२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

पछिल्लो साता प्रविधि क्षेत्रका प्रमुख ५ गतिविधि

काठमाडौँ — पछिल्लो समय सूचना प्रविधि र सामाजिक सञ्जालको क्षेत्रमा अनेक परिवर्तन देखापरेका छन् । च्याटजीपीटी नामक च्याटबटको सफलता र विभिन्न आर्टिफिसियल इन्टेलिजेन्स प्लाटफर्मको बढ्दो उपस्थितीले अबको प्रतिस्पर्धा एआईको क्षेत्रमा हुने अनुमान गर्न सकिन्छ भने प्रख्यात कम्पनी सामसङले आफ्ना नयाँ स्मार्टफोन यसै साता सार्वजनिक गर्दै छ ।

पछिल्लो साता प्रविधि क्षेत्रका प्रमुख ५ गतिविधि

एक सातायता प्रविधि क्षेत्रमा देखापरेका प्रमुख ५ गतिविधिको स‌ंक्षिप्त विवरण :

१) आईफोन १५ मा हुनेछन् यी फिचर

सन् २०२३ को सेप्टेम्बरमा सार्वजनिक हुने अनुमान गरिएको एप्पल आईफोन १५ र आईफोन १५ प्रोमा कम्तीमा ८ नयाँ फिचरहरू थप्ने तयारी गरिएको छ । एप्पलका विभिन्न डिभाइसबारे जानकारका अनुसार आईफोनका आगामी मोडेलमा ए-१७ चिप, टाइटानियमको फ्रेम, अल्ट्रा-थिन कर्भ्ड बेजेल्स र द्रुत गतिमा चार्ज हुने युएसबी-सी पोर्ट हुनेछन् । साथै यी फोनहरूमा बढाइएको अप्टिकल जुम, थप मेमोरी र अझै बलियो स्टेट बटन हुनेछन् । सबैभन्दा महत्वपूर्ण यी डिभाइसहरूमा एप्पलको पछिल्लो म्याकबुक प्रो र आइप्याड प्रोमा प्रयोग भएको वाइफाइ सिक्सई हुनेछ, जसले अझै द्रुत गतिको इन्टरनेट कनेक्सन सपोर्ट गर्नेछ ।

२) चीनको घट्दो स्मार्टफोन निर्यात

चीनले निर्यात गर्ने स्मार्टफोनको संख्यामा वर्ष २०२२ मा उल्लेख्य (१३ प्रतिशत) गिरावट आएको छ । बजार रिसर्च फर्म आईडीसीका अनुसार यो गएको दशककै सबैभन्दा ठूलो गिरावट हो । चीनको मोबाइल निर्यात सन् २०२१ मा ३२ करोड थियो भने २०२२ मा यो संख्या २८ करोडको आसपास आइपुगेको छ । चीनबाट निर्यात हुने प्रमुख ब्रान्डहरूमा भिभो, अनर, एप्पल र अप्पो छन् जसमध्ये एप्पलको निर्यात उलेख्य घटेको आईडीसीको तथ्यांकले देखाउँछ ।


३) सामसङका नयाँ फोन यसै साता सार्वजनिक हुने

फेब्रुअरी १ तारिख बुधबार सान फ्रान्सिस्कोस्थित माजोनिक अडिटोरियममा आयोजना हुने फेब्रुअरी अनप्याक्ड कार्यक्रममा सामसङले आफ्ना पछिल्ला स्मार्टफोनहरू ग्यालेक्सी एस-२३, ग्यालेक्सी एस-२३ प्लस र ग्यालेक्सी एस-२३ अल्ट्रा सार्वजनिक गर्दै छ । एप्पलको आइफोन १४ सिरिज र गुगलको पिक्सेल ७ सँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने हिसाबले ल्याउन लागिएका यी स्मार्टफोनमा नयाँ जेन-२ प्रोसेसर, सर्कुलर कटआउट आकारको क्यामरा लेन्स र सुधारिएको क्यामरा (एस-२३ अल्ट्रामा २०० मेगापिक्सेल) हुनेछन् ।


४) च्याटजीपीटीजस्ता आफ्नै च्याटबट सार्वजनिक गर्दै चिनियाँ कम्पनी बाइडु

रोयटर्समा प्रकाशित एक रिपोर्टका अनुसार चिनियाँ कम्पनी बाइडुले आगामी मार्चमा च्याटजीपीटीजस्तै च्याटबट बजारमा ल्याउने तयारी गरिरहेको छ । ओपन एआईको लगानीकर्तासमेत रहेको माइक्रोसफ्ट र गुगलबीच आफ्ना सर्च इञ्जिनमा कसले पहिले च्याटबट सुविधा उपलब्ध गराउने भन्ने होड चलेको समाचारहरू बाहिर आएका बेला यो रिपोर्ट सही भएमा चिनियाँ कम्पनीले सबैलाई उछिन्ने देखिएको छ । ओपनएआई निकट भविष्यमै च्याटजीपीटीको सुधारिएको भर्सन च्याटजीपीटी-४ ल्याउने तयारीमा छ । गुगल यथासक्य छिटो गुगल सर्च इञ्जिनमा आफ्नै आर्टिफिसियल इन्टेलिजेन्समा आधारित च्याटबट सुविधा दिने तयारीमा छ । गुगलले यही साता टेक्स्ट म्यासेजको आधारमा संगीत निर्माण गर्न सकिने आर्टिफिसियल इन्टेलिजेन्स टुल 'म्युजिक एलएम' सार्वजनिक गरिसकेको छ । बेइजिङमा अवस्थित बाइडु संसारका प्रमुख इन्टरनेट र आर्टिफिसियल इन्टेलिजेन्स कम्पनीमध्ये एक हो ।


५) इलन मस्कद्वारा ट्विटरका अपडेट सार्वजनिक

मस्कले हालसालै गरेका घोषणामा ट्विटर पोलिसी उल्लंघन गर्ने एकाउन्ट निलम्बन वा प्रतिबन्धको साटो ट्विटको रिच सीमित गरिदिने लगायतका नयाँ उपायहरू हुने उल्लेख गरिएको छ । साथै मस्कले एमएमएका म्याट ब्राउनसँगको ट्विट कन्भरसेसनमा आफ्नो टाइमलाइन कस्तो हुने भन्ने बारेमा प्रयोगकर्तालाई थप स्वतन्त्रता दिने उल्लेख गरेका छन् । ट्विटरले आफ्ना एन्ड्रोइड र आईओेएस एपहरूबाट डाइरेक्ट म्यासेज (डिएम)को बटन हटाएको छ । अमेरिकी धनाढ्य मस्कले खरिद गरेपछि ट्विटरले आफ्नो प्लाटफर्मलाई प्रयोगकर्तामैत्री बनाउन प्रयत्न गरिरहेको छ ।

प्रकाशित : माघ १७, २०७९ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अत्यावश्यक मध्येको एक इन्टरनेट सेवा अवरोध आउने अवस्था निम्तिनुमा को बढी जिम्मेवार छ ?