नेपाली राजनीतिमा सक्रिय भाले- ब्लग - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाली राजनीतिमा सक्रिय भाले

पवन अाचार्य

काठमाडौं — लेखको शुरुआत एउटा कहानीबाट गर्छु । एकजना पुरुष कुखुराको भालेसित निकै डराउँदा रहेछन् । भाले सामुन्ने देखियो भने उनी कुलेलाम ठोक्दा रहेछन् । भाले हिंड्ने बाटो पनि भरसक हिंड्न नपरोस् भनेर उनी निकै चनाखो बन्ने रहेछन् ।

कथमकदाचित् भालेसँग साक्षात्कार भइहालेमा उनी मूर्तिजस्तै ठिङ उभिने गर्थे ।

उनको यो बानीबाट श्रीमती पनि आजित भइछन् । छरछिमेककाले समेत कुखुराको भालेसँग पनि डराउनेको श्रीमती भनेर उनको बेइज्जत गर्न थालेछन् । त्यसपछि उनले भालेसँग डराउने श्रीमान्को रोगको जहाँ गएर भएपनि उपचार गराइछाड्ने कसम खाइछन् ।
सहरका नामी चिकित्सककहाँ गएर उनले दुखेसो सुनाइन् ।

डाक्टरले निकै सहजताका साथ भालेसित डराउने कुरा कुनै रोग नभएको बताएछन् । श्रीमान्लाई आफूकहाँ ल्याउन उनले ती महिलालाई सुझाए छन् ।
भोलिपल्ट श्रीमान् श्रीमती डाक्टरकोमा पुगे । कुर्सीमा बस्न नपाउँदै डाक्टरले श्रीमानलाई सोधे, ‘तपाईं कुखुराको भालेसित किन यति बिधि डराएको ?’
ती पुरुषले भने, ‘मलाई त भालेले ठुँगेरै मार्छजस्तो लाग्छ । साह्रै डर पो लाग्छ त हौ ।’
त्यसपछि डाक्टरले टेबलमुनि बाट कुखुराको भाले निकालेर भनेछन्, ‘ल हेर्नुस् । यो भालेले कतै तपाईंलाई ठुँग्ला त ? किन बिनासित्ति डराउनु भएको ?’ आफ्नै आँखा सामुन्ने कुखुराको भाले देखेपछि पुरुषको सातो गएछ । उनी त्यहाँबाट भाग्ने सुर कसेछन् । श्रीमतीले समातेर कुर्सीमा बसाए पनि उनी भालेतिर नफर्किएर अन्यत्रै फर्केर बसेछन् ।

‘हरे, कुखुरासित पनि कोही डराउँछ ?’ डाक्टरले सोधछन् ।

यसलाई त मान्छेले काटेर खान्छन् । यसो भनेर डाक्टरले ती पुरुषकै आँखा अघिल्तिर भालेलाई काटेछन् । ‘ल हेर्नुस् अब भालेले मलाई काट्यो कि मैले भालेलाई ?त्यसै डराउने ।’ डाक्टरले शानका साथ भनेछन् ।

अघिसम्म जिउँदो भाले आफ्नै अगाडि मारिएको देखेर ती पुरुषमा पनि हल्का साहस पलाएछ । ‘यो तपैंले नै काटेको हो त डाक्टरसाब ?’ उनले सोधे ।
डाक्टरले पनि सब बेलिबिस्तार लगाएछन् । ‘अब कुरो बुझ्नु भो त ? भालेसँग डराउन पर्दैन भन्ने ?’ डाक्टरले सोधे । कुरा बुझेजस्तो गरेर उनले पनि टाउको हल्लाए ।

डाक्टरसँग बिदा मागेर श्रीमान् श्रीमती कोठाबाट निस्किनै लाग्दा ढोकाबाट श्रीमान् डाक्टरकहाँ पुगेर सोधेछन्,‘डाक्टरसाब भालेले केही पनि गर्दैन भनेर मैले त कुरो बुझेँ । तर, त्यो भालेलेचैं कुरो बुझ्यो कि बुझेन होला ?’

नेपालको संविधान २०७२ जारी भएसँगै देखिएको राजनीतिक उथलपुथल र त्यसको प्रत्यक्ष प्रभावस्वरुप भारतले थालेको अघोषित नाकाबन्दीले मुलुक आक्रान्त छ । इन्धनसहित अत्यावश्यकीय सामाग्रीको चरम अभाव हुन थालिसकेको छ । नागरिकको दैनिकी पुरै प्रभावित भएको छ । तर, पनि आन्दोलनरत मधेसी दलहरु आफ्नो माग सम्बोधन हुन नसकेको र संविधान आफ्ना लागि नआएको बताउँछन् । संविधानसभामा रहेका दलहरु ८९ प्रतिशतको सहभागितामा जारी भएको संविधान विश्वकै उत्कृष्टतम संविधानमध्ये एक भएको दाबी गर्छन् । उनीहरुका अनुसार मधेसी दलले राखेका अधिकांश माग संविधानमा समेटिएको छ ।
तर, दुबै भालेहरु आफ्ना कुरा एकअर्का समक्ष राख्न सक्दैनन् । अरु त अरु तराई र मधेसबाट प्रतिनिधित्व गर्ने दलका साना भालेहरु पनि संविधानमा तपाईंहरुका यी–यी मुद्दाहरु समेटिएका छन् भनेर आफ्ना मतदाता समक्ष जान सकिरहेका छैनन् । काठमाडौं र मधेसमा दुईथरी भाले फरक शैलीले बासिरहेका छन् ।

छिमेकी भारत नेपालमा संविधान जारी भएको ‘जानकारीमा आएको’ भन्दै आफ्नो संलग्नता खोज्दैछ । अझ नेपालमा संविधान जारी भएसँगै सीमामा हिंसात्मक गतिविधि बढेकाले उसले त्यहाँ कडाइ गर्दै अघोषित नाकाबन्दी लगाइसकेको छ ।

यस्तोमा जनताले खोजेको भनेको अमनचैन हो । संविधान जारी भएपनि मुलुक राजनीतिक संक्रमणको चक्रबाट निस्केर आर्थिक समृद्धिको बाटोमा अघि बढ्ला र सन्तोषको सास फेर्न पाइएला भन्ने आश बोकेर जनता बसेका छन् । जनताले कुरो बुझिसकेका छन् । भाई फुटे गँवार लुटेको अवस्थामा मुलुक पुग्न लागिसकेको छ । अथवा ठूलै अनिष्ठ सन्निकट छ भन्ने कुराको भेउ जनजनले पाइसके ।

तर, यहाँ जस लिने र दिने दुईथरी स्वदेसी भालेहरुले कुरा नबुझेर जनता पिल्सिएका छन् । काठमाडौमा रहेको भाले तराई–मधेस शब्द पनि सम्झौतामा राख्न चाहन्न । दशगजामा उभिएर स्वदेसी सुरक्षाकर्मीलाई ढुङ्गा हान्ने भाले पनि छिमेकीको सहारामा देशवासीमाथि नाकाबन्दी गराएर माग पूरा गराउने ध्याउन्नमा छ ।

अर्को बडे भाले यही दाउमा नेपालको राजनीतिक नेतृत्वलाई झुकाएर आफ्ना अभिष्ट पूरा गराउने दाउमा बसेको छ । उसलाई नेपालको संविधानमा नेपालका मधेसी जनताले के पाए वा के पाएनन् भन्नेसँग कुनै सरोकार छैन । मौकामा चौका हान्न खप्पिस बडे भाले, अस्थिरता र सङ्कटको आडमा आफू अनुकुलको निर्णय नेपालको राजनीतिक नेतृत्वमा लाद्न चाहन्छ भन्ने कुरा जनताले बुझिसकेका छन् । तर, आपसमा लड्ने नेपाली लोकल भालेहरुले कुरा कहिले बुझ्ने हो कुन्नी ।

प्रकाशित : आश्विन १२, २०७२ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्

खानेपानीको हाहाकार

विप्लव महर्जन

सल्यान — मूलखोला ५ च्युराकी देवकी रानालाई गत शनिबार धारामा गई पानी लिएर घर फर्कंदा तीन घण्टा लाग्यो । एक घण्टा त उनले धारामा कुर्नुपर्‍यो भने दुई घण्टा आवतजावतमै बित्यो । घर नजिकैको धारामा पानी आउन छाडेपछि लामो समय हिंडेर पानी बोक्नु पर्दा उनी थाकेर लखतरान परेकी थिइन् । उनी मात्र नभई अहिले गाउँका सबैको अवस्था उस्तै छ । वर्षातमा पनि मूल नफुटेको र भएको मुहानसमेत बढ्दो खडेरीले सुकेकाले च्युरावासीलाई अहिले सास्ती भएको हो ।

मूलखोला ५ च्युराकी देवकी रानालाई गत शनिबार धारामा गई पानी लिएर घर फर्कंदा तीन घण्टा लाग्यो । एक घण्टा त उनले धारामा कुर्नुपर्‍यो भने दुई घण्टा आवतजावतमै बित्यो । घर नजिकैको धारामा पानी आउन छाडेपछि लामो समय हिंडेर पानी बोक्नु पर्दा उनी थाकेर लखतरान परेकी थिइन् । उनी मात्र नभई अहिले गाउँका सबैको अवस्था उस्तै छ । वर्षातमा पनि मूल नफुटेको र भएको मुहानसमेत बढ्दो खडेरीले सुकेकाले च्युरावासीलाई अहिले सास्ती भएको हो ।

नजिकैका मुहानहरू सुकेकाले गाउँमा पानीको हाहाकार हुँदा च्युराका ५० परिवार र एउटा विद्यालयका बालबालिका प्रभावित छन् । कतिपय त बनगार खोलाको पानी खानसमेत बाध्य छन् । बढ्दो गर्मीले मुहान सुकेपछि गाउँवासीले विभिन्न समस्या बेहोर्दै आएका छन् । गाउँको खानेपानी योजना धेरै पहिलेदेखि बिग्रेपछि धारामा पानी आउन छाडेको छ । ‘पानीका लागि लामो समय हिंड्नु पर्दा राम्रोसँग सुत्न पाइँदैन । छिटो गए समयमै घर फर्कन पाइन्छ । नत्र आधादेखि एक घण्टा कुर्नुपर्छ । साह्रै समस्या छ,’ देवकीले रानाले भनिन्, ‘दैनिक प्रयोग गर्नुपर्ने भएकाले पनि लामो समय हिंड्न बाध्य छांै ।’
पुरानो योजना मर्मतका बारेमा कसैले चासो नदेखाएको उनले गुनासो गरिन् । कम वर्षातले गाउँ नजिकैको जुम्ल्याहा धारामा पानी सुकेपछि खानेपानीको हाहाकार भएको खानेपानीका चौकीदार मोहलाल सुनारले बताए । हिंजोआज प्रशस्त पानी पाइनुपर्नेमा हाहाकार छ । रातबिरात नभनी लामो समय हिंड्नु पर्दा सबैले कष्ट उठाउनु परेको छ ।
अहिले च्युरा मात्र नभई छिमेकी दुई गाउँका सर्वसाधारणसमेत प्रभावित छन् । जिविसले डेढ दशकअघि निर्माण गरेको खानेपानी योजना मर्मत नगर्दा गाउँमा समस्या उत्पन्न भएको स्थानीय हीरालाल विष्टले बताए । मर्मतका बारेमा बारम्बार आग्रह गर्दै आए पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएको उनले गुनासो गरे । पानीको समस्याले गाउँका बालबालिकाले समयमै खाना खान नपाएर विद्यालय जान कठिनाइ भइरहेको स्थानीयले बताए । गाउँवासी मात्र नभई विद्यालयमा पढ्ने बालबालिकाहरूसमेत समस्यामा परेको उनीहरू बताउँछन् । अहिले च्युरामा मात्र नभई घाजरीपीपल, वामे, देवस्थलमा समेत खानेपानीको समस्या भोगिरहेका छन् ।

प्रकाशित : आश्विन १२, २०७२ ०९:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×