२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९७

‘आईएमएफले विदेशी लगानीकर्ता नेपाल ल्याउन मद्दत गर्दै छ”

म हरेक साता हाइकिङ जान्छु । यहाँ मलाई असाध्यै मनपर्ने स्थान शिवपुरी हो । चितवन घुमेकी छु । लुम्बिनी पुगेकी छु । काठमाडौं उपत्यका, नगरकोटलगायत विभिन्न स्थान घुमेकी छु । 

काठमाडौँ — नेन् १९६१ को सेप्टेम्बर ६ मा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को सदस्य भएको थियो । त्यसयता आईएमएफ र नेपालबीच लामो सहकार्य हुँदै आएको छ । नेपालको वित्तीय क्षेत्रसहित अन्य सुधारको पक्षमा उसले नीतिगत सहयोग गर्दै आइरहेको छ ।

‘आईएमएफले विदेशी लगानीकर्ता नेपाल ल्याउन मद्दत गर्दै छ”

सन् २०१० मा नेपालमा बन्द भएको यसको आवासीय कार्यालय सन् २०२२ बाट फेरि सञ्चालनमा आएको हो । नयाँ कार्यालयको नेतृत्व गर्ने जिम्मेवारी आईएमएफकी नेपालका लागि आवासीय प्रतिनिधि टेरेसा डबान सान्चेजको काँधमा छ । स्पेनी नागरिक सान्चेजसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं पहिलो पटक कहिले नेपाल आउनुभयो ?

अन्तर्राष्ट्रिय मुद्रा कोषको नेपाल प्रतिनिधिका रूपमा म सन् २०२२ को मेमा नेपाल आएकी हुँ । नेपालमा सन् २०१० सम्म आईएमएफको कार्यालय थियो तर त्यसपछि बन्द भयो । म यहाँ आएरै आईएमएफको नयाँ कार्यालय फेरि सञ्चालनमा ल्याएकी हुँ । हाम्रो काम आईएमएफको सहयोगमा सञ्चालित कार्यक्रम कार्यान्वयनमा गर्न सहयोग गर्ने हो । उक्त कार्यक्रमको नाम एक्सटेन्डेड क्रेडिट फ्यासेलिटी (इसीएफ) हो । उक्त कार्यक्रमको काम नेपालको नीति निर्माण गर्ने अवधारणामा सुधार्ने र थप प्रभावकारी बनाउँदै मुलुकलाई आवश्यक पर्दा काम गर्न सक्ने र बलियो बनाउने हो ।

तपाईंले नेपालको भूभाग कस्तो पाउनुभयो ?

नेपाल एउटा उत्कृष्ट मुलुक हो । नेपाल विश्वकै एउटा महत्त्वपूर्ण स्थानमा अवस्थित छ । यहाँको भूगोलमा विश्वको सर्वोच्च शिखर सगरमाथादेखि समथर भागहरू देख्न पाइन्छ । नेपालको यो अनौठो भूअवस्थितिमा विविध वातावरण छ । अग्ला हिमालदेखि पहाड हुँदै तराईसम्म छन् । भित्री मधेश चितवनमा घना जंगल छ । काठमाडौं उपत्यकाको आफ्नै इतिहास र सौन्दर्य छ । जुन एकदमै रोचक छ । सम्भव भएसम्म म बढीभन्दा बढी स्थान हेर्न रुचि राख्छु ।

तपाईंले धेरै नेपालीसँग काम गर्नुभएको छ । कस्ता पाउनुभयो त नेपालीहरू ?

नेपालीहरूसँगको मेरो सम्बन्ध फरक–फरक किसिमको छ । व्यावसायिक रूपमा म नेपाल सरकारका पदाधिकारीसँग भेटवार्ता गर्छु । मुख्य गरी अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक र राष्ट्रिय योजना आयोगसँग सम्बन्धित काममा म बढी केन्द्रित हुन्छु । हामी कार्यक्रम कार्यान्वयनका लागि गम्भीर रूपमा छलफल गर्छौं । अहिलेसम्म हामीले सुरु गरेका धेरै कार्यक्रम सफलतापूर्वक सम्पन्न भएका छन् । सुधार गर्न गाह्रो छ । तर हामीले सफल रूपमा गरेका छौं । त्यसका लागि म सबैलाई धन्यवाद दिन चाहन्छु । साथै, मेरो कार्यालयमा रहेका नेपाली साथीहरूसँग फनि अन्तर्क्रिया हुन्छ ।

मैले आफैं कार्यालय सञ्चालनमा ल्याएको हुनाले नयाँ साथीहरूलाई कार्यालयमा भर्ना गर्ने जिम्मा पनि मेरो काँधमा आइपरेको थियो । तपाईंले पनि देख्न सक्नुहुन्छ, यो कार्यालय महिलाद्वारा सञ्चालित कार्यालय हो । यो कुनै योजना बनाएर गरेको चाहिँ होइन, संयोगवश यहाँ काम गर्ने सबै महिला छौं । यो निकै रमाइलो कुरा हो । केही साथीहरू नेपाल राष्ट्र बैंकबाट केही समयका लागि हामीसँग काम गर्नका लागि आउनुभएको छ ।

व्यावसायिकबाहेक अन्य समयमा पनि नेपालीहरूसँग मेरो भेटवार्ता चलिरहन्छ । उदाहरणका लागि, म गत वर्ष साथीहरूसँग मिलेर सगरमाथाको बेसक्याम्पको यात्रामा गएकी थिएँ । हामीसँग नेपाली गाइड पनि हुनुहुन्थ्यो । त्यो यात्राका दौरानमा हामीलाई धेरै गाउँ घुम्ने अवसर पनि मिल्यो । मलाई उक्त क्षेत्र सुन्दर लाग्यो । नेपालीहरू निकै आदर सत्कार गर्ने पाएँ । हामी यात्राले गर्दा थाकेका थियौं तर त्यहाँ पाएको माया र सत्कारले त्यो थकाइ सबै हराएर गयो । म काठमाडौं बाहिर पोखरा, लुम्बिनी, चितवन पनि घुमेकी छु, नेपालीहरू साँच्चै असल छन् ।

नेपालको हावापानी कस्तो पाउनुभयो ?

यहाँको हावापानीमा विविधता छ । हामी सब–कन्टिनेन्ट (उपमहाद्वीप) को दक्षिणी भागमा भएका कारण तापक्रम केही चिसो हुन्छ । तर काठमाडौं उपत्यकाको कुरा गर्दा यो हावापानीको हिसाबमा निकै राम्रो छ । यहाँ न त धेरै तातो हुन्छ, न त धेरै चिसो नै । यहाँको हावापानी मलाई ठिक्कको लाग्छ । म सन् २०२२ मा नेपाल आउनुभन्दा अघि पाकिस्तानमा ४ वर्ष बसेकी थिएँ । म इस्लामाबाद, लाहोर र कराँचीमा पनि बसें । काठमाडौंको हावापानी इस्लामाबादको जस्तो लाग्यो, आनन्ददायी हावापानी । दुवै सहरमा जाडोमा बढी चिसो हुन्न, गर्मीमा पनि बढी तातो हुँदैन । वर्षायामले गर्मीको समयलाई फ्रेस बनाउँछ ।

तपाईंले नेपाली खानाको कत्तिको स्वाद लिनुभएको छ ? तपाईंलाई मनपर्ने नेपाली खाना ?

जब मैले नेपाली खानाको स्वाद लिन थालें, यो पाकिस्तानसँग मिल्दोजुल्दो पनि रह्यो । केही खानाको स्वाद र नामबारे म पहिलेदेखि नै परिचित थिएँ । उदाहरणका लागि चिकेन बिर्यानी, टिक्का मसला, थालीलगायत । तर, यी खानाको स्वाद भने यहाँ फरक पाएँ । मैले अन्य नयाँ खानाहरू भेट्टाएँ । सब–कन्टिनेन्टमा भारतसँग पनि मिल्दोजुल्दो खाना पाइन्छ । तर सम्बन्धित खानामा नेपालको आफ्नै नाम र स्वाद छ । नेवारी खाना र म:म निकै उत्कृष्ट लागे । सागसब्जीमा यहाँको छुट्टै स्वाद छ । मलाई सबैभन्दा मनपर्नेचाहिँ ताजा माछाको स्वाद हो । अरू स्थानमा माछा नपाइने भन्ने हुन्न तर नेपाली ताजा माछाको स्वाद गज्जबकै छ ।

तपाईंले नेपाली चालचलन कस्तो पाउनुभयो नि ?

नेपालीहरूको चालचलन पनि गज्जबको लाग्यो । उर्दु शब्दहरू पनि नेपालीजस्तै मिल्दाजुल्दा रहेछन् । एउटा अचम्मको कुरा चाहिँ के भयो भने, जब म पाकिस्तान गएकी थिएँ, मलाई लाग्थ्यो त्यहाँका मान्छे धेरै खुल्दैनन् होला । तर, मैले सोचेको भन्दा फरक उनीहरू सुरुआतमै खुलेर बोलेको देखें । उनीहरू पनि स्पेनीहरूजस्तै खुलेर बोलेको पाएँ । यहाँ नेपालमा नेपालीहरू भने सुरुआतमा अलि रिजर्भ बस्ने र अलिपछि मात्र विश्वास बढेपछि खुल्ने गरेको पाएँ ।

तपाईंलाई नेपाली चाडपर्व कस्ता लाग्छन् ? यहाँ कुनै चाडपर्व मनाउनुभएको छ ?

मलाई सबै नेपाली चाडपर्व मन पर्छन् । एउटा चाडपर्वबारे थाहा पाएपछि अर्कोबारे जिज्ञासा राख्न बुझ्न मन लाग्दो रहेछ । नेपाल समग्रमा बहुसंस्कृति भएको मुलुक हो । टीका, मन्दिर, बत्ती, मैनबत्तीले गर्दा यहाँका चाडपर्वलाई प्रतिष्ठित र आकर्षित बनाएको पाउँछु । म यहाँका सबै चाडपर्व मनाउँछु । चाडपर्वबारे तिनको ऐतिहासिक पृष्ठभूमि पनि पढ्न मन लाग्छ । यहाँ मनाइने सबै चाडपर्व परम्पराअनुसार आएका छन् । उदाहरणका लागि हिन्दु, बौद्ध, नेवारीलगायत परम्पराअनुसार यी चाडपर्व आएका हुन् । यी चाडपर्व यहाँ कसरी आए, भारतमा भन्दा किन फरक छन्, नेपालमा दसैं तिहार किन मनाइन्छ भन्नेबारेमा पनि मैले अध्ययन गरेकी छु ।

तपाईंलाई नेपाली भाषा बोल्न आउँछ ?

मलाई नेपाली भाषा बोल्न आउँदैनन् । नेपाली भाषा पढ्ने खुब मन छ । तर कामको व्यस्तताले गाह्रो परिरहेको छ । केही शब्द बोल्न आउँछ तर त्यो पर्याप्त छैन । मलाई नेपाली भाषामा ‘छिटो छिटो’ भन्न आउँछ । किनकि, यहाँ सबै कुरा छिटो गर्नुपर्ने हुन्छ । भाषा पढ्नका लागि व्याकरण पनि राम्ररी जान्नु आवश्यक छ । मैले संस्कृत र उर्दु भाषाका बारेमा पढेकी छु । भाषा जान्नुपूर्व त्यसको इतिहास जान्नु जरुरी छ । भाषा पछाडितका इतिहास पढ्दा मलाई निकै रोमाञ्चक लाग्छ ।

तपाईं नेपाली संगीत कत्तिको सुन्नुहुन्छ ?

नेपाली संगीतका बारेमा मलाई त्यति धेरै ज्ञान छैन । तर, त्यसबारेमा मैले जान्नुपर्नेछ । केही कार्यक्रममा पारम्परिक संगीतहरू बजाउँछन्, जुन मलाई असाध्यै मन पर्छ । मलाई थाहा छ, नेपालमा संगीत उद्योग जसरी फैलिएको छ । यहाँ केही चर्चित गायक छन् । केही नेपाली गायकलाई म सामाजिक सञ्जालमा पनि पछ्याउँछु । तर विस्तृत रूपमा नेपाली संगीत क्षेत्रका बारेमा मलाई थाहा छैन ।

तपाईंलाई नेपाली साहित्य र इतिहासका बारेमा कत्तिको जानकारी छ ?

नेपाली इतिहासबारेमा थोरबहुत थाहा छ । विदेशीका रूपमा यहाँ काम गर्न आउँदा यहाँको इतिहास जान्नु जरुरी पनि छ । नेपालको इतिहास के हो ? नेपाल कसरी अघि बढेको छ ? क्षेत्रीय रूपमा पनि हेर्नुपर्ने हुन्छ । आधुनिक इतिहासका बारेमा पनि जान्न जरुरी छ । जनता र यहाँको समुदायका बारेमा थाहा पाउनु झन् महत्त्वपूर्ण कुरा हो । यसले हाम्रो जिम्मेवारीलाई अघि बढाउन सहयोग गर्छ । समग्रमा मलाई इतिहास धेरै मन पर्छ । मलाई नेपाली इतिहास धेरै नै मन पर्छ ।

तपाईंले नेपाली फिल्म कत्तिको हेर्नुभएको छ ?

मैले नेपाली फिल्म हेरेकी छैन । तर, नेपालका सम्बन्धमा बनेका विभिन्न खालका छोटा भिडियोहरूचाहिँ प्रशस्त हेरेकी छु । मलाई नेपाली फिल्म उद्योग र यहाँ बनिरहेका राम्रा फिल्महरूका बारेमा जानकारी भने छ ।

तपाईं नेपालमा कत्तिको घुम्नुभएको छ ? तपाईंलाई मनपर्ने यहाँका कुनै स्थान ?

मलाई घुम्न खुबै मन पर्छ । म अहिलेसम्म सगरमाथा बेसक्याम्प पुगेकी छु । उक्त यात्राका दौरान लुक्लादेखि धेरै गाउँहरू पार गर्दै माथि पुग्नुपर्छ । धेरै पटक पोखरा गएकी छु । चितवन घुमेकी छु । लुम्बिनी पुगेकी छु । काठमाडौं उपत्यका, नगरकोटलगायत विभिन्न स्थान घुमेकी छु । म हरेक साता हाइकिङ जान्छु । मलाई असाध्यै मनपर्ने स्थान शिवपुरी हो । काठमाडौं उपत्यका वरिपरिका सबैजसो डाँडाहरू चढेकी छु । फुल्चोकी, चम्पादेवी, जामाचोलगायत उपत्यकाका सबै डाँडामा पाइला टेकेकी छु । हरेक साता बिदाको दिनमा म फरक–फरक स्थानमा हाइकिङ जान मन पराउँछु । गत साताको शनिबार म यहाँबाट नगरकोटसम्म हिँडेर गएकी थिएँ । भक्तपुरबाट हिँडेर नगरकोटमा बास बसेका थियौं । अर्को दिन त्यहँबाट हिँडेर धुलिखेल पुग्यौं र त्यहाँबाट चाहिँ गाडीमा फर्केका थियौं । यात्राका क्रममा बाटोमा स्थानीयहरूका घर, खेत हेरें । गोठमा बाँधिका भैंसी पनि देखें । जुन निकै रमाइलो पनि लाग्यो । म गल्फ पनि खेल्छु । नेपालमा गल्फ खेल्न निकै मन पर्छ । सकेसम्म हरेक आइतबार खेल्ने प्रयास गर्छु । नेपालमा पनि पूरै वर्ष गल्फ खेल्न सकिन्छ, जुन युरोप र अमेरिकातिर जाडोयाममा खेल्न सकिन्न । नेपालले पर्यटनको क्षेत्रमा गल्फलाई पनि अगाडि बढाउन सक्छ ।

नेपाली कला–संस्कृति कस्तो लाग्यो त ?

नेपालको सबैभन्दा उत्कृष्ट पक्ष भनेकै यहाँको विविधता हो । यहाँको भू–अवस्थितिले गर्दा उत्तर, दक्षिण, उपत्यकालगायतका स्थान छन् । अर्कोतर्फ विविध जातजाति र संस्कृति पनि रहेको छ । नेपाल सांस्कृतिक रूपमा धनी छ । बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय समुदाय भएका कारणले गर्दा पनि सबैका विचारलाई एकीकृत गर्न सहज भने पक्कै छैन । उनीहरूबीचको लोकतान्त्रिक सहमति हुन आवश्यक छ । नेपालको राष्ट्रिय गानले पनि त्यसबारेमा प्रस्ट रूपमा बोलेको छ । हामी फरक समुदायका हौं तर हामी मिलेर शान्तिपूर्वक बस्नुपर्छ भन्ने रहेको छ । त्यसैले यो विविधता चुनौती र फाइदा दुवै रूपमा आएको छ । यो निकै रोचक छ । नेपालीहरूले आफ्नो पहिचानलाई बचाउँदा आफ्नो विविधतालाई बचाउनुपर्छ । यो निकै प्रेरणादायी छ ।

आईएमएफले नेपालमा कस्ता काम गरिरहेको छ ?

आईएमएफले नेपालमा एक्सटेन्डेड क्रेडिट फ्यासेलिटी (इसीएफ)मार्फत तीनवर्षे कार्यक्रम कार्यान्वयन गरिरहेको छ । यो कार्यक्रमको कुल बजेट ४०० मिलियन अमेरिकी डलर छ । यसको काम नेपाल सरकारको सम्बन्धित निकायलाई आईएमएफले सहयोग गरेको कार्यक्रमलाई कार्यान्वयन गर्न सहयोग गर्ने हो । उक्त कार्यक्रमको काम नेपालको नीति निर्माण गर्ने अवधारणामा सुधार्ने र थप प्रभावकारी बनाउँदै मुलुकलाई आवश्यक पर्दा काम गर्न सक्ने र बलियो बनाउने हो । यो कार्यक्रमअन्तर्गत मुख्य गरी तीन काम भइरहेका छन् : पहिलो– वित्तीय नीति, दोस्रो बजेट नीति र तेस्रो वित्तीय क्षेत्रलाई प्रभावकारी नियमन । यसले सबै कुरालाई पारदर्शी बनाउने, नेपाललाई अन्तर्राष्ट्रिय रूपमा उत्कृष्ट अभ्यासहरू सिक्न, अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धा गर्न सक्ने मुलुकका रूपमा उभ्याउन सहयोग गर्ने र विदेशी लगानीकर्तालाई नेपाल भित्र्याउन मद्दत गर्ने काम गरिरहेका छौं ।

प्रकाशित : चैत्र १०, २०८० १०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?