२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

दृश्यचित्रका धनी

विमल खतिवडा

सौराहा — सानैदेखि उनको रुचि चित्रकलामा थियो । परिवारले समेत आफ्नो रुचि अनुसारको काम गर्न दिएपछि भरतपुर उपमहानगर १० दीपेन्द्र चोकका ३४ वर्षीय दामोदर (डी) बराललाई कुनै समस्या भएन ।

दृश्यचित्रका धनी

अहिले उनलाई चित्र बनाउन भ्याईनभ्याई छ । दृश्य र मुहार चित्रमा रुचि छ । सुरुमा चित्रकलाका बारेमा सिक्न पोखरास्थित वरिष्ठ कार्टुनिस्ट तथा चित्रकार दुर्गा बराल ‘वात्स्यान’ सँग पुगे । त्यहाँ २ महिनासम्म चित्र बनाउने कला सिके ।

‘विद्यालय पढ्दा चित्र बनाउँथें, साथी भाइले राम्रो छ भन्दै यही क्षेत्रमा लाग्ने सल्लाह दिन्थे,’ सौराहामा चित्र बनाउँदै गरेको अवस्था भेटिएका उनले भने,
‘सबैको सल्लाहमा यही क्षेत्रमा लागे, यो पेसाबाट आत्मसन्तुष्टि मिलेको छ ।’ चित्र बढी विदेशी पर्यटकले मन पराउँछन् ।

त्यही भएर उनी केही समय पर्यटकको बढी चहलपहल हुने काठमाडौंको ठमेलमा बसेर आफ्नो प्रतिभा चित्रमार्फत् देखाउने काम गरे । ‘ठमेलको क्रिएटिभ आर्ट ग्यालरीमा बसेर झन्डै ८ वर्ष चित्र बनाएँ,’ उनले भने, ‘पछि सौराहामा पर्यटक आगमन बढ्न थाल्यो, फर्किएर आफ्नै ठाउँमा आएँ ।’

उनले सौराहामा क्रिएटिभ आर्ट ग्यालरी चलाएका छन् । बिहान उठेदेखि दिउँसो अबेरसम्म उनी चित्र बनाउन व्यस्त हुन्छन् । घरको एउटा कोठा चित्रले भरिएको छ । ‘विदेशीले चित्र बढी मन पराउँछन्,’ उनले भने, ‘तर नेपालीले कलाप्रति नबुझेका हुन् कि हामीले बुझाउन नसकिएको हो, यसप्रति चासो राख्ने कम छन् ।’ विदेशीले दृश्यचित्र र संस्कृति झल्कने चित्र बढी मन पराउँछन् ।

एउटा चित्र सामान्यत: १ हजारदेखि १ लाख रुपैयाँसम्म बिक्री हुने गरेको छ । ‘चित्रकलामा मिहिनेत धेरै गर्नुपर्छ,’ उनले भने, ‘चित्र बनाइसकेपछि मिहिनेत खेर जाँदैन ।’ उनले सबैभन्दा धेरै बुद्धको चित्र बनाएर ८५ हजार रुपैयाँमा बिक्री गरे ।

एउटा चित्र बनाउन ३ घन्टादेखि १ सातासम्म लाग्छ । उनले कुनै ठाउँको फोटो देखे भने त्यसलाई दुरुस्तै चित्रमा उतार्छन् । ‘एकजना डाक्टर जोडीको मैले फोटो हेरेर चित्र बनाएको थिएँ,’ उनले भने, ‘पछि त उहाँ कुन चित्र, कुन फोटो भनेर झुक्किनुभयो ।’

उनले अहिलेसम्म झन्डै १२ हजार चित्रमा रंग भरिसकेका छन् । थाइल्यान्ड, सिक्किममा आयोजना गरिएको चित्रकला प्रदर्शनीमा सहभागिता जनाइसकेका छन् । ‘मोफसलमा कला सम्बन्धी गतिविधि कम हुने गर्छन्,’ उनले भने, ‘यहाँ चित्रकलामा रुचि राख्ने र यसलाई व्यावसायिक बनाउने धेरै छन्, तर गतिविधि कम हुन्छन् ।’

उनले कला सम्बन्धी अन्तर्राष्ट्रिय स्तरका गतिविधि गर्न सकिए नेपाली र विदेशी चित्रकारबीच अनुभव साटासाट गर्ने अवसर मिल्ने बताए । अहिले सौराहामा भूकम्प र तराईमा जारी नाकाबन्दीले गर्दा पर्यटक आगमन कम छ ।

तर पनि चित्र खोज्ने पर्यटकको कमी छैन । नेपाल ललितकला क्याम्पसबाट चित्रकला सम्बन्धी प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण उनी कला क्षेत्रमै जीवन बिताउने बताउँछन् ।

प्रकाशित : पुस १६, २०७२ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?