३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९९९
अतिथिको नजर

‘विपुल क्षेत्री, सज्जनराज वैद्य र सुशान्त केसीका गीत मन पर्छ’

म नेपाली प्रेमगीतहरू पनि उत्तिकै मन पराउँछु । नेपाली गीतमा हृदय छुने अद्भुत क्षमता छ । -म्यागी डोयन, सीएनएन हिरो अफ द इयर अवार्ड–२०१५ की विजेता

काठमाडौँ — अमेरिकाको न्यु जर्सी राज्यकी म्यागी डोयनले नेपाल केन्द्रित भएर आफ्नो जीवन बालबालिकाको शिक्षा र महिलाको हितमा समर्पित गरेकी छन् । सन् २००५ मा भारत भ्रमणका क्रममा नेपाली नागरिकसँगको भेटपछि उनी यहाँ आएकी हुन् । त्यसयता उनले सुर्खेतलाई कार्यक्षेत्र बनाएर समाजसेवा गरिरहेकी छन् । आँखा झिम्काएसँगै संसार बदल्ने शक्ति सबैमा छ भन्ने उनी विश्वास गर्छिन् ।

‘विपुल क्षेत्री, सज्जनराज वैद्य र सुशान्त केसीका गीत मन पर्छ’

त्यसैले उनले आफ्नो संस्थाको नाम नै ‘ब्लिङ्कनाओ फाउन्डेसन’ राखेकी छन् । बिटविन द माउन्टेन एन्ड द स्काई : ए मदर्स स्टोरी अफ लभ, लस, हिलिङ र होप पुस्तककी लेखिका म्यागी ‘ब्लिङ्कनाओ फाउन्डेसन’ की सह–संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् । सह–संस्थापक टोपे मल्ल र म्यागीको टोलीले ६ सयभन्दा बढी विद्यार्थीलाई निःशुल्क शिक्षा दिइरहेको छ । कोपिला भ्याली स्कुल र बालगृहमार्फत ७० भन्दा बढी बालबालिकाका लागि निःशुल्क बसोबास र भोजन उपलब्ध गराइरहेकी छन् ।

गरिबी हटाउन, महिला सशक्तीकरण, स्वास्थ्यमा सुधार तथा दिगोपन र सामाजिक न्याय प्रवर्द्धन गर्न म्यागी समुदायमा पुग्छिन् । बालबालिका र महिलाको क्षेत्रमा लामो समयदेखि काम गरिरहेकी उनी सन् २०१५ मा ‘सीएनएन हिरो अफ द इयर अवार्ड’ बाट सम्मानित भइसकेकी छन् । समाजसेवी उनै म्यागीसँग कान्तिपुरका जगदीश्वर पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

तपाईं पहिलो पटक कहिले नेपाल आउनुभयो ?

मेरो नेपाल यात्रा अप्रत्याशित भएको हो । म भारत भ्रमणमा आएकी थिएँ । त्यहाँ मैले एक नेपालीलाई भेट्ने मौका पाएँ । उनको न्यानो हृदय र भावनात्मक सम्बन्धले म ज्यादै प्रभावित भएँ । उनीबाटै मैले नेपालीका कष्ट, सपना र नेपालदेखि भारतसम्म आएर व्यहोरिरहेका दुःखद यात्राका कथाहरू पनि सुनें ।

नेपालीका प्रत्येक कथाले मेरो हृदयलाई छोयो । मलाई नेपाल आफैं हेर्न र अनुभव गर्न मन लाग्यो । जब म नेपाल आएर कर्णाली पुगें, यो पहिले कहिल्यै अनुभव नगरेको तरिकाले घर फर्केजस्तो लाग्यो । म यहाँको भूमिको सौन्दर्य र यहाँका मानिसहरूको शक्तिले यति मोहित भएँ कि यहीं बस्ने निर्णय गरें । प्रादेशिक राजधानीका रूपमा महत्त्वपूर्ण हब बनेको सुर्खेतमा म लामो समयदेखि बसिरहेकी छु ।

नेपालमा रहेर सामाजिक काम गर्ने क्रममा धेरैसँग भेट गर्नुभयो होला । कस्ता लागे त नेपाली ?

संसारको जुनसुकै कुनामा गएर पनि नेपालमा अनुभव गरेका कुरा सुनाउँदा मानिसहरू उत्साहित हुन्छन् । नेपालको सबैभन्दा ठूलो कुरा यहाँका जनता हुन् । उनीहरू अरुप्रति दयालु, मिलनसार र सम्मान गर्ने खालका छन् । यहाँ एकअर्कालाई सहयोग र मद्दत गर्ने भावना छ, जसको म साँच्चै प्रशंसा गर्छु । यसको एक हिस्सा हुन पाउँदा म आफूलाई कृतज्ञ पनि ठान्छु । नेपाली जनताको बीचमा बस्नु, उनीहरूको न्यानोपन र उदारताको अनुभूति गर्नु एउटा अचम्मको अनुभव हो । म पनि नेपाली समुदायको एक हिस्सा हुन पाउँदा अविश्वसनीय रूपमा नम्र र सम्मानित महसुस गरिरहेकी छु ।

नेपालको मौसमबारे यहाँको धारणा ?

म सुर्खेतमा बस्छु र यहाँको मौसम असाध्यै मन पर्छ । यहाँ लगभग सधैं घमाइलो हुन्छ, पारिवारिक पदयात्रा गर्न, साइकल चलाउन र साँझमा बालबालिकाहरूसँग घुम्न ज्यादै उपयुक्त ठाउँ छ । यहाँ मलाई जुन र जुलाई महिनामा गर्मीका कारण केही गाह्रो महसुस हुन्छ । पछिल्लो समय यहाँ बढ्दै गइरहेको डेंगु प्रकोपबाट म केही डराएकी छु ।

तपाईंलाई मन पर्ने नेपाली खाना ?

मलाई सबैभन्दा मन पर्ने नेपाली खाना दाल–भात नै हो । म प्रत्येक दिन लन्चमा दाल–भात नै खान्छु । म नेपालमा यति लामो समयदेखि बसिरहेकी छु कि लन्च खाने बेलामा दाल–भात खानकै लागि लालायित हुन्छु । म अमेरिका र क्यानडामा हुँदा पनि सातामा एक–दुई पटक बेलुकीको खानाका लागि दाल–भात नै बनाउन लगाउँछु । जुम्लाको सिमी पक्कै पनि दालका रूपमा खान उत्कृष्ट छ । मलाई तिल राखेर बनाइएको गोलभेंडाको अचार, मूलाको अचार र ताजा दही असाध्यै मन पर्छ । यी खाना सम्झँदा मात्र पनि मेरो मुख रसाउने गर्छ ।

नेपाली रीतिरिवाजलाई कसरी हेर्नुभएको छ ? यहाँलाई मन पर्ने नेपाली चालचलन ?

नेपाल बसाइका क्रममा मेरो हृदयलाई गहिरो रूपमा छोएको एउटा कुरा यहाँको चालचलन पनि हो । यहाँ दिदी–बहिनी, दाजु–भाइ, काका–काकी, आमा–सानिमाजस्ता शब्द प्रयोग गरेर एकअर्कालाई परिवारको सदस्यकै रूपमा सम्बोधन गर्छन् । यस्ता सम्बन्धले सबैलाई एकापसमा जोडेको महसुस हुन्छ । यो ज्यादै सुन्दर कुरा हो भन्ने लाग्छ ।

हामी सबै एउटै मानव परिवारको हिस्सा हौं भनेर सम्झाउँदै गर्दा ३७ वर्षको यस उमेरमा दिदी–बहिनी भन्ने शब्द ज्यादै सम्मानसूचक लाग्छ । यो शब्द सम्मान र सम्बन्धको हृदयस्पर्शी प्रतिविम्ब पनि हो । यस शब्दलाई म गहिरो रूपमा कदर गर्छु । यसले नेपालमा फस्टाएको समुदाय र सहकार्यबारे बोल्छ, जसले यहाँ हरेक पललाई विस्तारित परिवारले घेरिएजस्तो महसुस गराउँछ ।

तपाईंलाई मन पर्ने नेपाली चाडपर्व ?

यहाँका चाडपर्वमा मलाई दसैं असाध्यै मन पर्छ । यस पर्वले हाम्रा स–साना बालबालिकामा उत्साह पनि थप्छ । वास्तवमा यहाँ मनाइने दसैंजस्तो उत्सवले मनलाई जीवन्त बनाउँछ । चंगाहरूले भरिएको आकाश, चलायमान बजारहरू र एक परिवारका रूपमा सँगसँगै बिताएका बहुमूल्य क्षणहरूले यसलाई अविश्वसनीय रूपमा विशेष बनाउँछ ।

यहाँ मनाइने तिहार पनि मलाई मनपर्ने पर्व हो । तिहारमा बालिने दियोहरूको उज्यालो मलाई विशेष मन पर्छ । घर–घरमा आएर नाच्ने र गाउने देउसी–भैलोले पनि छुट्टै आनन्द दिन्छ । यो अरू कुनैभन्दा फरक जादूमयी अनुभवजस्तो लाग्छ । यहाँ मनाइने होली पर्व पनि अद्भुत छ । प्रियजनहरूसँग रङका साथ मनाइने यो पर्व पनि सानदार लाग्छ ।

नेपाली भाषा कत्तिको बोल्नुहुन्छ ?

म पश्चिम नेपालमा बोलिने नेपाली भाषा बोल्न सक्छु । यद्यपि, त्यसमा मेरो अमेरिकी उच्चारण पनि मिसिन सक्छ । म आफ्नो भाषा कौशल र उच्चारण सुधार गर्ने काम गर्दै छु । मेरा छोराछोरी भने नेपाली दाजुभाइजस्तै नेपाली भाषा बोल्छन् । इमानदारीपूर्वक भन्दा त्यसले मलाई कहिलेकाहीं अलि ईर्ष्यालु पनि बनाउँछ ।

तपाईंलाई मन पर्ने नेपाली गीत ?

नेपाली संगीतले हाम्रो घरलाई आनन्दले भरिदिन्छ । र, हाम्रो दैनिक जीवनको पृष्ठभूमि संगीतजस्तै छ । हामी यहाँ परम्परागत लोकधुन र भजनदेखि आधुनिक र्‍यापसम्मका नेपाली गीत–संगीत सुन्छौं । म नेपाली प्रेमगीतहरू पनि उत्तिकै मन पराउँछु । नेपाली गीतमा हृदय छुने अद्भुत क्षमता रहेको पाउँछु । मलाई मन पर्ने संगीतकर्मी विपुल क्षेत्री, सज्जनराज वैद्य र सुशान्त केसी हुन् । मेरा बच्चाहरूलाई पनि उनीहरूका गीत मन पर्छ । र, तिनीहरू सधैं उनीहरूद्वारा गाइएका गीतहरू गितारमा बजाउँछन् र गाउँछन् । संगीतले हामी सबैलाई कसरी एकै ठाउँमा उभ्याउँछ भनेर हेर्न पाउनु अचम्मको कुरा हो ।

नेपाली साहित्यबारे कत्तिको जानकार हुनुहुन्छ ? तपाईंलाई मन पर्ने नेपाली साहित्यिक कृति ?

बुद्धिसागरले लेखेको ‘कर्णाली ब्लुज’ मलाई असाध्यै मन पर्‍यो । यसमा कर्णालीको चित्रण पढ्न पाउँदा अचम्म पनि लाग्यो । गत वर्ष सार्वजनिक भएको मेरा साथी डा. नवराज केसीको ‘शून्यको मूल्य’ पनि उत्तिकै मर्मस्पर्शी लाग्छ ।

नेपाली चलचित्र कत्तिको हेर्नुहुन्छ ?

मेरा छोराछोरी नेपाली चलचित्रका ठूला फ्यान हुन् । जेहोस्, मैले स्वीकार गर्नैपर्छ, जब टीभी खुला हुन्छ, त्यसपछि मेरो घर अलि शान्त हुन पुग्छ । म त्यो शान्त पल महसुस गर्छु तर म सामान्यतया टीभी धेरै हेर्नचाहिँ रुचाउन्नँ ।

तपाईंले भ्रमण गरेकामध्ये मन पर्ने नेपालको स्थान ?

म नेपालका धेरै ठाउँमा पुगेकी छु । मेरो मनमा कर्णालीको विशेष स्थान छ । यो सुन्दर सांस्कृतिक क्षेत्र पनि हो । तर, यसले धेरै पर्यटकको ध्यान आकर्षित गरेको पाइँदैन । नेपालमा मेरो पहिलो यात्रा कर्णालीको कालीकोट थियो र यसले मेरो मनलाई पूर्ण रूपमा आकर्षित गरेको थियो । यहाँको संस्कृति, सौन्दर्यका बारेमा केही कुराहरू छन्, जसले यसलाई नेपालमा मेरो मन पर्ने ठाउँ बनाउँछ ।

नेपाली कला र संस्कृतिबारे तपाईंको धारणा ?

हाम्रा स्थानीय शिल्प, कला र सामानलाई सम्मान र उत्सव मनाउने ‘मेड इन नेपाल’ ब्रान्डहरूको उदय देख्न पाउनु धेरै प्रेरणादायी लाग्छ । नेपालमा उत्पादन गरिएका सामग्रीलाई प्रयोग गर्ने र विदेशमा उत्पादन भएका ठूला परिमाणका सामग्रीलाई नेपालमा नभित्र्याउने आन्दोलनलाई म पूर्ण रूपमा समर्थन गर्छु ।

दिगो र वातावरणमैत्री हुँदा, कपडा र फेसनदेखि लिएर दैनिक वस्तुहरूमा हाम्रा परम्परागत अभ्यासहरूको सौन्दर्यलाई अँगालेर हामी हाम्रो तल्लो तहसँग फेरि सम्पर्कमा जान सक्छौंजस्तो लाग्छ ।

हाम्रा विद्यार्थीले आफ्नै उद्यमहरू सुरु गरेको र हाम्रो महिला केन्द्रका महिलाले हातले सुन्दर सामान उत्पादन गरेको देख्न पाउँदा खुसी लाग्छ । ‘मेड इन नेपाल’ अभियान दिगो शिल्प कौशलको मूल्यांकनमा फर्किने कुरा हो, जसलाई म हृदयदेखि सम्मान गर्छु ।

प्रकाशित : चैत्र २, २०८० ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?