामेछापमा ५ वर्षदेखि ढुवानीको क्रममा व्यवसायीहरूले यस्तै समस्या भोग्नु परेको छ ।

सिन्धुली प्रशासनले बीपी राजमार्गको खुर्कोट–सिन्धुली खण्डमा राति मात्र मालवाहक ट्रक चल्न दिने नियमका कारण पूर्वपश्चिम राजमार्गको बर्दीबासबाट ९२ किलोमिटर मात्र टाढाको रामेछापको सदरमुकाम मन्थलीसम्म एक गाडी सामान झार्न २ दिन लाग्छ ।

ढुवानीका साधनमा आकार र समय सिण्डिकेट लागेपछि रामेछापमा खाद्यान्न र निर्माण सामग्री महंगिएका छन् । बीपी राजमार्गमा गुड्ने ढुवानीका साधनलाई सिन्धुली प्रशासनले समय र साधनको आकारमा ५ वर्षदेखि सिण्डिकेट लगाउँदै आएको छ ।

बीपी राजमार्गको सिन्धुलीदेखि खुर्कोटसम्म ठूला ढुवानीका साधन (१० चक्के, १२ चक्के) चल्न पाउँदैनन् । साना आकारका साधन मात्र गुड्न दिँदा रामेछापतर्फ तराइबाट आउने खाद्यान्न र निर्माण सामग्रीको ढुवानीमा प्रतिकेजी १ रुपैयाँसम्म महंगो पर्ने गरेको छ । ‘सामानमा महंगो त छँदैछ, हामीले चाहेको बेला राजमार्गमा उनीहरुले तोकेका गाडी गुडाउन समेत पाउँदैनौं,’ रामेछाप उद्योग वाणिज्य महासंघका महासचिव नवराज ढुंगेल भन्छन्, 'यो अव्यवहारिक सिण्डिकेटले रामेछापका व्यवसायी र उपभोक्ता दुवै हैरानीमा छन् ।'

व्यवसायीले विरगञ्ज, विराटनगर र जनकपुर जस्ता ठूला औद्योगिक सहरबाट खाद्यान्न र निर्माण सामग्री ठूलो आकारका (धेरै बोक्ने ) ट्रकमा ल्याउने गर्छन् । ठूला ट्रकलाई सिन्धुलीसम्म मात्र संचालनको अनुमति भएकाले त्यहीँ सामान झार्नुपर्ने बाध्यता व्यवसायीलाई छ । ठूला ट्रकबाट झारेका सामान ६ चक्के साना ट्रकमा हालेर रामेछापतर्फ ल्याउने गरिएको छ । तर यसो गर्दा ढुवानी ज्याला, सिन्धुलीको गोदाम भाडा, लोड-अनलोड गर्दाको ज्यामी खर्च बढ्ने ढुंगेलले बताए ।

रामेछाप उद्योग वाणिज्य संघ र तामाकोसी ढुवानी समिति रामेछापले रामेछापमा खाद्यान्न र निर्माण सामग्रीको ढुवानीमा परेको असरबारे यसअघि पटकपटक संघीय, प्रदेश र स्थानीय तहका सरकारलाई जानकारी गराउँदै सहज आपूर्ति व्यवस्थाका लागि आग्रह गर्दै आए पनि सरकारी निकायले कुनै चासो देखाएको छैन ।

त्यसो त मन्त्री र शीर्ष नेताहरु जिल्लामा आउँदा व्यवसायीले यही समस्यालाई मुद्दा बनाउने गरेका छन् । तर नेताहरू राजधानी फर्किएपछि जिल्लाका व्यवसायीको गुनासो बिर्सिने गरेको बताउँछन् रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशव प्रसाद घिमिरे ।

सरकारले भने बीपी राजमार्ग साँघुरो भएकाले ठूला ढुवानीका साधनमा रोक लगाएको छ । व्यवसायीहरू भने ठूला गाडीभन्दा पनि धेरै सामान बोकेर आउने जलविद्युत आयोजनाका मालवाहक साधनलाई रोक्नु पर्ने तर्क गर्छन् । जलविद्युत आयोजनाका साना गाडी भए पनि भरिभराउ सामान ढुवानी गर्ने भएकाले त्यस्ता गाडीलाई रोक्नु पर्ने उनीहरूको भनाइ छ ।

तामाकोसी ढुवानी समितिका अध्यक्ष नवीन कार्की भन्छन्, 'सडक त्यही हो, ठूला व्यवसायीले नाफा खान बनाएका आयोजनाका ट्रक गुड्ने तर सर्वसाधारणको दालभात बनाउने सामग्री बोक्ने गाडी गुड्न नदिने विभेदकारी नियमको सिकार भइएको छ ।'

ठूला साधन रोके पनि बढीमा १० टन सामान बोकेर आउने ६ चक्के ट्रकसमेत सिन्धुली प्रशासनले चाहेको बेला गुड्न दिँदैन । रामेछापतर्फबाट सिन्धुली र सिन्धुलीबाट रामेछाप तर्फ आउनेजाने ट्रकले दिउँसो राजमार्गमा गुड्न पाउँदैनन् । राति ८ बजेपछि र बिहान ५ बजेअघि नै खुर्कोट–सिन्धुली खण्डमा गुड्नुपर्ने बाध्यकारी नियम लगाइएको गुनासो कार्कीले गरेका छन् ।

प्रकाशित : माघ २४, २०७९ २१:०४
प्रतिक्रिया
पठाउनुहोस्

बागेश्वरी मन्दिरमा महाआरती

रुपा गहतराज

नेपालगन्ज — धार्मिक पर्यटन प्रवर्द्धनका लागि नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा महाआरती आयोजना गरिएको छ । शक्तिपीठका लागि निकै महत्त्वपूर्ण मानिने महाआरती बागेश्वरीमा पहिलो पटक आयोजना गरिएको हो ।

नाट्टा बाँके च्याप्टर नेपालगन्ज र वेष्टर्न ट्राभल मार्ट नेपालको आयोजना एवम् नेपालगन्ज उपमहानगरपालिका र बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको सहकार्यमा महाआरती गरिएको हो । सोमबार महाआरतीमा नेपालगन्जका नगरप्रमुख प्रशान्त विष्ट र उनकी पत्नी रेखा विष्ट प्रमुख कर्ताका रुपमा थिए । सर्वसाधारणको उल्लेख्य उपस्थितिमा गरिएको महाआरती उल्लासपूर्ण देखियो ।

नगरप्रमुख विष्टले बागेश्वरी मन्दिरमा अब प्रत्येक सोमबार महाआरती गर्ने गरी नेपालगन्ज उपमहानगरपालिकाले सहयोग गर्ने बताए । उनले महाआरतीलाई नियमित रुपमा सञ्चालन गर्न आफू प्रतिबद्ध रहेको बताए ।

‘यसलाई मासिक दुई पटक निरन्तरता दिइने छ,’ नगर प्रमुख प्रशान्त विष्टले निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गर्दै भने, ‘सहयोग र समन्वय जुट्दै गयो भने दैनिक हुनसकोस् भन्ने चाहना छ ।’

यस्तै उनले जुंगे महादेवसम्मको पुललाई पुनर्निर्माणका लागि टेण्डर भइसकेको जानकारी दिँदै बागेश्वरी परिसरको छेउमै रहेको गौशाला हनुमानगढी नजिक १ सय ८ फिटको हनुमान मूर्ति बनाउने काम छिट्टै सुरु हुने बताए ।

नाट्टा अध्यक्ष श्रीराम सिग्देलले महाआरतीलाई नियमित गर्न सरोकारवाला सबै पक्षको इमान्दार सहयोग रहने विश्वास व्यक्त गरे । उनले धार्मिक पर्यटन प्रवर्द्धनमा यसले ठूलो सहयोग पुग्ने बताए ।

पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरमा पहिलोपटक नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा माघ १५ गते महाआरती गरिएको थियो । नाट्टा बाँके च्याप्टरको पहल र प्रयासमा बागेश्वरी मन्दिर व्यवस्थापन गुठीले आयोजना गरेको महाआरतीका लागि नेपालगन्ज उपमहानगरपालिकाले आर्थिक सहयोग गरेको छ । बागेश्वरीलाई धार्मिक पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्यका रूपमा लिँदै नाट्टा बाँके च्याप्टरले पर्यटकीय आकर्षणका लागि महाआरतीको परिकल्पना गरेको बताइएको छ ।

प्रकाशित : माघ २४, २०७९ २१:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×