२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

च्याङबाको बिहे

फूलमान वल

काठमाडौं — तामाङ समुदायमा बेहुली माग्न जाँदा गाउने यो गीत सानु छँदा नै सुनेको हुँ । बुबाले भर्खरै शहरबाट पानासोनिक क्यासेट भित्र्याउनु भएको थियो घरमा । पहिलो तामाङ सेलो एल्वमका गायक चन्द्रकुमार मोक्तानको स्वर रहेको यो गीतको अर्थ भने धेरैपछि मात्रै बुझेको थिएँ । यौन मनोविज्ञानको सांस्कृतिक आवरण बोकेको यो गीतले भन्थ्यो– ‘च्याङबाको विहेमा, बेहली लिन जाँदा, घरको मामा माइजुले, चुकुल लगाइ राखेको, चाँदीकै चुकुल लाए नि, सुनको गजोले उघारिदिउँला ।’

च्याङबाको बिहे

‘आले च्याङबा ल ब्याहरी 
छार चाङ किन्बारी निमामी 
र्‍हाङ ला आस्याङ आङीसे 
म्रापकोन किलिङ काइथान्बा 
म्हुईलान किलिङ काइसाइनोन 
ह्युलला ताम्बा गान्बाले 
म्हार ला कुन्जासे ठोङना लाला...’


 

शहर पसेपछि थाहा भो– यो गीतका गायक चन्द्रकुमार मोक्तान, महाभारत छेउको तामाङ बस्तीबाट रोशी खोलाको किनारै किनार भागेर काठमाडौं पसेका थिए, रेडियो नेपालमा गीत गाउन । चालिसको दशकको शुरुवाततिरै यिनले तामाङ सेलोमा उधुम मच्चाए । तिनताक म्युजिक नेपालको धेरै विक्ने सुचीमा यिनका एल्वमहरु पर्थे । विस्तारै यिनी सांस्कृतिक चिनारी झल्किने ताम्बा गीतहरुमा केन्द्रित हुँदै गए । यिनको बेग्लै चिनारी बन्यो, तामाङ समुदायमा यिनी लोक सम्राटको नामबाट परिचित छन् । 

पचासको दशकपछि भने यिनकै नामसित मिल्ने अर्को प्रतिभा उदाए– चन्द्रकुमार दोङ । तामाङ सेलोलाई आधुनिक शैलीमा यिनले मलजल गरे, गरिरहेका छन् । संयोगले यिनको गाउँ पनि रोशी खोलाकै छेउमा पर्छ । सुनकोशी र रोशीको संगमस्थल, दुम्जाको किनारमा । शहरको एउटा क्याफेमा कफि पिइरहेको बेला केहीदिन अघि यही किनारबाट पठाएको रातो सुर्के थैली हात पऱ्यो । थैलीको मुजा खोलें– भित्र नरिवल, छोकडा र सुपारीका केही टुक्रा थिए । तिनै दोङ पुत्रको विहेको निम्तो रहेछ । कान्छो छोरो अर्थात च्याङबाको विहे । 

दोङका जेठा छोरा मिनबहादुर पनि सेलो गायक हुन्, थुप्रै एल्वमका धनी । केहीबर्ष अघि मिनको विहे हुँदा दोङले अपनाएको ‘प्रेमवाद’ शैली सवत्र्र आलोचनाको विषय बनेको थियो । झण्डै झण्डै क्रिश्चियन शैलीको ‘यो विहे तामाङ मौलिकतामाथि प्रहार हो’ भन्दै केही संस्कृतिकर्मीले बहस पनि थालेका थिए । यही कारण पनि मलाई गाउँबाट आएको त्यो रातो सुर्के थैलीको निम्तोले तान्यो । साथी प्रभात भन्दैथिए– ‘जसरी नि जानुपर्छ ।’ 

उनीसंगै गायक कृष्ण वाइवा, गायिका इन्दिरा गोले गुरुङ, मिलन लामा लगायत चढेको मारुती जिप्सीमा हाम्रो यात्रा शुरु भयो काभ्रे, रामेछाप र सिन्धुलीको बिचमा पर्ने दुम्जातिर । विपी राजमार्ग अन्र्तगतको ‘माछा हव’ नेपालथोक छेवैमा पर्ने यो बस्तीमाथि शंकर कोइरालाले धेरै अघि उपन्यास लेखेका थिए– ‘खैरेनी घाट’ । उपन्यासकी पात्र पाख्रिन कान्छीलाई पछिसम्म सम्झिरहें । यही उपन्यासको किरिङ मिरिङ संझनाहरु बोकेर धेरैपटक दुम्जा गएको पनि छु । तर, यसपटक च्याङबाको विहे हेर्नु छ । 

‘लौ है आले, मेरा केही नयाँ गीतहरु सुन्नुस्’ बाटोमा गायिका इन्दिरा गुरुङले धेरैपटक यो बाक्य दोहोऱ्याइ रहिन् । बाक्य नटुंगिदै उनका खिरिला औंलाहरु जिप्सीका म्युजिक प्लेयरमा सल्बलाउँथे । पचासको दशकपछि शहरमा दोहोरी साँझको संस्कृति बसाउन ठुलै मदत गरेकी यी ‘चाँगु नारानथान...’ गायिकाले चार हजार भन्दा बढि गीत गाइसकेकी छन् । तामाङको गोले थरकी भएर गुरुङसित घरजम गरेकी यी नाना कुनै समय दरबारमा पनि गाउँथिन्, डेउडा गीतको शुरुवातीतिर नारी स्वर नभेटिंदा यिनी सुदुरपश्चिमी सभ्यताको गायिका पनि बनेकी थिइन् । 

जिप्सी भित्र अचानक मादल बज्यो, गीत चाहिँ सेलो नै थियो । सायद यो संगीतमा देखिएको समावेशी  चरित्र हुनसक्छ । पछिल्लो समय डम्फु हराएको छ, सेलोबाट । सट्टामा ड्रमसेट भित्रिएको छ । टुङना हराएको छ, र गिटारले निर्बाध प्रवेश पाएको छ । नेपाली संगीतले पनि स्वत्व गुमाउँदै गएको देख्छु । आफ्नोपन गुमाएर हामी ग्लोबल भिलेजको नागरिक बनेका छौं । सायद विश्वबजारमा हामी कपडारहित उभिएका छौं । 

‘हामी त खुकुरी पो खाइरहेका छौं है’ धुलिखेलबाट विपी राजमार्गतिर पस्नै लाग्दा इन्दिरा नानाको मोबाइलमा राम लामाको फोन आयो । बैशाख १२ को भुकम्पले बेस्मारी जमिन हल्लाएको अघिल्लो दिन गायिका तुलसा वाइवासित बिहे बन्धनमा बाँधिएका राम सायद रौसको मुडमा थिए । पछि थाहा भो, यिनीसंगै गायक रोज मोक्तान, प्रेम लोप्चनहरु दुम्जातिर सोझिनु अघि नै साँगाको डाँडामा खुकुरी रमसित ‘रमरम’ हुँदै पो रहेछन् । तुलसासँगै तामाङ नायिका चाँदनी मोक्तान चाहिँ यिनीहरुकै समुहमा मिसिएर सेकुवा साँध्दै । 

‘जे होस्, साथीहरुले खानेबेलामा संझे’ मनमनै गम खाएँ । 

हाम्रो जिप्सी भुकुण्डे क्रस गरेर रोशी खोला तर्दै थियो । १८ बर्ष अघिका संझनाहरु मनभरि तैरिए । एसएलसी दिएको त्यो बर्ष म पहिलोपटक यो खोला तरेर काभ्रेको महाभारत उक्लेको थिएँ, स्कुलहरुमा भाषण गर्न । बीपी राजमार्ग बनेको थिएन, विद्यार्थीहरु यो खोलाको अफ्ठ्यारा बाटो हातमा गहुँको बाक्ला बाक्ला रोटी बोक्दै स्कुलतिर दौडिरहेका हुन्थे । यस्तै भीडमा भेटेको थिएँ वाल्टिङ गाउँकी कल्याणी राना मगरलाई । उनीसित भेट भएको एकाध बर्षमै डाँडापारीको कुनै खोला छेउ मुठभेठमा मारिएको समाचार शहर आइपुग्यो । 

‘हैन हाउ सोल्टी’ मोबाइलले मेरो संझनाको पोखरीमा नमज्जासित हमला गऱ्यो, ‘भेट्नु पो पऱ्यो हाउ । अस्तिको गीत फाइनल गर्ने हैन ?’ 

शहरबाट गायिका झुमा लिम्बु बोल्दै थिइन्, मोबाइलमा । झण्डै ९ बर्ष अनुसन्धान गरेर मुन्धुम संगीत 
‘खासाम’ ल्याएकी उनी टिपिकल सेलो गाउनेवाला थिइ्न र उनकै आग्रहमा मैले एउटा तामाङ सेलो लेखि दिएको थिएँ । जिप्सीमा बहस चल्यो ‘खासाम’को । सरकारले अमुर्त सम्पदा अन्र्तगत सुचिकृत समेत गरिसकेको उनको एल्वम मौलिकता खोज्नेहरुका लागि साँच्चिकै नमुना बन्न सक्छ । विहे, ब्रतबन्ध, मेला पर्व मात्र नभई मान्छे मर्दा पनि गीत गाउने परम्परा रहेको तामाङ समुदायबाट पछिल्लोपटक लोक संगीतमा खासै काम भएको छैन ।  

हाम्रो जिप्सीले अघिल्तिरको एउटा कारलाई जर्बजस्त जितेरै छाड्यो । तर, हामी दुम्जा नजिकैको रोशीको एउटा भड्खालोमा फस्यौं । पछिल्लो कारबाट त ‘खुकुरी’ खाएर ‘रमरम’ बनेका कलकत्ते गायक रोज मोक्तान र प्रेम लोप्चनहरु पो निस्के । यसपछि कारहरुको लाइने खडा भयो, दक्षिणी भारतीय फिल्मको दृष्य जस्तै । ती कारहरुबाट तन्नेरी गायिका निर्मला घिसिङ, नायिका निशा तामाङदेखि सभासद तिर्थ लामासम्म निस्किए । बर्षेनी मेला लाग्ने दुम्जाको त्यो बगर सेलो उत्सव जस्तै बन्न थाल्यो । तर यसपटक ‘खैरनी घाट’ उपन्यासका पाख्रिन कान्छीहरु भट्टीमा जाँड बेच्न आएका थिएनन्, बरु माथि मेच्छे र पारी लुभुतिरबाट आएका गाउँलेहरु स–साना छाप्रे क्याफेतिर ‘प्याक’ लाउँदै थिए । 

केही मिनेट हिँडेपछि दुम्जा छेवैको तित्रिटार पुगियो । यही हो च्याङबाको गाउँ । बेहुलोको खास नाम त थाहा थिएन, तर उनी कान्छो भएकोले सबैको च्याङबा । यो तित्रिटारमा धेरैको ध्यान अमिलो तित्रिको बोटहरुतिर भन्दा पनि बेहुला–बेहुलीतिरै थियो । मैले तिमाल क्षेत्रको तामाङ समुदायमा पहिलोपटक मौलिक ड्रेसमा सजिएको जोडी देखेको थिएँ । जेठाको विहे क्रिश्चियन जस्तै सेतो ड्रेसअपमा गरेपछि विवादित बनेका गायक चन्द्रकुमारमा सायद मनोवैज्ञानिक त्रासले काम गरेको थियो । यहीबेला नगरकोटे साथी मिलनले मोबाइलमा अर्को दुई जोडीको बिहेको दृष्य देखाए– एउटा जोडी सेतो दौरा सुरुवाल र चौबन्दी चोलोमा थियो, अर्को चाहिँ सुट पाइन्ट लाएर गजक्क पल्टिंदै, रातो साडी लाएकी बेहुली चाहिँ बेहुलोलाई कोरा लाउँदै थिइन् ।    

संस्कृतिमा तीब्र गतिले भइरहेको संक्रमणका यी अनौठा दृष्य थिए । केही अघि अमेरिकाबाट एक मित्रले भाइबरमा चिन्ता प्रकट गरेको संझे– ‘तामाङलाई बाँध्ने संस्कृतिको बलियो धागो भएन । यी पहिले प्राकृत बोन थिए, आठौं शताब्दी (पदमसंभवको समय)पछि बौद्ध हुन थाले । अहिले न बौद्ध, न बोन । सर्बत्र फ्युजन ।’    

यो फ्युजन स्टायल च्याङबाको विहेमा नदेखिने कुरै भएन । पहिलो फ्युजन त सिंगो विहेको शैलीमै थियो । डम्फू बजाउँदै गीतबाट तामाङ संस्कृतिको कैरन सुनाउने ताम्बा त्यहाँ थिएन । सट्टामा लामाले मन्त्र बाचन गर्दैथिए । भोज खाने टपरी त गाउँबाट उहिले नै हराइसकेको हो, तामाङको मौलिक रक्सी (आइराक)को सट्टा गायक चन्द्रकुमार क्युबामा बनेको महंगो रक्सी ‘वाकार्दी’ बाँड्दै थिए आगन्तुकलाई । एक सय त्रिपन्न बर्ष अगाडी क्युवाका डन फकुन्दो बाकार्दीले शुरु गरेको यो रक्सीको इतिहास चन्द्रकुमारलाई थाहा थियो कि थिएन, तर उनी च्याङबाको विहेमा मज्जाले नाचे– ‘
‘लौ है आयो दोर्जे डन’ भन्दै । यो दोर्जे डन र डन फकुन्दोबिचको बजारिया सम्बन्ध नै सायद आज हामीले बाँचेको समय हो ।  

नाच्ने भीडमा प्रेम लोप्चन निकै फरक थिए । कुनै समय सिन्धुपाल्चोकको एउटा दुर्गम गाउँबाट आमाले प्रेमलाई घटट्मा पठाएका थिए, मकै पिन्न । प्रेम भने घट्टबाटै भागेर शहर पसे, एकाएक गायक बनेर निस्के । नाँच्दै गर्दा यिनी हातमा बोकेको मोबाइल क्यामेरा घरिघरि नायिका निशाको खुट्टामा पुऱ्याउँथे र विस्तारै ‘टिल्ड अप’ गर्दै शिरतिर उचाल्थे । कहिले ‘टिल्ड डाउन’ गर्दै माथिबाट स्क्यान गरेझैं क्यामेरा तल पुऱ्याउँथे । 

‘भाले भाले भाले...’ भीडमा कोही कराए । शुरुमा प्रेमले कुखुराको भालेले झैं खुट्टाले भुइँ कोतरेर माटो फ्याँके, अनि ज्याकेटको दुबै फेर समाउँदै पखेटा झैं फट्फटाएर नायिका निशातिर अघि बढे । यो गज्जबको इन्टरल्युड थियो । सबैजना गलल हाँसे, नाच्दै । र, धेरैपटक यो भाले नृत्य दोहोरियो । रोज मोक्तानदेखि कृष्ण वाइवासम्म प्रेमलाई उक्साउँदै थिए । नाच्दै बनाएको गोलो रिङमा गायिकाहरु तुलसा वाइवा, निर्मला घिसिङ पनि थिइन् । संयोगले गीत, निर्मलाकै बजिरहेको थियो– ‘पोखराला कोर्सी फेवाताल...’ (पोखराको घुम्दै फेवाताल) । गीतको शब्दमात्रै तामाङ । संगीत र बाजागाजा सबै नेपाली लोकदोहोरी । यसअघि तुलसा–इन्दिराकै ‘चलन चल्तीरी...’ गीत जस्तै । तित्रिटारमा ‘डानस हान्दै’ गर्दा फेरि मैले एकपटक गायिका झुमा लिम्बुलाई संझे ।  

यो ‘डिजे डान्स’मा लोकगायक चन्द्रकुमार मोक्तान भने कतै देखिनँ । यी गायकलाई सायद शहरले खायो । गाउँ नै शहरजस्तो बनेपछि उनको गाउँ आगमनको अर्थ के हुुनसक्छ ? म एकपटक फेरि घोरिएँ । साँझपख कारहरुको लाइन शहरतिर सोझियो । धुलिखेल नआइपुग्दै पात्लेखेत फूलबारीमा राम लामा ‘खुकुरी’ लिएर खडा थिए । सबैजना फेरि ‘रमरम’ बने । रामले कारको अघिल्लो झ्याल खोले, ‘डिजेवाला बाबु’ त कोही थिएनन् तर गाडा अँध्यारोमा कारको म्युजिक प्लेयर वरिपरिको गाउँ थर्किने गरि बज्न थाल्यो । फेरि यहाँ शुरु भयो– ‘ओपन गाइनम स्टाइल...।’ 

जिप्सीमा शहरतिर फर्किंदै गर्दा फेरि एकपटक ‘च्याङबाको विहे’ गाउने चन्द्रकुमार मोक्तानको पुरानो अनुहारको संझना आयो । 

प्रकाशित : पुस ४, २०७२ ११:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?