कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अमेरिकामा बढ्दै टिकटकमाथिको प्रतिबन्ध

काठमाडौँ — संयूक्त राज्य अमेरिकाका नर्थ क्यारोलाइना र विस्कन्स राज्यले सुरक्षा जोखिम देखाउँदै सरकारी उपकरणहरूमा टिकटक एपको प्रयोगमा प्रतिबन्ध लगाएपछि चिनियाँ टेक फर्म बाइटडान्स स्वामित्वको यो चर्चित एप समस्यामा परेको छ । अहिलेसम्म २५ भन्दा बढी अमेरिकी राज्यहरूले सरकारी डिभाइसहरूमा एपको प्रयोगमा कुनै न कुनै किसिमका प्रतिबन्ध लगाइसकेका छन् ।

अमेरिकामा बढ्दै टिकटकमाथिको प्रतिबन्ध

यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले गत वर्षको अन्त्यतिर नै संघीय सरकारका झण्डै ४० लाख कर्मचारीलाई सरकारी स्वामित्वका उपकरणहरूमा अपवाद (सुरक्षा निकाय र अनुसन्धान प्रयोजन) बाहेक टिकटक प्रयोगमा औपचारिक रूपमै प्रतिबन्ध लगाइसकेका छन् । कुल ४ हजार १ सय २६ पृष्‍ठ लामो सरकारी खर्चसम्बन्धी ऐनको एक भागका रूपमा आएको यो प्रतिबन्धपछि अमेरिकाका विभिन्न राज्यहरूले राष्ट्रपतिको कदमलाई पछ्याउन सुरू गरेका छन् ।

जनवरी ९ बाट अमेरिकाको न्युजर्सी र ओहायो राज्यले पनि यो एपलाई सरकारी उपकरणमा प्रयोग हुनबाट प्रतिबन्ध लगाएका छन् । अमेरिकामा झण्डै १० करोड मानिस सक्रिय टिकटक प्रयोगकर्ता रहेको र सोमध्ये ६० प्रतिशत १६-२४ वर्ष उमेरका रहेको प्रतिवेदनको अनुमान छ । न्युजर्सी राज्यका गभर्नर फिल मर्फीले टिकटकमाथि प्रतिबन्धको घोषणा गर्दै आफूले हुवावे, टेन्सेन्ट, जेडटीई लगायत एक दर्जन चिनियाँ सेवा प्रदायकमाथि पनि प्रतिबन्ध लगाएको सुनाएका थिए । ओहायो र टेक्ससले एपमाथिको प्रतिबन्धका लागि चीनले २०१७ मा जारी गरेको 'नेसनल इन्टेलिजेन्स ल'लाई जिम्मेवार बताएका छन् । सो 'ल'ले आफ्नो सीमाभित्र दर्ता भएका यस्ता एपहरूलाई प्रयोगकर्ताहरूको डेटामा पहुँच दिएर गुप्तचर सूचना संकलनमा सघाउनुपर्ने भनेको छ ।

ओहायोका गभर्नर माइक डिवाइनले टिकटकका यस्ता डेटा गोपनीयता तथा साइबर सुरक्षाका विभिन्न शंस्कास्पद क्रियाकलापले राष्ट्रिय तथा स्थानीय सुरक्षामा जोखिम ल्याउनुको साथै प्रयोगकर्तालाई समेत विभिन्न किसिमको खतरामा पर्नसक्ने प्रतिक्रिया दिएका थिए । अमेरिकाका विभिन्न राज्यहरूले वीबो, वीच्याट, अलिबाबा लगायतका विभिन्न चिनियाँ अनलाइन प्लाटफर्महरूमाथि पनि प्रतिबन्ध बढाउँदै लगेका छन् ।

सन् २०१७ को नोभेम्बरमा १ अर्ब डलरमा म्युजिकली खरिद गरेपछि अकासिएको टिकटकको लोकप्रियता अहिले १५० भन्दा बढी देशहरूमा झण्डै १ अर्बभन्दा बढी प्रयोगकर्ताहरूका साथ सन् २०१० यता सबैभन्दा चलेको एपमध्ये पुगेको छ । अमेरिकामा मात्रै यो एप २१ करोडभन्दा बढी पटक डाउनलोड गरिएका तथ्यांकहरू आएका छन् भने पछिल्लो दशकको ट्रेडमार्क बनेको फेसबुकलाई समेत कडा टक्कर दिने प्लाटफर्म बन्दै आएको छ । भारत, अफगानिस्तान, पाकिस्तान, बाङ्लादेश, इन्डोनेसिया लगायत देशहरूले विभिन्न कारण देखाउँदै यो एपमाथि प्रतिबन्धको घोषणा गरिसकेका छन् ।

अमेरिकी एफबीआईका निर्देशक क्रिस्टोफर रेले डिसेम्बरमा आयोजित सार्वजनिक नीतिसम्बन्धी एक छलफल कार्यक्रमको क्रममा टिकटकजस्ता एपहरू जासुसी सम्बन्धी मिसनहरूमा प्रयोग भएको हुनसक्ने चेतावनी दिएका थिए । चीनले टिकटकजस्ता एपमा भएका कन्टेन्टलाई आफू अनुकुल बदल्न र आवश्यक परेमा मिसनहरूलाई प्रभावित गर्न प्रयोग गरेको हुनसक्ने उनको अनुमान थियो । त्यसयता फ्लोरिडा, नेब्रास्का, साउथ डाकोटा, साउथ क्यारोलाइना, मेरील्यान्ड, इन्डियाना, ओक्लाहोमा, टेनेसी, युटाह, अलाबामा, आयोवा, नर्थ डाकोटा, आइदाहो, न्यु हाम्प्सायर, जर्जिया, भर्जिनिया, मोन्टाना, वेस्ट भर्जिनिया, लुइजियाना, पेन्सलभेनिया, कन्सस, अर्कान्सा लगायत राज्यले टिकटकलाई राज्यकाे स्वामित्वका उपकरणमा प्रयोग हुनबाट रोक लगाइसकेका छन् । केही राज्यले त राज्य सरकारका उपकरणमा मात्रै नभएर विभिन्न विश्वविद्यालय र क्याम्पसका इन्टरनेट प्रयोगको क्रममा समेत टिकटक प्रयोग गर्न नमिल्ने बनाइसकेका छन् ।

अमेरिकामा बढ्दो प्रतिबन्धमाथि टिकटकले भने असन्तुष्टि जनाएको छ। 'सरकारी स्वामित्वका उपकरणमा लगाइएको पछिल्लो अमेरिकी प्रतिबन्धबाट हामी निराश छौं,' एउटा ब्लगपोस्टमा टिकटकले भनेको छ, 'राष्ट्रिय सुरक्षा हितमा कुनै बढावा नदिने राजनीतिक कदम हो यो, सरकारलाई राष्ट्रिय सुरक्षाको समीक्षा छिट्टै सकाउन भन्नुको साटो यस्तो कदम चालिएको हो ।'

तीन वर्षसम्म टिकटकले वासिङ्टन डीसीस्थित अमेरिकी अधिकारीहरूलाई कुनै पनि अमेरिकी नागरिकको व्यक्तिगत जानकारी चिनियाँ अधिकारीहरूको पहुँचमा नपुग्ने र कम्युनिष्ट नेतृत्वले यसलाई आफू अनुकुल प्रयोग गर्न नसक्ने आश्वस्त पार्ने प्रयास गरेको थियो । अमेरिकी सरकारको सुरक्षासम्बन्धी चासोहरूको सम्बोधनका लागि टिकटकले नियूक्त गर्ने भनिएको परामर्शदाताको भर्ना प्रकृया पनि अमेरिकामा बढ्दो विरोधपछि गएको साता स्थगित भएको समाचार रोयटर्सले प्रकासित गरेको थियो । जे होस्, तीव्र गतिमा लोकप्रिय बनेको टिकटकको वर्ष २०२३ चुनौतीपूर्ण हुने प्रारम्भिक लक्षणहरू देखिएका छन् ।

प्रकाशित : माघ ४, २०७९ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?