कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘क्रुजिङ हाइट’ मा रोशनको उडान

भूपिन

काठमाडौं — गोविन्द वर्तमानको वाणी सत्य लाग्छ, ‘निबन्धकार रोशन शेरचनका यी निबन्धहरू स्यामुअल बेकेटले परिभाषित गरेझैं विकिर्ण चिन्तन नभएर समाजप्रति उत्तरदायी विचारका एकीकृत स्वरूप हुन् ।’

‘क्रुजिङ हाइट’ मा रोशनको उडान

रोशन शेरचनकृत पछिल्लो निबन्धकृति ‘धोबिघाट एक्सप्रेस’ को विमोचन समारोह । प्रज्ञा प्रतिष्ठानको सभाहल बौद्धिक लेखकहरूले खचाखच छ । अग्रज लेखकद्वय अभि सुवेदी र नारायण ढकालसँगै विमोचित कृतिबारे बोल्नु वास्तवमै सकसपूर्ण छ, फेरि बोल्ने पालो सुरुवातमै । भनें, ‘पछिल्लो समय लेखिरहेका लेखकहरूमा रोशन शेरचन मलाई सबैभन्दा गम्भीर र बौद्धिक लाग्छन् ।’ मलाई थाहा छ, यसो भन्नु भयानक जोखिमको कुरा हो । तर मसँग आत्मविश्वास थियो । म यसो भन्न अभिशप्त थिएँ । छु ।

पाठकको आफ्नो अध्ययनको सीमा हुन्छ, मेरा पनि छन् । बोली त हालें । वास्तवमा यो धारणा दुई वर्षअघि रोशन शेरचनको जन्मथलो कोबाङ् जाँदै गर्दा बसन्त बस्नेत र मेरो बीचमा बनेको साझा बुझाइ थियो ।

सोच्छु, कुनै मानिसको बौद्धिकतालाई गणितीय रूपमा कम वा बेसी तुलना गर्नु लफडादायी काम हो, तर यसका आधार हुन्छन् ।

रोशनको लेखन नै प्रमुख आधार भइहाल्यो । उनले तय गरेको पश्चिमी साहित्य, सङ्गीत र दर्शनको बाटो अनि त्यसलाई विश्लेषणात्मक रूपमा प्रस्तुत गर्ने चोखो खुबीका कारण उनले यस्तो मुकाम सुरक्षित गरेका छन् ।

पच्चीस साल वरिपरि जन्मिएका कवि लेखकहरूलाई मैले बढी नै अवलोकन गरें, पछ्याए । सजिलो पनि थियो । मेरो पहुँचका पत्रपत्रिकाहरूमा उनीहरू नै बढी छाइरहेका भेटिन्थे । श्रवण मुकारुङ, विप्लव ढकाल, भीष्म उप्रेती, मोमिला, भूपाल राई, रमेश क्षितिज, रमेश श्रेष्ठ, युमा, जे. अस्मिता, रमेश केसी, रोशन थापा ‘नीरव’ आदि । उनीहरू आफूलाई स्थापित गर्न जोडतोडले संघर्ष गरिरहेका थिए । कति त स्थापित भइसकेका थिए । उनीहरूकै कविता, निबन्ध, अन्तर्वार्ता र सत्सङ्गबाट म त्यसअघिका अग्रजहरूसम्म अलिक बढी वस्तुगत रूपले पुग्थें । त्यही लहरको अग्रभागतिर थिए– रोशन शेरचन । मलाई लाग्थ्यो, भूपि शेरचनले कविता जगत् हल्लाए, अब रोशन शेरचनले निबन्ध जगत्मा नयाँ तरङ ल्याउनेछन् ।

कविता लेख्ने समयसम्म रोशनलाई लाग्थ्यो, उनका कविताले पाठकसँग अपेक्षित संवाद स्थापना गर्न सकिरहेका छैनन् । भन्थे, ‘निबन्ध मार्फत त्यसैको क्षतिपूर्ति चाहन्छु । उनका तीनवटा निबन्धकृति ‘मस्तिष्कहरूको मृत्यु’, ‘चम्पारन ब्लुज’ र ‘धोबिघाट एक्सप्रेस’ त्यही कसरतका उत्पादनहरू हुन् ।
म विशेषत: तीन युवाबाट बढी आकर्षित थिएँ– कवि श्रवण मुकारुङ, गायक नवीन के भट्टराई र निबन्धकार रोशन शेरचन । तीमध्ये रोशन मलाई सबैभन्दा बढी प्रिय र आत्मीय लाग्थे ।

विमोचनपछि यही प्रसंगलाई लिएर आत्मीय उदय अधिकारीले भर्खरै कांग्रेस पार्टी प्रवेश गरेका श्रवणलाई व्यंग्य गर्न मैले उक्त कुरा व्यक्त गरेको भनी जिस्काए पनि । श्रवण कार्यक्रममा समेत उपस्थित थिए । तर वास्तविकता फरक थियो । श्रवण र नवीनलाई मैले उनीहरूका सिर्जना र स्वर मार्फत मात्र भेट्थें, चुम्बकीय रूपमा तानिन्थें । यति धेरै युवाहरूबीच श्रवण मेरो रोजाइमा पर्नु उनको सिर्जनाप्रतिको मेरो असीम सम्मान थियो र उनले कुनै पार्टी प्रवेश गर्नुसँग मलाई खासै वास्ता थिएन पनि । समयको अदालतमा उभिएर बिसे नगर्चीको बयान दिने श्रवण मुकारुङ कुनै पार्टीको सदस्य भएको हल्ला नगरी कविताकै ताकतको कारण पनि एकेडेमी या यावत् भूमिकाका लायक थिए, छन् ।

दुर्भाग्य ! उनले पार्टी प्रवेश घोषणाको बाटो रोज्नुपर्‍यो । राजनीतिक चिन्तक प्रदीप गिरिको भाषामा ‘पार्टीहरूको तानाशाही’ चलिरहेको अहिलेको प्रदूषित पर्यावरणमा पार्टी प्रवेश नगराई श्रवणलाई एकेडेमीमा लान हिच्किचाएकै हो भने त्यो स्वयम् प्रजातन्त्र र कविताकै अवमूल्यन हो ।

‘मार्क्सवाद मेरो घाउ मेट्ने इरेजर हो,’ भनी खुल्लमखुला लेख्ने रोशन शेरचनसँग भने मेरो प्राय: भेट भइरहन्थ्यो । संरक्षण कविता आन्दोलनका यात्राहरूमा कविता, साहित्य र दर्शनका सुस्केरा हाल्दै हामी कैयनपटक सँगसँगै गाउँहरू पुग्थ्यौं । प्रकृति संरक्षण र ग्रामीण जागरणका कविताहरू लेख्थ्यौं अनि अग्रज सरुभक्त दाइसँग मध्यरातसम्म वैचारिक विमर्श गथ्र्यौं ।

नभेट्दै पढेर आकर्षित भएका कतिपय लेखकहरू भेटेपछि कम आकर्षक लागे मलाई पनि । तर रोशन शेरचन मलाई उनको लेखनजस्तै सधैं आकर्षक लागिरहे । यही कारण मैले निर्धक्क भन्न सकें, उनी नै मलाई सर्वाधक प्रिय र आत्मीय लाग्थे ।

जब मैले पहिलोपटक रोशनलाई पोखरामा भेटेथें, उनी स्थापित मानकहरूसँग बौद्धिक जोरी खोजिरहेका थिए । पोखरामा हामी पछिल्लो पुस्ताका कवि लेखकहरूमा आलोचनात्मक चेत अत्यन्त कमजोर थियो । हामीहरू कविता सुनाउँथ्यौं, एकर्काको तारिफ गथ्र्याैं, र मख्ख पथ्र्यौं । रोशन पहिलो भेटमै मेरा लागि भिन्न निस्किए । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले उनलाई किम्मुका हरिया पातहरू खुवाउँथ्यो र उनी रेशम निकालिरहन्थे ।

पहिलो भेटमा मैले उनको कविताकृति ‘शब्दहरूको देश’ का केही कविताहरू मन परेको कुरा गरें । उनले अनपेक्षित सोधी त हाले, ‘संग्रहका के के कुरा मन परे ?’
म ट्वाँ परें ।

समीक्षात्मक रूपमा कुनै गहिरो कुरा भन्न नसकेकोमा मलाई साँच्चै लाज लाग्यो । मनमनले ठम्याएँ, यी मनुवा व्यवहार गर्न अरू कविहरूझैं सजिला छैनन् । उनी न तर्कहीन प्रशंसा गर्छन् न त्यस्तो मन पराउँछन् । पहिलो भेटमै मलाई रोशन संगत बढाउनुपर्ने लेखक लागे । नयाँ हुनुको अर्थमा मैले उनलाई पछ्याउन पनि थालें ।

पोखरेली युवा सांस्कृतिक परिवारले महिनाको अन्तिम शनिबार गर्ने समता काव्य सन्ध्यामा आक्कलझुक्कल भेटिन्थे रोशन । कविता सुन्ने सुनाउने क्रमको समापनपछि चिया पिउँदै हामीहरू लेखनबारे बहस गथ्र्याैं । म बुझ्थें, रोशन त्यतिबेला सरुभक्तको शून्यवाद र माक्र्सवादी सौन्दर्य चिन्तनमा एकसाथ निमग्न थिए । साप्ताहिक बुधबारमा निबन्ध छाप्थे– ईश्वर, ब्लुज, नोस्टालजिया, जीवन आदिबारे । कुनै दिन बुधबारमै लेखे, ‘माफ गर्नु सरुभक्त दाइ, म शून्यवादी हुन सकिनँ ।’

लामो कविता ‘सरुभक्तहरू’ लेखिसकेपछि रोशनले जे कुरा लेखे, त्यसले मलाई स्तब्ध नै पार्‍यो । शून्यवादबारे निबन्ध लेखेरै आफ्नो बिमति जाहेर गर्ने ‘गट्स’ मैले अरूमा पाइनँ । त्यसपछि मात्रै मैले सरुभक्तको शून्यवाद बुझ्न उनको कृति ‘इतिहासभित्रको इतिहास’ पढेको सम्झन्छु ।

रोशनको पहिलो निबन्धकृति ‘मस्तिष्कहरूको मृत्यु’ ले मलाई गहिरो डोज दियो । शैलीको एकोहोरो रटान सुनिइरहने समयमा रोशन शैलीलाई भन्दा विचारलाई बढी महत्त्व दिने निबन्धकारका रूपमा पाठकहरूसँग अन्तरविमर्शमा निस्किएका थिए । शैलीमा बढी ध्यान नदिएको कुरा निर्धक्क स्विकार्थे पनि । सायद लेख्दै जाँदा आफ्नो छुट्टै ‘सिग्नेचर’ बन्ला भन्ने सोच्थे उनी ।

सरकारी माक्र्सवादको अँगालोबाट फुत्केर माक्र्सवादी सौन्दर्यशास्त्रको वस्तुगत पक्षधरतातिर आफूलाई घिसारिरहेको घोषणा गर्ने अग्रज लेखक नारायण ढकालले भूमिकामा लेखेका थिए, ‘रोशन शेरचन † तुर्गनेभको प्रियपात्र बाजारोभजस्तो, जो निषेधका बौद्धिक झन्डाहरू बोकेर आफ्नो धरातलमा कुदिरहेछ ।’

‘मस्तिष्कहरूको मृत्यु’ त्यतिबेलाका युवा लेखकहरूले अत्यन्त कम ध्यान दिइरहेको निबन्ध लेखनमा एक ‘ट्विस्ट’ थियो । एक ‘यु टर्न’ । देवकोटा हुँदै नारायण ढकालसम्म आएर केही समय लगभग स्थगितजस्तो देखिएको वैचारिक निबन्ध लेखन परम्परामा रोशनको उदय एक गम्भीर हस्तक्षेप थियो । अलिक अगाडिका गोविन्द वर्तमान र प्रकाश सायमी अपवाद थिए । निबन्धमा अनुभूतिको मात्र होइन, विचारको कारखाना पनि चलाउनुपर्छ भन्ने सार्थक मान्यताबाट रोशन प्रभावित थिए । उनका यी निबन्धहरूमा उनको ‘इन्वार्ड आउट लुकिङ् पर्सनालिटी’ स्पष्ट देखिन्छ । तर उनी समाजतिर फर्किंदै गर्दा आफ्ना निजी अवधारणाहरूमा बढी नै रुमलिएका देखिन्थे ।

पहिलो निबन्धकृतिको नौ वर्षपछि रोशन ‘ब्लुज’ गाउँदै आए, चम्पारन ब्लुजमा । यहाँनेर लेखिहालौं, नेपाली साहित्यमा ‘ब्लुज’ शब्दलाई लोकप्रिय बनाउने जश रोशन शेरचनलाई जान्छ । संगीतलाई निबन्धमा प्रचुर स्थान दिने उनले पहिलो निबन्धकृतिमै धेरै ब्लुज गाएका छन् र त्यसपछि पनि धेरै ब्लुजहरू लेखे । लेखक बुद्धिसागरको सानदार उपन्यास ‘कर्णाली ब्लुज’ आएपछि अश्वेतहरूले दासताबाट मुक्तिका लागि गाउने ‘ब्लुज’ अझ बढी नेपाली पाठकहरूसम्म पुग्यो ।

‘चम्पारन ब्लुज’ मा रोशनले पहिलो कृतिको एक महत्त्वपूर्ण वैचारिक खोजीलाई कुशलतापूर्वक सच्चाएका छन् । वैचारिक यात्रामा निस्किएका लेखकहरूको विशेषतै यही हो कि उनीहरू नयाँ कृतिमा पुरानो कहिल्यै देखिन्नन् । जड रूपमा पुराना विचारहरूमै सीमित हुनु वैचारिक लेखकहरूको मृत्यु हो, तर रोशनले लेखनमा जीवित हुने कसम खाएका थिए । उनले वैचारिक गतिशीलतामा जीवनको सौन्दर्य देख्थे ।

‘जीवन सम्भावना र आकस्मिकताको नाम हो’ बाट सुरु भएको ब्लुजले भारत बिहारमा अवस्थित पूर्वी चम्पारनका खेती मजदुरी गर्ने मुसहरका दु:खहरूसँगै लेखकलाई दुनियाँकै दु:खीजनसँग अझ बलियोसँग जोडिदियो । उनका निबन्धले आफूबाट निस्किएर अझ बढी समाजतिर हेर्न थाले । विभेदले डसिरहेको समाज, पुँजी र ईश्वरको आविष्कारले मानिसलाई कमजोर पारिरहेको सत्य निबन्धले बलियोसँग समाउन थाले । उनले मानवताको गीत गाए । उनले लेखे, ‘दु:ख आत्महत्या हुन्छ, दु:खमा सचेत र सामूहिक आक्रोश मिसिए त्यो फेरि जीवन हुन्छ ।’

‘हजार मुजा एउटै आकाश’ की बज्यैको कथाले पाठकहरूलाई एउटा सिंगै उपन्यासको मात दिन्छ । भ्यागुतासँगै उप्रिँmदै आएका खुसीहरू र माछापुच्छ्रे होस्टेलको गुच्चासँगको स्मृतिदंशले लेखकको सूक्ष्म चित्रण क्षमताको यथेष्ट परिचय दिन्छन् । ‘माओवादी छायामुनि जिन्दगीका डोबहरू’ मा अज्ञात भविष्यतर्फ घिसारिन विवश एक जागिरेको निरीह जीवनकथा छ । ‘चम्पारन ब्लुज’ उनको स्वअनुभूति र विचार यात्राको सन्तुलित आविष्कार हो ।

कृति सम्बन्धमा

लेखकका कृतिहरू पाठकहरू पौडिने जलराशिजस्तै हुन् । एकथरी लेखकहरू हुन्छन्, जसका कृतिमा पाठक पौडिने इच्छाले उचाइबाट हाम फाल्छ तर त्यसको छिपछिपेपन र गहिराइको भ्रमले दुर्घटित हुन्छ ।

दोस्रोथरी लेखकहरू हुन्छन्, जसका कृतिमा जब पाठक हाम फाल्छ, ऊ पाठको अनन्ततामा गजबले डुबुल्की लगाउँछ र पर्याप्त गहिराइको मजा लिन्छ । तर पाठक जीवनको सतहमा पुन: फर्किन सक्छ ।
म तेस्रोथरी लेखकहरूको पनि कल्पना गर्छु । त्यस्तो लेखक जसका कृतिमा पाठक हाम फाल्छ, पौडिन्छ तर कहिल्यै जीवनको सतहमा फर्किन सक्दैन । त्यसको गहिराइले पाठकलाई बरमुडा ट्रांगलले जहाज निलेझैं वा ब्ल्याक होलले आकाशीय पिण्डहरू निलेझैं निलिदिन्छ । यो जीवनको महाप्रलय हो । म पहिलो र तेस्रोथरी लेखकबाट सधैं जोगिने कोसिस गर्छु । मेरो रोजाइ दोस्रोथरी लेखकहरू हुन्, किनकि म जीवनलाई प्राथमिक मान्छु । रोशन शेरचन मेरो वर्गीकरणका दोस्रोथरी लेखक हुन् ।

तेस्रो निबन्धकृति ’धोबिघाट एक्सप्रेस’ लाई अटोबायोग्राफिकल निबन्ध कृति पनि भन्न सकिएला, जुन चरित्र यसअघिका उनका कृतिले पनि कम–बेसी बोकेका छन् । यो उनको निबन्ध यात्राको समग्र विशेषता नै हो । उनको जीवन, विचार र त्यसको द्वन्द्वात्मक सम्बन्धबाट निर्माण भएका वैचारिक आग्रहहरूले पछिल्लो कृति सुसज्जित छ ।

साहित्यलाई सिर्जनात्मक ध्वंस त उनले पहिल्यैदेखि मान्दै आएका हुन्, यो कृतिमा उनी प्रखर रूपले सामाजिक न्यायको पक्षमा उभिएका छन् । तर सिर्जना यात्रा विचार मात्र होइन आफ्नो सिग्नेचर (शैली) को खोजी पनि हो । शैलीको विषयमा उनको एक कन्फेसनल स्टेटमेन्ट छ, ‘भाषा शैलीमा मेरो पकड निकै कमजोर रहेछ, चम्पारन ब्लुजको प्रकाशनताका मात्र बोध भयो ।’

उनको विचारमा शैली उडिरहेको जहाजको ‘क्रुजिङ हाइट’ हो, बादलहरू छिचोल्दै यहीँ पुगेपछि उडानले एक लय पक्रन्छ । शतप्रतिशत मौलिक वा निजत्व शैली कसैको पनि नहुने र शतप्रतिशत अरूको नक्कल पनि कसैको नहुने विचार राख्ने उनी अझै आफ्नै शैलीको खोजीमा भएको नढाँटी बताउँछन् ।
वरिपरि हेर्छु, जो जसले आफ्नो निरपेक्ष मौलिक शैलीको उच्च बखान गर्दै घाँटीको नसा फुलाइरहेछन्, लेखिरहेका छन्, उनीहरूलाई यत्ति पनि थाहा छैन त्यो शैलीका फादर फिगरहरू शिथिल भएको धेरै समय बितिसकेको छैन । उनीहरूमा म रोशनको जस्तो लेखकीय असलपन खोजिरहन्छु । कतिपयमा ‘शैली मात्र साहित्य, साहित्य नै शैली’ को निरपेक्ष आग्रह छ । कलाको अतिशय मोहमा फसेका लेखकहरूलाई रोशनको कलात्मक जवाफ छ, ‘कलात्मक तर खराब विचार बोकेको साहित्य मन्दबिष हो ।’

उनका तीनवटै कृतिका पाठकहरूलाई उनले ‘केही लेखकलाई आवश्यकताभन्दा बढी नै पछ्याउने निबन्धकार’ को आरोप लगाउने प्रशस्त ठाउँ दिएका छन् । विशेषत: उनको लेखनमा नारायण ढकाल र ईश्वरवल्लभ धेरै दोहोरिएका छन् । उनी निर्धक्क स्वीकार गरिदिन्छन्, ‘हो मेरो पछ्याउने प्रवृत्ति छ ।’ उनले आफ्नो अभिशप्ततालाई नढाँटी व्यक्त गरेका छन् । मानौं उनले पाठकसँग कहीँ पनि झूटो नबोल्ने कसम खाएका छन् । मलाई रोशनको यस्तो इमानदारीले कायल पार्छ ।

पछिल्लो समय एक अन्तरवार्तामा उनले भने, ‘सिर्जनशील अराजकताका साथीहरूसँग भेटिएको भए सायद सिर्जनशील अराजक नै हुने थिएँ ।’ यो अभिव्यक्तिले मलाई फेरि रोशनप्रति थप आकर्षित गरिदियो ।

सांस्कृतिक निर्दलीयताको बिपक्षमा र विशेषत: वैचारिक अनेकानेक, कवितात्मक निस्सिनता र नश्लीयताबोध सिर्जनशील अराजकताका आग्रहहरू हुन् । धेरै अर्थमा यो एकात्मक राज्य व्यवस्थाको वंचना, अपमान र हेपाइ सहँदै तिनीहरूबाट मुक्तिका लागि जुधिरहेका मार्जिनलहरूको आवाज उनीहरूको साहित्यमा छ । तर रोशन शेरचनको लेखन सांस्कृतिक कारणभन्दा पनि आर्थिक कारण किनारीकृत भएका मानिसहरूको पक्षमा बढी छ । उनले राजन मुकारुङ, उपेन्द्र सुब्बा र हाङयुङ अज्ञातले झैं सांस्कृतिक किनारीकरणको मात्रै लेखन गरेका छैनन् । रोशनको घाउ मेट्ने ‘इरेजर’ जातीय र नश्लीय चेतनामा होइन आर्थिक वितरणमा हुने विभेदमा बढी केन्द्रित छ ।

शंकर लामिछानेले आफ्नो ‘वर्णशंकर’ रूप देखाएको यो भूमिमा नश्लीयताको कुराबारे थप बहस जरुरी छ । मानवशास्त्रले घुमन्ते स्वभावको मानिसको नश्ल बदलिँदै आएको कुरा व्याख्या गर्छ । लाखौं वर्षको सभ्यतामा अब जातीय विशुद्धता जंगलका कबिलाहरूमा पनि सायदै भेटिएला । मानिसको रगत नारायणीको पानीजस्तो घुलिसक्यो, जहाँ मैले धापेखोला र रोशनले लेतेखोलाको पानी खोज्नु असम्भव छ ।

तीनवटै निबन्धकृतिमा रोशन नश्लीय चेतनाको नजिक देखिन्नन् । आगामी दिनमा उनी कसरी समीक्षा गर्छन् ? म प्रतीक्षामा छु ।

म रोशनलाई लेखनको ‘क्रुजिङ हाइट’ मा उडान भरिरहेको पाउँछु । तर उनी भीडमा छैनन् । भन्छन्, ‘विचारको पिरामिडमा गम्भीर कुरा गर्नेहरू एक्लो पर्दै जान्छन् । कमन माससँगको उनीहरूको सम्बन्ध कमजोर बन्दै जान्छ ।’

सत्य हो, दुनियाँ सतही कुराहरूको पछि लाग्छ ।

प्रकाशित : भाद्र १३, २०७२ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?