कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

पर्यटन विकासको रणनीति

पछिल्लो समय नेपालमा सडक, विमानस्थललगायतका भौतिक पूर्वाधारमा पनि सन्तोषजनक विकास भएको छ । स्थानीय कला–संस्कृतिले पनि विदेशी पर्यटकलाई मोहित बनाउने काम गरिरहेको छ । त्यसमाथि नेपालीको आतिथ्य सेवा तथा सत्कार विश्वमै उत्कृष्ट र सराहनीय छ ।

नेपालमा पर्यटन व्यवसाय उद्योगका रूपमा सन् १९५० को दशकमा सुरुआत भएको मानिन्छ । नेपालले विदेशी पर्यटकका लागि आवागमनको ढोका खोलेसँगै विदेशी पर्यटकहरूको चहलपहल सुरु भएको हो । सरकारले नेपालका उच्च हिमशृंखला आरोहणका लागि खुला गरेसँगै विदेशी पर्वतारोही सगरमाथासहित आठ हजार मिटर अग्ला हिमाल आरोहण गर्न आउन थालेका हुन् । 

पर्यटन विकासको रणनीति

विदेशी पर्यटक नेपालमा आउन थालेसँगै नेपालको पर्यटन क्षेत्रको जग सुरु भएको हो । त्यसपछिका दशकहरूमा नेपाल पदयात्रासँगै साहसिक तथा प्रकृतिप्रेमी पर्यटनको गन्तव्यका रूपमा चिनिन थाल्यो । काठमाडौंका ऐतिहासिक सम्पदाहरूमा पशुपतिनाथ, स्वयम्भू, वसन्तपुर दरबार स्क्वायर, बौद्ध स्तूपलगायत विश्व सम्पदा सूचीमा सूचीकृत भएका छन् । यी ऐतिहासिक अनुपम कला, सम्पदा र संस्कृति हेर्नका लागि पनि विदेशी पर्यटक नेपाल आउने गरेका छन् ।

तर अस्थिर राजनीति, भूकम्प, कोभिड महामारीलगायतले भने नेपालको पर्यटन उद्योगलाई चुनौती दिँदै आइरहेको छ । विभिन्न अवरोध र जटिलताका बाबजुद पनि नेपालको पर्यटन क्षेत्रले आफ्नै बलबुतामा उठ्ने संघर्ष र प्रयत्न भने गर्दै आइरहेको छ । जसका कारण पर्यटनले मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्रका रूपमा स्थापित हुने अवसर प्रदान गर्दै आइरहेको छ ।

पर्यटनको वर्तमान परिदृश्य

नेपालको पर्यटन क्षेत्रले पछिल्लो एक दशकमा दुई ठूला चुनौती र समस्यासँग जुध्नुपर्‍यो । २०७२ सालको भूकम्प र कोभिड–१९ का कारण पर्यटन क्षेत्रमा ठूलो धक्का पुग्यो ।

तर पछिल्लो समय भने पर्यटन उद्योगले कोभिडबाट उत्पन्न चुनौती पन्छाउँदै सुधार र अनुकूलनको चरणमा प्रवेश गरेको छ । पछिल्लो दुई वर्षमा विदेशी पर्यटकको आवागमनले सुधारको छनक देखिएको प्रस्टै छ ।

देशको अर्थतन्त्रको विकासका लागि पर्यटन उच्च सम्भावनाको क्षेत्र हो । नेपालका प्राकृतिक, सांस्कृतिक, साहसिक, ऐतिहासिक तथा धार्मिक दृष्टिकोणबाट विश्वकै प्रमुख पर्यटकीय गन्तव्य हुन् । यस्ता स्थान र सम्पदाको संरक्षण, प्रवर्द्धन र विविधीकरण गर्दै अर्थतन्त्रको प्रमुख आधारका रूपमा यस क्षेत्रलाई विकास गर्ने नीति नेपालको संविधानले अंगीकार गरेको छ ।

पछिल्लो समय विदेशी पर्यटक मात्रै होइन, स्वदेशी पर्यटकले पनि विभिन्न स्थानको भ्रमण गर्ने परिपाटीमा उल्लेखनीय सुधार देखिएको छ । पछिल्लो समय पर्यटन क्षेत्रमा पनि विविधकरणको सुरुआत भएको छ । दिगो पर्यटन प्रवर्द्धन गर्ने प्रयासको थालनी भएको छ । त्यसैगरी ट्रेकिङ र पर्वतारोहण बाहिरका गतिविधि पनि निकै फस्टाउन थालेका छन् ।

नेपालको पर्यटन क्षेत्रले विदेशी मुद्रा आर्जन गर्ने र राजस्वमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ । सन् २०२३ मा मात्रै नेपालमा १० लाख १४ हजार ८७६ विदेशी पर्यटनले नेपाल भ्रमण गरेका नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाउँछ । जनवरीदेखि जुलाईसम्म हवाई मार्गबाट मात्रै ५ लाख ३४ हजार २०४ जना विदेशी पर्यटन नेपालमा भित्रिएका थिए । यसले पनि नेपालमा विदेशी पर्यटकको आकर्षण बढ्दै गइरहेको देखिन्छ । नेपालको ‘लाइफटाइम एक्सपेरियन्स’ ब्रान्डिङले पनि पर्यटनको आवागमनमा ठूलो अर्थ राख्दै आइरहेको छ ।

नेपाल सरकारले पनि पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि ‘भिजिट नेपाल’ सँग सम्बन्धित विभिन्न कार्यक्रम अघि बढाएको छ । नेपाल सरकारले पछिल्लो समय ‘नेपाल भ्रमण दशक’, ‘विशेष पर्यटन वर्ष’ लगायतका कार्यक्रम गरेर विदेशी पर्यटकलाई आकर्षित गर्ने प्रयास गर्दै आइरहेको छ ।

पर्यटन उद्योगको सम्भावना

नेपालको पर्यटन उद्योगको सम्भावना प्रचुर देखिन्छ । तर, हामीले नेपालको पर्यटन क्षेत्रलाई दिगो विकास हुने गरी अगाडि बढाउनुपर्ने चुनौती पनि कायमै छ । नेपालको समग्र पर्यटकीय आकर्षणका क्षेत्रलाई पनि सकेसम्म विविधीकरण गर्न जरुरी भइसकेको छ ।

अर्कोतर्फ पर्यटन क्षेत्रमा ‘इनोभेटिभ मार्केटिङ’ रणनीति ल्याउन पनि जरुरी भइसकेको छ । नेपालको अनुपम प्राकृतिक सौन्दर्य, ऐतिहासिक कला संस्कृति, सम्पदा, साहसिक खेलहरूले पनि पर्यटन क्षेत्रलाई अर्को सौन्दर्यता भर्ने काम गरेको छ । नेपालको परम्परागत रूपमा रहेका पदयात्रा रुटहरूले पनि विदेशी पर्यटकहरूको ध्यान तान्दै आइराखेका छन् ।

पछिल्लो समय नेपालमा सडक, विमानस्थललगायतका भौतिक पूर्वाधारमा पनि सन्तोषजनक विकास भएको छ । अर्कोतर्फ स्थानीय जनताका विभिन्न कला संस्कृतिले पनि विदेशी पर्यटकलाई थप मोहित बनाउने काम गरिरहेको छ । त्यसमाथि नेपालीको आतिथ्य सेवा तथा सत्कार विश्वमै उत्कृष्ट र सराहनीय छ । अझ, पछिल्लो समय सामाजिक सञ्जालको पहुँच अन्तर्राष्ट्रियस्तरसम्म पुग्दा पनि विदेशी पर्यटकलाई थप आकर्षित गराउन सहज वातावरण बनिरहेको छ ।

नेपालमा प्रदेशस्तरमा पनि पर्यटनको विकासको उच्च सम्भावना छ । सात प्रदेशमध्ये हरेकका आआफ्नै विशिष्ट आकर्षण छन् । त्यसलाई पनि सही ढंगले प्रचारप्रसार गर्न सकेको खण्डमा पर्यटन क्षेत्रले ठूलो लाभ लिन सक्ने देखिन्छ । सातै प्रदेशले विविध प्राकृतिक र सांस्कृतिक सौन्दर्यलाई प्रतिविम्बित गर्दै आइरहेका छन् । यी क्षेत्रमा पर्यटकहरूले फरक अनुभव र मनोरञ्जन मात्र होइन, देशका विभिन्न स्थानमा हुने साहसिक गतिविधिले पनि आकर्षण थपेको छ । पर्यटनलाई प्रदेशस्तरमा पनि विकसित गर्न दिगो पर्यटनका गतिविधि अघि बढाउन आवश्यक देखिन्छ । सरकाले २०२५ लाई विशेष पर्यटन वर्ष घोषणा गर्दै २५ लाख विदेशी पर्यटन भित्र्याउने महत्त्वाकांक्षी योजना अघि सारेको छ । त्यसका साथै, आगामी पाँच वर्षमा ८ लाख ९८ हजार जनालाई रोजगारीको अवसर सिर्जना गर्ने लक्ष्य राखिएको छ ।

हवाई यातायातको अवस्था

पक्कै पनि हवाई यातायातले पर्यटन क्षेत्रलाई चलायमान गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कतैबाट पनि छिपेको छैन । सन् १९५७ मा हवाई उड्डयन विभाग स्थापना गरेको नेपाल १९६० मा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनमा आबद्ध भएको हो । त्यसयता नेपालले ४० भन्दा बढी मुलुकसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरेको छ । नेपालमा हाल ९ वटा आन्तरिक उडान गर्ने कम्पनी छन् भने दुई कम्पनीले अन्तर्राष्ट्रिय उडान गर्छन् । त्यसैगरी १२ वटा हेलिकोप्टर कम्पनी सञ्चालनमा छन् । नेपालमा हाल तीन अन्तर्राष्ट्रिय (त्रिभुवन, गौतम बुद्ध र र पोखरा) विमानस्थल छन् भने आन्तरिक विमानस्थलको संख्या ३४ छ ।

सरकारले आर्थिक वर्ष २०२३/२४ मा विदेश भ्रमणका लागि हवाई यात्रा गर्दा टिकटमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर लगाउने व्यवस्था गरेको छ । नाट्टाले सरकारले अतिरिक्त १३ प्रतिशत कर लगाउने विषयमा पर्यटन क्षेत्रमा नकारात्मक असर पार्ने बताउँदै आइरहेको छ । सरकारले गत जुलाई १७ देखि नै तारे होटलहरूमा दुई प्रतिशत लक्जरी चार्ज लगाउने निर्णय गरेको छ । दुई प्रतिशत लक्जरी चार्जले पनि समग्रमा पर्यटन क्षेत्रमा असर पार्ने होटल एसोसिएसन अफ नेपाल (हान) को दाबी छ ।

उद्योगका रूपमा वर्गीकरण

सरकारले होटल व्यवसायलाई पनि उद्योगकै रूपमा वर्गीकरण गर्न सकेको खण्डमा पर्यटन क्षेत्र अझै फस्टाउने मौका पाउने निश्चित छ । त्यसो गर्दा होटलको वर्गीकरणले पनि होटल व्यवसायीलाई थप प्रोत्साहन मिल्नेमा दुई मत छैन । त्यस्तै, होटलले अन्य उद्योगले पाउने छुट तथा सहुलियत प्राप्त गर्न सक्छन् ।

अर्कोतर्फ होटल तथा आतिथ्यता अत्यावश्यक उद्योगका रूपमा स्थापित हुने मौका पाउँछ । त्यसका साथै, उद्योगका रूपमा पहिचान पाउँदा ऊर्जा आपूर्ति, फोहोर व्यवस्थापन प्रणाली र यातायात सञ्जालजस्ता पूर्वाधारमा सुधार ल्याउन सहज हुने मात्र होइन, समग्र पर्यटन क्षेत्रकै इकोसिस्टममा बदलाव ल्याउन मद्दत पुर्‍याउँछ । समग्रमा, यो वर्गीकरणले नेपालको पर्यटन उद्योगको प्रतिस्पर्धात्मकता र दिगोपनलाई बलियो बनाउँदै होटल व्यवसाय फस्टाउनका लागि अनुकूल वातावरण प्रदान गर्छ ।

होटल, रिसोर्ट, थिमपार्क र केबलकार उद्योगलाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको सूचीमा समावेश गर्न पनि सुझाव दिइएको छ । सञ्चालनमा रहेका बाहेक निर्माणाधीन होटलले विदेशी चेन भित्र्याउने सम्झौता गरिसकेका छन् । सम्झौता गरिसकेका र निर्माणाधीन होटलसहित १८ वटा होटलमा विदेशी ब्रान्ड भित्रिएका छन् । यसमध्ये सञ्चालनमा रहेका, सञ्चालनको तयारीमा रहेका र निर्माणधीन होटल सबैले पर्यटन विभागले तोकिएको मापदण्ड पूरा गरेपछि मात्रै ‘तारा’ वर्गीकरण हुन्छ ।

नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डका होटलको विस्तार गर्न विशेष गरी सेवाको गुणस्तरीयता कायम गर्न मात्रै नभएर प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न पनि जरुरी देखिन्छ । जसमा अन्तर्राष्ट्रिय चेन होटलले उच्च गुणस्तरीय अनुभव भएका विवेकी वा अनुभवी यात्रुका लागि विशिष्ट वा गुणस्तरीय सेवाको अनुभूति दिलाउने काम गर्छन् । जसले पर्यटकको गन्तव्यस्थलका रूपमा विकास गराउनेछ । अन्तर्राष्ट्रियस्तरका ब्रान्ड होटलले हामीलाई पनि विश्वव्यापी रूपमा प्रतिस्पर्धी गर्ने क्षमतामा विकास गर्नेछ ।

अमेरिकाको न्युयोर्क वा लन्डनका स्तरीय होटलले दिने सेवाको मापदण्ड काठमाडौंका होटलले दिनेमा उस्तै हुनेछ । यसले सबै मुलुकको ब्रान्ड सेवामा एकरूपता ल्याउनेछ । नेपालका स्थानीय नवप्रतिभावान क्षमता भएका व्यक्तिहरूले अन्तर्राष्ट्रिय एक्पोजर, व्यावसायिक सुधार र क्षमता वृद्धिको अवसर प्राप्त गर्नेछन् । सरकारले अन्तर्राष्ट्रिय चेन होटल स्थापनामा सहजीकरणसँगै चेन होटलले विदेशमा लाभांश पनि सहजै ढंगले लैजान पाउने व्यवस्था गर्न पनि जरुरत भइसकेको छ ।

नेपालमा विदेशी लगानी भित्र्याउनका लागि बाधक रहेका एक दर्जनभन्दा धेरै ऐन तथा नियमावली संशोधन गर्नु पनि अहिलेको मुख्य आवश्यकता हो । वैशाखको दोस्रो सातादेखि हुने तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा वैदेशिक लगानी आकर्षित गर्न एक दर्जनभन्दा धेरै कानुन संशोधन गरेरै भए पनि लगानीको वातावरण तयार गर्न कुनै कन्जुस्याइँ गर्नु हुँदैन ।

औद्योगिक व्यवसाय ऐन, २०७६, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५, विशेष आर्थिक क्षेत्र ऐन, २०७३, वन ऐन, २०७६ का प्रावधानहरू संशोधन गर्नु अत्यावश्यक छ । त्यसैगरी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९, भूमिसम्बन्धी ऐन, २०२१, जग्गा प्राप्ति ऐन, २०३४, वातावरण संरक्षण ऐन, २०७६, विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३, नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण नियमावली, २०७७ तथा वन नियमावली, २०७९ का कतिपय प्रावधान संशोधन गरेर लगानीमैत्री वातावरण सुनिश्चित गर्न अत्यावश्यक देखिन्छ ।

पर्यटन क्षेत्रका समस्या र कमजोरी

नेपालको पर्यटन उद्योगले समग्रमा धेरै खालका फाइदा प्रदान गर्दै आइरहेको छ । यसका बाबजुद पनि कतिपय कमीकमजोरी र चुनौती छन् । पछिल्ला वर्षहरूमा पर्यटन क्षेत्रले पनि जलवायु परिवर्तन तथा वातावरणीय प्रभावको असर खेप्दै आइरहेको छ ।

एकातर्फ, अत्यधिक पर्यटन गतिविधिले वनजंगल फँडानी, प्रदूषण, प्राकृतिक स्रोतसाधनमाथि अत्यधिक दोहन हुने समस्या पनि कायमै छन् । अर्कोतर्फ, नेपालमा हुने भूराजनीतिक अस्थिरताले पनि पर्यटन क्षेत्रले बेलाबखतमा ठूला खालका समस्या र चुनौतीको सामना गर्दै आइरहेको छ । पर्यटन क्षेत्रबाट हुने लाभ असन्तुलित ढंगले वितरण हुँदा पनि बेलाबखतमा पनि विभिन्न खालका बाधा अड्चन आइरहेका छन् । यी र यस्तै खालका विभिन्न समस्यालाई सम्बोधन गरेर पर्यटन क्षेत्रको दिगो तथा दीर्घकालीन विकासका लागि सबैले हातेमालो गरेर अघि बढ्न जरुरी देखिन्छ । पर्यटनसँग सम्बन्धित हरेक गतिविधिमा स्थानीयको उपस्थिति र सहभागितालाई पनि उत्तिकै प्राथमिकतामा राख्न अत्यावश्क छ । त्यस्तै, अर्थतन्त्रको विविधीकरणका लागि पनि पर्यटनमा निर्भरता कम गर्न जरुरत देखिन्छ ।

अन्त्यमा, ‘नेपाल भ्रमण दशक’ र ‘विशेष पर्यटन वर्ष’ सफल पार्नका लागि सरकारले पर्यटनलाई उद्योगका रूपमा स्थापित गर्न आवश्यक भइसकेको छ । पर्यटनसँग सरोकार राख्ने कानुन तुरुन्तै परिमार्जन तथा संशोधन गर्नतर्फ अग्रसर हुनुपर्ने बेला भएको छ । सरकारले पछिल्लो समय पर्यटनसँग सम्बन्धित शुल्क र करको समीक्षा गरेर अव्यावहारिक खालका प्रावधान सच्याउनुपर्ने हुन्छ । सरकारले सात वटै प्रदेशका नयाँ पर्यटकीय गन्तव्यलाई पहिचान गरी प्रत्येक क्षेत्रको अद्वितीय सम्पदा झल्काउँदै सांस्कृतिक गाउँमा परिणत गर्नेतर्फ अग्रसर हुनुपर्ने बेला भइसकेको छ । पर्यटन प्रहरी र कल सेन्टरलाई पनि मुलुकको सातै प्रदेशमा विस्तार गर्नेमा पनि ढिलासुस्ती गर्नॅ हुँदैन । त्यस्तै, साहसिक यात्रु तथा पर्यटकको सुरक्षामा विशेष ध्यान दिँदै नयाँ हिमाल आरोहणका गतिविधिलाई चलायमान गराउन आवश्यक देखिन्छ ।

– बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा पर्यटन तथा हवाई यातायात समितिका सभापति हुन् ।

प्रकाशित : फाल्गुन ७, २०८० १५:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?