१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

दक्षिण कोरियामा अब नियमित नेपाली कल्चरल फेस्टिभल

काठमाडौं — मुलुक बाहिर नेपाल प्रवद्र्धनका अनेक माध्यम छन्। पछिल्लो समय फिल्म र चित्रकला आर्कषक माध्यम बन्दै गएको छ।

दक्षिण कोरियामा अब नियमित नेपाली कल्चरल फेस्टिभल

थुप्रै चित्रकारहरू व्यक्तिगत रूपमै युरोप, अमेरिकादेखि अन्य मुलुकसम्म पुगिरहेका हुन्छन् कला प्रदर्शनी लिएर। स्वतन्त्र ढंगले निर्माण गरिएको फिल्महरू पनि कुनै न कुनै फेस्टिभलमा छानिइरहेकै हुन्छन् र तिनले अवार्ड पनि पाइरहेकै छन्। डिसेम्बर पहिलो साता कोरियामा पाँच नेपाली फिल्मसँगै केही कलाकारका चित्र समेटेर नमस्ते कोरियाले प्रि–नेपाल कल्चरल फेस्टिभल गरेको थियो।

अब यो फेस्टिभल हरेक वर्ष नियमित हुने गरी आउँदो अप्रिल महिनामा ‘ग्रान्ड ओपनिङ’ हुँदै छ। फेस्टिभल उद्घाटन आतिथ्यका लागि नेपालका संस्कृति तथा पर्यटन मन्त्रीलाई निम्तो दिन आइपुगेका नमस्ते कोरियाका प्रतिनिधि हा डोगह्यमले आइतबार राजधानीमा भने, ‘नेपाल केन्द्रित यो फेस्टिभल विशेष गरी फिल्म र चित्रमा केन्द्रित हुनेछ।’

डिसेम्बर ४ देखि ६ सम्म भएको प्रि–फेस्टिभलमा कोरियनहरूले नेपाली फिल्म र कलाप्रति देखाएको लोभलाग्दो चासोबाट आफूहरू हौसिएको हाले बताए। प्रि–फेस्टिभलमा केसाङ छेतेनको ‘इन सर्च अफ रियाल’, नवीन सुब्बाको ‘नुमाफुङ’, अविनाशविक्रम शाहको ‘म खुसी छु’, जीवन भट्टराईको ‘इन सर्च अफ एजुकेसन’ लगायतका फिल्म देखाइए । डीबी गुरुङ, गोपाल श्रेष्ठ, थमनसिंह सुनार, मनोज तामाङ, पदम घले, सूर्य बराइली, यादवचन्द्र भुर्तेल, लोकप्रसाद गुरुङ लगायतका चित्रकलाको प्रदर्शनी गरियो। अप्रिलमा हुने ग्रान्ड फेस्टिभलमा भने यीसँगै ताजा सिर्जनाहरू समेतको सहभागिता रहने हाले बताए।

हा सहितको टोलीले आइतबार संस्कृतिमन्त्री आनन्द पोखरेललाई भेटेर फेस्टिभलको निम्तो गर्‍यो। ‘यो एकदमै खुसीको कुरा हो,’ निम्तो स्वीकार्दै मन्त्री पोखरेलले भने, ‘नेपालमा रहेको कल्चरल टुरिजमको अथाह सम्भावनालाई यस्ता फेस्टिभलहरूले बल पुर्‍याउँछन्।’

नेपाल समेटेर कुनै पनि मुलुकमा बेग्लै फेस्टिभल हुनु हाम्रो लागि ऐतिहासिक र अर्थपूर्ण रहेको समेत मन्त्री पोखरेलले दाबी गरे। फेस्टिभलको उद्घाटन गर्न आफू जाने र त्यसबखत मन्त्रीस्तरीय भेटवार्ता गरी पर्यटन र संस्कृति प्रवद्र्धनका लागि बुद्धिजममाथि काम गर्नसमेत अनुरोध गर्ने उनले बताए।

प्रकाशित : पुस १४, २०७२ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?