१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

दिल्ली ट्रान्जिटमा मन्त्री–गफ

काठमाडौं — अन्तर्राष्ट्रिय व्यापार, सभा–सेमिनार र आवागमनमा निकै चल्तीको ‘ट्रान्जिट’ रहेको भारतीय राजधानी नेपाली नेतागणहरूका निम्ति पनि मनको भारी बिसाउने चौतारीझैं रहिआएको छ । कहिले सिधै दिल्ली मुकाममा ठोकिएर त कहिले धार्मिक अथवा धेरैजसो स्वास्थ्योपचारका निम्ति दिल्ली उत्रिँदै सानातिना कोठे गोष्ठीहरूमा ‘प्रमुख अतिथि’ बन्ने गरेको दृश्य यहाँ सजिलै देख्न सकिन्छ ।

दिल्ली ट्रान्जिटमा मन्त्री–गफ

अझ पछिल्लो समयमा कुनै देशीय अथवा अन्तरदेशीय उडानको ‘ट्रान्जिट’मा दिल्ली उत्रिएर २/४ घन्टा अथवा २/४ दिन बृहत्तर हित र उन्नतिको प्रवचन दिनमा नेपाली नेतागण निकै लालायित बन्नथालेका छन् ।

‘निजी भ्रमण’ भन्दै सपत्नी दिल्ली उत्रिने नेपाली राजनीतिक दलका शीर्षस्थ नेताहरूपछि मन्त्रीगणको दिल्ली–ट्रान्जिट यतिखेर चर्चामा छन् । दुई साताअघि बेंग्लोरमा धार्मिक यात्रा पुरा गरेर दिल्ली ट्रान्जिटमा रोकिँंदै राजनीतिक भेटघाटमा व्यस्त बनेका परराष्ट्रमन्त्री कमल थापाको चर्चा सेलाइसकेको छैन, फेरि यो साता संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल ‘ट्रान्जिट मन्त्री’का रूपमा दिल्लीका नेपालीमाझ राम्रैगरी चिनिएका छन् ।
 
माक्र्सवाद–लेनिनवादको चुरोभन्दा पनि कुनै धार्मिक–आध्यात्मिक गुरुको सत्संगबाट प्रेरित भएर अघि बढेझैं लाग्ने पोखरेलले नेपाली दूतावासको सभाकक्षमा राखेको ‘सम्पूर्ण सकारात्मक मन्तव्य’ सुनिरहँदा लाग्थ्यो— देशमा हिजोसम्म सबै बेठिक थियो, आजबाट ठिक हुनलागेको रहेछ । संस्कृति मन्त्री पोखरेलले पशुपति क्षेत्रको बृहत्तर विकास योजनाका लागि १ सय करोड रुपैयाँको बजेट आवश्यक रहेको भन्दै पशुपति क्षेत्रमा वाटर फाउन्टेन, विद्युतीय रिक्सा, शिव–पार्वती प्रणयलीला (सांगीतिक) आदिका मनमोहक संरचनाको प्रस्ताव गरिरहँदा हामी अरू सामाजिक/आर्थिक संकटग्रस्त स्थितिबाट धेरै अगाडि पुगिसकेको आभाष मिल्यो । ४५ दिनअघि मन्त्री बनेका पोखरेलको एक घन्टा लामो प्रवचनको संक्षेपमा काममा सफलता पाउने गुरुमन्त्रझैं ‘सूत्र’ थियो— समय, विधि, श्रम, ज्ञान, लगानी, व्यवस्थापन र नेतृत्व ।

एमाले पार्टीका नेता पोखरेलभन्दा अघि राप्रपाका कमल थापा दिल्ली–ट्रान्जिटमा थिए । थापाले पनि यसैगरी कर्मशीलता र राजनीतिक सिद्धान्तको पाठ सिकाएर दिल्लीमा धेरैलाई प्रफुल्लित बनाएका थिए । त्यस अघि आउने सुनील थापा, रामशरण महत, प्रकाशशरण महत, युवराज ज्ञवाली, शेरबहादुर देउवा, पुष्पकमल दाहाल, महन्थ ठाकुर लगायतले निकै ओजस्वी मन्तव्य राख्दै आफूसक्दो ‘प्रभाव’ छाड्न खोजेकै थिए ।

दिल्लीले दोहोर्‍याइरहने अधिकतम सहमति र समझदारीका बारेमा उल्टै दिल्लीलाई पाठ पढाएर जाने यी अग्रजहरू काठमाडौं पुगेर भने यही मामिलामा किन ‘कुहिराको काग’ बन्ने गरेका हुन्, बुझ्नै नसकिने स्थिति छ । अझ केही वरिष्ठ राजनीतिक नेता र मन्त्रीहरू दिल्लीमा आएर ‘एकसुरे’ बनेर बोलिरहेका हुन्छन्, पछि त्यो प्रलापले केही अप्ठ्यारो ल्याउने स्थिति आएपछि काठमाडौं पुगेर चर्को प्रतिक्रियामा भन्छन्, ‘मैले त्यस्तो केही बोलेकै छैन, भ्रामक र निन्दनीय कुरा ।’
 
दिल्ली उत्रिएर अथवा यसलाई ट्रान्जिट पारेर मिठो–मसिनो बात सुनाउन नेतागणहरू लालायित बन्ने क्रम यसबीच बढेर गएको छ । पछिल्लोपटक आएका पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेल पनि यस्तै किस्सा सुनाएर काठमाडौं फर्किए । 

  • म पशुपति क्षेत्रमा वाटर–फाउन्टेन बनाउनेछु,
  • पशुपतिमा विद्युतीय बाहन चलाउनेछु,
  • मृगस्थलीमा शिव–पार्वतीको प्रेमराग सम्झाउन सांगीतिक सम्मिश्रण सहितको स्तम्भ तयार पार्नेछु,
  • लुम्बिनीमा विश्वभरका बौद्धमार्गी संस्था प्रतिनिधिलाई बोलाएर ‘बुद्ध नेपालमा जन्मेका हुन्’ भन्ने पुष्टि गराउँछु,
  • ३३ कोटी देवीदेवताकै लागि उद्धार र चिनारीको म काम गर्नेछु आदि ।

कम्युनिष्ट पृष्ठभूमिका मन्त्री पोखरेलले हुँदाहुँदै कतिसम्म भन्न भ्याए भने उनले ‘म मन्त्री हुनपाउँ’ भनेर पशुपतिनाथमा भाकल गरेकै कारण यसपटक मन्त्री भएका हुन् रे । त्रिपुरामा आयोजित विश्व बौद्ध सम्मेलनमा सहभागी भएर दिल्ली ट्रान्जिटमा ४ घन्टाका लागि रोकिएका मन्त्री पोखरेलले नेपाली दूतावासको सभाकक्षमा अडिएर यति धेरै ‘मन्त्र’ सुनाए कि मानौं नेपालमा धर्मकर्म बाहेक अरू कुनै समस्यै छैन । ‘भारतले लगाएको नाकाबन्दीको धेरै चर्चा हुने गरेको छ, तर म योभन्दा बढी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसक हुँ । मोदीजीको जे कुरामा पनि मार्केटिङ गर्ने शैली र खुबीको समेत प्रशंसक हुँ,’ उनले भने, ‘नकारात्मकभन्दा बढी सकारात्मक उपाय र चिन्तनको पक्षधर बन्नु उपयुक्त हुन्छ ।’

मन्त्री पोखरेल देशमा उब्जिएको आर्थिक र सामाजिक संकटभन्दा धर्म/अध्यात्ममा बढी आकर्षित बनेको अनुभव दूतावासमा सुन्न पाइयो । पर्यटन प्रबद्र्धनको गफ गर्ने क्रममा उनले ‘विद्युतीय बाहन चलाउन अनुदान खोजिने’ प्रसङ्ग उप्काउनासाथ स्रोता बनेर आएका जनसम्पर्क समितिका कृष्ण पाण्डेले दर्शाएको प्रतिक्रिया र प्रश्न बरु सोचनीय थियो । ‘मन्त्रीज्यू, विगतमा सरकारले लिएको ट्रलिसेवा, रोपवेको हालत आज के छ भनेर जवाफ दिन सक्नुहुन्छ ? अनुदानमा विद्युतीय बाहन खोजेर चल्न/चलाउन सकिएला भन्ने कसरी ठान्नुहुन्छ ?’ उनको प्रश्न थियो । 

जवाफ दिने बेलासम्म मन्त्री पोखरेलको ‘ट्रान्जिट’ समय सकिसकेको थियो । ‘हिजो के भएको थियो, नसोचौं । भोलि के हुन्छ, सोचौं,’ विमानस्थलतिर लागिरहेका मन्त्रीजीले बाटैमा भन्न भ्याए, ‘हामी नकारात्मक नबनौं, सकेसम्म सकारात्मक बनौं ।’

प्रकाशित : पुस ८, २०७२ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?