कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५२

जीवितै छ ‘सांग्रिला’ 

१९५० मा फ्रान्सेली आरोहीहरू मौरिस हर्जोग र लुइस लाचेनलले अन्नपूर्ण प्रथम र १९५३ मा न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले सगरमाथा आरोहण गरे । यी दुई आरोहणले पश्चिममा पोखरा र पूर्वमा सगरमाथा पर्यटकको रोजाइमा पर्न थालेका हुन् । 
वसन्त मिश्र

अमेरिकाबाट प्रकाशित हुने साप्ताहिक अखबार ‘न्युज विक’ ले सन् २००४ नोभेम्बरमा ‘द इन्ड अफ सांग्रिला’ शीर्षकमा लेख प्रकाशित गर्‍यो । नेपालमा फैलँदो सशस्त्र माओवादी विद्रोह र दरबार हत्याकाण्डपछि बनेको राजा ज्ञानेन्द्रको शाही सरकारलाई पृष्ठभूमिमा राखेर छापिएको लेखमा नेपालमा ‘सांग्रिलाको अन्त्य’ भएको विश्लेषण गरिएको थियो । 

जीवितै छ ‘सांग्रिला’ 

लेखको नकारात्मक प्रभावले त्यसताका नेपालको प्रकृति र संस्कृतिको दिव्य सुवासमा मन्त्रमुग्ध हुने पर्यटकको बाटोमा ‘अवरोध’ पैदा भयो । विदेशीले नेपाललाई सांग्रिला उपमा दिन्छन् । अर्थात् छेकवाररहित नेपाललाई विदेशीले स्वर्गसमान खुला प्राकृतिक संग्रहालय भन्छन् । यसको अर्थ, नेपाल धुपीको बगैँचाजस्तै जीवनलाई आनन्द दिने, दिव्य सुवासले युक्त धेरै टाढाको काल्पनिक सुन्दर स्थान हो । जसलाई एक शब्दमा भन्नुपर्दा ‘सांग्रिला’ भनिन्छ ।

बमबारी, हत्या, अपहरणजस्ता गतिविधिले आजित नेपालीहरूको अनुहारबाट हराएको खुसीलाई बिम्ब मादै ‘न्युज विक’ ले गरेको त्यो प्रचारपछि नेपाली पर्यटन बजारले संकटकाल, इराक युद्ध, स्वाइनफ्लु, बर्डफ्लु, भूकम्प, नाकाबन्दी, कोरोना, रुस–युक्रेन तथा इजरायल प्यालेस्टाइन युद्ध सामना गर्‍यो ।

२०४६ को परिवर्तनपछि नेपालमा गलैँचा, गार्मेन्टलगायतका उद्योग उदाए । तर, यी समग्रमा एक दशकभन्दा बढी टिक्न सकेनन् । सरकारी नीतिनियम, बन्द हडताललगायत थुप्रै हन्डरका बाबजुद पनि पर्यटन क्षेत्र भने धरमर भएको छैन । यो समयानुकूल आकारमा बढ्न सकेन होला, तर आजसम्म टिकेको छ । ‘यदि २० खर्ब लगानी भएको यो क्षेत्र पनि धर्मराएको भए नेपालको अर्थतन्त्र कहाँ पुग्थ्यो होला ?’ पछिल्लो समय भने आर्थिक मन्दीले सबै क्षेत्रमा डामाडोलको अवस्था छ । यसको छिटा पर्यटन बजारमा पनि परेको छ ।

नेपाल र विश्व पर्यटनको इतिहास आमनेसामने छ । विश्व पर्यटनलाई हेर्दा १२ औं शताब्दीको अन्त्यतिर सिल्क रोड हुँदै एसियाको यात्रा गर्ने इटालीका व्यापारी मार्को पोलो अनि १४ औं शताब्दीका अन्वेषक क्रिस्टोफर कोलम्बसको जुगपछि फरक फरक उद्देश्यले मानिसहरू युरोपमा एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न थाले ।

पोलो र क्रिस्टोफर युगको अन्त्य भएपछि १७ औं शताब्दीमा युरोपका इटाली, फ्रान्स, जर्मनी लगायतका देशमा शिक्षा, तीर्थयात्रा, व्यापार, कला हेर्ने उद्देश्यले पर्यटन फैलिँदै थियो । १८ औं शताब्दीको मध्यतिर बेलायती नागरिक थोमस कुक पर्यटन उद्योगका पर्यायवाची भए । उनले स्थापना गरेको ट्राभल एजेन्सीलाई आधुनिक पर्यटन युगको विकास मानिन्छ । टिकट किनेर यात्रा आयोजना गर्ने टुर प्याकेज बनाउने श्रेय उनैलाई जान्छ । कुकले ‘लिजर टुरिजम’ को थालनी गरे । त्यतिबेला युरोपमा रेल, सडक तथा हवाई पूर्वाधारमा विकास भइसकेको थियो । विस्तारै पर्यटन रोजगार सृजना गर्ने व्यापारका रूपमा संसारमा उदायो ।

नेपालमा पहिलो विदेशी सन् १७९२ मा पसेको देखिन्छ । त्यसबेलाको नेपालबारे १८ औं शताब्दीमा ≈यामिल्टन फ्रान्सिसले लेखेको ‘एन एकान्ट अफ द किङडम अफ नेपाल,’ मा यो प्रसंग उल्लेख छ । १८१६ मा सुगौली सन्धि भयो । त्यसपछि ब्रिटिसहरू नेपाल आउजाउ गर्न थाले । १८५०/०५१ मा जंगबहादुर राणा बेलायत गए । त्यसबेला जंगबहादुरका कारण युरोपका अखबारमा नेपालबारे लेखियो । त्यसैबेला नेपाल विदेशीहरूको नक्सामा परिसकेको थियो । १९११ मा नेपालमा सिकारमा भाग लिन जंगबहादुर राणाको निम्तोमा बेलायती राजा जर्ज पाँचौं आए । त्यसपछि चन्द्रशमशेरको निम्तोमा १९२१ मा बेलायती राजकुमार प्रिन्स अफ वेल्स भारत हुँदै नेपाल आए । यी राजकीय भ्रमणले पश्चिमी मुलुकहरूमा ‘नेपाल भन्ने देश कस्तो होला ?’ भन्ने प्रभाव पारिसकेको थियो ।

१७ औं शताब्दीको मध्यतिर हिमाल आरोहणलाई खेलकुद विधामा राखिसकिएको थियो । त्यसबेला एसिया बाहिरका अग्ला हिमालमा आरोहण खुला भइसकेका थिए । नेपालमा भने आरोहण निषेध थियो । दक्षिण अफ्रिकाको एन्डिस पर्वत शृंखला, युरोपको आल्प्स् पर्वत शृंखलामा अधिकांश पर्वतारोही चढिसकेका थिए । त्यसपछि कहाँ जानेभन्दा पर्वतारोहीका आँखा संसारकै अग्लो शिखर सगरमाथामा पर्न थाले ।

पहिलो विश्वयुद्ध लडेका जर्ज मैलोरी १९२१ मा तिब्बततर्फको उत्तरी मोहोडाबाट सगरमाथा आरोहण गर्न बेलायतबाट भारतको सिक्किम आए । यो सगरमाथाका लागि संसारकै पहिलो आरोहण अभियान थियो । तर, सफल भएन । नेपालमा भने राणाहरूले १९४९ सम्म हिमालमा आरोहणमा रोक लगाएका थिए । १९५० जुन ३ मा फ्रान्सेली आरोहीहरू मौरिस हर्जोग र लुइस लाचेनलले अन्नपूर्ण प्रथम (८०९१ मिटर) आरोहण गरे । त्यसका कारण विश्वभर नेपालको चर्चा भयो । १९५३ मे २९ मा न्युजिल्यान्डका एडमन्ड हिलारी र नेपालका तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक विश्वकै अग्लो शिखर सगरमाथाको चुचुरोमा पाइला राख्न सफल भए ।

यी दुई आरोहणले पश्चिममा पोखरा र पूर्वमा सगरमाथा पर्यटकको रोजाइमा पर्न थालेका हुन् । त्यसबेला आरोहण दल अहिलेजस्तो हेलिकोप्टर चढेर सोझै आधार शिविर जान सक्दैन्थे । जस्तो फ्रान्सेली आरोहण दल अन्नपूर्ण हिमशृंखला चढ्न भारतको लखनउबाट नौतनवा, बुटवल हुँदै त्यहाँबाट दुई सय भरियासहित तानसेनको बाटो चढेर मुस्ताङ पुगेका थिए ।

त्यस्तै, हिलारी र तेन्जिङको सयौंको संख्याको टोली काठमाडौंबाटै भरियालाई सामलतुमल बोकाएर काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, दोलखाको बाटो हुँदै सगरमाथा आधार शिविर पुगेको थियो । त्यसबेला बाटोबाटोमा भेटिने बस्तीमा नेपालीहरूको खानपान, जीवनशैली आर्थिक तथा शैक्षिक अवस्था नाजुक थियो । तर, पनि आफ्ना दुःख व्यक्त नगरी जसरी विदेशीसामु उनीहरूले दिल खोलेर स्वागत गरे, त्यसैबेलादेखि हो पर्यटकहरूले नेपालबाट फर्केपछि नेपालीलाई ‘इमान्दार, सहयोगी, मिजासिला’ उपमा दिएको । जुन आजसम्म नेपालीहरूले गुमाएका छैनन् । त्यत्रो सशस्त्र जनयुद्धमा एक जना पर्यटकको ढोरपाटनमा सिकार खेल्न जाँदा बन्दुक लुटियो । पूर्वमा एक जना पर्यटकलाई केही घण्टा नियन्त्रणमा लिइयो । यी दुईबाहेक विदेशी पर्यटकसँग सशस्त्र द्वन्द्वमा अरू कुनै हताहतका घटना हुन पाएनन् ।

१९४७ मा ब्रिटिस साम्राज्यवादबाट भारत स्वतन्त्र भएपछि नेपाल र भारतको हवाई कनेक्टिभिटीका लागि बाटो खुल्यो । १९५० मा रुसी नागरिक बोरिस लिसानेभिचले कान्तिपथस्थित अहिलेको निर्वाचन आयोग रहेको बहादुर भवनमा ‘रोयल होटल’ स्थापना गरेका थिए । यो पर्यटक तथा पश्चिमाहरूका लागि नेपालको पहिलो लक्जरी होटल थियो । त्यसबेला उनले पानीजहाजबाट भारतको मुम्बई आएका पर्यटकलाई जहाजमा राखेर नेपाल ल्याएका थिए । त्यसताका उनले हिमालयन एभिएसन स्थापना गरे । यो कम्पनीले १९५० फेब्रुअरीमा काठमाडौं गौचरबाट भारतको कोलकत्तासम्म पहिलो अन्तर्राष्ट्रिय उडान गरेको थियो ।

बोरिस यो कम्पनीबाट चार्टर्र्ड उडान गरेर पर्यटक नेपाल ल्याउँथे । त्यही बेला नै नेपालले पहिलो ‘अन–अराइभल’ भिसा जारी गरेको थियो । त्यसअघि भारतबाट इस्ट इन्डिया कम्पनीले नेपाल आउने पर्यटकलाई भिसा दिन्थ्यो । यसरी हेर्दा नेपालले संसारका धेरै देश स्थापना नहुँदै भिसा प्रणाली, चार्टर्ड उडान, टुर प्याकेज, लक्जरी होटल, हिमाल आरोहणको अनुभव लिइसकेको थियो । बोरिसबारे मिसेल पेसेलद्वारा लेखिएको पुस्तक ‘टाइगर फर ब्रेकफास्ट’ मा एउटा रोचक प्रसंग छ । त्यसमा लेखिएअनुसार, १९५५ मा नेपाल घुम्न आएका पर्यटकले जम्मा ८ जना मात्रै प्रहरी देखे रे ।

१९५८ मा शाही नेपाल वायुसेवा निगम (हालको नेपाल वायुसेवा निगम) स्थापना भयो । १९६० मा नेपालले अन्तर्राष्ट्रिय उड्डयन संगठन (आईकाओ) को सदस्यता लियो । १९६७ मा लुफ्थान्साले पहिलो जेट उडान गर्‍यो । दोस्रो वर्ष थाई इन्टरनेसनलले उडान थाल्यो । १९९८ मा नेपालले हवाई विभागलाई स्वायत्त प्राधिकरण स्थापना गर्‍यो । यसको उद्देश्य आधुनिक प्रविधिको प्रयोग गरी अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको उड्डयन एवं हवाई सुरक्षा विकास गर्ने थियो । त्यस्तै, नेपाललाई विश्व बजारमा प्रचारप्रसार गर्ने उद्देश्यले पर्यटन विभागलाई बन्द गरेर निजी क्षेत्रको साझेदारीमा नेपाल पर्यटन बोर्ड स्थापना भयो ।

नेपालमा जब लुफ्थान्सा, थाईले उडान थाले त्यसबेला वार्षिक २४ हजारसम्म पर्यटक नेपाल भम्रणमा आएका थिए । अहिले नेपालले ४१ देशसँग हवाई सम्झौता गरेको छ । ३० वटा अन्तर्राष्ट्रिय उडानमा वायुसेवा कम्पनीले २० वटा मुलुकका ३३ वटा गन्तव्यमा उडान गर्दै आइरहेका छन् । कोभिडअघि नेपालमा सर्वाधिक पर्यटक ११ लाख ७३ हजार आए । २०२३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झन्डै ८७ लाख यात्रु आवागमन भएको छ । जसमा अन्तर्राष्ट्रियतर्फ ४५ लाख र आन्तरिकतर्फ ४१ लाख छन् ।

नेपालमा निजी क्षेत्रले गरेको लगानीअनुसार, वार्षिक कम्तीमा २५ लाख पर्यटक आवागमन हुनुपर्छ । अहिले पर्वतारोहण तथा साहसिक पर्यटनमा नेपालको एकाधिकारजस्तै छ । हामीसँग भएका प्राकृतिक सम्पदा विश्वमा अन्यत्र कतै छैनन् । नेपाली टुर अपरेटरले एकजना विदेशीलाई सगरमाथा आरोहणको प्याकेज बिक्री गर्दा ३५ देखि ४० लाख रुपैयाँसम्ममा गर्छ । तर, यही प्याकेज विदेशीहरूले उनीहरूको देशमा कम्तीमा अढाई करोड रुपैयाँ हाराहारीमा बिक्री गर्छ । विदेशीले हामीलाई ‘तिमीहरूको हिमाल फोहोर भयो’ भनी आलोचना गर्छन् । अनि सबैभन्दा महँगोमा आरोहण प्याकेज उनैले बिक्री गर्छन् । अब हाम्रो सरकारले प्रतिपर्यटक सगरमाथा आरोहणमा उठाउने १४ लाख रुपैयाँ बराबरको सलामी दस्तुर वृद्धि गर्नुपर्छ । योभन्दा केही पर्यटन व्यवसायीलाई नराम्रो लाग्न सक्छ । तर, हिमाल आरोहण मानिसहरूको आधारभूत जीवनयापनको काम/कला होइन । यो त सौखिनहरूले गर्ने खेल हो, रहर हो । यसमा पनि अधिकांश प्रायोजक खोजेर आएका हुन्छन् । विदेशीले ब्रोकरको काम गरेर यही प्याकेज करोडौं रुपैयाँमा बिक्री गर्ने अनि हामीले किन केही लाखमा सन्तुष्ट हुने ? भलै अहिलेकै प्याकेजमा हामीलाई ‘नाफा–मार्जिन’ ठीकै छ । तर, पनि राज्यले हिमालहरू डम्पिङ साइट भएको सुन्नुभन्दा सलामी दस्तुर वृद्धि गर्नुपर्छ । हामी अब संख्यामा होइन गुणस्तरमा जानैपर्छ । यसलाई बहसमा लैजानुपर्छ ।

सरकारले आन्तरिक उडानबाट मूल्य अभिवृद्धि कर हटाउनुपर्छ । सगरमाथा आरोहणपछि १९५६ मा जर्ज लेब्रेकले नेपालको पर्यटनको योजना बनाए । उनले गरेको अध्ययन प्रतिवेदन अहिले पनि सरकार र निजी क्षेत्रसँग सुरक्षित छ । उसैको अध्ययन प्रतिवेदनका आधारमा नेपालले पर्यटन मन्त्रालय, पर्यटन विभाग, पर्यटन बोर्ड स्थापना भएका हुन् । प्रतिवेदन नेपालको पर्यटन वृद्धि गर्न अहिले पनि सान्दर्भिक हुन्छ । नीति निर्माताले यसलाई अध्ययन गर्नुपर्छ ।

नेपाललाई पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खालीले चिनाए । हिमाल आरोहणमा शेर्पाले चिनाए । नेपालीहरू सहयोगी छन् । यहाँको मौसम बाह्रै महिनाअनुकूल छ । बुद्धको जन्मथलो भएकाले नेपाललाई एसियाको उज्यालो भनिन्छ । गौतम बुद्धको जन्मथलो भएकाले लुम्बिनी भारतको बोधगया, सारनाथ, कुशीनगरको दाँजोमा बढी बौद्धमार्गीहरूको भीड लाग्नुपर्ने सम्पदा हो । तर, यसको प्रसार नै हुन सकेन । लुम्बिनीलाई नेपालले ‘मेका–बुद्धिजम’ का रूपमा विकास र विस्तार गर्नुपर्छ । नेपाल १७–१८ शताब्दीमै विदेशीहरूको नजरमा परेको मुलुक भएकाले हामीलाई प्रचार गर्न अप्ठ्यारो छैन ।

अहिले लगानीका हिसाबले होमस्टे, र्‍याफ्टिङ, केबलकार, बन्जी, वायुसेवादेखि पाँचतारे होटलसम्म २० खर्ब लगानी भइसकेको छ । अहिले २४ वटा पाँचतारे होटल सञ्चालनमा छन् । ३५ अर्ब लगानीमा १२ वटा पाँचतारे निर्माणाधीन छन् । २०२५ सम्म नेपालमा ३५ देखि ४० वटा पाँचतारे होटल हुँदै छन् । यिनमा मात्रै ७५ अर्ब लगानी पुग्दै छ । पर्यटन उद्योगमा बैंकको ऋण लगानी मात्रै १२ खर्ब ८३ अर्ब छ । यदि यो क्षेत्र धर्मरायो भने देशको आर्थिक अवस्था के होला ?

विश्व पर्यटन संगठन (यूएनडब्लूटीओ) का अनुसार, विकसित मुलुकमा जहाँ आधुनिक यन्त्र उपकरण हुन्छ, त्यहाँ एक पर्यटकले १२ जनालाई रोजगार सिर्जना गर्छ भने नेपालजस्तो आधुनिक यन्त्र उपकरण धेरै नभएको मानिसमा भर पर्नुपर्ने देशमा एक पर्यटकले २७ जनासम्मलाई रोजगार दिन्छ । यदि हामीले गुणस्तर पर्यटक वार्षिक १० ल्यायौं भने १२ जनाकै दरले एक करोडलाई प्रत्यक्ष/अप्रत्यक्ष रोजगारीमा जोड्छ । पर्यटन उद्योग अझ मानिसलाई सुरक्षित बनाउने ‘स्मार्ट–जब’ हो । २०४६ सालताका नेपालमा ट्राभल तथा टुरको जागिर ज्यादै आकर्षित मानिन्थ्यो । ंअहिले थुप्रै होटल तथा व्यवस्थापनका कलेज देशभर खुलेका छन् । यी कलेजबाट निस्केका युवा जनशक्तिमा प्रविधि तथा सीपको राम्रो ज्ञान छ । तर उनीहरू नेपाल छाडेर सपनाको देशमा उडिरहेका छन् । नेपालको प्रणालीको अल्झनमा पर्न चाहँदैनन् ।

नेपालको पर्यटनमा हवाई यातायात, सम्पदा, पर्यटन बोर्ड, पर्यटन विभाग, निजी क्षेत्र एउटै मन्त्रालयसँग जोडिएका छन् । एकद्वारको अवधारणमा यो सकारात्मक हो । भैरहवा र पोखरामा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थल आउने पुस्ताका लागि सम्पत्ति हुन् । यिनको ब्रान्डिङ र मार्केटिङ गर्नुपर्छ । तर, पर्यटन मन्त्रालय वार्षिक १० लाख पर्यटकमा किन रमाइरहेको छ ? सरकारले तत्कालै नेपालको पर्यटन क्षेत्रको सबल, दुर्बल, अवसर तथा चुनौतीबारे विश्लेषण गर्न जरुरी छ ।

अब ढिलाइ गर्नुहुन्न । सरकारले पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेमा अहिले दैनिक १० हजारका दरले भइरहेको युवा पलायनलाई यही देशमा रोकेर ती जहाजमा पर्यटक ल्याउन सकिन्छ । हाम्रा बैंक तथा वित्तीय क्षेत्रले गरेको १२ खर्ब लगानीको सुरक्षाका लागि पनि सरकारले यस्तो कदम तत्काल चाल्न जरुरी छ । हाम्रो प्राकृतिक सौन्दर्य अरू कुनै पनि मुलुकसँग तुलना गर्न नमिल्ने भएकाले हाम्रो प्रचूरतायुक्त सांग्रिला जीवितै छ ।

– मिश्र पर्यटन व्यवसायी हुन् ।

प्रकाशित : फाल्गुन ७, २०८० ११:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?